शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहिदका सन्तानलाई आवासीय विद्यालय, १२ पढेपछि के गर्ने ?

सोमबार, ०१ फागुन २०७९, १५ : १६
सोमबार, ०१ फागुन २०७९

दाङ । डोल्पाका जनक बुढाथोकीका बुवाले जनयुद्धमा सहादत प्राप्त गरे । बाबुको मृत्युपछि उनलाई आमाले पनि छाडिन् । त्यसपछि उनी बेवारिसे जस्तै बने, आफन्तका घर चहार्दै हिँड्थे । 

यही क्रममा उनलाई दाङमा रहेको ‘सहिद स्मृति आवासीय माध्यमिक विद्यालय’मा भर्ना गरियो । त्यस दिनदेखि उनका लागि विद्यालय नै घर र शिक्षक–शिक्षिका अभिभावक बनेका छन् । 

२०६६ सालमा स्थापना भएको यस विद्यालयमा जनयुद्धका क्रममा सहादत प्राप्त गरेका व्यक्तिका सन्तानलाई आवासीय सेवा दिइन्छ । कक्षा १ देखि १२ सम्म सञ्चालित यस विद्यालयमा यतिखेर लुम्बिनी र कर्णाली प्रदेशका ६७४ बालबालिका अध्ययनरत छन् ।

‘बा सहिद नभएको भए घरमै बस्थेँ, गाउँमै पढ्थेँ, आमाले पनि छाड्ने थिइनन्,’ जनक भन्छन्, ‘अहिले पढ्न पाएको छुु, केही गर्ने आशा पलाएको छ ।’

चाडपर्व आउँदा उनलाई बा–आमाको सम्झना हुन्छ । कहिले स्कुलका साथीभाइ र शिक्षकसँग रमाउने प्रयास गर्छन्, कहिले गाउँमा आफन्तलाई भेटेर । 

तुलसीपुर उपहानगरपालिका–११ का गौतम पुन पनि यही विद्यालयमा अध्ययनरत छन् । तर उनको चिन्ता कक्षा १२ पछि के गर्ने भन्ने छ । यस विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनको सपना र रहरलाई बिट मारी कोही घर फर्किन्छन् त कोही कामको खोजीमा भौँतारिन्छन् । ‘उच्च शिक्षा अध्ययन गर्न पाए केही गरौँ भन्ने हुन्थ्यो, यहाँ पढेर हातमा प्लस टुको सर्टिफिकेट त हुन्छ, त्यसपछि के गर्ने ?’ पुन भन्छन्, ‘विदेश जाऊँ सीप छैन । आखिर प्लस–टुपछि हामी जाने उही मजदुरी गर्न हो । बाबुआमा गुमाएर हामी हिजो बेवारिसे थियौँ नै, आज पनि राज्यले हामीलाई बेवारिसे अवस्थामा छोडिदिएको छ ।’

सहिदका छोराछोरीको भविष्य राज्यको हातमा भएकाले आफूहरूलाई अलपत्र नपार्न उनको आग्रह छ । उनका अनुसार, अघिल्ला ब्याचका अहिले कोही भारतमा त कोही देशकै सहर–बजारमा मजदुरी गर्दै छन् । ‘के यही हो, सहिदका सन्तानको भविष्य निर्माणमा राज्यको लगानी ?’ उनी प्रश्न गर्छन्, ‘राज्यले उच्च शिक्षाका लागि पहल गर्न किन सक्दैन ?’ 

यिनीहरूले त कम्तीमा कक्षा १२ सम्म पढ्न पाएका छन् । आर्थिक अवस्था कमजोर रहेका कारण सानै कक्षादेखि पढ्नै नपाएकाहरूको हालत अझ पीडादायी छ ।  

सुनछहारी गाउँपालिका रोल्पाका परशुराम घर्तीका बुवाले भालुवाङ आक्रमणका क्रम (२०६० असोज)मा ज्यान गुमाउनुपरेको थियो । बाबुको मृत्यु हुँदा उनी सात महिनाका मात्रै थिए । गाउँमा ज्याला–मजदुरी गरी आमाले उनलाई कक्षा ७ सम्म पढाइन् । लाउनखानकै समस्या रहँदा उनी कक्षा ८ मा भर्ना हुुन सकेनन् । 

आमाले राखेको फोटो हेरेको भरमा उनको स्मृतिमा बुवाको आकृति कोरिएको छ । घर्ती भन्छन्, ‘बुवालाई जिउँदो देख्न पाइनँ । फोटोमै देखेको भए पनि उहाँ कहिलेकाहीँ सपनामा आउनुहुन्छ । सानोमा म बुवालाई सम्झेर रुन्थेँ, अहिले आमा रुँदा मैले सम्झाउँछुु ।’  

उनी आमालाई सम्झाउन अघि त सर्छन् तर आमालाई सुख दिन उनीसँग रोजगारी वा स्वरोजगारी छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप