प्रचण्ड–ओली तारन्तार भेटवार्ता, राष्ट्रपतिमा जुट्ला सहमति ?
काठमाडौँ । आज मिति २०७९ साल फागुन महिनाको ५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रातिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।
१. राष्ट्रपतिमा रस्साकस्सी
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लो हुन थालेको छ । राष्ट्रपतिकै विषयमा सहमति जुटाउन पछिल्लो दिनमा दुई नेताबीच छलफल केन्द्रीत रहँदै आएको छ । एमालेले आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने अडान राख्ने र माओवादीले राष्ट्रिय सहमतिमा जोड दिने गरेका पृष्ठभूमिमा कसरी सहमतिमा पुग्ने भन्नेबारे दुई नेताबीच ‘होमवर्क’ हुँदै आएको हो । यद्यपि हालसम्म सहमति जुट्न सकेको छैन ।
यस्तो अवस्थामा सहमति नभए सत्ता गठबन्धन नै भत्किन सक्नेसम्मका टिकाटिप्प्णी समेत हुने गरेका छन् भने कांग्रेस माओवादीले आफूलाई राष्ट्रपति निर्वाचनमा सघाउनेमा आशावादी देखिन्छ ।
फागुन १३ गते उम्मेदवारी दर्ताको दिन भएकाले सो अघि सहमति जुटाउने कसरतमा ओली छन् भने प्रचण्ड एमालेलाई सघाउने कि कांग्रेसलाई भन्नेमा स्पष्ट भइसकेका छैन । यहीबीचमा बिहीबार र शुक्रबार तारन्तार ओली र प्रचण्डबीच भेटवार्ता भएको छ । यसअघि पनि पटक पटक दुई नेताबीच वार्ता हुँदै आएको थियो ।
प्रचण्डले सघाउलान् ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा निर्णय हुने बताएका छन् ।
एमाले अध्यक्ष ओलीसँग शुक्रबार बालकोटमा भेटघाट गरेपछि सञ्चारकर्मीसँग छोटो प्रक्रिया दिँदै प्रचण्डले समय आएपछि राष्ट्रपतिको विषयमा जानकारी हुने बताए ।
राष्ट्रपतिको निर्वाचन आउन समय अझै बाँकी भएकाले समय आएपछि एउटा बिन्दुमा पुगिने प्रचण्डले बताए ।
थप समाचार
२. शीतल निवासको निर्णय
निर्वाचन आयोगको निर्णयअनुसार जरिबानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिबाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिबाना माफी मिनाहा गर्ने निर्णय लिएकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिले जरिबानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी राष्ट्रपति विद्या भण्डारीले ३८१ कैदी बन्दीको कैद माफी मिनाहा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को मिति फागुन ४ गतेको बैठकको सिफारिसका आधारमा मिति फागुन ७ गतेदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३८१ ९तीन सय एकासी० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।
३. शिवरात्रिको तयारी
शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको सबै तयारी पुरा गरेको छ ।
४. जनमत र नाउपा एकताको कुरा अन्योल
सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता भएको डेढ महिनाभन्दा बढी भयो । तर यी दुई पार्टीबीच हालसम्म कुनै औपचारिक छलफल भने हुन सकेको छैन ।
यसैगरी सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ताको रायसुझावका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषद् हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पठाएको हो ।
५. माओवादीको स्कुल विभाग
नेकपा ९माओवादी केन्द्र० ले विचारधारालाई प्रभावकारी बनाउन चार तहको पाठ्यक्रम लागु गर्ने भएको छ । पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागु गरिने तय भएको माओवादी केन्द्र स्रोतले जनाएको छ ।
६. जनमोर्चाको ज्ञापन
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो ।
७. संवैधानिक परिषद् सम्बन्धी कानुनी व्यवस्था
सरकारले संवैधानिक परिषद् सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्न लागेको छ । यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजपछि कानुनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न नसकिरहेका बेला ऐन संशोधनको गृहकार्य थालिएको हो । संविधानको व्यवस्थाअनुसार प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने संयन्त्र संवैधानिक परिषद्को कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको छ ।
यसैगरी लामो समयदेखि अपडेट नभएको हेलो सरकारको ट्वीटर सेवा शुक्रबारदेखि फेरि सुरु भएको छ। रातोपाटीले बिहीबार ‘कहाँ अड्कियो तारः हेलो सरकार रु’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
समाचारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा ट्वीटरमा सरकार भ्रष्टाचार, अनियमिततालगायत धेरै गुनासा आउन थालेपछि ट्वीटर सेवा तत्काललाई बनाइएको उल्लेख थियो ।
तर, त्यसको २४ घण्टा बित्न नपाउँदै हेलो सरकारले ट्वीटर सेवा सुरु गरेको हो ।
८. अखिलमा समिक
नेकपा एमालेनिकट अनेरास्ववियूका नवनिर्वाचित समिक बडालले विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल गर्ने दाबी गरेका छन् । अनेरास्ववियूको अध्यक्षको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बडालले अनेरास्ववियु विद्यार्थी र शिक्षा क्षेत्रको पहरेदारको रूपमा स्थापित गरेर छोड्ने बताए ।
९. क्रिकेटमा उत्साह
कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै ८५ रन बनाए । उनलाई सोमपाल कामीले अन्तिमसम्म २४ रन बनाएर राम्रो साथ दिए । त्यस्तै कुशल मल्लले ८१ रन बनाउँदै नेपाललाई जीत तर्फ अग्रसर गराए । यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थिए ।
१०. यो पनि...
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यताबारे कानुन व्यवसायीसँग छलफल गरेको छ । शुक्रबार संसदीय दलको कार्यालयमा कांग्रेस सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले वरिष्ठ कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।
कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको शुक्रवार पहिलो अप्रेसन भएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा बिहीबार साँझदेखि उपचाररत भण्डारीको शुक्रवार दुवै खुट्टाको अप्रेसन गरिएको हो ।
सरकारले पृथ्वीजयन्ती र जनयुद्ध दिवसमा बिदा दिनेसहितका समग्र बिदाको विषय भदौसम्ममा पुनरावलोकन गर्ने भएको छ । अर्को वर्षका लागि क्यालेण्डर छापिसक्ने अवस्था भइसकेकाले आउने भदौसम्ममा पुनरावलोकन गर्ने र समग्र बिदालाई व्यवस्थित गर्ने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् ।
नेकपा एमालेले ‘मिसन ग्रासरूट’ अभियान सुरू गरेको छ ।पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले फागुन ५ गते शुक्रबारबाट २ महिनाका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित