मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

ओलीको प्रश्न : यो गठबन्धन फेरियो भने ?

मङ्गलबार, ०२ फागुन २०७९, १७ : ४५
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गरेका छन् । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गरेका हुन् ।

उनले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गरे । उनले भने, ‘अहिले साथीहरू काफी प्रसन्न भएको देख्छु म । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर हाम्रा आम रूपमा पार्टीका साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ । तर कथम् कदाचित यो स्थिति फेरियो भने ?’ 

अहिलेको संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको बनावट रहेको स्मरण गराउँदै भने,  ‘बहुमत कसैको छैन । हाम्रो पार्टीसँग बहुमत छैन । हामीसँग बहुमतभन्दा निकै तल सिट छ । र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् । यो देश बरबाद पार्न सबभन्दा पहिले यदि कुनै डाकाले बैंकमा डकैती गर्नपर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन । त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन । अनेक प्रकारका शक्तिहरू क्रियाशील छन् । अनेक प्रकारका षड्यन्त्रहरू भइरहेका छन् । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरू भइरहेका छन् ।’

अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए । कसैले पनि संस्थागत रूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताए । उनले अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू राम्रोसँग पढेर राम्रो नतिजा ल्याउने खालको हुनुपर्ने बताए । कुनै पनि बहानामा आफ्नो पढ्ने काम नछोड्न उनले विद्यार्थीहरूलाई आग्रह गरे । 

उनले भने, ‘पहिले पहिले हाम्रो समयतिर खुब चल्यो, बुर्जुवा शिक्षा बहिष्कार गरौँ भन्ने कसैले । कसैले क्या मौका मिल्यो, पढ्न गाह्रो भइराखेको थियो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा च्याप्प समात्यो, कुद्यो । वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिलकुल नचाहिने काम थियो । र त्यो संस्थागत रूपमा कसैले दिएको पनि होइन । केही मान्छेका लहडमा बुर्जुवा शिक्षा, मानिलिऊँ सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनले खोलेर राखेको जस्तो । त्यहाँ गएर पढ्दा हुनेजस्तो । अथवा मान्छेलाई अनपढ बनाउने बाटो । म तपाईहरुलाई भन्न चाहन्छु हाम्रा विद्यार्थी भाइ बैनीहरू, अनेरास्ववियुका भाइबैनीहरु ट्यालेन्ट हुनुपर्दछ । परीक्षामा प्रथम, द्वितीय, तृतीय, चौथो हुने को हो भन्दा अनेरास्ववियुका विद्यार्थी । आन्दोलनले गर्दा पढ्नै पाइएन । त्यस्तो कहिल्यै पनि हुँदैन ।’

अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गरे । उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी सङ्गठनहरू भर्खरै सिक्दै गरेका भनी टिप्पणी गरे । उनले नेविसंघलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको बताए । अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरे । उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्त्वाकाङ्क्षा बोक्नु नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप