चुनावपछिका बाबुराम
बबिता शर्मा
काठमाडौँ– यसपालि प्रतिनिधिसभा चुनावमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई दुई किसिमले लडे । एउटा उनी विगतका दुई चुनावभन्दा बढी ‘दबाब’मा थिए । अन्तिम नतिजा नआउन्जेलसम्म उनी हार–जितको अनिश्चयमा चुनाव लडिरहेका थिए ।
डा. भट्टराई जसरी पनि चुनाव जित्नै पर्ने ‘ठूलो दबाब’मा थिए । यसबाहेक उनी यसकारण अर्को चुनाव लडेका थिए । चुनाव उनले नेतृत्व गरेको नयाँ शक्तिको भविष्यसग जोडिएको थियो । डा. भट्टराई आफै पनि चुनाव हार्ने र आफ्नो पार्टीले सम्मानजनक भोट नपाउँदा नयाँ शक्तिको भविष्यमा ‘ब्रेक’ लाग्न सक्नेमा डा. भट्टराई गम्भीर थिए ।
डा.भट्टराई आफैले चाहिँ चुनाव जिते । तर, उनको पार्टीले जितेन । यसपालि राष्ट्रिय पार्टी बन्ने महत्वकाङ्क्षासहित नयाँ शक्ति चुनावी मैदानमा उत्रेको थियो । राष्ट्रिय पार्टीका लागि भोटको सीमा खसेको सदरमतको तीन प्रतिशत चाहिन्थ्यो । तर, नयाँ शक्तिले त्यति मत पाएन । राष्ट्रिय दल बन्ने उसको सपना पूरा भएन । संसदमा उनी स्वतन्त्र सांसदको हैसियतमा सहभागी हुँदैछन् ।
यी दुई घटनाक्रम हेर्दा डा. भट्टराईले आधा चुनाव जिते र आधा हारे ।
चुनावलगत्तै उनले हार–जितको बीचमा बसेर राजनीतिको यात्रा अगाडि बढाएका छन् । नयाँ प्रयोग पनि गर्दैछन् ।
त्यसैले उनले माक्र्सवादको ‘बनिबनाउ मन्त्र’बाट मुक्त भएर ‘बुद्धका कोटेसन’ भनिरहेका छन् । शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमिमा पुगेर बैठक गरेका छन् । ‘शक्तिशाली तेस्रो धुव्र’ बनाउने राजनीतिक सङ्कल्पसहित काठमाडौँ फर्केका छन् ।
यसमा उनलाई कति सफलता मिल्छ ? यो प्रश्नको उत्तर अहिले हतार हुन सक्छ । तर, चुनावपछि डा. भट्टराईले के–के गरे ? यसले चुनावपछिका डा. भट्टराईको मनोविज्ञान बुझ्न चाहिँ मद्दत गर्छ ।
चुनावी चासो र अपेक्षा
पहिलो चरणको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै थियो । पूर्वप्रधानमन्त्री डा. भट्टराई चर्चा र चासोमा थिए । कारण, माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. भट्टराई गोरखा–२ बाट चुनावी प्रतिष्पर्धामा हुनु ।
सर्वाधिक मत ल्याएर दुईवटा चुनाव जितेका डा. भट्टराईको जित अनिश्चयको घेरामा थियो । राष्ट्रिय राजनीतिका खेलाडी, मिडिया, अन्तर्राष्ट्रिय समुदाय र आममानिसले खुबै चासोका साथ हेरेका थिए । चुनाव अगाडि केपी ओली र प्रचण्ड गोरखा पुगे र त्यहाँको चुनावी भीडन्तको ‘सट्टाबजार’ थप पेचिलो भयो ।
वाम गठबन्धनबाट श्रेष्ठ चुनावी मैदानमा थिए, डा. भट्टराईलाई काँग्रेसको समर्थन । दुवै नेताले परिणाम आफ्नो पक्षमा पार्न कुनै कसर छोडेनन् । श्रेष्ठ जोडतोडका साथ मैदानमा थिए, डा. भट्टराईको पक्षमा उनको सिङ्गो पार्टी नै लाग्यो । डा. भट्टराईको चुनाव नयाँ शक्तिका लागि प्रतिष्ठा बन्यो । र, अन्तिममा परिणाम डा. भट्टराईकै पोल्टामा पर्यो ।
डा. भट्टराई आफू त जिते तर आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सकेनन् । नयाँ शक्तिका अन्य नेताको भनाइअनुसार उनी ढुक्क थिए, राष्ट्रिय पार्टी बन्नेमा । नयाँ शक्तिले तीनवटै निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन सकेन । चुनावअघिको नयाँ शक्तिको भविष्यवारे एक बुझाइ थियो भने चुनावपछिको नयाँ शक्तिबारे अर्को ।
नयाँ शक्तिको भविष्य के ?
नयाँ शक्तिसँग भन्दा पनि आम मानिसको ध्यान पूर्वप्रधानमन्त्री डा. भट्टराईमाथि छ ।
त्यसैले नयाँ शक्तिका निर्णयभन्दा डा. भट्टराईका अभिव्यक्ति बलशाली देखिन्छन् ।
चुनावपछि डा. भट्टराई थाक्छन कि फेरि उठ्ने कोसिस गर्छन् ? मानिसहरूमा प्रश्न थिए ।
अबको बाबुरामले सोचेको वैकल्पिक शक्ति के हुन्छ ? राजनीतिमा उठेको प्रश्न पनि हो ।
चुनावपछिका डा. भट्टराई यी प्रश्नको जवाफ खोज्न थाल्दैछन् ।
चुनाव जितेका वाम गठबन्धनका नेता सत्ता राजनीतिमा केन्द्रित छन् । चुनावपछि विपक्षी बनेको काँग्रेसभित्र अन्तरविरोधको समस्या छ ।
डा. भट्टराई चाहिँ एक सूत्रीय नारा बोकेर पार्टी पुनर्निर्माणमा लागेका छन् ।
गोरखा–२ बाट निर्वाचितपछि डा. भट्टराईले आफ्नो अस्तित्व त जोगाए । तर, उनले परिकल्पना गरेअनुसारको पार्टी बन्छ त ? अझै शङ्का कायमै छन् ।
आफ्ना लक्ष्य, उद्देश्य र कार्यक्रममा डा. भट्टराई जहाँको त्यहीँ छन् । तर, उनका लागि चिन्ता बनेको छ, सङ्गठन निर्माण ।
चुनावपछि राजनीतिक जीवनको उत्तरार्धमा उनले कतै ‘सेफल्यान्डिङ’ गर्ने हुन कि भन्ने चचा पनि थिए ।
तर उनले आफै बाटो खनेर अगाडि बढ्ने सोच बनाएजस्तो देखिन्छ ।
बुद्धभूमिबाट नयाँ प्रण
कास्कीको ल्वाङमा चुनावी समीक्षासहित पुसको १८ देखि २० सम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकले १० बुँदे घोषणापत्र जारी गर्यो । नयाँ शक्तिका नेताहरू बैठक समस्याको ‘डायग्नोसिस’ थियो
।
बैठक वाम गठबन्धनले पनि देशलाई विकल्प दिन नसक्ने निष्कर्षमा पुगेको थियो । अबको पाँच वर्ष पार्टीलाई नै व्यवस्थित र संस्थागत गर्ने बैठकको निर्णय थियो ।
यो बैठकले फागुन ९ देखि १२ सम्म सङ्घीय परिषद् बैठक आह्वान गर्यो । ल्वाङ बैठकलाई ‘डायोग्नोसिस’ मानेका नयाँ शक्तिका नेता लुम्बिनी बैठकलाई ‘अपरेसनल’ बनाउने बताउँथे ।
तीन दिनसम्म लुम्बिनीमा चलेको बैठक शनिबार ५ बुँदे ‘लुम्बिनी सङ्कल्प’ पारित गर्दै सकियो ।
कास्की र लुम्बिनी बैठकका निर्णय हेर्दा डा. भट्टराई नयाँ शक्तिलाई उठाउन एक पटक र हुन सक्छ अन्तिम पटक पूरै मिहिनेत गर्ने मुडमा देखिन्छन् ।
बुद्धका कोटेसन जपे
नयाँ शक्तिको बैठक समापनमा लुम्बिनी सङ्कल्प आयो । त्यहाँ उपस्थित सबैले सामूहिक वाचन गरे । डा. भट्टराईले पढे, अरूले दोहोर्याए, शपथको शैलीमा ।
सङ्कल्प प्रस्तावको सुरुमै छ, ‘आजभन्दा करिब २५ सय वर्षअगाडि गौतम बुद्धले भन्नुभएको थियो– दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको अष्टमार्गबाट दुःखको निराकरण गर्न सकिन्छ ।’
‘लुम्बिनी–सङ्कल्प–२०७४’ को अन्तिमतिर फेरि एक पटक बुद्धको कोटेसन छ, ‘बुद्ध यो पनि भन्नु हुन्थ्यो– एउटा बलेको दियोेले हजारौँ दीपहरू जलाउन सकिन्छ ।’
त्यसपछि नयाँ शक्तिको कुरा थियो, ‘नयाँ शक्ति पार्टी, नेपाल भन्छ– पार्टीका प्रत्येक अभियन्ता आफैमा बलेका एक दियो हुन् । हजारौँ नयाँ दीपहरू जलाउने छौँ । नेपाली जनताको मुहारमा आज जुन अध्याँरो छ समावेसी लोकतन्त्र, सुशासन र समृद्धिको उज्यालोले आलोकित गरिछाड्ने छौँ ।’
त्यस अगाडि पनि उनले बुद्धलाई सम्झेका थिए । फागुन ९ गते बैठक उद्घाटनमा बुद्धलाई सम्झिए । उनले बुद्धले कसरी ज्ञान प्राप्त गरे र कसरी बुद्धत्व प्राप्त गरे भन्नेसम्म चर्चा गरे ।
लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर नयाँ सङ्कल्पसहित कार्यक्षेत्रमा फर्कने बताए । ‘विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ । जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो’ डा. भट्टराईले भनेका थिए, ‘अहिले विश्व नै वैचारिक सङ्कटबाट गुज्रिरहेको छ, हामी लुम्बिनीबाट नयाँ विचारसहित नयाँ सङ्कल्प गरेर कार्यक्षेत्रमा जान्छौँ ।’
डा. भट्टराईले विश्व नै वैचारिक सङ्कटबाट गुज्रिरहेकाले बुद्धलेजस्तै आँट गरेर नयाँ विचार दिनुपर्ने बताएका थिए । ‘हामीले एउटा आँट गरेका छौँ, हामी यसको नेतृत्व गर्न सक्छौँ’ उनले भनेका थिए, ‘गौतम बुद्धले पनि त्यति सजिलै बुद्धत्व प्राप्त गर्नुभएको होइन ।’
कार्यकर्तालाई उत्साह थप्न उनले बुद्धले कसरी कष्टसाध्य ढङ्गले ज्ञान प्राप्त गरे भन्ने व्याख्या सुनाए । डा. भट्टराईले ६ महिनासम्म तपस्या गर्दा सबै साथीले छाडेको र भागदौड मच्चिएको प्रसङ्ग जोड्न भ्याए । उनले भनेका थिए– ‘राजा शुद्धोधनले पनि ९ पटकसम्म दरबार बोलाउन पठाएका थिए । बुद्धलाई अत्याउने र सुन्दरीहरूबाट मोहित गर्ने प्रयास पनि भएको थियो ।’
डा. भट्टराईले थपे, ‘राजनीति बिग्रिएको छ, फोहोर र भ्रष्टाचारबाट व्याप्त छ । हिजोका क्रान्तिकारीहरू पनि भ्रष्टाचारले रङ्गिएका छन् । यसर्थ, हामीले रूपान्तरणका लागि नयाँ राजनीति सुरु गरेका हौँ । रूपान्तरणको निम्ति शक्ति आर्जन गर्न र सन्देश दिन हामी लुम्बिनी आएका हौँ । विचार भनेको कम्पास हो, यसले बाटो देखाउँछ ।’
पार्टी बनाउन समय लाग्ने सङ्केत गर्दै उनले भनेका थिए, ‘पुराना शक्तिहरू आफैंभित्र समस्याग्रस्त भएकाले वैकल्पिक शक्ति तेस्रो ध्रुवको रूपमा उदाउने निश्चित छ । शरीरको रोगलाई डाक्टरको आँखाले मात्र देख्छ, पुराना शक्तिहरूको आकार जतिसुकै ठूला भए पनि उनीहरूभित्र रोग र विकृति छ ।’
उनले नयाँ शक्तिले आफैभित्रका पनि रोगहरूको उपचार गर्दै लुम्बिनी सङ्कल्प गरेर कार्यक्षेत्रमा फर्कने बताए ।
‘लुम्बिनी–सङ्कल्प–२०७४’ मा के छ ?
बुद्ध जन्मभूमि लुम्बिनीमा बसेको उक्त बैठकले देशमा समस्या भए पनि ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ ।
नेपाली जनताको सुख, समृद्धि र खुशीबाहेक आफूहरूको अरू कुनै राजनीतिक स्वार्थ नरहेको भन्दै सङ्कल्प प्रस्तावमा भनिएको छ, ‘राजनीति हाम्रा लागि सेवा गर्ने माध्यम हो, पेशा व्यवसाय हैन । सत्ता, शक्ति, धन, पद र व्यक्तिगत प्रतिष्ठाको स्वार्थपूर्तिको माध्यम राजनीतिलाई कहिल्यै बनाउने छैनौँ ।’
स्वाधीन, समावेशी, सुशासित, समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने लक्ष्य पार्टीको राजनीतिक जीवनको मुख्य लक्ष्य हुने सङ्कल्प पनि लिइएको छ ।
यस्तै नयाँ युगको नयाँ आवश्यकतालाई पूरा गर्न आफूहरू ‘नव मानव’ बन्ने, कहिले पनि भ्रष्टाचार नगर्ने, काँग्रेस वा नामधारी कम्युनिष्ट दलहरूले छर्ने कुनै भ्रममा नपर्ने, अग्रगामी ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्न कुनै कसर बाँकी नराख्ने लगायतका सङ्कल्प पनि नयाँ शक्तिले गरेको छ । साथै साङ्गठनिक सवालमा चौथो विस्तारित बैठकले निम्न निर्णयहरू गरेको छ |
बैठकले नयाँ शक्तिले ‘भिजन ५ र मिसन ५’ नामक साङ्गठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । जसअन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै सङ्गठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाउने जनाएको छ ।
सङ्गठनात्मक संरचनालाई वैज्ञानिकपन दिन कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन गरेको छ । साथै ९९ जनाको केन्द्रीय कार्यकारी समिति गठन गरिएको छ । त्यस्तै महाधिवेशन आयोजक समितिको अभिन्न अङ्गका रूपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरेको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गरेको छ ।
बैठकले आसन्न प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको र सोका लागि छलफलबाट उपयुक्त नाम तय गर्ने बताएको छ ।
सत्ताबाहिरका सङ्कल्प
डा. भट्टराईका पछिल्ला भनाइ र उनले सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाअनुसार उनी वामगठबन्धनको सरकारमा सहभागी हुने सम्भावना कम देखिन्छ ।
सत्ता बाहिरका डा. भट्टराईले मुद्दा उठाउन त सक्छन्, तर कार्यान्वयन गर्न सक्दैनन् । चुनावी अभियानका बेला गोरखामा आश्वासन पनि दिएका छन् । ती आश्वासन कसरी पुरा गर्लान् ?
चुनावअघि उनी विभिन्न राजनीतिक निर्णयले चर्चामै रहे । अब राजनीतिमा छिटो–छिटो प्रयोग कठिन बन्नेछ ।
मैदानमा कम भए पनि उनले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा राख्न छाडेका छैनन् । वामगठवन्धनका नेताहरूलाई निकै घोचिलो र व्यङ्ग्यात्मक शैलीमा आफ्नो प्रतिक्रिया दिने गरेका छन् । विभिन्न विषयमा पनि उनी प्रतिक्रिया दिन्छन् ।
चुनावपछि उनका गतिविधि
निकै प्रतिस्पर्धा हुने आँकलन गरिएको गोरखा–२ बाट धेरै चुनाव जितेपछि उनी निकै उत्साहित देखिएका थिए ।
चुनावी परिणाम सार्वजनिक भएपछि मङ्सिर २४ गते उनले विजयी सभालाई सम्बोधन गरे । मतदातालाई धन्यवाद दिए ।
त्यसलगत्तै काठमाडौँ पर्किएका उनी केही समय परिवारसहित आराम गरे । काठमाडौँकै केही सम्मान कार्यक्रमा सहभागी भए । परिवारका सबै सदस्य रिसोर्ट गए ।
त्यसपछि मतदातालाई धन्यवाद दिन पुस २ गते गोरखा गए, करिब एक हप्ता बसे । मतदातालाई धन्यवाद दिँदै हिँड्ने क्रममा समृद्ध गोरखाको निर्माणको नेतृत्व आफैले गर्ने बताए । ‘सबै नेपालीले घर नबनाएसम्म म भाडाकै घरमा बस्छु ।’ गोरखामा डा. भट्टराईले दिएको यो भाषण चर्चित पनि भयो ।
चुनावपछि उनी काठमाडौँ आउने र गोरखा जाने क्रम जारी राखे र अहिले पनि कायमै छ ।
त्यसपछि उनी चुनावको समीक्षातिर लागे । अनौपचारिक बैठक, व्यक्तिगत भेटघाटबाट भविष्यको राजनीतिको खाका बनाउन लागे ।
त्यसपछि औपचारिक बैठक बोलाए । चुनावी समिक्षा र पार्टीको भावी कार्यदिशा तथा रणनीति तय गर्न कास्कीको ल्वाङमा महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बोलाए । बैठकमा सहभागी हुन पुस १७ गते पोखरा पुगे । बैठकमा पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति बनाएरै छाड्ने बताए ।
यहाँ उनले कसैलसँग पार्टी एकता नहुँने बताए । र काँग्रेसको हकमा उसँग मुद्दाका आधारमा सहकार्य हुन सक्ने, तर नयाँ शक्ति पार्टीलाई अलग्गै धार र स्वतन्त्र पहिचानसहित अघि बढाउने बताए । सुरुमा पार्टी विस्तार र सुदृढीकरणमा लाग्ने, त्यसपछि सामाजिक–राजनीतिक अभियान चलाउने र ५ वर्षपछि पार्टीलाई बलियो विकल्प बनाउने उनले सुनाए ।
बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास र विस्तार गर्नेसहित १० बुँदे घोषणा पत्र जारी गरेको थियो ।
कास्की बैठकपछि उनी सीधै गोरखा पुगे । अमरज्योति माध्यमिक विद्यालय गोरखाले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम सहभागी भए । त्यसलगत्तै काठमाडौँ पर्किए ।
त्यसको केही दिनपछि उनी भूकम्प प्रभावित भैरवाश्रम माध्यमिक विद्यालयको नवनिर्मितभवन उद्घाटनमा सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
गोरखामै उनले आफू रहँदासम्म गोरखा रबर उद्योग कसैलाई बेच्न नदिने बताए ।
समाजिक सञ्जालमा
नेपालमा कैयौँ राजनीतिकक दलका नेताहरूलाई हेर्ने हो भने नयाँ विकास र प्रविधिको भरपुर फाइदा लिने नेता कमै छन् । पछिल्लो समय सामाजिक सञ्जाल निकै महत्वपूर्ण मानिदै आएको छ । डा. भट्टराई सामाजिक सञ्जाल फेसबुक र ट्विटरको भरपुर प्रयोग गर्छन् ।
सामाजिक सञ्जाल प्रयोग गर्ने राजनीतिक दलका नेताहरूमध्ये निकै अगाडि रहेका उनी पछिल्लो समय भनाइ फेसबुक र ट्विटर मार्फत दिन्छन् ।
सकारात्मकभन्दा पनि बढी नकारात्मक टिप्पणी आउने उनका प्रतिक्रियामा कुनै प्रतिक्रिया जनाउँदैनन् । तर कहिलेकाहीँ ट्विटरमा भने री ट्विट गरेको देखिन्छ । अब केही उनले सामाजिक सञ्जालमा दिएका केही कुराहरू चर्चा गरौँ ।
डा. गोविन्द केसी प्रक्राउ प्रकरणमा उनले खुलेर केसीको पक्षमा आए । डा केसी प्रक्राउन परेलगत्तै उनले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिए ‘मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी सङ्घर्षरत डा. गोविन्द केसी पक्राउ परेको खबरले दुखी छु । डा. केसीको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि डा. केसीको अभियानमा सदाझैँ मेरो र नयाँ शक्तिको ऐक्यबद्धता छ ।’
सामाजिक सञ्जालमा पोस्ट गरेको यो प्रतिक्रियामा भने केही सकारात्मक टिप्पणी आए । त्यसो त उनी लगातार डा. केसीको पक्षमा बोलिरहे ।
त्यसपछि उनले बालकृष्ण ढुङ्गेललाई भेटेको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराए । उनले डिल्लिबजारस्थित सदरखोर कारागारमा पुगेर कैद सजाय भोगिरहेका माओवादी नेता ढुङ्गेललाई भेटेका हुन् । भेटपछि डा. भट्टराईले आफूलाई निकै आत्मग्लानी अनुभूति भएको बताएको भन्दै क्रान्तिलाई अपराध मान्न आफू तयार नभएको बताए । ‘जनयुद्धका सहयोद्धा तथा पूर्वसभासद बालकृष्ण ढुङ्गेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानीको अनुभूति भयो । क्रान्तिलाई अपराध मान्न मन कत्ति तयार भएन ।’ भट्टराईले फेसबुक पेजमा लेखेका छन् ।
भट्टराईले जनयुद्धरूपी क्रान्तिकारी रुखको फल गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेसी र समानुपातिक लोकतन्त्रको फल मीठो मानेर थपीथपी खाने तर त्यो फलाउने रुखका रूपमा रहेका बालकृष्ण ढुङ्गेल जस्ता हाँगाहरू बालेर आगो ताप्न कसरी सकिन्छ ? भन्दै प्रश्न गरे । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता ढुङ्गेल कात्तिकदेखि सदरखोरमा सजाय भोगिरहेका छन् ।
व्यापारी अजयराज सुमार्गीको रोकिएको रकमबारे नेपाली राजनीति र मिडिया दुई धारमा विभाजित थियो । विवादका बीच सर्वोच्च अदालतले २०७४ माघ २४ गते सुमार्गीको रकम रोक्का नगर्न अन्तरिम आदेश दियो ।
यो विषयलाई लिएर बाबुरामले ट्विट गरे, ‘कथित ट्याक्स हेभन भनिने मुलुकहरूबाट पैसा भित्र्याउनु भनेकै दालमा कालो हुनु हो । राज्यको अधिकार प्राप्त निकायले त्यसको छानविन गर्न नदिने र आलटाल गर्ने, त्यही बहानामा अदालत जाने र दलीय नियुक्ति पाएका वकिल र न्यायाधीशहरूको सेटिङ मिलाएर मुद्दा जित्ने । फेल स्टेटको योभन्दा अर्को ठूलो लक्षण के हुन सक्छ ?’
राजनीतिकबाहेक उनी मनोरञ्जनतिर पनि रमाउने गरेको कुरा सामाजिक सञ्जालबाट पोस्ट गर्छन् । ‘दयाहाङ राईसँगै सपरिवार मिस्टर झोले हेर्दै । स्वस्थ मनोरञ्जनात्क नेपाली फिल्म हेर्नलायक रहेछ है ।’
दयाह्याङ राईको फिल्म ‘मिस्टर झोले’ हेरेपछि तस्बिरसहित लेखे ।
समय र परिस्थितिलाई आफू अनुकूल व्याख्या गर्न सक्ने उनी महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडका बारेमा पनि प्रतिक्रिया दिन भ्याए । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले लेखे ‘महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याडबारे देशको एउटा पूर्वप्रमले फेसबूक मार्फत चर्चा गर्दा तपाईंलाई आश्चर्य लाग्ला, रिस उठ्ला ? एक छिन पर्खनोस् । भारतीय गणतन्त्रदिवसको पूर्वसन्ध्यामा भारतीय राजनीतिबारे बुझ्ने मनसायले टिभी च्यानल चाहार्दै जाँदा जी न्युजको एउटा कार्यक्रमले मनमस्तिकमा नराम्रो झट्का दियो ? भारतका ४० करोडमध्ये १२ प्रतिशत महिलाले मात्र महिनावारी भएका बेला सुरक्षित स्यानिटरी प्याड प्रयोग गर्दा रहेछन्, बाँकी ८८५ ले फोहोर कपडा, पराल, खरानी आदि प्रयोग गर्दा रहेछन् ।’
यसमा उनले नेपालको मुद्दा पनि जोडे, ‘कहिलेकाहीँ हामीमध्ये र सुदूर–पश्चिमका विकट पहाडी जिल्लामा छाउपडी प्रथाद्वारा महिलाहरूको मृत्यु भएको समाचार सुन्छौँ र केही दिन उद्वेलित हुन्छौँ । तर गरिबी, अशिक्षा, अन्धविश्वासबाट ग्रसित हाम्रो समाजमा हाम्रा महिलाहरू सुरक्षित स्यानिटरी प्याडको अभावमा कति पीडाबाट गुज्रिरहेका होलान् र अकालमै मरिरहेका होलान् भन्ने कहिल्यै सोचेका छौँ ? अब सोच्न ढिलो र आलटाल नगरौँ ? क्रान्ति, परिवर्तन, समृद्धि यस्तै झिनामसिना र अप्रिय कुराबाटै सुरु हुन्छन् भन्ने नभुलौँ । आगे जो मर्जी ।’
उनले पछिल्लो समय बढ्दो बलत्कारका घटना बाहिर आउँदा सबै मिलेर प्रतिकारको निम्ति आवाज उठाउन आग्रह पनि गरेका थिए । भने २३औँ जनयुद्ध दिवसलाई आफ्ना पुराना तस्बिरहरू सार्वजनिक गर्दै सम्झिए ।
अब उनको पछिल्लो एउटा महत्वपूर्ण प्रतिक्रिया । उनले लेखेका छन् ‘एमाले–माके एकताप्रक्रिया औपचारिक रूपले अघि बढेकोमा हार्दिक बधाइ तथा शुभकामना । राजनीतिमा पनि ‘भेडा भेडासँग बाख्रा बाख्रासँग’ हुनु राम्रो कुरा हो ।’
उनले यो एकताबाट अब नेपाली जनतालाई विचार र नीति र कार्यक्रम कार्यशैली एउटै भएका तर ब्रान्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो भएको बताए ।
लेखे, ‘अब देशमा दोस्रो विश्वयुद्धपछिको शितयुद्धकालीन दुई ध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर काँग्रेस र स्टालिनवादी राज्य (समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौँ शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनी क्यापिटालिज्म ( आसेपासे पुँजीवाद) को दुश्चक्रमा फस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसी समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेस्रो धार निर्माण गर्न मद्दत पुग्नेछ ।’
थप समाचार
नयाँ शक्तिले ‘भिजन ५ र मिसन ५’ सहित संगठन पुनर्गठन गर्ने, नाम पनि फेर्ने
छाया सरकार चलाउने बाबुरामको घोषणा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि
-
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
-
आइपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार
-
कमजोर कम्पनीको महँगो सेयर मूल्य !