मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
सन्दर्भ : जनयुद्ध दिवस

जनयुद्धको केन्द्र कर्णाली

सोमबार, ०१ फागुन २०७९, १४ : ३९
सोमबार, ०१ फागुन २०७९

सुर्खेत । आज जनयुद्ध दिवस । माओवादीले थालेका १० वर्षे सशस्त्र जनयुद्धमा कर्णाली प्रदेशले निकै सङ्घर्ष गरेको छ । माओवादीको आधार इलाका मानिएको कर्णालीले जनयुद्धमा जति सङ्घर्ष गरेको छ त्यो हिसाबमा पार्टी केन्द्रले जहिले उपेक्षामा पार्दै आइरहेको छ । जनयुद्धका समयमा कर्णालीको भूमिका निर्णायक रहेको नेताहरूले बताउँदै आएका छन् । शान्ति प्रक्रियापछि पनि पार्टीलाई सशक्त बनाउन कर्णालीले जुन किसिमको भूमिका खेलेको छ, त्यो अरूतिरको तुलनामा धेरै सकारात्मक रहेको माओवादी नेताहरूले दाबी गर्दै आएका छन् । 

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसी युद्धको जगमा अहिले जे उत्पादन त भइरहेकै छ त्यो पर्याप्त नभएको बताउँछिन् । अब कर्णालीमा विशेष खालको योजना बनाएर आर्थिक समृद्धि, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि अभियान नै बनाएर अघि बढ्नुपर्ने विकल्प नरहेको तर्क राख्छिन् केसी । 

‘समाजवाद निर्माण गर्ने पार्टी कसरी बनाउने भन्ने कुरा त आर्थिक समृद्धिसँग जोडिन्छ,’ केसी भन्छिन्, ‘सामाजिक, सांस्कृतिक रूपान्तरणसँग जोडिन्छ । आर्थिक समृद्धिको नारा अघि सारेर बढियो भने गरिबी निवारण हुन्छ नै । त्यसो हुँदा कर्णालीको गरिबी घटाउने र निवारण गर्ने योजना अब पार्टीले बनाउनुपर्छ ।’

केसीको बुझाइमा पार्टीले आफ्ना कार्यकर्ता र समग्र जनतालाई आर्थिक समृद्धिको अभियानमा हिँडाउनुपर्ने छ । समाजमा भएका विकृति, विसङ्गतिका विरुद्धमा हिँडाउनुपर्छ । विकासको बाधकका रूपमा रहेको कुप्रथालाई निराकरण गर्नु पर्छ । युवाहरूमा विकृति बढेको छ । यी सबै खालका विषयलाई एउटा अभियान नै बनाएर रूपान्तरणको थालनी गर्नुपर्ने केसीको भनाइ छ ।  

अहिले देशमा जे उपलब्धि भएको छ, त्यो जनयुद्धकै जगमा टेकेर भएको हो भन्ने दाबी माओवादीले गर्दै आएको छ । सङ्घीयता लागू भएपछि पनि कर्णालीमा निरन्तर माओवादी सत्तामा छ । तर पनि जनयुद्धमा कर्णालीका जनताले जुन त्याग र बलिदानी गरेका छन्, सोअनुसारको उपलब्धि अझै  हासिल हुन सकिरहेको छैन । तर कर्णालीमा रहेको वर्गीय असमानतामा भने केही रूपान्तरण भएको माओवादी नेताहरूको बुझाइ छ ।

नेपालमा जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यसहित माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको जगमा ०६२–०६३ को ऐतिहासिक जनआन्दोलनपछि नेपालमा राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष केसी बताउँछिन् । यसैगरी जनताको हकअधिकार देशको मूल कानुन संविधानमा सुनिश्चित गर्न संविधान सभाबाट संविधान निर्माण गर्नुपर्ने माओवादी पार्टीको तत्कालीन कार्यनीतिअनुसार नै संविधान सभाको निर्वाचन सम्पन्न भएको हो । सोही संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको केसीको भनाइ छ । 

माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्ल जनयुद्ध र माओवादीले हालसम्म उठाउँदै आएका एजेन्डाहरूबाट नै आज देश सञ्चालित रहेको बताए । संयोगवश यतिखेर जसको नीति उसकै नेतृत्वअन्तर्गत हाम्रो पार्टीको नेतृत्वमा केन्द्र सरकार र प्रदेश सरकार गठन भएको छ । सरकारका तर्फबाट देशमा समाजवाद उन्मुख समृद्धिको यात्रा तय हुने विश्वास लिएको मल्लको भनाइ छ, जसले कर्णालीलाई पनि समृद्धिको मार्गमा हिँडाउने छ । 

मल्ल भन्छन्, ‘समाजवाद हुँदै साम्यवादको महान् लक्ष्य हासिल गर्ने रणनीतिमा हामी दृढ छौँ । हाम्रो रणनीतिक लक्ष्यलाई हासिल गर्न हामीले महान् जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र प्रयोग गर्ने सन्दर्भमा समेत जिम्मेवार र नेतृत्वदायी भूमिका खेल्नुपर्ने छ ।’ 

त्यसका लागि टुटफुट र विभाजनमा रहेका माओवादी धारका शक्ति, विचार मिल्ने अन्य कम्युनिस्ट घटकहरूसँग एकता गर्ने र देशका तत्कालीन मुद्दा मिल्ने शक्तिहरू बीचमा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको मल्ल बताउँछन् । 

जनयुद्धमा कर्णालीको सङ्घर्ष 

कर्णालीले जनयुद्धमा सङ्घर्ष गर्नुको एउटै कारण थियो– राज्यसत्ताको हिजोदेखिको थिचोमिचो र कुदृष्टिकाविरुद्धको जवाफ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न मोर्चामा कर्णालीका योद्धाहरूको रगत बगेको छ । त्यो बेला कर्णालीका छोराछोरीको रगत देशभर बगेको छ । जसको जगमा अहिले सङ्घीय गणतन्त्र स्थापना भएको छ । 

माओवादी नेता एवं राजनीतिक विश्लेषक डा. दीपेन्द्र रोकायले जनयुद्धको विषयमा अनुसन्धान गरेका थिए । पूर्वपत्रकारसमेत रहेका रोकायका अनुसार कर्णालीमा जनयुद्धलाई सकरात्मक लिने ३७.६ प्रतिशत, नमकरात्मक रूपमा लिनेहरू २०.१३ प्रतिशत थिए । यस्तै गम्भीर घटनाका रूपमा स्वीकार गर्नुपर्नेहरू ३०.६६ प्रतिशत देखिएको थियो भने जनयुद्धमा सरोकार नराख्नेहरूको जमात १.६७ प्रतिशत अनुसन्धानले देखाएको थियो ।

‘यो हिसाबले जनयुद्धको जगमा टेकेर आएको परिवर्तनलाई कतिपय मान्छेले भित्र ठीकै हो भन्ने बाहिर खुल्न नसकेको स्थिति छ,’ रोकाय भन्छन्, ‘जनयुद्धले एउटा युगीन परिवर्तन भएको छ । परिवर्तनका लागि जनयुद्धमा कर्णालीका नागरिकहरूले रोजगार पाएसरह लागेका थिए त्यो बेला ।’ 

आफ्ना ८१ वर्षीय बुवाको भनाइ उद्धृत गर्दै रोकायले भने, ‘म होल टाइमर भएँ नि । तेरो पार्टीका मान्छे आए, होल टाइमर बनाए भन्नुभयो । त्यो उमेरका बुवाले पनि होल टाइमर भएर परिवर्तनका लागि हिँड्नुभयो ।’ 

माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’ कर्णाली जनयुद्धको तुफानी केन्द्र रहेको बताउँछन् ।

हो, त्यसैको जगमा टेकेर आज ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँगाउँमा सिंहदरबार’को स्थिति आयो । भलै ती अधिकार सही रूपमा प्रयोग हुन नसकेकाले अहिले आलोचनाहरू पनि भइरहेको रोकायको बुझाइ छ । रोकाय क्रान्तिले दिएको उलब्धिलाई व्याख्या गर्न सकेनौँ भने अहिले सबैभन्दा ठूलो समयको बर्बाद हुने तर्क राख्छन् । 

उनी भन्छन्, ‘जनयुद्धमा घाइते भएकाहरूको उचित सम्मान भएको भए पनि एउटा परिणाम आउँथ्यो तर केही कमीकमजोरी रहेका छन् । परिवर्तनका लागि लडेका योद्धाहरूको अवमूल्यन गर्न खोज्नु नै समयको मूल्यबोधलाई विषयान्तर गर्न खोज्नु हो ।’ अहिलेको उलब्धिलाई संस्थागत गर्दै समाजवादी कार्यदिशा निर्माण गरी देशको समृद्धिको बाटो पछ्याउनु नै आजको आवश्यकता रहेको रोकायको भनाइ छ । यसले जनयुद्धको त्याग र सङ्घर्षको कदर हुन्छ । 

‘कर्णाली जनयुद्धको तुफानी केन्द्र थियो’

माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’ कर्णाली जनयुद्धको तुफानी केन्द्र रहेको बताउँछन् । सङ्घर्षकै क्रममा हजारौँ बहादुर योद्धा कर्णालीले गुमाएको स्मरण मल्ल गर्छन् । सुर्खेत जेलब्रेकका कमान्डरसमेत रहेका मल्ल भन्छन्, ‘पछाडि पारिएका वर्ग र समुदायको लागि हामीले क्रान्ति गरेका थियौँ, अझ कर्णाली तुफानी केन्द्र थियो । किनकि कर्णालीका जनता थुप्रै खालका कुप्रथा, वर्गीय विभेदको दुष्चक्रमा बाँचिरहेका थिए, त्यसैको मुक्तिका लागि हामीले सङ्घर्ष गरेका हौँ ।’ 

केसी भन्छन्, ‘कर्णाली अझ, भन्नुपर्दा आधारभूत वर्ग, जो माओवादीकै कारण आज यो ठाउँमा आइपुगेको छ । यदि माओवादीले दलित मुक्ति, महिला मुक्ति र गरिबहरूको एजेन्डा उठाउँदैनथ्यो भने आज महिलाहरूले मानव भएर बाँच्नसक्ने अवस्था हुँदैनथ्यो ।’

उनी अन्तर्राष्ट्रियकरण भएको जनयुद्धमा कर्णालीले आफ्नो स्वाभिमान सगौरव प्राप्त गरेको बताउँछन् । जसका कारण आज कर्णालीको पहिचान राष्ट्रिय रूपमा स्थापित भएको मल्लको निष्कर्ष छ । जनयुद्ध दिवसको सन्दर्भमा कर्णाली प्रदेश सरकारले फागुन १ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसलाई सरकारका तर्फबाट उच्च महत्त्व र मान्यता प्रदान गरेको माओवादी नेताहरूको बुझाइ छ । 

माओवादीका प्रदेश अध्यक्ष केसीले भन्छिन्, ‘हाम्रा सहिद परिवार, घाइते, अपाङ्ग साथीहरू हुनुहुन्छ । हिजोका सहयात्री बाबुराम, किरण, विप्लव, बादलहरू एक ठाउँमा आउन् भन्ने कर्णालीका जनताको चाहना छ । हिजोका सबै माओवादी एक ठाउँमा आउनुपर्छ भन्ने खालको चाहना सहिद परिवारहरूको छ ।’

यद्यपि जुन ढङ्गले नेपालमा माओवादी एक मात्र वैकल्पिक पार्टी हो भन्ने मान्यता हिजो स्थापित भएको थियो, आज त्यो कुरामा समस्या आएको केसीको बुझाइ छ । केसी भन्छन्, ‘कर्णाली अझ, भन्नुपर्दा आधारभूत वर्ग, जो माओवादीकै कारण आज यो ठाउँमा आइपुगेको छ । यदि माओवादीले दलित मुक्ति, महिला मुक्ति र गरिबहरूको एजेन्डा उठाउँदैनथ्यो भने आज महिलाहरूले मानव भएर बाँच्नसक्ने अवस्था हुँदैनथ्यो । त्यो त माओवादीको कारणले भएको भन्ने कुरा त आज कर्णालीका जनताले बुझेकै छन् नि !’ अबको बाटो भनेको ‘कर्णालीका जनताको आर्थिक समृद्धि’ हो । त्यतातर्फ माओवादी अग्रसर हुनुपर्ने उनी बताउँछन् ।

उनका अनुसार कर्णालीका घाइते, अपाङ्ग, सहिद परिवारका लागि विशेष कार्यक्रम बनाउने योजना छ । ‘घाइते साथीहरूको संरक्षण गर्नुपर्छ भन्नेमा मेरो जोड छ,’ केसी भन्छिन्, ‘त्यसमा केन्द्रमा पार्टीलाई पनि हामी सुझाव दिन्छौँ । प्रदेशमा सरकार पनि छ, हामीले केही गर्न सक्छौँ भन्ने छ ।’ केसी जनयुद्धले तत्कालीन जनवादी क्रान्तिलाई नेपाली मौलिकतासहित पूरा गरे पनि वैज्ञानिक समाजवाद स्थापनाको दीर्घकालीन लक्ष्य पूरा गर्न बाँकी रहेको बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप