खुम्चियो विद्युत् उत्पादन : ऊर्जा संकटको जोखिम, ‘इन्डस्ट्रियल लोडसेडिङ’ बढ्ने
काठमाडौँ । सुख्खायाम सुरु भएसँगै बिजुलीको माग र आपूर्तिको चक्र मिलाउनै समस्या पर्न थालेको छ । भारतबाट दैनिक ४५० मेगावाटभन्दा धेरै बिजुली ल्याउँदा समेत बिजुलीको माग धान्न हम्मे हम्मे पर्न थालेको विद्युत् प्राधिकरणले जनाएको छ । सुख्खा याममा हिमाली क्षेत्रमा हिउँ नपर्दा थप यस्तो सिर्जना भएको हो ।
यो वर्ष सुख्खा याममा पानी परेको छैन । यस्तै, हिमाली भेगमा अघिल्ला वर्षहरूको जस्तो हिउँ समेत परेको छैन । पानी र हिउँ नपर्दा सुख्खा याममा सुक्ने हिमनदीहरू सुक्दा बिजुली उत्पादनमा समस्या परेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् ।
राष्ट्रिय प्रसारणलाइनमा २२ सय मेगावाट क्षमताको बिजुली जोडिइसकेको छ । तर, वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुँदै आइरहेको छ । जबकि, सुख्खा याममा बिजुली उत्पादनको तथ्याङ्क ह्वात्तै घट्ने गर्छ । नेपाली जलविद्युत आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर) भएकाले सुख्खा याममा उत्पादन खुम्चिन्छ ।
सुख्खा याममा नदीको प्रवाह घट्ने भएकाले आरओआर आयोजनाबाट ८० प्रतिशतसम्म उत्पादन खुम्चिन्छ । यही कारण, राष्ट्रिय प्रसारणलाइनमा जोडिएको बिजुली उत्पादनको तथ्याङ्क २२ सय मेगावाट पुगेपनि हाल स्वदेशी उत्पादन मुस्किलले ७५० मेगावाट छ । जबकि, बजारको माग कम्तीमा १४ सय मेगावाटसम्म छ ।
स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि हाल भारतबाट दैनिक ४५८ मेगावाटभन्दा धेरै बिजुली आयात भइरहेको छ ।
‘स्वतन्त्र उत्पादकहरूको आयोजना आरओआरमा आधारित छ । उनीहरूको उत्पादन सुख्खा याममा धेरै नै खुम्चिन्छ,’ घिसिङले भने, ‘यही कारण सुख्खा याममा हामीलाई समस्या हुन्छ । यद्यपि, हाल प्राधिकरण र मातहतका कम्पनीको उत्पादन भने ७० मेगावाट मात्रै खुम्चिएको छ ।’ यस्तै, अर्धजलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन समेत खुम्चिएको छ ।
गत वर्ष माथिल्लो तामाकोशीबाट यो समयमा १०० मेगावाटभन्दा धेरै उत्पादन भएको थियो । तर, यो वर्ष सुख्खायाम बढ्दा र हिमालमा हिउँ नपर्दा नदीको पानी सुकेसँगै ७५ मेगावाटमा आइपुगेको छ । यसले समेत समस्या पारेको छ । राष्ट्रिय विद्युत् उत्पादनमा ‘सुनको अण्डा’ मानिएको आयोजनाको समेत उत्पादन खुम्चिँदा झनै समस्या बढेको छ ।
दैनिक साढे ४०० मेगावाट आयात
स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि हाल भारतबाट दैनिक ४५८ मेगावाटभन्दा धेरै बिजुली आयात भइरहेको छ । विद्युत् प्राधिकरणले भारतबाट उक्त मात्रामा बिजुली आयात गर्दा समेत स्वदेशी बजारको माग धान्न हम्मे हम्मे परिरहेको प्रवक्ता सुरेश भट्टराई बताउँछन् ।
‘हाल नेपालको उत्पादन ७५० मेगावाटमा खुम्चिएको छ । तर, यसले माग धान्न सक्दैन ’ भट्टराईले भने, ‘यही माग धान्न दैनिक ११ हजार मेगावाट आवर बिजुली आयात भइरहेको छ ।’ यो भनेको ४५८ मेगावाट आसपास हुन आउँछ । तर, यो आयातले समेत माग धान्न सकेको छैन ।
‘माघ महिनामै यस्तो सुख्खायामको चुनौती भोगिरहेका छौँ,’ घिसिङ भन्छन्, ‘पानी र हिउँ परेन भने चैत र वैशाखमा झनै उत्पादन घट्ने जोखिम छ ।’
थप १०० आयातको पहल
हाल सञ्चालनमा रहेका प्रसारण लाइनमार्फत आयात भइरहेकोभन्दा धेरै बिजुली ल्याउन सकिँदैन । नेपाल–भारतबीच सञ्चालनमा रहेका क्रसबोर्डर प्रसारणलाइनको उच्चतम क्षमता नै प्रयोग भइरहेको घिसिङले बताए । तर, हाल आयात भइरहेको बिजुलीले आन्तरिक बजारको माग नधानेपछि रक्सौलमार्फत थप बिजुली आयातको प्रक्रिया बढाउने तयारी सुरु भएको छ ।
रक्सौलको प्रसारणलाइन निर्माण (अपग्रेड) सम्पन्न भएपछि थप १०० मेगावाट बिजुली आयातको बाटो खुल्ने छ । उक्त बिजुलीले बजारको मागलाई केही हदसम्म धान्ने देखिएपनि पूर्णरुपमा धान्दैन । थप १०० मेगावाट बिजुली ल्याइएसँगै भारतबाट आयात हुने बिजुलीको परिमाण ५५० भन्दा बढी पुग्नेछ ।
‘इन्डस्ट्रियल लोडसेडिङ’को जोखिम
माघ महिनामै चरम ऊर्जा सङ्कटको सामना गरिरहेको नेपाललाई आगामी दिन झनै चुनौतीपूर्ण हुने देखिएको छ । चैत र वैशाख महिना सबैभन्दा धेरै सुख्खायामको महिना हुन् । ‘माघ महिनामै यस्तो सुख्खायामको चुनौती भोगिरहेका छौँ,’ घिसिङ भन्छन्, ‘पानी र हिउँ परेन भने चैत र वैशाखमा झनै उत्पादन घट्ने जोखिम छ ।’ यस्तो अवस्थामा आगामी दिनमा औद्योगिक क्षेत्रको लोडसेडिङ बढ्न सक्ने घिसिङ बताउँछन् ।
अहिले पनि पश्चिम नेपालका उद्योगहरूमा बिजुली काटिँदै आएको छ । वीरगन्ज र भैरहवाका उद्योगहरूमा दैनिक केही घण्टा लोडसेडिङ भइरहेको छ । ढल्केवर सबस्टेसनबाट २०० मेगावाट मात्रै बिजुली ल्याउन सकिन्छ । जसले पश्चिम नेपालको पूर्ण माग धान्दैन । यही अवस्थामा रहेमा आगामी दिनमा उपभोक्ताबीच लोडसेडिङ नगर्न उद्योगहरूमा लोडसेडिङ गर्नुपर्ने जोखिम बढिरहेको घिसिङ स्वीकार्छन् ।