प्रेमको ‘सेल्स मार्केट’ जस्तो नबनोस् प्रणय दिवस
प्रेम शब्दको उच्चारण नै सुन्दर छ । जसले प्रेम सुन्छ, पढ्छ, बुझ्छ ऊ मुस्कुराउँछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ, अनि हृदयमै पुगेर टुङ्गिन्छ । एउटा अथाह भाव, जसले जीवन डोर्याउँछ, जीवनमा इन्द्रेणी रङ्ग भर्छ र जसले हरेकलाई प्रेरणा पनि प्रदान गर्दछ, त्यो हो प्रेम ।
अर्थात् माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ । तर, कसैले भनेर, देखाएर हुने चीज होइन यो । प्रेम त एक स्वतःस्फूर्त रूपमा हुने चार्ज हो । प्रेम व्यक्तिको आत्माबाट आउने एक प्रकारको सकारात्मक भाव हो, जसले एक प्रकारको आत्मीयता जगाइदिन्छ ।
वास्तवमा प्रेमलाई विभिन्न व्यक्तिहरूले विभिन्न परिभाषामा अर्थ्याएका छन् । प्रेम दुई विपरीत लिङ्गीबीचको मात्र होइन, वास्तवमा प्रेम त परिवारसँग हुन्छ, साथीहरूसँग हुन्छ, आफ्ना प्रियजनहरूसँग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ ।
प्रेम यस्तो पवित्र चीज हो जसले जसलाई र जुन उमेरसँग पनि गर्न सकिन्छ तर त्यसमा प्राप्ति भन्दा आत्मीयता, हार्दिकता सम्झौता र निस्वार्थ हुनुपर्दछ । यसैले, मायालाई बँचाई राखेको हुन्छ । त्यसैले त प्रेम दीर्घकालीन र मिठासपूर्ण हुन्छ ।
प्रणय दिवस अर्थात् प्रेम दिवस विश्वमा हरेक वर्ष फेब्रुअरी १४ तारिखका दिन साताव्यापी रूपमा मनाइन्छ । प्रेममा रहेका जोडीहरूका लागि स्वभावतः यो निकै प्रतीक्षित साता हो । प्रेम गर्नेहरूका लागि वर्षभरि नै विशेष दिन भए पनि यो एक साता भ्यालेन्टाइन डे अझ विशेष मानिन्छ ।
प्रणय दिवस भनेर चिनिने यो दिन माया प्रेम, सद्भाव साटासाट गर्ने दिनको रूपमा परिचित छ । अरू दिन खासै चहलपहल नहुने भए पनि यो दिन हातमा रातो गुलाबको फुल, मुहारमा मीठो मुस्कानसहित माया साटासाट गर्ने प्रेमी जोडीहरूको जमात हुन्छ ।
एक अर्कोको सम्बन्धलाई प्रगाढ बनाउन हरेक मायालु जोडीहरू एक अर्कोमा उपहार साटासाट र रमाइलो गर्नमै व्यस्त देखिन्छन् । रोज डे, प्रपोज डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे पछि आउने भ्यालेन्टाइन डे को आकर्षण बढी देखिन्छ ।
विवाहित जोडीहरू खुलेआम यो दिन एक अर्कोमा प्रेम सद्भाव व्यक्त गरी मनाउँछन् । मिठाईका परिकारलगायत गिफ्ट आदान प्रदान गरी मनाउने गर्छन् भने अविवाहितहरूले पनि यो दिवस मायाको चिनो आदान प्रदान गरी मनाउँछन् ।
प्रणय दिवस प्रेम प्रस्ताव राख्न चाहने युवालाई सही समय बनेको छ । त्यसो त प्रेम गर्नलाई कुनै दिन हेरिँदैन । प्रेम गर्नेहरूका लागि हरेक दिन प्रेमिल बनेको हुन्छ । आफ्नो प्रिय मान्छेको साथ नै मूल्यवान् उपहार हो । कुनै चिज दिएर या लिएर प्रेम गर्छु भनेर जनाउनु जरुरत पर्दैन । बस् प्रेम आफैमा एउटा बहुमूल्य उपहार हो भगवान्को ।
सच्चा प्रेमको अगाडि दुनियाँको हरेक चिज फिक्का हुन्छ । प्रेम अक्सिजन जतिकै हो । यो एकदमै अनियन्त्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुँदैन । प्रेम गर्नका लागि कुनै सीमितता छैन, यो त एउटा बाँच्ने आधारशिला हो ।
जीवनमा आफूलाई प्रेम गर्नेहरू र आफूले प्रेम गरिनेहरू भएनन् भने जिउनुमा कुनै सार्थकता हुँदैन होला ।
प्रणय दिवसका रूपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षौँ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षक दिन हुने गर्छ ।
भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो । तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोले देशवासीलाई सैन्य भर्तीमा सामेल हुन उर्दी जारी गरे । महिलासँगको सम्बन्धका कारण पुरुष कमजोर हुने ठानी सम्राटले प्रेम र विवाहमा रोक लगाए ।
रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको उक्त अभियानलाई विरोध गरेकाले उत्साहित हुँदै धेरै सैनिकले विवाह गरे । अभियान असफल भएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिए ।
जेलमा छँदा जेलरकी छोरी र भ्यालेन्टाइनबीच प्रेम बसेकाले मृत्युदण्ड अघि लभ फ्रम योर भ्यालेन्टाइन भनी हस्ताक्षरसहितको प्रेमपत्र भ्यालेन्टाइनले २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिएकाले यसै दिनलाई प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे का रूपमा मनाउने गरिएको छ ।
त्यसो त आधुनिक युवापुस्ताले प्रेम दिवसलाई आधुनिकताको नाममा अनेकौँ विकृति फैलाएका छन् । व्यापारको रूपमा प्रेमको ‘सेल्स मार्केट’ जस्तो बन्यो प्रणय दिवस ।
युवायुवतीमा एक प्रकारको विकराल रूप देखा पर्न थालेको छ । जबरजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने महँगा विलासीका सामग्रीहरू आदानप्रदान, होटलहरुमा जाने अनि विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन् ।
कुनै पनि पर्व मनाउनु नराम्रो होइन, त्यो पर्वलाई हामीले कसरी मनाउँछौं भन्नेमा भर परेको हुन्छ । हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो । यसको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउँछौ ।
युवाहरूमा एक अर्कोमा देखासिकीको प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले बिस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसँगै आज हाम्रा मूल्य मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपन बढ्दो छ, माया प्रदर्शन गर्नेहरूको होड नै चलेको छ । गर्लफ्रेन्ड र ब्याइ फ्रेन्ड बनाउने त फेसन नै चलेको छ ।
त्यसैले, यसलाई सही तरिकाले मनाउनुपर्छ । भद्दा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । माया प्रदर्शन गरेर होइन, साथीको मन, व्यवहारबाट जित्नुपर्छ । विश्वासपूर्ण रूपमा आफ्नो भावना व्यक्त गर्नुपर्छ । अरूको लहलहैमा लागेर होइन, सही तरिकाले मनाउनुपर्छ । तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ ।
प्रेम त्यस्तो बनोस्, भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाताप होइन, खुसी र सन्तुष्टि फिँजाउन पाइयोस्, जहाँ एक मनले अर्को मनको कदर गरेको होस् । तब मात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ