शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आज १६ देशका धावक पोखरामा दौडँदै

शनिबार, ०६ फागुन २०७९, ०७ : ३८
शनिबार, ०६ फागुन २०७९

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथन आज हुँदैछ । १७ औँ संस्करणको पोखरा म्याराथनमा  १६ देशका धावकले दौडने आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

खुला म्याराथनमा गत संस्करणको विजेता केन्याली धावक स्टेफन कोसगेई, उपविजेता सिमिओन किप्लागातोलेसहित १५० जनाले सहभागिता जनाउँदै छन् । दौडमा सहभागिताका लागि विभिन्न विधामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको अध्यक्ष पराजुलीले बताए । 

१६ देशका धावकसहित नेपालका ७ वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरूले सहभागिता जनाउने छन् । केन्या, इथोपिया, सर्र्विवया, अमेरिका, इजिप्ट, स्विटजरल्याण्ड, अस्ट्रेलिया, मोलदोभा, रसिया, इन्डिया, फिलिपिन्स, हङकङ, फ्रान्स, युके, पोल्यान्डबाट म्याराथनमा सहभागी हुनेछन् । विश्वका दौड ‘वर्ल्ड रनिङ’को छाता सङ्गठन एसोसिएसन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस(एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेसँगै अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको हो । 

अन्तर्राष्ट्रिय म्याराथनमा खुला म्याराथन (४२.१९५ किलोमिटर) सहित महिला हाफ म्याराथन (२१.०९७ किलोमिटर), महिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहीन दौडसँगै ‘रन फर फन’ हुनेछ । 

महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावकहरूले नाम दर्ता गराएको जनाइएको छ । यस्तै १० किलोमिटर पुरुषतर्फ १ हजार ५ सय र महिलातर्फ ६ सय जनाले नाम दर्ता गराएका हुन् । ५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमशः १ हजार ६ सय र ६ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचियरतर्फ ४७ जना, दृष्टिविहीन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको पराजुलीले बताए । 

खुला म्याराथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो पुरस्कार राशि नेपाली म्याराथन इतिहासमा सर्वाधिक हो । महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप १५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । 

१० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार स्वरूप क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार, १० हजार र ७ हजार रुपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेले प्राप्त गर्ने छन् । यसै गरी मञ्चले ह्विलचियर र दृष्टिविहीन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप