मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : आज दिनभरका यस्ता छन् ‘टप टेन’ समाचार

बिहीबार, ०४ फागुन २०७९, २२ : १९
बिहीबार, ०४ फागुन २०७९

आज मिति २०७९ फागुन महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. चन्द्र भण्डारीलाई मुम्बई लगियो

नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।  खाना पकाउने ग्यास जलन भई घाइते भएका उनलाई बिहीबार दिउँसो कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्श अनुसार थप उपचारका लागि श्रीएयर लाईन्सको विमानबाट भारत पठाइएको हो । सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको कांग्रेस सांसद दिपक खड्काले जानकारी दिए ।

यसैगरी   चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको भने निधन भएको छ । हरिकलाको बिहीबार बिहान १० बजेर ५८ मिनेटमा निधन भएको कीर्तिपुर अस्पतालकी डा.निजिमा ताम्राकारले बताइन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा बिहीबार  खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

थप समाचार

२. सर्वोच्चको भत्ता अर्थले रोक्यो

अर्थ मन्त्रालयले सर्वोच्च अदालतमा प्रत्येक शुक्रबार अतिरिक्त दुई घण्टा काम गरेको भत्ता नदिने निर्णय गरेको छ । सर्वोच्चले गत साउन तीन गते नै अर्थका अतिरिक्त भत्ताको लागि अर्थसँग माग गरेको थियो ।

३. ओली-प्रचण्ड छलफल

राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दुई नेताबीच फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित रहेर कुराकानी भएको हो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बिहीबार १० बजे बालुवाटार पुगेका थिए । कुराकानीका क्रममा प्रचण्ड–ओली पूर्व सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र त्यसमा राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।


४. स्ववियू निर्वाचन तालिका

त्रिभुवन विश्वविद्यालयलले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्देशनालयले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको छ ।  जसमा फागुन १९ गते विद्यार्थी संगठन दर्ता समय तोकिएको छ । त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोधको समय तोकिएको निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

५. अरुण चौधरी प्रकरण

सांसद अरुण चौधरीलाई रिहा गर्नेबारे गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेका छ । बिहीबार रायका ‍‍‍‍‍‍लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।

६. बालाजु घटना

बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रवक्ता ९डीआईजी० पोषराज पोखरेलले रातोपाटीलाई बताए ।

७. सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ विन्दुमा पुगेको छ।

८. जापानमा दुई नेपालीको मृत्यु

जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो ।

९. नियमावलीमा सहमति

तिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाको नियमावलीमा सहमति जुटाएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रतिनिधि सभाको नियमावली टुंग्याएको हो ।

बैठकमा केही सदस्यहरूले नियमावलीमा फरक मत राख्ने भनेपनि सबै कुरामा सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक एवं प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकले बताए । उनले बैठकमा महाअभियोग प्रस्ताव, फौजदारी अभियोग र स्वार्थ बाझिएको विषयमा निष्कर्ष निकालेको बताए ।

१०. यो पनि

नेकपा माओवादी केन्द्रको पदाधिकारीसहित स्थायी  र केन्द्रीय समिति बैठकपछि देशैभर संगठन सक्रिय भएको छ । पार्टी बैठकपछि फागुन र चैत महिना संगठन विस्तार र सुदृढीकरण अभियान चलाएपछि संगठन मुर्झाउन लागेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई तत्काल जरिवाना नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ । निर्वाचनको खर्च विवरण समयमा नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना तिराउन लागेपछि बालेनले सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्चले आयोगलाई जरिवाना नतिराउन अन्तरिम आदेश दिएको हो ।

जनता समाजवादी पार्टी, नेपालले  केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  सो पार्टीले फागुन ७ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनाउने टोल फ्री नम्बर सार्वजनिक गरेका छन् । बिहीबार खानेपानी मन्त्रालयमा गरिएको एक कार्यक्रममा उनले गुनासो सुनुवाइ इकाईको स्थापना गरेको जानकारी गराएका छन् ।  सो अवसरमा बोल्दै मन्त्री खानले मन्त्रालय र सो अन्तर्गत रहेका खानेपानी सम्बद्ध कार्यालयको सेवा प्रवाहको बारेमा तथा खानेपानी समस्याका बारेमा टोल फ्री नम्बर फोन गरेर गुनासो टिपाउन सकिने जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका हुन् । उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए ।

माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको १७ पदाधिकारीमा मात्रै  एक सय जना हाराहारीमा उम्मेदवारी  परेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।

ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उद्धव  पौडेल थपिएसँगै उपाध्यक्षको संख्या ८ जना पुगेको छ । राप्रपाको विधानमा उपाध्यक्ष ८ जना रहने व्यवस्था अनुसार रिक्त एक पदमा उद्धव पौडेललाई मनोनित गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम पौडेललाई उपाध्यक्षमा मनोनित गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ९ वटा पसलहरू कारबाहीमा परेका छन् । उनीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गर्दै १५ लाख जरिवना तिराइएको हो । विभागका निर्देशक होमनाथ भट्टराईले उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै ती पसलहरूलाई कारबाही गरेको बताए ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप