मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
सन्दर्भ : जनयुद्ध दिवस

जनयुद्धका घाइतेका ती दिनहरू

सोमबार, ०१ फागुन २०७९, ११ : ४५
सोमबार, ०१ फागुन २०७९

विराटनगर । २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म चलेको ‘जनयुद्ध’ कस्तो थियो ? जनयुद्धमा सामेल हजारौँ मानिसहरूको दुःख, साहस र बलिदानका कथाहरू कस्ता कस्ता छन् ? जनयुद्धले देशलाई के हानी गर्‍यो, के फाइदा गर्‍यो ? के यसले समाज परिवर्तनमा ठुलो योगदान गरेको छ ? यी र यस्ता विषयमा उक्त युद्धको विधिवत् अन्त्य २०६५ मङ्सिर ५ विस्तृत शान्ति सम्झौता भएपछि पनि चर्चा र बहस जारी छ । 

उक्त युद्धका नेतृत्वकर्ता हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेजस्तै जनयुद्धको सकारात्मक या नकारात्मक विषयमा आज मात्रै होइन, युगौँसम्म खोजी भइरहने छ । 

तर, त्यस युद्धमा सहभागी भएर घाइते योद्धाहरूको कथा चाहिँ कस्तो छ ? यस विषयमा पूर्व जनमुक्ति सेनामा आबद्ध भएर थुप्रै युद्धमा सहभागी घाइतेहरूले घाइते योद्धा प्रतिष्ठानले प्रकाशित गरेको ‘नमेटिने घाउ’ नामक पुस्तकमा धेरै साहसिक र दर्दनाक प्रसङ्ग उल्लेख छ । 

कतिपयले आफ्नै रगत पिएर बाँचेको कथा लेखेका छन् भने कतिपयले आफ्नै शरीरका अङ्गहरु कुहिएर झर्न थालेको चर्चा गरेका छन् । कतिपयले साथीहरूले मर्‍यो भनेर फालेर हिँड्दा कैयौँ दिन खोला तथा खोल्सामा जीवन बिताउनु परेको दर्दनाक कथा भनेका छन् । 

धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहाले निवासी सोममाया राई ‘रेखा’ जनयुद्धकी साहसी योद्धा हुन् । आफैँले वीरतापूर्वक लडेका इतिहास सम्झाउँदा उनलाई सपनाजस्तो लाग्छ ।

कतिपयले घाइते अवस्थामा उपचार गर्दागर्दै विदेशी भूमि भारतमा पक्राउ परेर जेल जीवनमा भोगेका दुःख पोखेका छन् । अर्थात् उक्त पुस्तकमा जनयुद्धका घाइते योद्धाहरूको साहस, सौर्य, प्रतिबद्धता तथा सहनशीलताको पर्याप्त कथा उल्लेख छ । 

धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहाले निवासी सोममाया राई ‘रेखा’ जनयुद्धकी साहसी योद्धा हुन् । आफैँले वीरतापूर्वक लडेका इतिहास सम्झाउँदा उनलाई सपनाजस्तो लाग्छ । घटना सम्झिदा आफैलाई पत्यार नलागेझैँ हुन्छ । 

टिमलाई रेस्क्यु गर्दा विवश गम्भीर घाइते भई बेहोस भए । ‘मेरो टाउकोमा एटिवानको मोर्टार लाग्यो,’ उनले अगाडि भने । त्यसपछि उनलाई भारतको सिलगुढीमा उपचारका लागि लगियो ।

२०६२ चैत २१ गते राति इलाममा रणमैदानमा परिणत भएको थियो, जहाँ दुईटै पक्षबाट भीषण बमबारी भइरहेको थियो । अत्याधुनिक हतियारका विषालु गोलीहरू कानै वरिपरिबाट चुइँ चुइँ गर्दै जान्थे । आफ्नै नजिकैबाट धर्ती हल्लिने गरी बम पड्किन्थे । तत्कालीन शाही सेनाको ब्यारेकमा हमला गरी कब्जा गर्नु मुख्य उद्देश्य थियो । रक्तिम इतिहास निर्माण गर्ने लालसिपाहीहरू, युद्ध ट्याक्टिस अपनाउँदै घनिभूत ढंगले आ–आफ्नो मोर्चा सम्हाल्न तम्तयार थिए । 

‘त्यहीबेला नजिकै बम पड्किएको आवाज आयो, त्यसपछि म पनि भुइँमा पछारिएछु । मलाई थाहा भएन कि म घाइते भए भनेर । रुखको फेदको सहारा लिँदै उठ्न खोजें, सकिन । शरीर पुरै रगतले तातो भएर आयो अनि पुरै शरीर झम्झमायो । रिगंटा लागेर भुइँमा ढलेँ । किन रिगंटा लागिराछ भन्दा एकजना साथीले मलाई उठाउँदै भन्नुभयो, कमरेड तपाई घाइते हुनु भएको छ । त्यसपछि झसङ्ग झस्किएँ । यसो हातमा हेरेँ । भुल्भुल्ती रगत बगेको देखे अनि अरु केही थाहा भएन, अँध्यारो छायो ।’  उनी त्यसबेलाको घटना यसरी सम्झन्छिन् । 

Pustak

सङ्खुवासभाका बाबुराम राईको युद्ध अनुभव र भोगेका दुःखका चाङ साना छैनन् । ‘मेचीकोशी सातौँ ब्रिगेड थियो । त्यसमा १८ औँ, १९ औँ तथा २९ औँ बटालियन थिए । यसैको लडाकु फोर्स जम्मा गरेर जिपीएमजी खोस्ने कुरा थियो ।’ पूर्वी भेगको जनमुक्ति सेनाको इतिहास सम्झिँदै उनी भन्छन्, ‘यो जनयुद्ध दिवस मनाउने योजनासँग सम्बन्धित थियो ।’ 

राईले ती संघर्षमय दिनको सविस्तार वर्णन गरे, ‘त्यसका लागि म लगायत साथीहरू सर्वेमा निस्किएका थियौँ । सर्वे गरेर फर्किदा सो टोलीमाथि सत्ताको सेनाले पिछा गरिरहेको रहेछ । हामीलाई पिछा गरी आक्रमण गर्‍यो । त्यहाँ जनमुक्ति सेनाले प्रतिआक्रमण गर्‍यो ।’ त्यो प्रतिआक्रमणमा उनकी बहिनी सुशीला राई ‘निशा’को टोली पनि सहभागी थियो । 

टिमलाई रेस्क्यु गर्दा विवश गम्भीर घाइते भई बेहोस भए । ‘मेरो टाउकोमा एटिवानको मोर्टार लाग्यो,’ उनले अगाडि भने । त्यसपछि उनलाई भारतको सिलगुढीमा उपचारका लागि लगियो । २६ दिनपछि उनको होस आयो । 

अनुपाको जब होस खुल्यो, घण्टौँ घस्रेर उनी वस्तीसम्म पुगिन् । बस्तीमा पुग्दा थाहा भयो, युद्ध त ४ दिन पहिले भएको रहेछ ।

ओखलढुङ्गाको कुहिभीरमा जन्मिएकी अनुपा राईको संघर्षको कथा पनि उस्तै छ । २०५९ वैशाख २४ गते तत्कालीन विद्रोही नेकपा (माओवादी)ले सङ्खुवासभाको चैनपुरमा रहेको सैनिक क्याम्पमा धावा बोल्यो । त्यो साहसिक युद्धकी एक लडाकु थिइन् १७ वर्षीया अनुपा राई । 

त्यही युद्ध जहाँबाट अनुपाको जीवनमा पीडाले बास गर्‍यो । अझसम्म त्यो हटेको छैन । माओवादीको आक्रमण सफल नभएपछि भाग्ने क्रममा उनलाई गोली र छर्राले लाग्यो । उनी अचेत भइन् । भाग्ने क्रममा माओवादी लडाकुहरूले उनी मरिसकेको निष्कर्ष निकाले । धेरै टाढा खोल्सीमा लगेर फालिदिए । सलामी ठोके र आफू बाँच्न सुरक्षित स्थानतर्फ भागे । पानीमा खसेकी उनको लामो समयसम्म होस खुलेन । 

अनुपाको जब होस खुल्यो, घण्टौँ घस्रेर उनी वस्तीसम्म पुगिन् । बस्तीमा पुग्दा थाहा भयो, युद्ध त ४ दिन पहिले भएको रहेछ । २१ दिनपछि सहयोद्धाको सम्पर्कमा पुगिन् । उनलाई भेट्दा सबैजना चकित भए । किनकि उनलाई खोल्सीमा फालेका सहयोद्धा लडाकुहरूले उनी मरिसकेको ‘रिपोर्टिङ’ पार्टी र जनमुक्ति सेनामा गरेका थिए । 

उनलाई थाहा भयो, ‘पार्टीले त आफूलाई सहिद पो घोषणा गरिसकेको रहेछ ।’ घाइते भएपछि दुई पटक आफ्नो शरीरको छाला उक्किएको र एक पटक केस झरेको अनुपालाई याद छ ।

खोटाङका ध्रुव बुढाथोकीको युद्ध अनुभव पनि दर्दनाक छ । २०६० साल फागुन ५ गते खोटाङको ऐंसेलुखर्कको धुलेडाँडामा सेनाको गस्तीमाथि आक्रमण गर्दा उनी घाइते भए । जनमुक्ति सेनालाई कमाण्डिङ गर्दै युद्ध लड्ने क्रममा उनलाई पछाडिबाट गोली लाग्यो । साइडबाट लागेको गोलीले दायाँ तर्फको करङ छेडेर दायाँ कुहिनासम्म वारपार बनाएको थियो । 

उनको अवस्था देखेर मोर्चाका सहकर्मीले ‘बाँच्छ, फर्केर आउँछ र फेरि पनि लडाई लड्छ’ भन्ने आशा मारेका थिए । तर, तीन÷चार महिनापछि चोट निको भएर उनी पुनः आफ्नो मोर्चा सम्हाल्दै बन्दुक÷बारुदसँग खेल्न थालेका थिए ।

पाँचथरको मिक्लाजुङ गाँउपालिका–४ रवि गाउँका डिल्लीप्रसाद मुखिया ‘रविन’ २०५८ वैशाखमा जनमुक्ति सेनामा खटिए । उनी सोही वर्ष मङ्सिरमा सोलुको सल्लेरीमा पहिलो लडाइँ लडे । 

२०५९ भदौ २२ मा तत्कालीन विद्रोही माओवादीले सिन्धुलीको भीमानमा रहेको प्रहरी चौकीमा आक्रमण गर्‍यो । आक्रमणमा २२ जना प्रहरी मारिए । यो भीषण लडाइँबाट मुखियाको जीवन पीडाको विमानमा चढ्यो । उनका दुवै तिघ्राबाट गोली वारपार भए । खुट्टा छिया छिया भयो । हलचल गर्न सक्ने स्थिति भएन । उनी मरिसकेको भनेर सहयोद्धाले पुर्न खोज्थे । तर जहाँ पुर्ने तयारी गर्‍यो, सेना त्यहीँ आइपुगेको जानकारी हुन्थ्यो । यही संयोगले उनी बाँचे । उनी एक हप्ताभन्दा बढी समय अचेत भएका थिए । 

उदयपुरका फर्सबहादुर मगरसहितको टोलीले कैयौँ भिडन्तमा धेरै दुस्मनलाई हराएको स्मरण गर्छन् । फर्सबहादुरका नजरमा ०६१ सालमा भएको घोडेटार र मलंगवा आक्रमण नै अविस्मरणीय बने । ‘घोडेटारमा दुस्मनको गोलीबाटभन्दा पनि भीरबाट लडेर धेरै साथीहरूले सहादत प्राप्त गर्नु भयो,’ उनी भन्छन्, ‘मलंगवामा मेरो पछाडिबाट आक्रमण गर्ने साथीहरूले दुस्मनको नाइटभिजन खसाले । त्यसको एक घण्टापछि मेरो खुट्टामा जिपिएमजीको गोली लाग्यो । म ढलेँ, बेहोस भएँ । होशमा आउँदा जंगलमा थिएँ, साथीहरू लडाई जितेको भनेर खुसीयाली मनाइरहनु भएको थियो । लडाइँ जितेको सुनेर दुखाई पनि कम भयो ।’

मोरङ, केरावारीका राम कार्की घाइते योद्धा प्रतिष्ठानका सचिव पनि हुन् । उनी युद्धमा लड्दा घाइते हुँदाको अवस्था अहिले पनि ताजै छ ।

भोजपुरकी सविना राईले जनयुद्धको उत्कर्षको समय २०५८ सालदेखि २०६१ सम्ममा निकै ठूला–ठूला युद्ध लडेकी छन् । उनले भोजपुर, ऐँसेलुखर्क, रुम्जाटार, भीमानलगायतका युद्ध लडिन् । 

युद्धका क्रममा सविना भोजपुरको झ्याउपोखरीमा खुट्टामा गोली लागेर घाइते भइन् । त्यहाँ सशस्त्र प्रहरीको एउटा प्लाटुन थियो, उनीहरू गस्तीमा निस्कँदा झडप भयो, ३ जना त्यही सहिद भए । सविनालगायत ४ जना घाइते भए । 

‘युद्धको बेला मृत्युको मुखमा पुग्दा पनि हाम्रा योद्धाहरू डराउँदैन थिए, गोली चलेर योद्धा ढलिरहेको हुन्थे तर पनि साथीहरू, माओवादी जिन्दावाद ! हरेस नखानुस् कमरेडहरु, हाम्रो जित निश्चित छ । निरंकुश सरकार मुर्दावाद ! जस्ता नाराहरू लगाउनु हुन्थ्यो,’ उनी युद्धको सम्झना गर्छिन् ।

मोरङ, केरावारीका राम कार्की घाइते योद्धा प्रतिष्ठानका सचिव पनि हुन् । उनी युद्धमा लड्दा घाइते हुँदाको अवस्था अहिले पनि ताजै छ । कम्मर मुनिको भाग नचल्ने उनी अहिले पनि आफूजस्तै घाइते योद्धाहरूको सहयोगका लागि सक्रिय भएर लागिरहन्छन् । 

२०६१ साल माघ १ गते राति १२ बजे घोडेटारमा माओवादीले फायरिङ खोल्यो । माघको ठिहीमा राति १२ बजेबाट सुरु भएको दोहोरो बमबारी बिहान ४ बजेसम्म चल्यो । माओवादीले युद्ध जितेको अनुभूति कार्कीले गरे । काँडेतार छिचोलेर ब्यारेक छिर्दा अगाडि गएका उनी फर्किदा भने अन्तिममा परे । 

गोलीवारी चलिरहेको थियो । ब्यारेकबाट रिटिर्ट हुँदै गर्दा गोलीबारी चल्ने क्रम एक्कासि बढ्यो । रामले सोचे आफ्नै साथीहरूले हान्दैछन् । कोड भाषा प्रयोग गरेर उनले म यता छु बम नहान भने । तर बमबारी रोकिएन । उनले बल्ल बुझे आफ्ना साथीले होइन, सेनाले बमबारी गर्दैछ । सेनाको निशानामा परेको पत्तो पाएपछि वारीको कान्लाबाट लुक्दै लुक्दै उनी भाग्दै थिए । 

तर एउटा कान्लाबाट झर्ने बेला बम पड्किएको ठुलो आवाज आयो । उनी उछिट्टिएर कान्लामुनि झरे । बम उनकै कम्मरमा पड्किएको थियो । बोल्न खोजे, सकेनन् । आँखा पनि धमिलो देखियो । उठ्न सकेनन्, बेहोस भए । 

होस खुल्दा उनका लागि आफ्नै शरीर भारी भइसकेको थियो । भाग्नलाई खुट्टा चलाउन खोजे चलेन । हात चल्यो तर बोली आएन । घिस्रिएर हिँड्न खोजे तर सकेनन् । 

घाइते कार्कीलाई बोक्ने सामग्री थिएन । कान्ला छेलिँदै जाँदा घुम्ती नजिकै नेपाली सेनाको गाडी आयो । ‘मैले साथीहरूलाई भाग्नु भने’, राम सम्झन्छन्, ‘मृत्युको खबर घर पुर्‍याइदिन भन्दै डायरी जिम्मा दिएँ । भाग्नुअघि साथीहरूले कान्लामुनि फालिदिए । सेनाको गाडी कट्यो र फेरि साथीहरूले मलाई झुन्ड्याउँदै बोकेर लगे ।’ 

बजारमा तन्ना मागेर रामलाई बोकियो । उज्यालो हुने बेला भएकाले गाउँको एक घरको बुइँगलमा उनलाई लुकाएर साथीहरू भागेको उनी स्मरण गर्छन् । 

सङ्खुवासभाका खगेन्द्र अधिकारीलाई कहिल्यै मर्न डर लागेन । क्याम्प हान्ने भन्ने पूर्व योजना हुन्थ्यो । कमान्डरहरूले राम्ररी सम्झाउने र प्रशिक्षण दिन्थे । राजनैतिक सेना भएकाले मर्ने र मार्ने भन्ने नै हुन्थ्यो । 

‘सर्वहारा वर्गको मुक्तिका लागि लडेको लडाई भएकाले कहिल्यै मर्न डर लागेन । युद्ध अथवा क्याम्प हान्न जाने दिन साथीभाइ बिच नाचगान गर्ने, जोक गर्ने लगायतका रमाइलो हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘प्रत्येकसँग वाकमेन हुन्थ्यो । लडाइँमा जानु अगाडि आफ्नो सन्देश रेकर्डिङ गरिन्थ्यो । बाँचे भेटौला, मरे मेरो सन्देश घर पुर्‍याइदिनु भन्ने हुन्थ्यो । यदि मरिहाले उक्त रेकडिङ सन्देश उसको घरमा पुर्‍याइन्थ्यो ।’ 

लडाइँमा औषधी खाएर जान्छन् भन्ने खबरहरू पनि बाहिर आएको थियो । तर त्यो सत्य नभएको उनको भनाइ छ । ‘हामी लडाइँमा जाँदा कहिल्यै पनि औषधी खाएनौ,’ उनले भने, ‘घाउचोट लाग्यो भने रगत रोकिने औषधी भने खान्थ्यौ ।’ 

मणिकुमार साम्पाङ ‘विजय’को अनुहारमा गोली लागेको अहिले पनि प्रष्ट देखिन्छ । भोजपुरको घोडेटार भीडन्तमा साम्पाङ घाइते भएका थिए । गोली लागेपछिको अवस्थालाई उनी यसरी बयान गर्छन्, ‘टाउकोको रगत थामिएको थिएन । त्यतिबेलै डाक्टरहरुको निष्कर्ष निस्कियो, विजय बाँच्दैन उपचारका लागि प्रयास नगरौँ । 

यो उपचार गर्ने र नगर्ने भनेर जब डाक्टरहरुबीच वहस चल्यो, त्यो आवाज उनको कानमा पर्यो । भन्छन्, ‘मैले तत्काल प्रतिकार गरें, त्यो डाक्टरलाई हटाउनुहोस्, अर्कोलाई बोलाउनुहोस् ।’ 

विजयको शरीरले काम गर्न छाडे पनि उनको आत्मा भने हारेको थिएन । दाँत बाँधिएकाले केही पनि खान नहुने बनेको थियो । नाक भाँच्चिएका कारण नाकबाट आफ्नो रगत सबै मुखबाट पेटमा पुगेको थियो, त्यही रगत नै विजयलाई खानाको काम गरेको थियो । यसले थप शक्ति दिएको थियो ।

श्यामकुमार बस्नेत ‘जमर्को’का लागि २०५९ कार्तिक ९ गते कालो रात थियो । ‘भीडन्त ठुलो भयो, हामी त्यहाँ असफल भयौ । म सेनाको बममा परेर दाहिने खुट्टा गुम्यो । यति ठुलो क्षति बेहोर्नु पर्दा मेरो दिमागले केही काम गर्न सकेन । मेरो संसार बद्लियो तर मलाई यति थाहा थियो कि युद्धमा क्षति हुन्छ नै तर मेरो देशले जिते मलाई गर्व नै हुनेछ ।’ 

जनयुद्ध धेरै नै कष्टपूर्ण र पीडादायी छ । भूमिगत वा जुनसुकै अवस्थामा धेरै पीडा र हण्डरहरु खेप्नु परेको उनले बताइन् ।

‘मलाई साथीहरूले बोकेर हाम्रो आफ्नै मेडिकलमा पुर्‍याएर प्राथमिक उपचार गराउनु भयो । त्यसपछि कहिले रामेछाप, कहिले सिराहा पुर्‍याउँदै केही उपचार भने भइरह्यो तर त्यतिले पुगेन । अनि मलाई अप्रेसनको लागि भारतको दरभङ्गामा लगियो । उता पुगेपछि मलाई पार्टी प्रवास कमाण्डले जिम्मा लियो,’ उनी बयान गर्छन् ।

बस्नेतको अपरेसन सफल भयो । त्यहाँ १० दिन बसेर पटना गई २ महिना १० दिनपछि कृत्रिम खुट्टा लगाएर आफ्नै घर फर्किए । घरमा आमा दाजुहरू हुनुहुन्थ्यो मेरो त्यो अवस्था देखेर उहाँहरूलाई कस्तो महसुस भयो भन्ने कुरा अभिव्यक्त नभएपनि भावमा व्यक्त हुन्थ्यो । तर, पार्टीको समर्थक भएको कारण परिवारबाट सान्त्वना दिँदा आफू पटक–पटक भक्कानिएको उनी बताउँछन् ।

झापाकी सुशीला कन्दङ्वाको कष्टपूर्ण यात्रा भएपनि आफूलाई पछुतो नभएको बताउँछिन् । देब्रे हात गुमाएकी उनका लागि सेनाको गोली लागेर घाइते हुँदा पानी पनि खान नपाएको समय जीवनको सबैभन्दा कठिन समय थियो । ‘भोक–प्यास र शारीरिक पीडा ! सोच्दा पनि आङ सिरिङ्ग हुन्छ’, उनले भनिन्, ‘यो मेरो युद्धकालीन समयको सबैभन्दा पीडादायी समय थियो ।’

उनको नजरमा जनयुद्ध धेरै नै कष्टपूर्ण र पीडादायी छ । भूमिगत वा जुनसुकै अवस्थामा धेरै पीडा र हण्डरहरु खेप्नु परेको उनले बताइन् । ‘धेरै दिन त भोकभोकै बस्नुपर्‍यो, भुटेको मकै पनि खान पाउने अवस्था थिएन’, उनले भनिन् ।

पार्टीको सम्पर्कमा रहेका जनतामध्ये अधिकांश गरिब र निमुखा भएकाले उनीहरूको घरमा गएर बस्दा खाना खान सकिने अवस्था नरहेको उनले सुनाइन् । ‘एक त धेरै हिँड्नुपर्ने, त्यसमा पनि भोकका कारण हिँड्न सक्ने अवस्थै थिएन’, उनले सम्झिन् ।

जीवनलाई पातमा राखेर हिँड्नुपर्ने अवस्था रहेको सुनाउँदै उनले भनिन्, ‘दुस्मनले देखे हामीले उनीहरूलाई मार्ने र उनीहरूले देखे हामीलाई मार्ने अवस्था थियो ।’ घरमा धेरै दुःख र समस्या नव्यहोरेको बताउँदै उनले जनयुद्धताका धेरै कष्टपूर्ण यात्रा पार गरेको बताइन् । 

तर पनि उनलाई जनयुद्धमा लाग्दा कुनै पछुतो छैन । देशमा गणतन्त्र ल्याउन सफल भएकोमा उनीलाई खुसी लागेको छ ।

सन्दर्भ सामग्री

घाइते योद्धा प्रतिष्ठानद्वारा प्रकाशित ‘महान् जनयुद्धका घाइते योद्धाहरूको सङ्घर्षको गाथा भाग–१ नमेटिने घाउ’ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप