लुम्बिनीमा साना दलहरू समर्थन फिर्ता लिने तयारीमा, सरकार सङ्कटमा नपर्ने
बुटवल । लुम्बिनीमा सरकारलाई समर्थन र विश्वासको मत दिएका जनता समाजवादी, नागरिक उन्मुक्ति, लोसपा र स्वतन्त्र रूपमा चुनाव जितेका २ सांसद सरकारमा नसमेटिएपछि यी साना दलहरूले विश्वासको मत फिर्ता लिने मुडमा पुगेका छन् ।
सरकार गठन गर्दा स्वतन्त्रसहित ८ दलको समर्थन पाएका मुख्यमन्त्री लीला गिरीले शनिबार सरकार विस्तार गरेका थिए । सरकार गठन गर्दा उपयुक्त मन्त्रालय नपाएपछि जसपा र लोसपा नजाने निर्णयमा पुगेका हुन् भने नागरिक उन्मुक्ति भने केन्द्रदेखि नै असहमति जनाउँदै सरकारमा नजाने भएको हो ।
लुम्बिनी प्रदेशमा पुस २७ गते एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने समर्थन तथा माघ ५ गते प्रदेश सभामा विश्वासको मत दिने समयमा पनि ती दलका सबै सांसदहरूले साथ दिएका थिए ।
तर पछिल्लो पटक राष्ट्रिय सभाको उपनिर्वाचनमा सत्तारुढ दलको तर्फबाट एमालेका उम्मेदवारविरुद्ध नागरिक उन्मुक्तिले उम्मेदवारी दिएर आफू सरकारमा नरहेको स्पष्ट पारेको छ ।
नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्म चौधरीले सत्तारुढ दलले सुदूरपश्चिम पनि आफ्नो पार्टीले एमालेलाई सहयोग नगरेको यहाँ पनि अव सहयोग नगर्ने तयारी रहेको रातोपाटीलाई बताए ।
चौधरीले भने, ‘हामी छिट्टै विश्वासको मत फिर्ता लिँदैछौ । अब बस्ने सदनमा सबैभन्दा पहिलो विश्वासको मत फिर्ता लिने प्रस्ताव लैजाने छौ ।’
आफ्ना पार्टीका कुनै माग सुनुवाइ नगरेको र प्रदेशमा पनि कुनै अस्तित्व स्वीकार नगरेकाले विश्वासको मत एमालेलाई दिनुपर्ने अव कारण नरहेको खुलाए चौधरीले ।
यस्तै लोसपा र जसपा पनि विश्वासका मत फिर्ता लिने तयारीमा छन् । लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेले आफूहरूले सरकार विश्वासको मत फिर्ता लिने तयारीमा रहेको बताए ।
पाण्डेले आफूहरू सरकार विस्तार हेर्ने गरी कुरेको तर अब यस्तो सरकारलाई साथ नदिने बताए । उनले अन्य दलहरू मिलेर यो सरकारबाट छिटै विश्वासको मत फिर्ता लिने प्रक्रियामा रहेको बताए ।
यस्तै जसपाका सांसद भण्डारी लाल अहिरले पनि सरकारमा आफूहरू नजाने बताए । उनले आफूहरूले केन्द्रसँग सल्लाह गरेर फिर्ता गर्ने बताए । सरकारलाई समर्थन गरे पनि ठुला दलले बेवास्ता गरेकाले सरकारमा नगएको तथा विश्वासको मतका विषयमा छिटै निर्णय लिने पनि बताए ।
अब यस्तो हुनेछ अङ्कगणित
लुम्बिनी प्रदेशमा रहेका ८७ सदस्यीय प्रदेश सांसदमध्ये अहिले सत्तामा रहेका एमालेका लीला गिरीले ५७ मत प्राप्त गरी सदनमा विश्वासको मत लिएका थिए ।
उनलाई आवश्यक ४४ सांसद रहे पनि चाहिए भन्दा १३ मत धेरै लिएर ७ दल र स्वतन्त्र सांसदसहित शानदार समर्थन मत पाएका थिए ।
तर शपथ ग्रहण गरेको लामो समयसम्म मन्त्रिपरिषद् विस्तारमा अलमलमा परेका गिरी अहिले पुनः साना दलहरूको चित्त बुझाउने सकसमा परेका छन् ।
१० सांसद रहेका साना दलहरू नागरिक उन्मुक्ति, जसपा र लोसपा अव विश्वासको मत फिर्ता लिने तयारीमा छन् । यदि ती दलहरूले फिर्ता लिएमा सरकारसँग ४८ सांसद रहने छन् । त्यसैले, तत्काल सङ्कट देखिँदैन ।
अहिले सरकारमा सहभागी एमालेका २९, माओवादीका १०, राप्रपाका ४, जनमतका ३ सांसदहरू रहेका छन् भने २ स्वतन्त्र सांसदले पनि सरकारलाई विश्वासको मत दिएका छन् ।
तर केन्द्रको समीकरण तलमाथि भएमा भने गिरी सरकारमा सङ्कट पर्नेछ । सत्ता घटक माओवादीका विना विभागीय मन्त्री कृष्णा केसीले आफूले रोजेको मन्त्रालय नपाउँदा राजीनामा दिएकी छिन् । यसले सत्ता समीकरणको फेरबदलको छनक दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)
-
दरबारमार्गमा सुरु भयो एमालेको जागरणसभा (LIVE)
-
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै