के विवेकशील साझाको पुनरुत्थान सम्भव छ ?
काठमाडौँ । महाधिवेशनपछि विवेकशील साझा पार्टीको पुनरुत्थानबारे बहस भइरहेको छ । माघ २७ र २८ गते काठमाडौँमा भएको पहिलो महाधिवेशनबाट अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । रवीन्द्र मिश्रको राजीनामा पनि विवेकशील साझाको नेतृत्व सम्हालेकी बाँस्कोटा महाधिवेशनबाट पनि सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् ।
महाधिवेशनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको छ । त्यस्तै महासचिवमा रञ्जु दर्शना चयन भएकी हुँदा सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसीले मौका पाएका छन् । कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।
८ पदाधिकारी रहेको विवेकशील साझामा ५१ केन्द्रीय समिति सदस्य रहने व्यवस्था छ । विवेकशील साझाको पदाधिकारीमा ‘मेजर पोस्ट’सहित ५० प्रतिशत महिला सहभागिता भएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी ४ जना महिला पदाधिकारी बनाएर विवेकशील साझाले ठुला पार्टी समावेशिताको सन्देश दिएको छ । वैचारिक रूपमा पनि महाधिवेशनबाट विवेकशील साझा वर्तमान व्यवस्थाको परिधिभित्र उभिएको छ ।
विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले त्रुटि र कमजोरीलाई सच्याउँदै आफूहरू जुरुक्कै उठेको बताउँछन् । महाधिवेशनले सैद्धान्तिक र वैचारिक मत मतान्तरलाई निरूपण गरेको उनको भनाइ छ । रातोपाटीसँग उनले भने, ‘वैचारिक रूपमा स्पष्टताका साथ अगाडि बढ्यौँ । कमकाजी नेतालाई सामूहिक नेतृत्वमा ल्यायौँ । नेतृत्वमा सामूहिकता र विचारमा प्रस्टता आयो ।’
वैकल्पिक राजनीतिको ओर्ग्यानिक जग विवेकशील साझा पार्टी नै हो भनेर पुष्टि गरेको परियारको दाबी छ । ‘वैकल्पिक राजनीतिमा हर्क साम्पाङ, बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी समेत उदाइराखेका छन् । यसको जग भने विवेकशील साझा पार्टी हो । हामीले २०७४ को निर्वाचनमा मत परिवर्तनको क्रान्ति गरेका थियौँ । त्यो क्रान्तिमा बढ्दै गएको छ,’ उनी भन्छन् ।
वैकल्पिक र सुसंस्कृत राजनीति तथा कल्याणकारी लोकतन्त्रको स्पेस धेरै ठुलो रहेको भन्दै विवेकशील साझाको नीति, कार्यक्रम र देशव्यापी यात्राले थप पुष्टि गर्ने परियारले बताए । ‘विवेकशील साझा वैकल्पिक राजनीतिको नयाँ मूलधारका हिसाबमा अगाडि बढ्यो । निष्क्रिय बस्नु भएका पुराना साथीहरूलाई उत्साह दिएर पार्टीमा ऊर्जा भर्ने काम गर्छौँ । मन दुखाएर बसका साथीहरू फर्केर अगाडि बढ्ने वातावरण बन्यो,’ उनले भने ।
उनका अनुसार विवेकशील साझाले वैकल्पिक राजनीतिको स्पेस बनाएर पनि आफू कमजोर भयो भन्ने थियो । ‘यो महाधिवेशनबाट विवेकशील साझा ओर्ग्यानिक रूपले ह्वात्तै अगाडि आएको छ । विवेकशील साझाको अर्ग्यानिक वृद्धिले समतामूलक समृद्धिको यात्रा कोरियो भन्ने हो,’ परियार भन्छन् ।
यस्तै महासचिव रञ्जु दर्शनाले त्रुटि र कमजोरीलाई सच्याउँदै महाधिवेशन सम्पन्न भएको बताइन् । ‘विवेकशील साझा हिजो चिराचिरा परेको अवस्था थियो । अब फुटेर होइन जुटेर अघि बढ्नुपर्छ हेतुले हाम्रो महाधिवेशन सम्पन्न भएको छ । यो हाम्रो एकताको महाधिवेशन पनि भनेका छौँ,’ उनले भनिन् ।
नयाँ कार्यसमितिले संगठन निर्माण गरी आफ्नो राजनीति दस्ताबेज र मार्गदर्शन सिद्धान्त लागु गरेर वैकल्पिक राजनीतिलाई नयाँ मूलधारको पार्टी बन्ने उनको भनाइ छ । ‘यसका लागि हामी प्रतिबद्ध छौँ । पार्टीप्रति निराश हुनु भएको साथीहरूको लागि महाधिवेशनले ऊर्जाका साथ पार्टीमा फर्किने अवसर प्रदान गरेको छ । महासचिवको हैसियतमा पार्टी संगठन निर्माणमा लाग्ने छु,’ दर्शना भन्छिन् ।
उनका अनुसार विवेकशील र साझाको दोस्रो एकीकरणपछि रवीन्द्र मिश्रबाट ‘विचारभन्दा माथि देश’को प्रस्ताव आएपछि पार्टीमा विचलन आएको थियो । उनी भन्छिन्, ‘कोही निष्क्रिय भयौँ, कतिले अरूको चुनाव चिन्हबाट लड्यौँ । रवीन्द्रजीले पार्टी छाड्नुभयो । ‘विचारभन्दा माथि देश’लाई खारेज गर्छौँ भनेपछि हामी एकताबद्ध भएका छौँ ।’ अब विवेकशील साझाले वैकल्पिक राजनीतिको गाडीलाई गन्तव्यमा पुर्यािउने उनको दाबी छ ।
‘समय कालखण्डमा कुनै पनि पार्टी वैकल्पिक हुन सक्छ तर हामी वैकल्पिक राजनीति गर्न आएका हौँ । राजनीतिको कार्यशैली नै फरक हुनुपर्छ, राजनीतिक नेतृत्वले यसरी काम गर्नुपर्छ भन्ने हो । हामी गरेर देखाउँछौँ,’ दर्शना भन्छिन् ।
यस्तै विवेकशील साझाबाट पछिल्लो समय बाहिरिएका निर्देश सिलवालले पनि विवेकशील साझाको पुनरुत्थान हुने बताए । उनले भने, ‘विभिन्न हन्डर– टक्कर खाएका अनुभवी साथीहरु आत्मबोधसहित एक ठाउँमा आउनु भएको छ । अहिले विवेकशील साझामा रहेका साथीहरुमा वैकल्पिक राजनीतिमा सबैभन्दा बढी अनुभव छ । उहाँहरूले केही गर्नुहुन्छ भन्नेमा आशावादी छु ।’
यद्यपि राजनीतिमा अनुभवले मात्र नहुने भन्दै देशको समग्र, अन्तर्राष्ट्रिय वातावरण र समाजको परिवेशले पनि प्रभाव राख्ने सिलवालको भनाइ छ । उनका अनुसार नेपालको राजनीतिमा विवेकशील साझाले पार्टीको मुख्य नेतृत्वमा महिलालाई ल्याएर एकदमै ठुलो सन्देश दिएको छ ।
‘विगतमा विवेकशील मुभमेन्ट पनि महिला सम्बन्धनमा उदार थियो । विवेकशीलको जनकपुर अधिवेशनले ६ जना पदाधिकारी मध्ये कम्तीमा ३ जना महिला अनिवार्य हुने व्यवस्था गरेको थियो,’ सिलवालले भने, ‘अहिले विवेकशील साझाको पदाधिकारी हेर्दा ८ जना मध्ये ४ जना महिला देखिन्छन् ।’
पार्टीमा अध्यक्ष, एक उपाध्यक्ष, महासचिव र एक सचिवमा महिला हुनु अवस्था विरलै देखिने उनको भनाइ छ । ‘त्यसमा पनि उपाध्यक्षमा प्रकाशचन्द्र परियार दलित समुदायबाट हुनुहुन्छ । यसले सकारात्मक सन्देश दिएको छ । यसले ठुला पार्टीलाई पनि समावेशिताको पक्षमा ओठे अडान मात्र होइन व्यवहारिक प्रतिबद्धता पनि देखाउनुपर्छ भनेर सन्देश दिएको छ,’ उनले भने ।
राजनीतिक विश्लेषक मुमाराम खनालको मत भिन्न छ । उनका अनुसार प्राविधिक रूपमा पार्टी बनाउनु र आम नागरिकसँग जोडिनु फरक कुरा हो । ‘नेपालमा अहिले वैकल्पिक राजनीतिको अर्थ गुमिसकेको छ,’ खनाल भन्छन्, ‘संविधान बन्ने दौडानमा आफ्ना राजनीतिक मुद्दा उठाए विभिन्न सरोकारवाला आन्दोलनमा थिए । ती वर्गीय, क्षेत्रीय, लैंगिक, पहिचानका आन्दोलनका दौडानमा विवेकशील अभियान वैकल्पिक राजनीतिको भाष्य खडा गरेको थियो ।’
उनका अनुसार नेपाल बन्द नगरेर फरक ढंगले राजनीति गर्न आवाज उठाउने विवेकशील अभियान पछि सानो दल पनि बन्यो । ‘त्यो दलको प्रभाव दर्जन जति युवामा मात्र थियो । २०७४ मा फेस भ्यालु भएका र समाजमा स्थापित मान्छेले साझा पार्टी बनाए,’ उनी भन्छन्, ‘विवेकशील र साझा एकता भएपछि सकारात्मक सन्देश दिन खोजिरहेको थियो । तर पार्टी विभाजन भएपछि विवेकशील साझाको ओज इतिहासमा विलुप्त भइसक्यो ।’
विश्लेषक खनालका अनुसार अब विवेकशील साझालाई पुनर्ताजगीकरण गर्न सकिने अवस्था नै छैन । ‘वैचारिकमा आएका अवरोधले विवेकशील साझा स्वाभाविक कोर्समा जान सकेन । विवेकशील र साझाबाट अतिवादी दृष्टिकोण आए ।
सांगठनिक रूपमा हामीले कब्जा गर्नुपर्छ भन्ने अस्वस्थ प्रतिस्पर्धा चल्यो । ०७४ को निर्वाचनपछि विवेकशील साझाको ओज समाप्त भइसकेको थियो,’ उनको दाबी छ । मोहन विक्रम, रोहित लगायतको पार्टी जस्तै विवेकशील साझालाई सानो समूह मिलेर अस्तित्वमा राखी राख्न भने सक्ने उनको भनाइ छ । विवेकशील साझाले नेपालको रुपान्तरणमा योगदान दिन सक्ने सम्भावना नरहेको खनालले बताए ।
यो महाधिवेशनले वैचारिकी करणको बन्ध्याकरण गरेको खनालको बुझाइ छ । उनले भने, ‘महाधिवेशनअघि वैचारिकीका लागि ठुलो आह्वान गर्नुपर्थ्यो । हामीले पार्टी बनाएका होइनौँ, तपाईंहरु आएर एउटा नयाँ अभियान सुरु गरौँ भन्दा राम्रो सन्देश दिन्थ्यो ।’
तर केही मान्छेले आफैले पार्टी बनाएर आफै पद बाढेपछि नयाँ मान्छे छिर्ने प्वाल पनि बन्द भएको खनालले बताए । ‘संगठनात्मक संरचना बनाएपछि नयाँका लागि बाधक बन्छ । अहिलेको विवेकशील साझाको अधिवेशन नयाँ सम्भावनाका लागि ढोका बन्द गर्नु हो,’ उनी भन्छन् ।