पशुपतिको अर्थ ‘पशुको लोग्ने’ होइन
केही मानिसहरू ‘पशुपति’ माने ‘पशुको लोग्ने’ भनी अर्थ गर्दछन् । झन्डै तीन वर्षअघि चितवनका एक पास्टर शुकदेव गिरीले युट्युब राखेको एउटा अन्तर्वार्तामा पनि यस्तै कुरा बोले, ‘पशुपति, पशुको लोग्ने । पशुसँग नराम्रोे काम गर्ने मानिस..।’ सम्भवतः त्यो भिडियो अहिले पनि युट्युबतिर फेला पर्छ ।
कुनै समुदायको आस्थामाथि खिसीट्युरी गर्ने उद्देश्यले यस्ता अशास्त्रीय अर्थ गरिन्छन् । तर कतिपयलाई भ्रम पनि छ– पशुसँग सम्भोग गरेको कारण भगवान शिवलाई पशुपति भनियो । हिमवत्खण्ड र श्रीस्वस्थानी व्रतकथामा भगवान् शिवले मृग र राजहंसका रूपमा गरेका क्रीडा यस्ता भ्रमको आधार बनेको छ । तर क्रीडाको अर्थ ‘सम्भोग’ हैन । सम्भोगका लागि प्रयोग हुने शब्द ‘रति–क्रीडा’ हो । क्रीडाको अर्थ, ‘खेलकुद’, ‘घुमफिर’ इत्यादि हुन्छ । त्यसैले पशुपति माने ‘पशुको लोग्ने’ वा ‘पशुसँग सम्भोग गर्ने पात्र’ जस्ता बुझाइ एकदमै गलत र भ्रमपूर्ण छन् ।
एउटा कुराचाहिँ भन्नैपर्ने हुन्छ, वैदिक धर्ममा ईश्वरको नाम र चरित्रसँग मनलाग्दी छेडखानी गर्ने छुट छ र यसलाई सामान्य प्रकारले लिइन्छ । तर बौद्ध, इसाइ, इस्लामादिमा आफ्ना आराध्यमाथि यस्तो खिसीट्युरी तथा व्यङ्ग्य गरिँदैन । गरेको खण्डमा सह्य हुँदैन । त्यसैले तपाईंहामी देख्छौँ बुद्ध, येसु, अल्लाहमाथि कसैले व्यङ्ग्य वा खिसीट्युरी गर्ने आँट राख्दैनन् । वैदिकहरू चाहिँ आफैँ नयाँ–नयाँ भगवान् पैदा गर्ने र आफ्ना आराध्यको अपमान गर्ने सवालमा सबैभन्दा अगाडि उभिन्छन् । अन्यले पनि, यसैकारण अवसर पाउँछन्– मजाक उडाउने, अनेक लाञ्छना लाउँदै सार्वजनिक अपमान गर्ने, व्यङ्ग्य हान्ने ।
यजुर्वेदको १६औँ अध्यायमा,‘पशूनां पतेय नमः ।’ अर्थात् पशुहरूका पतिलाई नमस्कार भनिएकोे छ । अध्याय १६ लाई रुद्राध्यायी पनि भनिन्छ । ‘रुद्र’का बारे यहाँ विस्तारित व्याख्या छ, यो निकै महत्त्वपूर्ण र अनिवार्य अध्ययन गर्नुपर्ने अध्याय हो । यस अध्यायमा रुद्रका विविध नामहरू छन्– शिव, पशुपति, नीलकण्ठ, कपर्दिन, अघोरा, भव, शर्व, वामन, उग्र, भीम, भुतनाथ, शङ्कर आदि । अतः रुद्र, पशुपति, शङ्कर, अघोरा आदि नाम जटाजुट नीलकण्ठ भगवान शिवकै नाम हुन् भन्नेमा कुनै द्विविधा वा शङ्का छैन ।
ऋग्वेद १।४३ मा रुद्रलाई यज्ञका स्वामी, महान वैद्य, पशुरक्षक, सर्वश्रेष्ठ देव तथा मोक्षदाता भनिएको छः
गाथपतिं मेधपतिं रुद्रं जलाषभेषजम् ।।
तच्छंयोः सुम्नमीमहे।।४।।
स्तुतिका स्वामी, यज्ञका स्वामी, सुखद जल र औषधिका स्वामी रूद्रसँग हामी व्यावहारिक सुखभन्दा पनि मोक्षको सुख याचना गर्दछौँ ।
यः शुक्र इव सूर्याे हिरण्यमिव रोचते । श्रेष्ठो देवानां वसुः ।।५।।
सूर्य सदृश सामथ्र्यवान् तथा स्वर्ण सदृश दीप्तिमान् रुद्रदेव सबै देवताहरूमध्ये श्रेष्ठ तथा ऐश्वर्यवान् हुनुहुन्छ ।
शं नः करत्यर्वते सुगं मेषाय मेष्ये । नृभ्यो नारिभ्यो गवे ।।६।।
हाम्रा घोडा, भेडा, बाख्रा, नरहरू, नारीहरू तथा गाईहरूका निम्ति रुद्रदेव सुगम सुखकारी हुनुहुन्छ ।
र, कामना गरिएको छ यस्ता रूद्रदेवले ‘हाम्रा पशुप्राणीसँगै हामी मानवहरूलाई पनि विविध प्रकारका प्रकोप’हरूबाट रक्षा गर्दै पोषण प्रदान गर्नुहुनेछः (ऋग्वेद १।११४)
इमा रुद्राय तवसे कपर्दिने क्षयद्वीराय प्र भरामहे मतीः ।
यथा शमसद्द्विपदे चतुष्पदे विश्वं पुष्टं ग्रामे अस्मिन्ननातुरम् ।।१।।
जुन प्रकारले यस गाउँमा सबै प्राणीहरू हृष्टपुष्ट र निरोगी रहन्छन् तथा दुई खुट्टे र चार खुट्टे सुख प्राप्त गर्दछन्, उसै प्रकारले हामी हाम्रो बुद्धि वीरहरूका प्रेरक जटाधारी रुद्रदेवमा समर्पित गर्दछौँ ।
मा नो महान्तमुत मा नो अर्भकं मा न उक्षन्तमुत मा न उक्षितम् ।
मा नो वधीः पितरं मोत मातरं मा नः प्रियास्तन्वो रुद्र रीरिषः।।७।।
हाम्रा मान्य वृद्धलाई नमार्नुहोस् । हाम्रा बालकलाई नमार्नुहोस् । हाम्रा बलिष्ठ युवकहरूलाई नमार्नुहोस् । गर्भस्थ शिशुहरूलाई नमार्नुहोस् । हाम्रा मातापितालाई नमार्नुहोस् । हाम्रा प्रिय शरीरलाई नमार्नुहोस् ।
मा नस्तोके तनये मा न आयौ मा नो गोषु मा नो अश्वेषु रीरिषः ।
वीरान्मा नो रुद्र भामितो वधीर्हविष्मन्तः सदमित्वा हवामहे ।। १।८।
हाम्रा छोरानातिलाई नमार्नुहोस् । हाम्रा जीवनमा पनि हिंसा नगर्नुहोस् । हाम्रा गाईघोडामा पनि हिंसा नगर्नुहोस् । हाम्रा क्रोधयुक्त वीरहरूलाई नमार्नुहोस् । हविष्यान्न प्रदान गर्न सदैव तपाईंलाई यज्ञमा आह्वान गर्दछौँ ।
ऋग्वेदमा, यसरी, रुद्र क्रुर तथा कल्याणकारी, रक्षा तथा आरोग्यता, पौष्टिकता, जल र यज्ञका श्रेष्ठ देवताका रूपमा वर्णित छन् । ऋग्वेदका अन्य मन्त्रहरूमा रुद्रलाई महान सेनापति, मरुत्हरूका पिता इत्यादि रूपमा वर्णन गरिएको छ । यजुर्वेद र अथर्ववेदमा उहाँबारे अँझ प्रष्टसँग मन्त्रहरू छन्ः
यजुर्वेदः३९–कृत्स्न हृदयेन पशुपतिम् ।।८।।
सम्पूर्ण हृदयले पशुपतिलाई आदर गर्दछु ।
कस्ता पशुपति ?
य ईशे पशुपतिः पशूनां चतुष्पदामुत यो द्विपदाम् । निष्क्रीतः स यज्ञियं भागमेतु रायस्पोषा यजमानं सचन्ताम् ।।१।।
दुई खुट्टे र चार खुट्टे पशुहरूका ईश जुन पशुपति छन्, उनले सम्पूर्ण रूपले ग्रहण गरिएको यज्ञको भाग प्राप्त गरून् र यजमानलाई ऐश्वर्य तथा पुष्टि प्रदान गरून् ।
अथर्ववेद २ः२४ को यस मन्त्रमा पशुपति दुई खुट्टे र चार खुट्टे पशुका ‘ईशः’ हुन् भनिएको छ । ईश माने ईश्वर पनि हुन्छ; स्वामी पनि हुन्छ र मालिक पनि हुन्छ अर्थात् जसले शासन गर्दछ । मन्त्रानुसार, पशुपतिले यज्ञको भाग प्राप्त गर्दछन् तथा यजमानलाई ऐश्वर्य र पौष्टिकता (आरोग्य र बलवीर्य) प्रदान गर्दछन् पनि भनिएको छ ।
यसर्थ उपरोक्त मन्त्रानुसार पशुपतिको अर्थ ईश्वर नै हुन्छ । अन्यार्थ हुँदैन र मिल्दैन पनि । त्यसैले सम्पूर्ण पशुहरूका ईश्वर पशुपतिलाई यजुर्वेदमा नमस्कार गरिएको छ । अब पशु को हो र पशुपति को हो ? यसबारे थप व्याख्या हेरौँ–
..........वस्तु च त्रिविधं स्मृतम् ।।११।।
अजडं च जडं चैव नियन्तृ च तयोरपि।
पशुः पाशः पतिश्चेति कथ्यते तत्त्रयं क्रमात् ।।१२।।
अक्षरं च क्षरं चैव क्षराक्षरपरं तथा ।
तदेतत्त्रितयं भूम्ना कथ्यते तत्त्ववेदिभि ।।१३।।
अक्षरं पशुरित्युक्तः क्षरं पाश उदाहृतः।।
क्षराक्षरपरं यत्तत् पतिरित्यभिधीयते ।।१४।।
प्रकृतिः क्षरमित्युक्तं पुरुषोऽक्षर उच्यते ।।
ताविमौ प्रेरयत्यन्यः स परः परमेश्वरः।।१६।। (श्रीशिवमहापुराण, वायवीयसंहिता, पूर्वखण्ड, अध्याय ५)
वस्तुका तीन भेद छन्– जड, चेतन र यी दुवैका नियन्ता ।
प्रकृति जड हो, आत्मा चेतन हो र यी दुवैको नियन्ता परमेश्वर हो । यिनै तीनलाई क्रमशः पाश, पशु र पशुपति भन्छन् ।
तत्त्वज्ञ पुरुष प्रायः यिनै तीन तत्त्वलाई क्षर, अक्षर तथा यी दुुईदेखि अतीत भन्छन् ।
अक्षर नै पशु भनिएको छ । क्षर तत्वको नाम पाश हो तथा क्षर र अक्षरदेखि पर जो परमतत्व छ, उसैलाई पति वा पशुपति भन्छन् ।
प्रकृतिलाई नै क्षर भनिएको छ । पुरुषलाई अक्षर भन्छन् तथा जसले यी दुईलाई प्रेरित गर्दछ, त्यस भिन्न तत्त्वलाई परमेश्वर भनिन्छ ।
चेतन आत्मा नै पशुु हो । यो अक्षर पुरुष यानी नित्य छ हो । नित्य र चेतन आत्मालाई पशु किन भनियो ? किनभने, यो नित्य र चेतन हुँदाहुँदै पनि जड र अनित्य प्रकृतिले बाँधिएको छ । प्रकृति नै पाश अर्थात् बन्धन हो । र, यी दुवैदेखि पर यौटा अर्काे तत्त्व छ– जो यी दुवैको नियन्ता हो; यी दुईदेखि अतीत छ र भिन्न छ । त्यसैलाई, पशुपति वा परमेश्वर भनिन्छ ।
पशुको वर्गमा को–को पर्दछन् ?
३.ब्रह्माद्याः स्थावरान्ताश्च देवदेवस्य शूलिनः ।।
पशवः परिकीत्र्यन्ते संसारवशवर्तिनः ।। ११।।
तेषां पतित्वाद्देवेशः शिवः पशुपतिः स्मृतः।
मलमायादिभिः पाशैः स बध्नाति पशून् पतिः।।१२।।
स एव मोचकस्तेषां भक्त्या सम्यगुपासितः।
चतुर्विंशतितत्वानि मायाकर्मगुणा अमी ।।१३।।
विषया इति कथ्यन्ते पाशा जीवनिबन्धनाः ।
ब्रह्माजीदेखि लिएर स्थावरपर्यन्त जति पनि संसारका वशवर्ती चराचर प्राणी छन् ती सबै भगवान शिवका पशु हुन् ।
यिनीहरूको पति भएको कारणले गर्दा देवेश्वर शिवलाई पशुपति भनिएको हो । ती पशुपति आफ्ना पशुहरूलाई मल तथा माया आदि पाशहरूले बाँध्ने गर्दछन् ।
तथा भक्तिपूर्वक उनीहरूद्वारा आराधित हुँदा उनी स्वयम् तिनीहरूलाई ती पाशहरूबाट मुक्त गरिदिन्छन् । जो चौबीस तत्त्व छन्, ती मायाका कार्य तथा गुण हुन् ।
तिनीहरू नै विषय हुन्, जीवहरूलाई बाँध्ने पाश पनि तिनै हुन् ।’
जन्म–मृत्युको चक्रमा फसेका र कालको चक्रबाट उम्किन नसकेका जे जति कुराहरू छन् ती सबै भगवान शिवका पशु हुन् । र, यिनीहरूको ईश्वर/स्वामी/मालिक भएकै कारण देवेश्वर शिवलाई पशुपति भनिएको । यी पशुहरू पशुपतिको भक्ति गरेर प्रकृतिरूपी पाशबाट मुक्त हुन्छन् । जीवलाई बाँध्ने विषय वा पाशहरू चौबिस प्रकारका छन्ः ५ तत्व, ५ तन्मात्रा, ५ ईन्द्रिय, ५ कर्मेन्द्रिय, मन, बुद्धि, अहंकार र प्रकृति ।
४. ये त्वां शम्भु न जानन्ति त एव पशवः स्मृताः।। पशूनां पतये तेषां तुभ्यं देव नमोऽस्तु ते ।।७।।
( हिमवतखण्डः७६)
कल्याणदाता तपाईंलाई जसले जान्दैनन्, ती पशु हुन् । त्यस्ता पशुका पनि स्वामी हे भगवान ! हजुरलाई नमस्कार छ ।
५.परं सर्वमनुग्राह्यं पशुपाशात्मकं जगत् ।
परस्यानुग्रहार्थं तु पत्युराज्ञासमन्वयः।।५।।
मूर्तात्मानोऽप्यनुग्राह्या शिवाज्ञाननिवर्तनात् ।
अज्ञानांधिष्ठितं शम्भोर्न किंचिदिह विद्यते ।।९।।( श्रीशिवमहापुराण, वायवीयसंहिता (पूर्वखण्ड), अध्याय ३१)
पशु र पाशरूप सारा जगत नै पर भनिएको छ । यो अनुग्रहको पात्र हो । परलाई अनुुगृहीत गर्नका निम्ति पतिको आज्ञाको समन्वय आवश्यक छ । पति आज्ञा दिने गर्दछ, ऊ नै सधैँ सबैमाथि अनुग्रह गर्दछ ।
जो मूत्र्यात्मा हुन्, तिनीहरू पनि अनुग्रहका पात्र हुन् किनभने तिनीहरू पनि शिवकोे आज्ञाभन्दा बाहिर छैनन् । यहाँ यस्तो कुनै वस्तु छैन, जुन, शिवको आज्ञाको अधीनमा नहोस् ।
यो पशुपाशरूप जगत ईश्वरको अनुग्रहको पात्र हो । किनभने, यहाँ विद्यमान प्रत्येक वस्तु/पदार्थहरू त्यस परमतत्वको नियन्त्रण/आज्ञाभन्दा बाहिर छैनन्, जसले सृष्टिको निर्माण, पालनपोषण र लय गर्नुहुन्छ ।
यसैप्रकारले महाभारतमा भगवान शिवबारे महत्वपूर्ण श्लोकहरू भेटिन्छन् तर लेख लामो हुने कारणले सीमित प्रमाण मात्रै यहाँ प्रस्तुत गरिएका हुन् । यसरी, शास्त्रका कुनै पनि प्रमाणले पशुपतिको अर्थ पशुको लोग्ने वा पशुसँग सम्भोग गर्ने पात्र भनी दिँदैनन् । शास्त्रले शब्दको जुन अर्थ दिएका छैनन्, त्यस हुँदै नभएको अर्थलाई समाती अर्काको आस्थामाथि खिसीट्युरी गर्न खोज्दा आफ्नो मुर्खता र अनविज्ञता पनि प्रदर्शन भईरहेको छ भन्ने हेक्का राख्न जरुरी छ ।
‘पति’ को अर्थ लोग्ने/मालिक भनी सन्दर्भविशेषमा लाग्छ र लगाउनु पनि पर्दछ । जस्तोः कुनै विवाहिताले ‘उहाँ मेरो पति हुनुहुन्छ’ भनेको खण्डमा अर्थ त ‘उहाँ मेरो श्रीमान् वा लोग्ने हुनुहुन्छ’ नै लाग्छ । त्यसैगरी, ‘गृहपति’ को अर्थ गृहको मालिक भन्ने लाग्छ । भूपतिको अर्थ क्षेत्र वा जमिनको मालिक भनी अर्थ लाग्छ ।
तर, ‘पति’को अर्थ सम्भोग गर्ने पात्र भनी लाउने हो भने विचार गर्नुहोस् त कस्तो कस्तो अर्थ निस्किन्छ ? राष्ट्रपतिको अर्थ राष्ट्रसँग सम्भोग गर्ने व्यक्ति, सेनापतिको अर्थ सेनासँग सम्भोग गर्ने पात्र, सभापति माने सभासँग सम्भोग गर्ने पात्र, धनपति माने धनसँग सम्भोग गर्ने पात्र, अश्वपति माने घोडासँग सम्भोग गर्ने पात्र । यस्तरी शब्दलाई अथ्र्याउनु त मुर्खताको हद हैन र ?
सिधा र छोटकरीमा भन्नुपर्दाखेरि, ‘पशु’ भनेका प्रकृतिको त्रिगुणात्मक बन्धनमा जकडिएका सम्पूर्ण दृश्य/अदृश्य प्राणी हुन् र ‘पति’ भनेका यस सृष्टिका मालिक अर्थात् ईश्वर हुन् । जसरी, मैले पालेको गाईको धाम्लो मैले फुकाल्न सक्छु, त्यसरी नै ईश्वरले मात्रै यस सृष्टिका तमाम बद्धजीवहरूलाई पाशमुक्त गरिदिनसक्नुहुन्छ ।