दुई लघुकथा
खुला राजनीति
टाउकोमा फ्रेन्च क्याप लगाएर दायाँ हात मुठी कसेर उठायो । हेर्दा चे ग्वेभारा जस्तै देखियो । अरुले जस्तै ओठ चलायो “...यो अन्तिम युद्ध हो । आआफ्नो ठाउँबाट डटौँ, मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ...।”
कार्यक्रम अवधिमा उसले पटक पटक घडी हेर्यो । उ निकै आतुर देखियो । कार्यक्रम आयोजकसँग कानेखुसी गर्यो । उठेर अभिवादन गर्यो । हात हल्लायो । बिदा लियो र बाहिर गयो ।
गाडीमा चालक कुरिरहेको थियो ।
“छिटो हिँड है ।” उसले अह्रायो ।
त्यस्तै भव्य कार्यक्रम थियो । उसको बोल्ने क्रम आइसकेको रहेछ ।
उसले माइक समात्यो र एक अमुक जातिका समुदायलाई गाली गर्न थाल्यो र आफ्ना जातीय कुरा मात्र गर्यो ।
टररर ताली बज्यो । उ मख्ख भयो । सोच्यो, “पार्टीसँग टिकट यही क्षेत्रमा माग्नु पर्ला । ”
टिकट
“दाइ, उमेशलाई सबैले मन पराउँथे । मत राम्रै ल्याउँथ्यो होला । के भयो यस्तो ?” चियाको खाली गिलास टेबलमा राख्दै पूर्णले कलेजको छोटे नेतालाई भन्यो ।
“मन पराएर मात्र के गर्नु त ? एक पटक पनि हातमा ढुङ्गा लिएको छैन । अहिलेसम्म एउटा पनि सिसा फुटालेको छैन । त्यस्तो मान्छेलाई कसरी पार्टीले पत्याउँछ ?” छोटे नेताले जवाफ दियो ।
“बरु दाइ नै अगाडि बढेको भए हुने ।” उसले मख्ख पार्ने हिसाबले भन्यो ।
“जतिसुकै फुर्ती लगाए पनि सुरेन जस्तो डन हुन सकिँदैन हेर । स्ववियुको चुनाव चानेचुने कुरा हो ?” छोटे नेताले भन्यो ।
पोखरा–७ मासबार, कास्की