मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
सन्दर्भः भ्यालेन्टाइन्स डे

पत्थर बन्दै गएको मानव मुटुमा प्रेमको गुलाफ

मङ्गलबार, ०२ फागुन २०७९, १३ : २६
मङ्गलबार, ०२ फागुन २०७९

फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे प्रेमी–प्रमिकाहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । प्रेम गर्ने जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । 

प्रणय दिवस वाक्यांशले नै एक रोमान्टिक र प्रेममय दिनको अर्थ वहन गरेको छ । मानवजीवनमा प्रेम अक्सिजन जत्तिकै आवश्यक चिज हो । प्रेम एकदमै अनियन्त्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भनेर खटन पटन सकिँदैन । प्रेम गर्नका लागि कुनै सीमितता पनि छैन । यो त एउटा बाँच्ने आधारशीला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरू र आफूले प्रेम गरिनेहरू भएनन् भने जिउनुमा कुनै सार्थकता हुँदैन्थ्यो होला ।

प्रेम त हरकोहीसँग पनि हुनसक्छ । प्रेम त परिवारसँग हुन्छ, साथीभाइसँग हुन्छ अनि आफ्ना प्रियजनहरूसँग त हुने नै भयो । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ । प्रणय दिवसका रूपमा रहेको यो दिन युवाले मनपर्ने प्रेमिका वा प्रेमीलाई वर्षाैं आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यो दिन युवायुवतीका लागि विशेष आकर्षणको दिन हुनेगर्छ ।

विश्वमा प्रणय दिवस इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरुवात भएको भेटिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस दिवसको इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत् गोप्य कुरा बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरेका थिए । सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन्स नाम गरेका व्यक्तिले उल्लङ्घन गरेका थिए । एउटा  सर्वसाधारणले आफ्नो आदेश उल्लङ्घन गरेको कारण सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति अर्थात् भ्यालेन्टाइन्सलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेब्रुअरीमा संसारमा भ्यालेन्टाइन्स डे मनाउने प्रचलनको आरम्भ भएको देखिन्छ ।

प्रणय दिवस वास्तवमै मानव मनको अन्तस्करणबाट सिर्जित प्रेमभाव हो । तर पछिल्लो समय युवायुवतीमा एक प्रकारको विकृति देखा पर्न थालेको छ । उनीहरूमा जबर्जस्ती प्रेम गर्ने होड चलेको छ । बदला लिने, झगडा गर्ने, कुलतमा लाग्ने महँगा विलासीका सामग्री आदानप्रदान गर्ने, विभिन्न होटलहरू जाने, अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोजमोस्ती गर्नेजस्ता विकृति देखिन्छन् ।

कुनै पनि पर्व मनाउनु नराम्रो होइन । त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ । हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो । यसका केही राम्रो पक्ष भए पनि आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउँछौँ । यसले गर्दा आधुनिकतासँगै युवायुवतीले संस्कृति जगेर्नाभन्दा पनि विसङ्गति भित्र्याएको छ ।

आखिर माया गर्नेहरूका लागि सधँै प्रेम दिवस नै हुन्छ । तर पश्चिमी संस्कृतिसँगै भित्रिएको यो दिवसले कैयाँै युवापुस्ताको जीवन नरकमा धकेलेको छ । उनीहरूमा एकअर्कोमा देखासिकीको प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले हाम्रो देशमा पनि विस्तारै हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित बनाइहेको छ । 

आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ माया प्रदर्शन गर्नेहरूको होड नै चलेको छ । गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउने त फेसन नै चलेको छ ।

प्रणय दिवसमा रातो रङको गुलाफ सबैभन्दा धेरै आदानप्रदान हुन्छ । यो प्रेम–प्रस्तावको प्रतीक मानिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने ठानिन्छ । पहेँलो रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । यो दिन गुलाबी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन, अब तिम्रा लागि मात्र धड्की रहेको छ भन्नु हो अर्थात् मेरो मुटु तिम्रा लागि हो ।

पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेन्डसिप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन्स डेमा पनि यसको प्रयोग हुन थालिसकेको छ । 

सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्त्वपूर्ण भूमिका खेल्छ । 

कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ ।

प्रेम शब्दको उच्चारण नै सुन्दर छ, प्रेम जसले सुन्छ, पढ्छ, बुझ्छ, ऊ मुस्कुराउँछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डोर्याउँछ । जीवनमा इन्द्रेणी रङ भर्छ र जसले हरेकलाई प्रेरणा पनि प्रदान गर्दछ । त्यो हो प्रेम । 

माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ । कसैले भनेर, देखाएर हुने चिज पनि होइन  । प्रेम त एक स्वतःस्फूर्त रूपमा हुने चार्ज हो । प्रेम व्यक्तिको आत्मबाट आउने एक प्रकारको सकारात्मक भाव हो, जसले एक प्रकारको आत्मीयता जगाइदिन्छ ।

प्रेम दिवसलाई अहिले युवापुस्ताले आधुनिकताका नाममा अनेकौँ विकृति फैलाएका छन् । त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई सही तरिकाले मनाउनुपर्छ । भद्दा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । माया प्रदर्शन गरेर होइन साथीको मन, व्यवहारबाट जित्नुपर्छ । विश्वासपूर्ण रूपमा आफ्नो भावना व्यक्त गर्नुपर्छ । अरूको लहलहैमा लागेर होइन, सही तरिकाले मनाउनुपर्छ । तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ । 

प्रेम त्यस्तो बनोस् भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाताप होइन, खुसी र सन्तुष्टि फिजाउन पाइयोस, जहाँ एक मनले अर्को मनको कदर गरेको होस् । तब मात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ । 

उमेरमा जोसँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफैँ प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भावनाहरू मिल्दै गएपछि थाहै नपाई प्रेम बस्ने कुरा हो । तसर्थ प्रेम स्वतःस्फूर्त भावना पनि हो । 

प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रूपले सञ्चारित हुँदोरहेछ । साँचो प्रेम आफैँ हुन्छ किनकि यो स्वाभाविक र भावनात्मक हुन्छ । तर आजभोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृणित एवं घटिया काम हो ।

तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुई आत्माको मिलन हो त्यही मिलनबाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ । कसैको मन छुनु नै माया अनि प्रेम हो ।

प्रेम यौवनकालको उल्लास होइन । साँचो प्रेमले त्याग खोज्छ । त्यसैले माया र प्रेम समर्पणको अर्को नाम पनि हो । अन्तस्करणबाट उब्जिएको प्रेम करोडौँ स्वर्ण मुद्रा खर्च गरे पनि प्राप्त गर्न सकिँदैन । त्यसैले नारीले दिएको माया प्रेम र ममताले आधा राज्य जितेको महसुससमेत हुन्छ ।

प्रेम समुद्रभन्दा गहिरो छ । आकाशभन्दा विशाल अनि गङ्गाभन्दा पवित्र छ । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आँखाले बोल्छ । भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुई मुटु एक हुन्छ, धडकनको गतिले मनका सबै कुरा बयान गरिदिन्छ । यी सुन्दर स्वर्णिम कल्पनालाई मूर्त रूप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिलेकाहीँ प्रेमले शब्दको सहारा खोज्छ ।

पग्लिएको श्वास र धड्किएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अर्थात् अभिव्यक्ति चाहन्छ । त्यसैले प्रणय दिवसलाई विकृति र विसङ्गतिको रूपमा होइन ! एकअर्काको मनोभावना बुझेर मात्रै प्रणय दिवस मनाऔँ । सम्पूर्ण प्रेमीप्रेमिकाहरूको प्रेमले सार्थकता पाओस् प्रणय दिवसको सबैमा शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मानबहादुर विश्वकर्मा
मानबहादुर विश्वकर्मा
लेखकबाट थप