आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

विराट गोल्डकप चैत ९ गतेदेखि हुने, पुरस्कार राशि वृद्धि गरिने

आइतबार, २९ माघ २०७९, १४ : ४०
आइतबार, २९ माघ २०७९

विराटनगर । विराटनगरमा आयोजना हुने सर्वाधिक चर्चामा रहेको विराट गोल्डकप प्रतियोगिता आगामी चैत ९ गतेदेखि हुने भएको छ । 

उक्त प्रतियोगिताको पुरस्कार राशि पनि वृद्धि गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । 

गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उपविजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो । 

तर यस सिजनको विजेताले पाउने पुरस्कारको राशि वृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । 

यस पटक कम्तीमा विगतको तुलनामा ४ देखि ५ लाखसम्म पुरस्कार राशि वृद्धि हुने उनको भनाइ छ । यसैगरी उपविजेता हुने टिमले पनि कम्तीमा ३ लाख बढी पुरस्कार पाउने छ । पुरस्कार राशिबारे चाँडै   सार्वजनिक गर्ने कोइरालाले बताए । 

यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

गोल्डकपको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । विराटनगरको सहिद रंगशालामा हुने गोल्डकपका लागि रंगशाला मर्मत भइरहेको छ । फ्लड लाइट जडान भएको रंगशालामा रात्रिकालीन फुटबल प्रतियोगिता हुनेछ । त्यसका लागि मैदानको सबलीकरण भइरहेको कोइरालाले बताए ।

नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिता भव्य बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । यद्यपि कुन–कुन टिमले सहभागिता जनाउने भन्ने अन्तिम नाम प्रकाशन भइसकेको छैन । कोइरालाले सम्झौतामा हस्ताक्षर भएपछि सहभागी टिमको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

हालसम्म रंगशालाको मैदान मर्मतदेखि प्याराफिटमा फलामको रेलिङ जडान गर्ने काम भइरहेको कोइरालाले बताए । अघिल्ला संस्करणभन्दा भिन्न योपटक विद्यालयका युवा विद्यार्थीहरूलाई विराट गोल्डकपको इतिहासको जानकारी दिने उद्देश्यसहित गोल्डकप आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख खर्च लाग्ने आयोजकको भनाइ छ ।

चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाएपनि अखिल नेपाल फुटबल संघ एन्फाले ‘ए’ डिभिजन लिग आयोजना गर्न लागेकाले प्रतियोगिता ३ दिन पर सरेको हो । गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप