शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

जितपुरसिमरा उपमहानगरको ३ वर्ष पुरानो राजस्व असुलीमा समस्या

शुक्रबार, ०५ फागुन २०७९, ११ : २०
शुक्रबार, ०५ फागुन २०७९

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको ३ वर्ष पुरानो खोलाजन्य पदार्थ ठेक्का बापतको राजस्व असुलीमा समस्या छ । उपमहानगरले आर्थिक २०७६/०७७ र २०७७/०७८ को नदीजन्य पदार्थको ठेक्का बापतको ८ करोड २० लाख ५१ हजार राजस्व असुलीमा समस्या देखिएको हो ।

ठेकदारहरूले दुधौरा, बालगंगा र पसाहा खोला उत्खनन गरेवापतको तेस्रो किस्ताको राजस्व रकम बुझाउनुको सट्टा मिनाहाको माग गर्दै अदालत गएपछि समस्या सृजना भएको हो ।उपमहानगरले पसाहा खोलाको ठेक्का ओम सप्लार्यस प्रा.लि. बालगंगा खोला न्यु पाथीभरा सप्लार्यस र दुधौरा खोला श्रेष्ठ बिल्र्डस् प्रा.लि. उत्खनन्को ठेक्का सम्झौता गरेको थियो । भ्याटसहित करिव १६ करोडमा ठेक्का लगाएको उपमहानगरले  प्रति खोला  ३ करोड ५० लाखदेखि ४ करोडमा ठेक्का लगाएको हो भने आर्थिक वर्ष २०७८/०७९ मा ३ ओटै खोला विनोद निर्माण सेवालाई ठेक्का दिएको हो ।

दुधौरा, बालगंगा र पसाहा खोलाबाट कुल ९४ लाख घन फिट नदीजन्य पदार्थ उत्खनन गर्ने  भनिए पनि ठेकेदारले कुल परिणामको ५गुणा बढी उत्खनन गरेको भन्दै डिभिजन वन कार्यालयले विरोध जनाएको थियो ।

जितपुरसीमरा उपमहानगरका राजस्व शाखाका प्रमुख रामप्रसाद शर्माले ठेकदारहरूले राजस्व मिनाहाको माग गर्दै अदालतमा मुद्दा दायर गरेकोले राजस्व असुलीमा समस्यामा भएको बताएका छन् । खोलाको ठेक्का लगाउनुपूर्व तयार गरिएको वातावरणीय प्रभाव मुल्याकंन प्रतिवेदनमा तोकिएको प्लटमा १ मिटर गहिराइ र २० देखि अधिकतम ५० मिटर  चौडाइ उत्खनन गर्न सकिने उल्लेख भएपनि ठेकेदारले ३ ओटा एक्स्काभेटर चलाएर ३ मिटर गहिराइ र २ सय मिटरसम्म चौडाइमा जथाभावी खनेका थिए ।

उपमहानगरपालिकाले बारम्बार बक्यौता रकम बुझाउन ठेकेदार कम्पनीलाई ताकेता गर्दापनि उनीहरुले अटेरी गरी राजश्व बुझाउन नआएको उपमहानगरापलिकाले जनाएको छ ।

२०७७ साल जेठ मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खन्न तथा बिक्री गर्ने ठेक्का लिएको न्यु पाथिभरा सप्लायर्स हेटौडाले १ करोड २० लाख २८ हजार, श्रेष्ठ बिल्डर्स प्रा.लि. सिमराले १ करोड २७ लाख ३० हजार २ सय २१ रुपैया, ओम सप्लायर्स कलैयाले ९९ लाख ९९ हजार ९ सय ९९ रुपैया उपमहानगरपालिकालाई बुझाएका छैनन् ।

त्यसैगरी २०७८ साल जेठ मसान्तसम्मका लागि ठेक्का बुझेका बिनोद साह निर्माण सेवा कलैयाले ३ करोड १२ लाख हालसम्म बुझाएका नबुझाएको उपमहानगरले जनाएको छ । यसैगरी २०७७ असार सम्मकोलागि सडक उपयोग शुल्क वापतको न्यु गुप्ता सप्लायर्सले २१ लाख २५ हजार, कबाडी करको ठेक्का पाएका सिमरा कन्स्ट्रक्सनले १ करोड २१ लाख ५३ हजार ६९३, पाडा भैसी बजारको ठेक्का लिएका जितेन्द्र प्रसाद यादबले १५ लाख र बिज्ञापन करको ठेक्का सकार गरेका रुटस एड्भटाईजिङ कलैयाले ३ लाख १४ हजार ९५२ रुपयाँ हालसम्म नबुझाएर अटेरी गर्दै आएको  उपमहानगर राजस्व शाखाका प्रमुख रामप्रसाद शर्माले जनाएका छन् ।

बिनोद साह निर्माण सेवा र सिमरा कन्स्ट्रक्सनले कोभिड संक्रमणको कारण आफूहरूलाई घाटा भएको बताउँदै जिल्ला अदालत बारामा बक्यौता रकम मिनाहाको माग राख्दै मुद्दा दायर गरेका हुन् ।

उसो त न्यु पाथिभारा सप्लायर्स हेटौडा, श्रेष्ठ बिल्डर्स प्रा.लि. सिमरा र ओम सप्लायर्स कलैयाको गलत बिल जारी गरेको भन्दै अख्तियार अनुसन्धान कार्यालय हेटौडा र राजश्व अनुसन्धान कार्यालय पथलैयाले समेत अनुसन्धान गरिहेका छन् । नदीजन्य पदार्थहरु सङ्कलन तथा बिक्री ठेक्कामा ठेक्कदारसँग मिलेमतो गरेको, ठेकदारले पैसा नतिर्दा जफत गर्नुपर्ने बैक ग्यारेन्टी रकम जफत गरि असुल नगरेको लगायतको कारण देखाउँदै उपमहानगरका निर्वतमान प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलाई समेत निलम्बनमा परेका छन् ।

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको छ । सेढाई निलम्बनमा पर्दा उनी बाराका सहायक प्रमुख जिल्ला अधिकारी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप