शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

मन्त्री किराँतीले भने–एक चरण पार लगाए, बाँकी भाग २ मा आउँछ

सोमबार, ०१ फागुन २०७९, १७ : १२
सोमबार, ०१ फागुन २०७९

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बाहिरबाट हेरे जस्तो मन्त्रालयको अवस्था नरहेको बताएका छन् । 

आफ्नो मन्त्रालयमा नाङ्गा बाबादेखि बोइङ जहाजका मालिकहरुसमेत आउने गरेको सुनाउँदै मन्त्रालयको काम भेग रहेको जानकारी दिएका हुन् । 

२८ औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र)ले विराटनगरमा सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै किराँतीले आफ्नो अनुभवमा मन्त्रीहरुलाई ८–९ दिन मै बिगार्ने प्रयास गरिएको तर आफूले एक चरण पार लगाएको पनि सुनाए । 

‘मेरो आफ्नै अनुभव चाहिँ मन्त्रीहरू बिग्रन चाहिँ ८–९ दिनमै बिगारिहाल्ने रहेछन् । एकचरणको पार लगाएको छु । अरू सबै पलपलको कुरा भाग २ मा आउनेछ,’ उनले भने । 

उनले बाहिरबाट हेर्दा जस्तो देखिएपनि भित्र मन्त्रालय अलिक भेग रहेको बताए । 

‘नाङ्गो जोगी, टप देशको सेलिब्रेटिदेखि आफ्नै बोइङ भएको मालिकहरु पनि यो मन्त्रालय भित्र पर्दो रहेछ । म भर्खर बुझ्दैछु । भर्खर २६–२७ दिन भयो,’ उनले भने । 

पर्यटनको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताउँदै उनले यही कार्यकालमा पर्यटन क्षेत्रले डिपाचर गर्ने पनि सुनाए । 

‘पर्यटनको क्षेत्रमा हामीले ठूलो फड्को मार्नुपर्नेछ । पर्यटन क्षेत्रमा यसै कार्यकालमा डिपाचर हुनुपर्छ । परम्परागतको पर्यटन होइन नेपाल पनको पर्यटन हुनुपर्छ । जहाँ सानो लगानीमा धेरै विदेशी मुद्रा आर्जन गर्नसक्ने । देशको आर्थिक मेरुदण्ड पर्यटन हुनसक्ने हुनुपर्छ,’ किराँतीले भने ।

उनले पहिले दिगो विकासमा आर्थिक विकास, सामाजिक न्याय र पर्यावरणप्रतिको मानवको उत्तरदायित्व हुनुपर्ने बताउने गरिए पनि अब संस्कृतिको संरक्षण पनि त्यसमा थप भएर आएको जानकारी दिए । 

सो अवसरमा उनले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउने भनिएपनि अहिले नबन्ने बताए । देशभरका ५५ वटा विभानस्थलमध्ये २९ वटामात्रै सञ्चालनमा रहेको र अन्य विमानस्थल घाम तापेर सुतिरहेको उनको भनाइ छ । 

‘यहाँ क्षेत्रीय विमानस्थल बनाउने नै भन्ने कुरामा मेरो अर्कै कुरा छ । आज हचुवाको भरमा धेरै विमानस्थल बनेर ५५ वटा विमानस्थलमध्ये आज २९ वटा मात्रै सञ्चालनमा छन् । अरबौं जनताको पैसाले बनाएको एयरपोर्ट घाम तापेर सुतिरहेको छ,’ किराँतीले भने, ‘यहाँको आवश्यकता, सरोकारवाला जनताको कुरा र सम्भाव्यता अध्ययन गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नबनाउने भन्ने विषयमा अगाडि बढ्ने छौं ।’

उनले विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन बनेसँगै पूर्वी नेपालको हवाई यात्रामा कोशेढुंगा साबित हुने दाबी पनि गरे ।   सो कार्यक्रमअघि उनले विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरेका थिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप