कविता
रूपान्तरित आमा
शनिबार, ०६ फागुन २०७९, ०९ : २१

मैले त हाँस्ने बोल्ने
एक सग्लो जिन्दगी
छाडेर गएको हुँ
केही वर्ष परदेशिएर
आफ्नै दाम्लोमा
बाँधिन आइपुग्दा सम्म
आमा त एक थान
शिलापत्र हुनु भो
एक चौतारी
एक सगर हुनु भो
अँह
केही नभनेस् है मलाई
तेरी आमा छैन भनेर
आमा त कुलको देवी हुनु भो
मेरो हृदय र मस्तिष्कमा
झन्झन् अमर अजर हुनु भो
त्यसैले, मूलतः
आमा नहुने भन्ने कुरा नै
नहुने कुरा पो रहेछ त
हैन भने आकाशको अदृश्य देशबाट
आफ्ना हरेक दरसन्तान माथि
निरन्तर निरन्तर
आशीर्वाद बर्साइरहने
तिनी को हुन् त ?