चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । माघ २७ गते संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट आउजाउ गर्दा घण्टौँ ट्राफिक जाम भई सर्वसाधारणले कष्ट व्यहोर्नु परेको, एम्बुलेन्सहरु समेत ट्राफिक जाममा पर्दा बिरामीहरु समयमै अस्पताल पुग्न नसकेको, बिरामीको उपचारका लागि अस्पताल जान लागेका चिकित्सकहरुमाथि समेत सुरक्षाकर्मीबाट हातपात र दुर्व्यवहार भएको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगले उक्त घटनाको अनुगमन गरेको आइतबार जारी विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘राज्यका विशिष्ट व्यक्तिको सवारीमा उचित सुरक्षा प्रबन्ध गर्नु सुरक्षा निकायको दायित्व हो । तर विशिष्ट व्यक्तिको सुरक्षा प्रबन्ध गर्दा बिरामी, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, आम सर्वसाधारण र उनीहरुले प्राप्त गर्ने सेवाप्रवाह भने प्रभावित हुनु हुँदैन । यसले नागरिकको स्वास्थ्य सम्बन्धी हक, स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने हक र समानताको हक समेत प्रभावित हुन जान्छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
आयोगले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन, विशिष्ट व्यक्तिको सवारीका बेला आम सर्वसाधारणलाई पर्न सक्ने प्रभाव बारे गम्भीर बन्न, घाइते चिकित्सकहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा उक्त घटनाको छानबिन गरी चिकित्सकमाथि हातपात र दुर्व्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेको हो ।
साथै, प्रहरी अनुसन्धानका क्रममा गरिने स्वास्थ्य परीक्षण समयमै नगर्दा प्रमाण लोप समेत हुन सक्ने र समयमै उपचार नहुँदा गम्भीर प्रकृतिका बिरामीहरूको स्वास्थ समेत जोखिममा पर्ने हुँदा स्वास्थ सेवा जस्तो अत्यावश्यक सेवा बन्द नगर्न आयोगले चिकित्सकहरुलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते