चिट्ठामा जितेको रकम श्रीमतीसँग लुकाएपछि अदालतले दियो क्षतिपूर्तिको आदेश
चिट्ठा जितेको कुरा श्रीमतीबाट लुकाएपछि चीनका एक व्यक्तिलाई अदालतले क्षतिपूर्ति दिन आदेश दिएको छ । झाउ थर भएका व्यक्तिले चिट्ठामा १० मिलियन युआन (१.५ मिलियन डलर अर्थात् करिब २० करोड रुपैयाँ) जितेका थिए ।
अडिटी सेन्ट्रलका अनुसार सन् २०२१ मा ती व्यक्तिले चिट्ठा जितेका हुन् । कर स्वरूप निश्चित रकम तिरेपछि उनलाई १.२३ मिलियन डलर (करिब साढे १६ करोड रुपैयाँ) रकम प्रदान गरिएको थियो । यो उनको र उनको परिवारकै जीवन परिवर्तन गरिदिने खालको धनराशि थियो । तर उनले यो खुसीको खबर श्रीमतीलाई सुनाएनन् । केही नभएको जस्तो अभिनय गरिरहे । चिट्ठाको रकम उनको बैङ्क खातामा ट्रान्सफर हुने दिन झाउले आफ्नी बहिनीको बैङ्क खातामा २ मिलियन र पूर्व श्रीमतीलाई अपार्टमेन्ट खरिद गर्नका लागि ७ लाख युआन ट्रान्सफर गरिदिए । उनले श्रीमतीलाई आफूले चिट्ठा जितेको कुरा दुई वर्षसम्म लुकाइरहे ।
झाउकी श्रीमतीले यसबारे कसरी थाहा पाइन् भनेर केही जानकारी नदिए पनि यसबारे उनलाई थाहा हुने बित्तिकै उनले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । यस्तै, चिट्ठाको रकम आफूलाई नदिएको भन्दै उनीमाथि मुद्दा पनि हालिन् । झाउले चिट्ठा जित्दा यी दुई विवाहित भएको हुनाले उक्त पैसा उनीहरूको साझा सम्पत्ति थियो तर श्रीमतीबाट यो कुरा लुकाउन उनले धेरै प्रयास गरे । वास्तवमा उनले २.७ मिलियन युआनको दुई तिहाइ माग गरेकी थिइन् जुन उनले आफ्नी बहिनी र पूर्व श्रीमतीलाई उनको सहमति बिना पठाएका थिए ।
फेब्रुअरी १ मा वेन्झाउ अदालतले झाउलाई चिट्ठामा जितेको रकमको ६० प्रतिशत महिलालाई दिन आदेश दियो । कुनै पनि पक्षले यस निर्णयको विरुद्धमा अपिल गरेनन् ।
यो कथा चिनियाँ सोसल मिडियामा भाइरल भयो । यसमा धेरैजसो मानिसले श्रीमतीलाई साझा सम्पत्ति बारे लामो समयसम्म नभनेको भन्दै झाउको व्यापक आलोचना गरे ।
तर अचम्मको कुरा, यो घटना नयाँ भने होइन । नोभेम्बरमा मात्रै रातोपाटीले साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित एक समाचारलाई अनुवाद गरेर प्रकाशित गरेको थियो । उक्त समाचार पनि यस्तै प्रकृतिको थियो जसमा एक व्यक्तिले श्रीमती घमन्डी नहोस् भन्दै चिट्ठामा जितेको ४ अर्ब रुपैयाँ गोप्य राखेका थिए ।