शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौँमा पावर समिट २०२३ आयोजना हुने

बुधबार, ०३ फागुन २०७९, २३ : ०३
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । काठमाडौँमा पावर समिट २०२३ आयोजना हुने भएको छ । नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नका लागि मार्ग प्रशस्त गर्ने अपेक्षासहित अगामी मार्च २० देखि २९ सम्म पावर समिट २०२३ आयोजना हुने भएको हो । 

पावर समिटमा व्यापारिक र व्यवसायिक संयन्त्रलाई प्रगाढ बनाउने, विद्युत ऊर्जाको विकास र बजार निर्माणका लागि धेरै सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ भने ऊर्जाको व्यापार गर्ने अवसर मिल्ने आयोजक पक्षको दावी छ । 
‘पावर समिट २०२३ हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सन्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान प्रदान गर्ने ठूलो अवसर पनि हो’ समिट आयोजक पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  ‘आज हामीले जलवायु परिवर्तनको प्रभावका कारण नेपाल अति जोखिममा रहेको देशको सूचीमा परेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । वायुमण्डलमा अत्यधिक हरितगृह ग्यासहरूका कारण सारा विश्वले प्रभाव र बढ्दो लागतको अनुभव गरिरहेको छ । नेपालले सन् २०४५ सम्ममा नेट शून्य राष्ट्र बन्ने प्रतिबद्धता जनाएको छ। यसको ठूलो हिस्सा हाम्रो अर्थतन्त्रबाट हरित ऊर्जा उत्पादन र प्रयोग गर्न र पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सक्षम हुनु हो ।’ 

यो पावर समिटमा नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग प्रविधि र नवप्रवर्द्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी विभिन्न सत्रहरु सन्चालन गरिने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जहाँ पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरु प्रदर्शन गरिनेछ । यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई ऊर्जा परियोजनाहरूको बारेमा जानकारी हासिल गर्न एक अद्वितीय अवसर प्रदान गर्ने छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप