मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा, २०० मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार
काठमाडौँ । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइन बे निर्माण गरिएको छ ।
पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न र मोदी, सेती,मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।
आयोजना अन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।
लाहाचोक–लेखनाथ खण्ड प्रसारण लाइन निर्माण सम्पन्न गरी मङ्गलवार चार्ज गरिएसँगै नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘कोभिड–१९को महामारी,लाहाचोक–लेखनाथ खण्डअन्तर्गत माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गर्दा निर्माण प्रभावित भएको थियो, आयोजना व्यवस्थापनको निरन्तरको प्रयास, स्थानीय तह, प्रशासनलगायत सबैको साथ र सहयोगमा समस्या समाधान गर्दै प्रसारण लाइन निर्माण सम्पन्न भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘त्यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब २०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ ।’ जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् नयाँ मोदी र लाहाचोक सबस्टेसनमा जोडी राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।
लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत् आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो तथा गुणस्तरीय विद्युत् पाएको र प्राविधिक चुहावट समेत घटेको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।
नयाँ मोदी– लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत १४० वटा टावर निर्माण गरिएको छ । लाहाचोक सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरू रहेका छन् ।सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चार वटा ११ केभीका फिडरहरु निर्माण गरिएको छ ।
कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र आयात–निर्यात (एक्जिम) बैक, भारतको सहुलियतपूर्ण ऋण रहेको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि ७ असार २०७५ मा क्रमश : कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारत र हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?