काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावल राष्ट्र र राष्ट्रियताका सवालमा खरो तर्क गर्ने नेता हुन् । तर हाल उनी एमालेका कुनै पनि पार्टी गतिविधिमा सक्रिय छैनन् । गत मङ्सिरमा भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि निष्क्रियजस्तै बनेका रावल पछिल्लो समय माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चलेको छ । के रावल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ? प्रस्तुत छ, राष्ट्रपति निर्वाचन, प्रचण्ड नेतृत्वको सरकारलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानी -
तपाईं अहिलेसम्म एमालेमै हुनुहुन्छ ?
म ५० वर्षदेखि एमालेमा निरन्तर छु । अहिले पनि यसको सदस्य हुँ ।
–भीम रावल चलाख, चलायमान र बौद्धिक नेता भनेर चिनिन्छ । जसले सबै किसिमका सूचना पनि राख्नुहुन्छ त्यस्तो व्यक्ति अहिले चुपचाप बस्नुभएको जस्तो देखिन्छ, ऊर्जा मरेर गएको हो ?
देश र जनताका लागि मैले राजनीति गर्नुपर्छ भन्ने सोचेको थिएँ । तदनुरूप एमालेका घोषित नीति कार्यक्रम र नेपालको संविधानको समाजवादउन्मुख प्रणाली, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता अखण्डता र राष्ट्रिय स्वाभिमानका विषयमा म सक्रिय नै छु । तर पदीय राजनीतिमा क्रियाशील छैन । किनभने म नेकपा एमालेको कुनै जिम्मेवार पदमा छैन । तर यसबाट पनि मैले मन खुम्च्याएर देश र जनताका लागि राजनीति गर्नुपर्छ भनेर जुन अठोट गरेको थिएँ, त्यसबाट पछि हटेको छैन ।
–भीम रावल अब सामाजिक सञ्जालमा मात्र सीमित हुनुभयो भनेर किन भन्छन् त मान्छेहरू ?
राजनीतिमा विचार प्रवाह, सिद्धान्तप्रतिको कटिबद्धता, देशप्रतिको निष्ठता भनेको धेरै ठूलो कुरा हो । कहिलेकाहीँ त्यो पदभन्दा पनि धेरै ठूलो कुरा हुन्छ । नेपालकै इतिहासमा पनि कतिपय व्यक्तिको हकमा देखेका छौँ । यद्यपि पार्टी र सरकारका औपचारिक पदहरूमा रहँदा राष्ट्रिय राजनीतिलाई र राज्यका नीतिहरूलाई जसरी प्रभावित गर्न सकिन्छ तपाईंले त्यो अर्थमा भनेको हो भने ठिकै छ ।
–एमाले छोड्न नसक्नुपर्ने कुनै कारण छैन । यत्रो ऊर्जावान् समय खेर गइरहेको छ । तपाईंको बौद्धिकता मानिसहरूले उपयोग गर्न पाइरहेका छैनन् ? र पनि एमाले छोड्न नसक्नुको कारण के हो त ?
मैले जे कुराका लागि राजनीति आरम्भ गरेँ, देशको सर्वोपरी हितलाई केन्द्र भागमा राख्दै जनताको हित र अधिकारलाई महत्त्वपूर्ण स्थानमा राखेर अघि जाने यी दुई कुरा प्राप्तिका लागि भूमिका निर्वाह गर्दै आएँ । मलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा मेरो एकल नाम सिफारिस हुँदा पनि केन्द्रबाट रोकियो । यसका बाह्य र आन्तरिक केके आयाम छन् भन्ने कुरा सबैलाई जगजाहेर नै छ । अहिले पनि मैले यो पार्टीको सदस्यको हैसियत कायम राखिराख्नुको अर्थ यो पार्टीमा धेरै ठूलो देशभक्तहरूको पङ्क्ति देखेँ । धेरै मानिसहरूले दुःख र अनेकौँ कष्ट गरेर पार्टीको निर्माण गरे । अझै पनि यो पार्टी ठीक ठाउँमा जान्छ कि विधि प्रणालीबाट अघि बढ्छ कि ? घोषित नीतिहरू कार्यान्वयन गर्न सकिन्छ कि र यसका कार्यकर्ताहरूले देशव्यापी रूपमा जे उद्देश्यबाट राजनीति गरिरहेका थिए त्यो बाटोमा जान्छन् कि भन्ने अझै अपेक्षा र आशा गरिरहेको छु ।
–अहिलेकै नेतृत्वमा त्यो आशा, अपेक्षा गर्न सकिन्छ ?
नेतृत्व सदासर्वदा अटल रहने हो जस्तो मलाई लाग्दैन । मार्क्सवादमा विश्वास गर्ने मान्छेले त झनै संसार गतिशील र परिवर्तनशील छ भन्ने द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मान्छ । त्यसकारण अहिलेको जुन नेतृत्वबाट भएका कामकारबाहीहरू देखिएका छन्, त्यसमा पहिले र अहिलेमा तात्त्विक भिन्नता म देख्दिनँ । तर पार्टी भनेको सामूहिक विवेक, परिश्रमबाट निर्माण भएको हुन्छ । यदि कसैले त्यो दिशातर्फ सोचेछन्, पाइला चालेछन् भने यो व्यापक शक्ति राष्ट्रका लागि उपयोगी हुन्छ भन्ने मेरो आशय हो । यद्यपि सदासर्वदा यस्तै भइरहन्छ, मैले यतिकै मात्र सोचिरहन्छु भन्ने पनि होइन ।
–अहिलेको नेतृत्व भनेको पार्टी अध्यक्ष केपी ओलीको बहिगर्मन भन्ने बुझ्नुपर्यो, होइन भने उहाँ हुँदासम्म त तपाईंलाई पार्टीमा इन्ट्री छैन भन्ने नै बुझिन्छ नि ?
पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति हो जस्तो म ठान्दिनँ । जहाँसम्म पार्टी अध्यक्षको कुरा गर्नुभयो उहाँसँग मेरो कुराकानी भएको छैन । उहाँले कसरी सोचिरहनुभएको छ, त्यो उहाँको कुरा हो । म के मात्रै ठान्छु भने नेकपा एमाले हजारौँ मानिसहरूको पसिनाबाट बनेको सङ्गठन भएकाले यसका घोषित नीति, कार्यक्रम स्थापित हुनसक्छन् कि पुनर्विचार हुन्छ कि भनेर मैले यो सोचेको हो ।
कति समयसम्म कुनुहुन्छ ?
कुर्नेभन्दा पनि आफूले पनि प्रयत्न गर्ने हो । अर्को शब्दमा भन्दा राजनीतिक वैचारिक सङ्घर्ष पनि हो मेरो । पहिलाको नेकपा माले र एमालेमा पनि फरक विचारलाई सम्मान गरिन्थ्यो । त्यसैले यसका सबै सम्भावनालाई हेर्ने, सम्भावनाहरू कार्यान्वयन हुन्, पार्टी ठीक बाटोमा जाओस्, कम्युनिस्ट भनेको काम लाग्दैन भन्नेसँग मुक्त भएर कमसेकम संविधानको भावनाअनुसार चल्नुपर्छ भन्ने मान्यता राखेको छु । मेरो यो प्रयत्न कुन गन्तव्य र विन्दुसम्म जान्छ भन्ने कुरा यसअघि मैले एउटा सूत्र भनेको छु । त्यो भनेको पार्टीको मति र राष्ट्रिय राजनीतिको गतिअनुसार मेरा पाइला आगामी दिनमा चल्नेछन् । अहिले पनि म त्यो कुरामा अडिग छु ।
–तपाईं एमालेको सङ्गठित सदस्यसम्म हुनुहुन्छ तर पार्टी अध्यक्षलाई भेट्न जानुहुन्न, जिम्मेवारी पनि माग्नुहुन्न । पार्टी अध्यक्षलाई तपाईंसम्म आइपुग्न गाह्रो होला । तपाईंले अध्यक्षलाई नभेट्नुको कारण के हो ? अध्यक्षलाई नै नभेटी टिकट पाइन्छ त ?
नेकपा एमाले मार्क्सवाद लेनिनवादमा आधारित पार्टी हो । यो सामन्ती दर्शन र चिन्तनमा आधारित पार्टी होइन, जहाँ प्रत्येक सदस्यहरूले पार्टी प्रमुखकोमा धाएर हजुर ! मैले जिम्मेवारी पाउनुपर्यो भनेर विन्ती गर्नुपरोस् ।
–तपाईंमाथि यस्तो गम्भीर आरोप लागेको छ नि, एमालेमै बसेर एमाले नै सिध्याउने काम गरिरहनुभएको छ भन्ने ?
मैले नेकपा एमालेमा ५० वर्ष योगदान गरेँ, जसमा यसको विस्तार, निर्माण, सुदृढीकरण, प्रभावकारी कार्यान्वयनका हरेकौँ मोर्चाहरूमा योगदान गरेँ तर अहिले कोही ज्यान मुद्दा लागेका र फरार अभियुक्त नेकपा एमालेको टिकट पाएर उम्मेदवार । कोही हिजोको खुङ्खार प्रतिक्रियावादी भनेर चिनिएकाले एमालेको टिकट पाएर उम्मेदवार, कोही बाह्य शक्तिसँग अत्यन्त निकट भनेर देश दुनियाँले चिन्ने त्यस्ता एमालेका उम्मेदवार, कोही कम्युनिस्टलाई कमाउनिस्ट अधिनायकवादी भन्नेलाई उम्मेदवार अनि मैले नेकपा एमालेमा रहँदा किन रह्यो भनेर ठान्छ भने के नेकपा एमाले कम्युनिस्ट विरोधी कित्तातिर धकेलिँदैछ ? र मैले थाम्न सक्छु वा सक्दिनँ या मजस्ता हजारौँ कार्यकर्ताले थाम्ने प्रयास गर्दा के हुन्छ ? भन्ने प्रश्न आउँछ एउटा ।
दोस्रो देशभरि मैले निर्वाचनमा हराएको भन्ने प्रश्नमा प्रतिप्रश्न गर्न मन लागेको छ । मेरो कारणले एमालेका उम्मेदवारले चुनाव हारेको भन्ने ? म त कुनै फरार अभियुक्त पनि होइन, कम्युनिस्टलाई अधिनायकवादी भन्ने पनि होइन । कम्युनिस्टलाई सैतान भन्ने होलीवाइन जस्तो पनि होइन, जसलाई प्रतिनिधि सभाको सदस्य बनाइएको छ । अनि मजस्तो निरन्तर पार्टीमा लागेको र कैयौँ चरणमा यो पार्टीलाई फुटबाट बचाएको छ । १० बुँदे सहमति दुई अध्यक्षसम्म पनि राख्न सकिने भनेर पार्टीलाई जोगाउन गरिएको सहमति थियो । यद्यपि त्यसलाई कार्यान्वयन गर्न नेतृत्वले नै जाँगर देखाएन र पछि आफ्ना वचनबाट उहाँहरू पछि हट्नुभयो । यस्तो भूमिका खेल्ने व्यक्तिलाई रोक्दा देशव्यापी असर परेछ र हारेछन् । जसले त्यो रोक्ने काम गर्यो, त्यो हारको कारण त रोक्न निर्णय गर्ने ठहर्छ नि ! त्यसो हो भने त पार्टी बैठकले त्यसो गर्नेलाई कारबाही गर्नुपर्यो ।
–पछिल्लो समय तपाईं नेकपा एकीकृत समाजवादीमा जाने कुरा पनि आयो । तर सर्त धेरै राष्ट्रवादी हुनुभएकाले समाजवादीले भित्र्याउन गाह्रो भयो भन्ने पनि छ नि ?
म कुनै पार्टीमा जाँदैछु भन्ने कुरा नै गलत हो । म कुनै पार्टीमा जानुपर्यो भने त्यो कुनै गोप्य रहने कुरा भएन । म कारण र औचित्यसहित घोषित रूपमै जान्छु ।
–समाजवादीमा जान माधव नेपालसँग कुरा गर्नुभएको होइन ?
कुरा त राजनीतिमा हुने नै भयो । मसँग नेकपा एमालेका देशभरिका कार्यकर्ता, कतिपय सांसद, माओवादी र एकीकृत समाजवादीका नेताहरूसँग कुरा नहुने कुरा भएन । जब माधव नेपालजीकोमा नेकपा एमालेकै ठुल्ठूला पदमा भएका नेताहरू कोटेश्वर गएर भेट्नुहुन्छ भने मैले भेट्न नहुने भन्ने हुन्छ र ? केपी ओली र प्रचण्डबीच भएको होइन लडाइँ ? आधाआधा प्रधानमन्त्रीमा ? अनि केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुहुन्छ भने मैले प्रधानमन्त्री प्रचण्डकहाँ गएर कुरा गर्न नहुने हो र ? प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेको छु– केही समय पहिले सुदूरपश्चिममा गएको भूकम्पको कुरा पनि थियो । त्यो लगायतमा कुराकानी गर्न उहाँहरूलाई भेटेको छु ।
–एकीकृत समाजवादीमा प्रवेश गर्न के कुराले रोकेको हो त ?
मेरो एकीकृत समाजवादीमा प्रवेश गर्ने योजना नै छैन । मैले के भन्दै आएको छु भने नेकपा एमाले, माओवादी केन्द्र वा एकीकृत समाजवादी होस् । हामीले संविधान निर्माणका बेलामा देशको सर्वोपरी हितलाई ध्यानमा राखेर स्वाधीन, स्वतन्त्र र आत्मनिर्भरको अधिकार हुन्छ । संयुक्त राष्ट्रको वडापत्रअनुसार प्रत्येक देशलाई त्यो हुन्छ । त्यसमा अडिएर कुनै देशको विरुद्धमा नभएर आफ्नो देशको राष्ट्रिय हितमा त अड्नुपर्यो नि ! त्यो विषयसँग सम्बन्धित देशको राजनीति, अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, संकृति, ऊर्जा कृषिलगायतका कुरा हामीले संविधानमा लेखेका छौँ । त्यो कार्यान्वयन हुनुपर्छ भन्ने हो ।
–राष्ट्रपतिको निर्वाचनपछि नेकपा एमाले यो गठबन्धन टिक्दैन भन्ने टिप्पणी भइरहेका छन् । यसमा तपाईंको टिप्पणी के छ ?
त्यस विषयमा उहाँहरूले के निर्णय गर्नुभएको छ त्यो मलाई थाहा छैन । मैले अहिलेको राजनीतिक परिदृश्य र परिघटना मात्रै हेर्ने हो । यसमा जे जस्ता परिदृश्य बाहिर आइरहेका छन् त्यसमा भित्र र बाहिरका अनेक शक्तिहरूले जुन प्रकारको घृणित खेल खेलिरहेका छन् यो हेर्दा राष्ट्रपतिको निर्वाचनको प्रसङ्गले सरकारमा उथलपुथल हुने सम्भावना देखिन्छ । यो उथलपुथल हुने क्रममा कुनै पार्टी सरकारबाट बाहिर निस्कने स्थिति सिर्जना भयो भने पनि आश्चर्य मान्नुपर्ने स्थिति देखिँदैन । किनभने अहिलेको राजनीति नै सत्ता स्वार्थमा केन्द्रित छ ।
प्रतिक्रिया