शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय
कथा

पुरुष साथी

शनिबार, ०६ फागुन २०७९, ०७ : २५
शनिबार, ०६ फागुन २०७९

भनिन्छ, साथी सबैभन्दा माथि । म आफैँ चन्चले स्वभावको । सानैदेखि खिसिक्क नहाँसी बोल्नै आउँदैनथ्यो । बाल्यकालदेखि नै मेरा वरिपरि थुप्रै साथी हुन्थे । विपरीत लिङ्गी भन्ने के हो थाहै थिएन । त्यति बेलादेखि नै मेरा केटीभन्दा केटा साथी नै धेरै हुन्थे । 

खै किन हो, मसँग केटी भन्दा पनि केटा साथीहरू बढी झुम्मिन्थे । न उनीहरूमा बैँसालु आकर्षण थियो, न मसँग लजालु मादकता । तर पनि किन त्यसो हुन्थ्यो, आज पनि जिज्ञासाकै विषय छ । 

हामीसँग उ बेलामा प्रशस्त खेल्ने समय हुन्थ्यो । न मोबाइल, न फेसबुक, न टिकटक, न फ्रि फायर । अधिक समय साथीहरूसँग नै बित्थ्यो । 

...

उमेर बढ्दै गयो या समय अगाडि बढ्यो । जे भए पनि लाउँदै गएको घाँघर धेरै फेरिए । शरीरको उचाइ र गोलाइ बढेर नै होला, एक पटक ठीक भएको कपडा मुस्किलले एक वर्ष थेग्थ्यो । 

अब त शरीरले हाँगाबिँगा पनि हाल्न थालेछ भन्ने थाहा पाउँदा नपाउँदै “तँ त तरुनी भइस् नानी अब त । हेर, जिउ हलक्क बढेको । ख्याल गर है केटी । अब त केटाहरूले आँखा लगाउँछन् नि,” भनेर हजुरआमाले भन्नु भएको ताजै छ दिमागमा । 

आँखा लाउँछन् भनेको के हो भनेर त्यसबेला सोध्न मन थियो, सोधिनँ । समय कालले सिकायो, आँखा अरूले मात्र होइन, आपूmले पनि लाउन मिल्ने रहेछ । 

...

सँगै कक्षामा पढ्ने साथीहरूसँग निकै उठबस हुन्थ्यो । तीन जनासँग मेरो राम्रो मित्रता थियो । जात्रासात्रा जता गए पनि प्रायः सँगै हुन्थ्यौँ । कक्षाका मात्र होइन, स्कुलका अन्य साथीहरूले मेरो इष्र्या गर्थे । मेरा केटा साथीहरूलाई जिस्क्याउँथे । 

“तिमीहरूका त साझा साथी छिन् क्यारे । एउटाले एउटा एउटा पाएनन् होला, अनि के गरून् ।” भन्ने धेरै पटक सुनेकी छु । 

हो, हामी एउटै प्लेटमा चटपटे खान्थ्यौँ । एउटै गिलासको चिया पिउँथ्यौ । एउटै बोतलमा कोक घुट्क्याउँथ्यौ । एउटा चकलेट टोकेर बाँड्थ्यौँ । 

गाउँघरमा हुँदा सँगै गोठालो जान्थ्यौँ । नाँगैभुतुंगै पोखरीमा पौडी खेलेको पनि याद छ । कुनै अनौठो क्रियाकलाप त्यस्तो केही हँुदैनथ्यो । तै पनि गाँउलेहरू हाम्रो खुब निगरानी गर्थे । हाम्रा बुबा आमालाई अनेक कुरा लगाउँथे । 

सायद, त्यसै भएर होला, म कक्षा सातको अन्तिम परीक्षा तयारीमा जुट्दै गर्दा मेरा बाले एक्कासि मेरो बिहेको छिनोफानो गरिदिनु भएछ । घरमा बिहेको ठूलो माहौल बन्दै गयो । परीक्षा सकिएको भोलिपल्टै लिङ्गाचौका गरियो । 

मलाई खासमा बिहे गरेर के हुन्छ ? भन्ने नै थाहा नभएर होला खासै उत्साह पनि थिएन । निराशा पनि थिएन । चञ्चले स्वभावको मान्छे त्यसमाथि टिनएज । घरभरि आउने पाहुना रमझम । म खासै विचलित थिइनँ । 

बिहेको कर्मकाण्ड भयो । घर सम्हाल्न सुरु भयो । बिरानो ठाउँमा एकलास घरमा एकमात्र छोराको बुहारी । भालेको डाँकमा उठेर धन्दाधन्दामा फस्न थालेँ । ती साथीहरूको याद झल्झली आउन थाल्यो । 

जब घरमा श्रीमान्ले हेपेर बोल्थे, तब ती साथीको माया जागेर आउँथ्यो । जहिले श्रीमान्को थालमा छोडेको गाँस सुम्सुम्याउँथे अनि साथीहरूसँगै एउटै प्लेटमा खाएको यादले चिमोट्थ्यो । 

एक पटक घरमा कोक आयो । सबैलाई एक एक बोतल भाग पुग्यो । तर मेरो भाग रहेन । सासू आमाले “ओइ बाबु तँ खाएर अलिकति बुहारीलाई राख्दे है ।” भन्नु भयो । उनले त्यसै गरे । 

बोतलको पिँधमा थोरै बाँकी थियो । उनले भने, “ला एक घुट्को पी । घाँटी भिजा ।” त्यतिखेर त साथीहरूको यादले नमिठो गरी मन निमोठ्यो । एक मुख चिसो घुटुक्क पारेँ । 

घरकै थिचोमिचोमा हुर्किँदै गएँ । किशोरी अवस्थामै एउटी छोरी जन्मिई । छोरी साथमा भएपछि भने साथीहरूको याद मेटिँदै गयो । छोरी नै बिस्तारै साथी बन्दै गइन् । उनीसँग समय बिताउन पाउँदा म संसार बिर्सन सक्थेँ । चाहन्थेँ मैले जिन्दगी जस्तो मेरी छोरीले भोग्न नपरोस् । 

छोरी हुर्कँदै गइन् । मेरो जस्तो उनको बाल्यकाल साथीहरूसँग बितेन । उनीसँग मोबाइल थियो । स्मार्ट फोन । मेरो जस्तो केटा साथीहरू साथमा थिएनन् । तर सामाजिक सञ्जालमा थिए होलान् । छन् होलान् । मलाई कुनै वास्ता छैन । 

उमेर बढेसँगै छोरी हुर्किएर छुट्टै कोठामा सुत्न थालेदेखि भने पुनः म एक्लो महसुस गर्दै गएँ । फेरि मलाई ती पुराना साथीहरूको याद आउन थाल्यो । तिनीहरूका गर्दै होलान्, बुझ्न मन लाग्यो । साथीहरूसँग बिहे पछि आक्कल झुक्कल तिहारमा माइती जाँदा मात्र भेट हुन्थ्यो तर खासै राम्रो बोलचाल हुन्थेन ।

खोज्दै जाँदा एउटा साथी फेसबुकमा जोडियो । ऊसँग बिस्तारै कुरा हुन थाल्यो । त्यति बेलासम्म श्रीमान्सँग मेरो आत्मीय सम्बन्ध टुटिसकेको थियो । उनी छोरो नपाएकोमा निकै आक्रोशमा थिए । मैले कसैको आग्रह पनि नसुनी एउटा सन्तान मात्रै जन्माउने निधो गरेँ । त्यसैअनुसार अनेक बहानामा सम्भावित गर्भ रोक्दै गएँ, टार्दै गएँ । 

त्यसैले, उनी मसँग झन्झन् चिढिँदै गए । हामी एउटै कोठामा सुत्थ्यौँ तर वास्तविक दम्पत्तीको क्रियाकलापमा शून्य थियौँ । उनी मस्त घुरेर निदाउँथे । म मध्यरातसम्म टिकटक, फेसबुक र च्याटमा व्यस्त हुन्थेँ । 

म पहिलेझैँ गोठालो जाँदा, जात्रा जाँदा, पौडी खेल्न जाँदाको जस्तो साथी त भेट्दिनँ थिएँ । सञ्जालमा रमाउने क्रममा पहिले जस्तै मेरा जान अन्जानका केटा साथीहरूसँग भलाकुसारी हुन थाल्यो । केही अलिक नजिक भएकासँग आक्कल झुक्कल भेट हुन थाल्यो । 

यसै क्रममा एउटा एनजियोमा डाटा कलेक्सनको छोटो समयको काम मिल्यो । टाढाबाट आएका साथी मेरा स्टाफ मित्र भए । सँगै फिल्ड जाने काम गर्ने गर्दै जाँदा छोटो समयमा गहिरो मित्रता बस्यो । उनी निकै सहयोगी थिए । छोटो समय काम गरेर फर्किने बेलामा उनले जोडेका केही सामग्रीसमेत मलाई दिएर अर्कै जिल्ला सरुवा भए । 

म भने उनको छोटो समयको साथ, प्यार सम्हालेर बस्न बाध्य भएँ । उनी टाढा गए पनि सामाजिक सञ्जालले हामीलाई हर मिनेट जोडेको थियो । म उनीसँग यति नजिक भएँछु कि मैले अरू कसैलाई साथी देखिनँ । 

यसै बीचमा कोही एक मित्र नजिक ठान्थेँ । उनलाई म सोलमेट भन्थेँ । अहिले उनलाई पनि बाल दिन मन लाग्दैन । मलाई थाहा छैन, किन ती साथी खास लागेका थिए । एउटा संयोग भने परेको थियो । ती सोलमेट भनिएका र उनको एउटै थर थियो । 

सायद छोटो समयको हिमचिमले होला । कता कता रहर नमेटिएको जस्तो मात्र भई रहन्छ । एकपटक श्रीमान् घर नहुँदा छोरीलाई सम्झाएर सँगै काम गर्ने सर हो भनी एक रात बिताउन पाएका थियौँ । सायद त्यसै दिनदेखि होला, म उनलाई भुल्न सकेकी छैन ।

.....

म यसै तरुनी छोरीकी आमा । उनी दुई छोराको बाबु । हाम्रो सम्बन्ध किन यति नजिक छ, मलाई थाहा छैन । म त यसै श्रीमान्सँग औपचारिकतामा टाँसिएको मात्र छु । उनी त श्रीमतीसँग राम्रो सम्बन्ध छ भन्थे । तर अचेल म पनि तिमीजस्तै एक्लै छु भन्न थालेका छन् । किन हो थाहा छैन । 

हुन पनि हर रात हर क्षण मसँग नै गफ गरिरहेका हुन्छन्, कसरी श्रीमतीलाई समय दिउन् । कुन समय उनलाई छुट्याऊन् । म पूर्ण जानकार छु । 

लाग्छ, मलाई उनले दिएको एक छेउ समय पनि उनको श्रीमतीलाई दिने हो भने उनीहरूको सम्बन्ध टिकाउ हुने थियो होला । उनी कति खुसी होलिन् । तर म नै उनको श्रीमान्को हर समयको पहरेदारी गरिरहेको हुन्छु । 

सुरु सुरुमा त टायम दिइनस् वास्ता गरिनस् भनेर निकै निहुँ खोज्थिन् रे उनकी श्रीमती । तर अहिले उनलाई ढुक्क छ रे । श्रीमती एउटा कोठामा, श्रीमान् अर्को कोठामा बसेर रातभर जस्तो मोबाइलमा व्यस्त । एउटाको अर्कोलाई मतलब हुदैन रे । 

भन्छन् “अहिले त ढुक्क छ प्यारी, तिमीले जुनसुकै बेला कल म्यासेज गरे पनि हुन्छ । म प्रायः एक्लै हुन्छु । एक्लै सुत्छु । उनको आफ्नै सुर छ । मेरो आफ्नै ।” 

हामी दिन प्रतिदिन हाम्रो उमेर, जिम्मेवारीलाई बिर्सिँदै एक अर्कोमा हराउँदै गयौँ । अवसर मिलाएर बेला बेलामा भेट गर्न थाल्यौँ । हामी जीवनकै अनमोल क्षणमा छौँ भन्ने महसुस हुन थालेको थियो । दुनियाँ हाम्रो लागि गौण हुँदै गयो । हामी दुवैका छोराछोरी हुर्किँदै गए । अहिले कलेज पढ्ने भैसकेका छन् । 

 

हाम्रो भेट अलिक बाक्लिन थाल्यो । उनी छिमेकी जिल्ला आएका थिए । एक दिन मैले उनलाई फरक ठाउँमा भेटुँ भने । उनले सहर्ष स्वीकार गरे । त्रिभुवन पार्कको उत्तरी कुनामा हाम्रो जोडी मस्त गफिँदै थियो । मेरो दायाँ हातमा उनको बायाँ हात मज्जाले कसिएको थियो । खित्का छोडेर हाँस्दै थियौँ । 

झाडीबाट एक्कासि एउटा जोडी फुत्त निस्कियो । मेरो साथी थुचुक्क बसे । 

किन के भो ? सोध्न नपाउँदै त्यो जोडी कक्रक्क पर्‍यो । हामी चारैजना अवाक भयौँ । 

“यी हेर त, सबै यतै रहेछन् । कस्तो लाज पचाउन सकेका” । एउटी केटीको आवाज चिरिँदो भएर कानमा पर्‍यो । 

पछाडि फर्केर हेरेँ । आफ्नै छोरी । मेरो दिमाग रोकियो । आँखा तिलमिलाए । सास अडियो । म पनि थुचुक्क बसेछु । होस हराएछ । 

बेलुकी घरमा छोरीले सात्तो खाई । म निःशब्द भएँ । खासमा मेरी छोरी र उनको छोरा एउटै कलेजमा पढ्ने रहेछन् । दुवैले आआफ्नो घरको समस्या पोख्ने क्रममा हाम्रो फलो गर्दै गएछन् । 

मेरी छोरीले एक दिन म्यासेज आएको देखेकी थिइन् । म्यासेजमा वास्ता गरिनन् । तर एक रात घरमा बिताएको मान्छेको म्यासेज हो भन्ने पत्तो पाइन् । दुवै आइटीका विद्यार्थी । हाम्रो फेसबुक निगरानी गरेर हामीलाई पछ्याउदै पार्कसम्म पुगेछन् । आफ्नो आमा, साथीको बाबुसँग, अनि साथीकै आमा अर्कै पुरूषसँग । हुन पनि अचम्मकै संयोग । 

त्यस दिनदेखि छोरीले उसको साथीको बाबुलाई ब्लक गरिदिई । म भने छोरीसँगको लाज र साथीसँगको वियोगले भतुुक्कै भएँ । कति दिन त खान मन लागेन । निद हरायो । बेचैन भयो । छटपटी भैरह्यो । 

घटना भएको पनि छ महिना भैसक्यो । दिनमा एक दुई पटक अझै पनि झसङ्ग हुन्छु । छोरीको आवाज सुन्नासाथ मन थरथर हुन छोडेको छैन । मैले जीवनको चार दशक नहुँदै बेहोरेको यो घटनालाई कति वर्ष सम्हालेर राख्न पर्ने हो थाहा छैन । 

सम्झन्छु म किन चञ्चले भए हुँला ? किन हाँसेर बोलेँ ? किन ग्यालग्याल्ती छोरा छोरी नजन्माइ बसेँ ? किन त्यो छोटो अवधिको जागिर खाएँ ? किन उनको याद सम्हाले ? आखिर हामी विवाहित महिला पुरुष किन नजिकिन परेको होला ? मनमा इच्छा र शरीरमा ऊर्जा किन आयो होला ? 

अझ सम्झन्छु, बरु बेलैमा यो उन्माद सेलाएको भए, शरीरमा शिथिलता आएको भए, मन मरेको भए, शरीरले आवश्यकता नदेखाको भए परपुरुषप्रति राग पलाउँदैन थियो होला ? आखिर यी तमाम मानवीय गुणका बाबजुद हाम्रो दुई आत्माको सम्बन्धलाई परिवार, समाजले किन स्वीकार गर्दैन ?

आज यो उमेरमा कसरी एक्लो रित्तो मन लिएर बाँचु ? हर दिन सोच्न बाध्य हुन्छु । के अब म कहिल्यै पुरुष साथी बनाउन पाउँदिन ? के म आधा उमेरमै पुरुषको आत्मीय माया, प्यार र साथबाट वञ्चित हुनुपर्ने हो त ? के घरमा लोग्ने छ भन्दैमा उसैसँग जस्तोसुकै सम्बन्ध पनि स्वीकार्नै पर्ने हो त ? 

हामी विवाहित महिलाको यस्ता वास्तविक पीडा कसले कहिले बुझ्ने होला ? मसँग कुनै उत्तर छैन । र, पनि प्रश्न गर्न छाडेकी छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवीप्रसाद अधिकारी
देवीप्रसाद अधिकारी
लेखकबाट थप