नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले फागुन ५ गतेदेखि बैङ्कविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । महासङ्घले देशभरका ३८ वटा व्यावसायिक सङ्घसंस्थासँगको सहकार्यमा बैङ्क ब्याजदरविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
यस्तै यतिबेला बजारमा चरम मन्दी छाइरहेको र बैङ्कको किस्ता र ब्याज तथा घरभाडा तिर्न नसकेको भन्दै व्यवसायीहरू आत्महत्याको बाटो रोजिरहेका छन् । बजारमा आइरहेको मन्दी र यसबाट सिर्जित समस्याका विषयमा रातोपाटीले महासङ्घका संस्थापक अध्यक्ष नरेश कुटवालसँग गरेको कुराकानीको सम्पादित अंशः
कोभिड–१९ महामारीबाट सिर्जित अवस्थाका कारण यतिबेला बजारमा मन्दी छ भनिन्छ । खासगरी बजारमा कति प्रतिशत मन्दी छ ?
ठ्याक्कै तथ्याङ्क त भन्न सकिँदैन । तर बजारमा धेरै ठूलो मन्दी चलिरहेको छ । सरकारी निकायले निकालेको तथ्याङ्क त मिल्दैन । बजारमा यतिबेला २० देखि २५ प्रतिशत मात्रै माग र आपूर्ति होला जस्तो लाग्छ । ग्रास लेभलका मान्छेहरूको रोजगारी गुमेको छ । यी मानिसहरूको रोजगारी नगुमेको भए अहिलेको जस्तो समस्या नआउन सक्थ्यो । तर बजारमा जत्रो ठूलो मन्दी आए पनि केही सीमित मान्छेहरूलाई छुँदैन । केन्द्रीय बैङ्कदेखि सरकारलाई नै प्रभावमा पारेर मन्दीबाट बच्न सक्छन् ।
सानो लगानी गरेर एउटा सटर लिएर दैनिक गुजारा चलाउन व्यापार गर्ने व्यापारीले कालोबजारी गर्नै सक्दैन ।
कोभिडअघि बजार जुन हिसाबमा चलायमान थियो । कोभिडपछि कस्तो छ ? वा भनौँ कोभिडअघि १०० रुपैयाँको बिक्री हुन्थ्यो भने अहिले कतिको बिक्री हुन्छ ?
कोभिडअघि दैनिक १०० रुपैयाँको बिक्री हुन्थ्यो भने अहिले २०–२५ रुपैयाँको बिक्री हुन्छ । समग्रमा भन्दा व्यापार नै छैन । बजार ७०–७५ प्रतिशतभन्दा धेरैले घटेको छ । बजारको व्यापारले घरभाडा, बैङ्क ब्याजदर र आफ्नो दैनिक खर्च धान्न सक्ने स्थिति नै छैन । यी खर्च धान्न सक्ने भए व्यापारीले आत्मदाह गर्नपर्ने कारण नै थिएन ।
व्यापारीमाथि सबैले कुदृष्टि लगाएका छन् । व्यापारी र उद्योगी भने सबैलाई भन्छन् । एकखालका माथिल्ला तहका लुटेरालाई केही भन्न चाहँदैनन् । अनि एउटा सामान्य खालको व्यापारीलाई लुटेरा भन्यो, कालोबजारी ऐन लगायो र कारबाही गर्यो ।
त्यसो भए व्यापारीमाथि लाग्ने आरोप र लाञ्छना साना व्यापारीमा केन्द्रित भयो ?
हो, अहिले लाग्ने सबै आरोप र लाञ्छना साना व्यापारीमाथि नै केन्द्रित भयो । सानो लगानी गरेर एउटा सटर लिएर दैनिक गुजारा चलाउन व्यापार गर्ने व्यापारीले कालोबजारी गर्नै सक्दैन । उद्योगी र ठूला थोक व्यापारीबाट बढेर आएको मूल्यमा सामान बिक्री गर्दा कानुनी झमेला साना व्यवसायीलाई आइरहेको छ ।
बजार अनुगमनका नाममा गरिखाने वर्गका व्यवसायीलाई मारमा पारिँदै आइरहेको छ । अनुगमन नै गर्ने भए ठूला उद्योगी व्यवसायीलाई गरौँ न । ग्रास लेभलका व्यवसायीलाई अनुगमनका नाममा त्रास देखाएर ड्युटी पूरा गर्ने काम सही होइन । यो प्रवृत्तिको अन्त्य नभएसम्म व्यवसायीहरूले खुलेर काम गर्न सक्दैनन् ।
साना व्यवसायीले बैङ्कबाट सानै मात्रामा ऋण लिएका हुन्छन् । साना व्यवसायीको काठमाडौँमा घरजग्गा छैन । घरजग्गा नभएपछि बैङ्कहरूबाट ऋण प्रवाह हुँदैन
बजार अनुगमन गर्न हुँदैन भन्नुभएको हो ?
बजार अनुगमन नै नगर्ने भन्ने विषय होइन । तर बजार अनुगमनका नाममा साना व्यवसायीलाई दुःख दिनु भएन भन्ने हो । अर्थमन्त्रीलाई सुझाव दिने व्यवसायीको घेरा नै सानो भयो अर्थात् एउटा सानो घेराले अर्थमन्त्रीलाई च्यापेर राख्दा साना व्यवासायी मारमा परेका छन् । अर्थमन्त्रीमा नियुक्त हुनसाथ केही व्यवसायीले २४ घण्टा घेरेर राख्ने र केही व्यवसायीचाहिँ पराइको पराइ हुने भइरहेको छ । यही विषयलाई समाधान गर्न एउटा उच्चस्तरीय समन्वय समितिको आवश्यकता भइरहेको छ । जसमा प्रतिनिधिमार्फत सानादेखि ठूला व्यापारीसम्मको पहुँच अर्थमन्त्रालयसम्म पुगोस् ।
अहिले बजारमा साना व्यावसायीको अवस्था कस्तो छ ?
अहिले साना व्यावसायीहरूले घरभाडा तिर्न सकेका छैनन् । थोरै मात्रामा लिएको बैङ्क ब्याजदरसमेत तिर्न सकेका छैनन् । बालबच्चा पढाउने विद्यालय खर्च जुटाउन सकेका छैनन् । विगतका दिनमा सहकारीहरूले बिनाधितो ५ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्थे । हाल सहकारी धराशायी बन्दा सबैभन्दा ठूलो समस्या आएको छ । बैङ्कले ऋण दिन ठूलो धितो खोज्छ । यही कारण बजारका साना व्यवसायी समस्यामा छन् ।
साना व्यवसायीले बैङ्कबाट कति मात्रामा ऋण लिएका हुन्छन् ? ठूलै परिणाम हुन्छ कि सानो परिणाम हुन्छ ?
साना व्यवसायीले बैङ्कबाट सानै मात्रामा ऋण लिएका हुन्छन् । साना व्यवसायीको काठमाडौँमा घरजग्गा छैन । घरजग्गा नभएपछि बैङ्कहरूबाट ऋण प्रवाह हुँदैन ।
ठूला व्यवसायीहरूलाई अनुहार हेरेरै ऋण दिन्छ । साना र ठूला व्यवसायीलाई लिने ब्याजको दायरा पनि फरक छ । साना व्यवसायीले १५ प्रतिशत ब्याज तिर्नुपर्छ भने ठूला व्यवसायीले ४–५ प्रतिशत तिर्दा हुन्छ । त्यही भएर पनि यो क्षेत्रमा दूधको दूध र पानीको पानी छुट्टिनुपर्छ भनेर हामी भन्दै आइरहेका छौँ ।
बैङ्कबाट ऋण लिँदै गर्दा एउटा ऋणीले सबै विषय विश्लेषण गरेको हुन्छ । बजारमा भइपरी आउने समस्या र बढ्ने ब्याजदरको आकलन गरेको हुन्छ ।
यो भनेको के हो ? व्यवसायी र बैङ्कर छुट्टिनुपर्छ भन्नुभएको हो ?
अहिले एउटा व्यवसायीले सबै क्षेत्रमा लगानी गरेको छ । सेयरमा उसैको लगानी छ, बिमा, बैङ्क, अटो, रियलस्टेट पनि एउटै लगानी हुन्छ । यो अवस्था छुट्टिनुपर्यो भन्ने हाम्रो माग छ । एउटै व्यवसायीले धेरै क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था कानुनी रूपमा अन्त्य गरिनुपर्छ ।
अहिले बैङ्कको ब्याजदर महँगो भएको र बजामा मन्दी छाएको भन्दै व्यवसायीहरू भटाभट आत्महत्या गरिरहेका छन् । अहिलेसम्म कति व्यवसायीले आत्महत्या गरे भन्ने तथ्याङ्क छ ?
यसको आधिकारिक तथ्याङ्क गृहमन्त्रालय वा सरकारी निकायसँग हुन सक्छ । मैले सुनेअनुसार काठमाडौँ उपत्यकामै १२–१५ जना व्यवसायीले आत्महत्या गरिसकेका छन् । काठमाडौँ बाहिरका जिल्लाको तथ्याङ्क योभन्दा धेरै हुन सक्छ । व्यापार नसुधारिनु र बजार महँगी हुनुलगायतका कारण छन् । जसले गर्दा व्यवसायीलाई आत्महत्याबाहेकको विकल्प हुँदैन ।
बैङ्कबाट ऋण लिँदै गर्दा एउटा ऋणीले सबै विषय विश्लेषण गरेको हुन्छ । बजारमा भइपरी आउने समस्या र बढ्ने ब्याजदरको आकलन गरेको हुन्छ । तर पछिल्लो अवस्था हेर्दा व्यवसायीले यी विषयलाई नजरअन्दाज गरेको जस्तो देखिन्छ नि ।
व्यवसायीले बैङ्कबाट ऋण लिँदा यी वस्तुलाई राम्रोसँग विश्लेषण गर्ने गर्छन् । सुरुमा ऋण लिँदा ८ प्रतिशतसम्म ब्याज तिर्ने भनेर सम्झौता गरेका थियौँ । तर यतिबेला बैङ्क ब्याज बढेर १५ प्रतिशत पुगिसकेको छ । यो कसैले सोच्दैन । बैङ्कहरू बढेको ब्याज तिर्न दबाब दिँदै लिलामि प्रक्रियामा अघि बढ्छ । ऋण तिर्दिन वा ब्याज तिर्दिन भनेर कसैले भनेको छैन । तर बैङ्कहरूले साना व्यवसायीहरूलाई निरन्तर दबाब दिइरहेका छन् ।
बैङ्क ब्याजसँगै यतिबेला भाडादरले समेत साना व्यवसायी मारमा छन् । घरबेटीले जथाभावी भाडा लिइरहेका छन् र जथाभावी बढाइरहेका छन् । यी र यस्ता समस्याले व्यवसायीलाई समस्या परिरहेको छ ।
केही व्यवसायीको सिन्डिकेट तोड्न यो आन्दोलनको घोषणा गरेका हौँ । हाम्रा मुख्य एजेन्डा भनेको ब्याजदर एकल अङ्कमा फर्किनुपर्यो ।
यतिबेला बैङ्क ब्याजदर विश्वभर बढेको छ । अमेरिका र युरोपियन युनियन तथा बेलायती मुलुकमा पनि बढेको छ । नेपालमा मात्रै बढेको हो र ?
बजारमा माग छ भन्दैमा अत्यधिक मात्रामा ब्याज बढाउन हुँदैन । बजारमा माग र आपूर्तिको चक्र मिलेन भन्दैमा ८ प्रतिशतसम्ममा रहेको बैङ्क ब्याज बढेर दोब्बर हुनुपर्ने हो त ? यो त कालाबजारी हो नि । माग र आपूर्तिको चक्र मिलाउनका लागि पनि आवश्यकताअनुसार बढाउने हो । अर्थशास्त्रको नियमले माग र आपूर्तिको चक्र मिलाउन मूल्य बढाउने भन्छ । तर अत्यधिक बढाउने भन्दैन । बैङ्कहरूमा पनि कालोबजारी ऐन लागुुर्नुपर्यो ।
हाल तपाईंहरूले फागुन ५ गतेदेखि आन्दोलनको घोषणा गर्नुभएको छ । यसका एजेन्डा के हुन् ?
हामीले यसअघिदेखि नै आन्दोलनको सुरुवात गरिसकेका छौँ । राष्ट्रिय व्यवसायी महासङ्घले आन्दोलन भनेर घोषणा गरे पनि माग राखेको भन्न सुहाउलाजस्तो लाग्छ । हामीले व्यवसाय गर्न देऊ र हाम्रा उद्योग बचाइदेऊ भनेर माग राखेको हो । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैङ्कविरुद्धको आन्दोलन सुरु गरे पनि देशभरिका व्यवसायीले यसमा समर्थन गरेका छन् । यद्यपि केही मान्छेका लागि यो आन्दोलन घाँडो बन्न सक्छ ।
केही व्यवसायीको सिन्डिकेट तोड्न यो आन्दोलनको घोषणा गरेका हौँ । हाम्रा मुख्य एजेन्डा भनेको ब्याजदर एकल अङ्कमा फर्किनुपर्यो । १५ प्रतिशतसम्म तिर्न सक्ने हैसियतका व्यवसायी छैनन् । यो सबै व्यवसायीलाई सुकुमबासी बनाउने खेती हो । यस्तै किस्तामा भइरहेको सकसलाई सहजता गर भन्ने छ । यस्तै लिलामी गर्ने प्रक्रिया लम्ब्याउनुपर्छ । व्यवसायीले तिर्छु भनेर लिएको ऋण तिर्न केही समय पाउनुपर्छ । महामारीको समयमा लिलामी नगरेर आत्महत्या गर्ने वातावरण नबनाउन भनेका छौँ ।
अहिले बैङ्कको किस्ता र ब्याज नतिर्ने स्वघोषणा गर्ने क्रम चलेको छ । तपाईंहरूको पनि यही नीति हो ?
बैङ्कको अत्याचार बढेसँगै हामीले पनि बैङ्कको किस्ता र ब्याज तिर्दैनौँ भनिरहेका छौँ । यस्तो ठूलो महामारीमा सहयोग नगरी झनै समस्या पार्ने बैङ्कहरू हामीलाई के काम ? बैङ्कहरूले सबै नेपाली वा उद्योगी व्यवसायीलाई सुकुमबासी बनाउन खोजेको जस्तो देखिन्छ । भोलिका दिनमा बैङ्कले गर्ने सबै कारबाहीलाई आत्मसात गर्दै ब्याज र किस्ता नतिर्ने घोषणा गरेर आन्दोलन नै हुन सक्छ । अबदेखि बैङ्कसँग ऋण कारोबार नै नगर्ने भन्ने पनि हाम्रो लक्ष्य छ ।
यसअघि पनि पटक–पटक ब्याज बढेको इतिहास छ । त्यतिबेला पनि व्यवसायीले बैङ्कसँगको कारोबार नगर्ने भनेर घोषणा गरेका थिए । ती घोषणा लागू भए र ?
अघिल्ला पटकमा ब्याज बढ्दा बजारको वातावरण सहज थियो । बजारमा माग र आपूर्तिको चक्र मिलिरहेको थियो । व्यापार व्यवसाय चलेको थियो । तर अहिले बजारमा माग नै छैन । जसले गर्दा व्यवसायीलाई समस्या आइरहेको छ । तर यस्तो महामारीको समयमा बैङ्कले व्यवसायीलाई मार्ने नीति नै लिए । अहिलेको स्थितिले केही धान्दैन । अहिलेको व्यापारले बैङ्कको किस्ता, घरभाडा, बच्चाको स्कुल फी, सरकारलाई बुुझाउनुपर्ने कर केही धान्दैन । यही कारण व्यवसायी आन्दोलनमा उत्रिनुपरेको छ । घरभाडा बढेको बढ्यै, ब्याज बढेको बढ्यै, करको दायरा बढेको बढ्यै छ तर व्यापार घटेको घट्यै छ ।
प्रतिक्रिया