सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्रपतिको सवारीबारे सञ्जालमा आलोचना : यस्तो त पञ्चायतकालमा राजा सवारी हुँदा पनि भएन !

शनिबार, २८ माघ २०७९, १७ : १६
शनिबार, २८ माघ २०७९

काठमाडौँ । राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पूरा गरेर शीतलनिवासबाट बाहिरिने तयारी हुँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी आलोचनाको निशानामा परेकी छिन् । आफ्नो सवारीको बेला आमजनताले दुःख नपाउन भन्ने कुरामा राष्ट्रपति सचेत नबन्दा यतिबेला समाजिक सञ्जाल र आमसञ्चार माध्यममा उनको आलोचना चुलिएको छ । 

शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधनका लागि राष्ट्रपति भण्डारी नयाँ बानेश्वर आउने जाने क्रममा काठमाडौँ उपत्यकाको सवारी साधन प्रभावित भएको थियो भने वीर अस्पताल अगाडि प्रहरी र डाक्टरको झडप भएको थियो । 

वीर अस्पतालका एक डाक्टरमाथि प्रहरीले लाठी बर्साएपछि अस्पतालका अरू डाक्टर समेत सडकमा आएर प्रहरीसँग मुठभेड गर्दा सहरको मुटुको सवारी आवागमन अझै प्रभावित हुन पुगेको थियो । 

राष्ट्रपतिले सडक प्रयोग गर्दा नेपाल बन्द गरेको शैलीमा सडक पुरै सुनसान बनाएर सवारी गराउने चलन रहेको छ । २०६५ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी छाडेपछि स्थापना भएको नयाँ शक्तिकेन्द्र शीतल निवासबाट राष्ट्रपति सडकमा निस्कँदा पुरै सडक ठप्प पार्ने कामले निरन्तरता पाएको छ । 

शुक्रबार वीर अस्पताल अगाडि सडकमा राष्ट्रपतिको सवारीका बेला साइकलमा हिँडेका डाक्टर जनिथलाल सिंहलाई सवारीको बेला किन हिँडेको भनेर प्रहरीले कुटपिट गरेपछि घाइते भएका उनी अस्पतालमा भर्ना भएका छन् । सवारीको बेला चिकित्सक नै कुटिएपछि आमसमुदाय, पत्रपत्रिका, सामाजिक सञ्जालमा राष्ट्रपतिको सवारीलाई लिएर विरोध भइरहेको छ । 

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राणाकालको अहिलेको अवस्थामा परिवर्तन नभएको भन्दै टिप्पणी गरेकी छिन् । उनले भनेकी छिन्–‘राष्ट्रपतिको सवारी हुँदा सुरक्षाकर्मीबाट डाक्टर कुटिन्छन्,  कारण उनी डिउटी सकेर घर जाँदै थिए । राणाकालमा सिंहदरबार अगाडीबाट जनता हिँड्न पाउँदैन थिए, माथिल्लो बाटो हिँड्नको लागि अनुमति चाहिन्थ्यो । सर्वसाधारण भुईँ–मुनिको बाटो मात्रै हिँड्न पाउँथे । रैती कुटिन्छन् ।’  

325549425_1247084752544126_3356555452472557711_n

यस्तै ट्वीटर प्रयोगकर्ता मञ्जरी लेख्छिन्–‘गणतान्त्रिक मुलुकमा राष्ट्रपतिको सवारी हुँदा डाक्टर कुटिन्छन् । यति सम्म त पञ्चायतकालमा राजा सवारी हुँदा पनि भएन ।

326793665_1335207220388429_6609209960590354392_n

यस्तै अमित झा व्यङ्ग्य गर्दै राष्ट्रपतिको सवारी भएको बेला बिरामी मरे मरुन् भनेर डाक्टरले नमस्कार गरेर बस्नुपर्ने भन्दै टिप्पणी गरेका छन् । 

325974450_878148893400816_3880093252728984221_n

उनले लेखेको छन्–‘राष्ट्रपतिको सवारी छ भन्ने जान्दा जान्दै आकस्मिक सेवामा निस्कने स्वास्थ्यकर्मी नै उस्तै हुन्, बिरामी मरे मर्छन् नि छेउमा उभिएर राष्ट्रपतिजस्तो मान्छेलाई  नमस्कार गर्दे गइन्जेल कुर्नु पर्देन । टाउको मात्र फुटाएछन् धन्न ।’ 

यस्तै राम गुरुङले ट्वीटरमा लेखेका छन्–‘राष्ट्रपतिको सवारी हुँदा चिकित्सक माथि हातपात हुनु गलत हो । तर चिकित्सकले जसरी विशेष मान खोजे । त्यो झनै गलत हो । लोकतान्त्रिक मूल्य–मान्यता विरुद्धको अहमता हो । चिकित्सकको गणना अस्पताल भित्र हुने हो । बाहिर सबै समान हुन ।’

पत्रकार एवं कांग्रेसका नेता तारानाथ दाहाल राष्ट्रपतिको सवारीको बेला सुरक्षाकर्मीले अतिरिक्त भत्ता पनि पाउने व्यवस्था रहेको बताउँदै राजाको अवतार गराउने संस्कृति कहाँबाट फस्टाइरहेको छ भन्दै टिप्पणी गरेका छन् । 

उनले ट्वीटरमा भानेका छन्–‘अझ यस्तो सवारी चलाए बापत सुरक्षा निकायले अतिरिक्त भत्ता पाउँछ रे । शीतल निवास दरबन्दीको आकर्षक पक्ष यही हो कि । राष्ट्रपतिको ‘राजा अवतार’ गराउने संस्कृति कहाँबाट फस्टाउँदैछ भन्ने कुरा खोजी गर्नुपर्‍यो ।’ 

यस्तै ट्वीटर प्रयोगकर्ता अजय लामिछानेले पनि जनतालाई दुःख दिने भिआइपी संस्कृतिको विरोध गरेका छन् । 

325433027_537738561785971_7991533518561836823_n

उनले लेखेका छन्–‘प्रोटोकल, भिआइपी सुविधा, रातो बत्ती सवारी, तामझाम र तडकभडक, नहटाएसम्म के को समाजवाद ? के को लोकतन्त्र ?राष्ट्रपतिको संसद् भाषण अवधिभर ३ घण्टा सडक ठप्प भएछ,  जनतालाई दुख र सास्ती दिने भिआइपी कल्चर निन्दनीय छ,  ट्रमा सेन्टरका डाक्टर लाई हातपात गर्ने प्रशासन प्रति ।’ 

यस्तै मधु अधिकारीले राष्ट्रपतिको सवारीलाई राजा महाराजाको जस्तो गरेर जनतालाई सास्ती दिने कार्य अविलम्ब बन्द गरियोस् भन्ने माग गरेका छन् । उनले भनेका छन्–‘जनतालाई दुख,सास्ती, र लाठीचार्ज नगरीकन पनि वैकल्पिक उपायबाट सवारी व्यवस्थित गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिँउ, हिजो कै ठाँट, शैली, प्रवृत्तिले जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् ।’

326589376_582790503864414_2751040380152144292_n

विष्णु प्रसाईले पनि राजाको पालामा र अहिले गणतन्त्रको बेलाको सवारीमा कनै फरक नभएको टिप्पणी गरेका छन् ।  

उनले लेखेका छन्–‘उहिले नै  राजाका पालामा पो सवारी चलेका बेला सडक छेउमा साइकल रोकेर नमस्कार गर्न पाईन्थ्यो । जनताले ल्याएको राष्ट्रपतिको सवारीमा साइकल देखाउने त्यो पनि डाक्टरले ? यसै त मदन कमरेडले साइकल चलाएर वाक्क ब्याक्क बनाएको नबिर्सेको बेला ।’ भन्दै व्यङ्ग्य गरेका छन् । 

यता व्यङ्ग्य कवि अर्जुन पराजुलीले भने व्यङ्ग्यात्मक कविता लेखेका छन् ।  उनले राष्ट्रपतिको सवारीको बेला बिरामी हुने को हो त्यो बिरामी ? राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ? भन्दै व्यङ्ग्य गरेका छन् । 

वीर अस्पताल अगाडि साइकलमा हिँडेका डाक्टर जनिथलाल सिंहलाई सवारीको बेला किन हिँडेको भनेर प्रहरीले कुटपिट गरेपछि उनी अस्पतालमा भर्ना भएका छन् । उनको समर्थनमा व्यङ्ग्य कवितामा उनले राष्ट्रपतिको सवारीका बेला बिरामी हुनु र डाक्टर बाटोमा हिँड्नु गल्ती भएको भन्दै कटाक्ष गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेको कविता यस्तो छ : 

राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने

को हो त्यो डाक्टर ?!

राष्ट्रपति सवारी हुने बेलामा बिरामी हुने

को हो त्यो बिरामी ?!

डाक्टर साहेब !

बिरामी चेक गर्न जानै थियो

एक–घण्टा पछि गएको भए के हुन्थ्यो ?!

बिरामी साहेब !

बिरामी हुने थियो

एक–घण्टा पछि भएको भए के हुन्थ्यो ?!

330077796_523495576344427_5955272937916264504_n

यता एमालेका विष्णु रिजालले भने राष्ट्रपतिको सवारीमा क्रममा जनताले सास्ती पाएको, डाक्टरले कुटाई खाएको विषयमा बचाउ गरेका छन् । 

उनले लेखेका छन्–‘राष्ट्रपतिको आदेशले सडक बन्द गरे जस्तो प्रचारबाजी हुनु नियतवश छ । किनभने, शान्ति–सुरक्षा, प्रोटोकल जस्ता विषय विल्कुल सरकारले निर्धारण गर्छ, गृह मन्त्रालय तालुक मन्त्रालय हो । यसमा राष्ट्रपतिको अशिष्ट र व्यक्तिगत आलोचना होइन, सुधारका लागि सरकारलाई दबाब दिनुपर्छ ।’

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले आफ्नो सवारीका क्रममा डाक्टर कुटिएको र सर्वसाधारणले सास्ती पाएको विषयमा राष्ट्रपतिले माफी माग्नुपर्ने भन्दै विज्ञप्ति नै निकालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप