‘कर्णाली उत्सव’ किन गरिन्छ ?
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा ‘कुडा कर्णालीका’ अर्थात् कर्णाली उत्सवको चौथौँ संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । बुलबुले उद्यानमा आयोजना गर्ने गरिएको उत्सवको चौथो संस्करण शुक्रवार, शनिबार र आइतबार गरी तीन दिन चल्ने छ । उत्सवमा यो पटक विभिन्न १६ वटा विषयगत सत्रहरूका बहस हुनेछ । कर्णालीको समग्र समृद्धिका लागि सार्थक बहस नै ‘कर्णाली उत्सव’ हो ।
कर्णाली उत्सवका मूल आयोजक समितिका संयोजक कमलराज लम्सालले भाषा, साहित्य, संस्कृति र कलामा मात्र सीमित नरही समृद्ध कर्णालीको सार्थक सपनाहरू बारे बहस गरिने बताए ।
यसअघिका तीन वटा शृङ्खलामा विभिन्न ५० भन्दा बढी सवालमा बहस भइसकेको छ । बहसका क्रममा सङ्घीयताको मर्म, छाउ र भाउदेखि खस भाषाका आयामहरू बारे मन्थन भइसकेको थियो ।
खास गरी सत्ताको केन्द्रीकृत मानसिकतालाई चिर्दै बहुलवाद, पहिचान र प्रश्नहरू गर्दै जबाफदेहिताको खोजी गर्ने कुरामा जोड दिई उपेक्षित, दुर्गम र अविकासको मानक बनाइएको कर्णालीका परम्परागत भाष्य र मानकहरूलाई कसरी बदल्ने भन्ने बारेमा यसअघि चर्चा गरिएको बताउँदै लम्सालले शासकसामु उभिन नसक्ने नागरिकका सीमान्त स्वरहरूलाई प्रश्न किन गर्ने भनेर जबाफदेहिताको लागि खबरदारी गर्न सधैँ उत्प्रेरित गरिरहने ध्येय नै कर्णाली उत्सवको मुख्य उद्देश्य रहेको बताए ।
‘विचारको एक मात्र प्रहारले समाज बदलिँदैन, त्यसका लागि प्रहारको निरन्तरता जरुरी छ अनि मात्र जडताको पहाड फोडिन्छ,’लम्सालले भने । शुक्रवार पहिलो दिन बिहान साइकल र्याली हुनेछ भने उद्घाटन सत्र बिहान १० बजेबाट सुरु हुनेछ । जसमा बाजा र चित्रको प्रस्तुति हुनेछ ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको उत्सवमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, वीरेन्द्रनगर सहरका योजनाकार माधवभक्त माधेमा, नदी अभियन्ता मेघ आलेदेखि प्रतिनिधि सभा सस्य सविता गौतम, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायत विभिन्न क्षेत्रका विद्वानहरू सहभागी हुनेछन् । ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकारहरू उत्सवका सहभागी हुने आयोजकले बताएको छ । लम्सालले चौथौँ संस्करणका लागि करिब ६० लाख खर्च लाग्ने अनुमान गरे । यद्यपि यो पटक प्रदेश सरकारबाट सहयोग नलिने उनले बताए ।
ऋति फाउन्डेसन नामक संस्थाले उक्त उत्सवको आयोजना गर्ने गरेको छ । शुक्रबारदेखि आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको ऋति फाउन्डेसनले जनाएको छ ।
यो पटक के विषयमा हुँदै छ मन्थन ?
यो वर्ष कर्णाली उत्सवमा ‘कर्णाली खेल्दो छ, यो सहर त्यो रहर, भोट–भेट, शिक्षा र समर्पण, दलित दलिल, भोक र भोजन, रेडियोको रस, सङ्घीयताका पाँच वर्ष ः कति हर्ष कति बिस्मात ?, कर्णाली नदी प्रणाली, कर्णालीमा लगानी, रूपान्तरण र पुस्तान्तरण, सग्लो समाज, सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, र कर्णालीदेखि काठमाडौँसम्म’ लगायतका विषयमा मन्थन हुनेछ ।
कर्णाली खेल्दो छ शीर्षकमा कर्णालीको विकसित खेलकुद क्षेत्रको विषयमा बहस हुने छ भने यो सहर त्यो रहर शीर्षकको वक्तामा प्रदेश राजधानी वीरेन्द्रनगरका योजनाकार माधवभक्त माधेमा, नगरप्रमुख मोहनमाया ढकाल रहेका छन् । माधवभक्तले त्यो बेला गरिएको वीरेन्द्रनगरको गुरुयोजनाको विषयमा जानकारी दिनेछन् । यस्तै रूपान्तरण, पुस्तान्तरण शीर्षकमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, सविता गौतम र विश्लेषक दिपेश घिमिरेले बहस गर्नेछन् । यस्तै विश्वप्रकाश शर्मा, मानवअधिकारकर्मी मोहना अन्सारीले सग्लो समाज र सङ्लो राजनीतिका बारेमा मन्थन गर्नेछन् ।
उत्सवमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले ‘कर्णाली चिन्तन’ शीर्षकमा आफ्नो विचार मन्थन सुनाउनेछन् भने निर्वाचन र लोकतन्त्रबारे पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले जानकारी गराउने छन् ।
विशेषगरि कर्णालीलाई चिन्ने र चिनाउने कार्यक्रमका रूपमा ‘कर्णाली उत्सव’ लिने गरिएको छ ।