मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

गोसाईंकुण्डको फेरो

शनिबार, २८ माघ २०७९, १२ : ५३
शनिबार, २८ माघ २०७९

तुलबुल अनि कुतूहलसित
बोकी तन मन मेरो
घुइँक्क उड्यो आकाशे गाडी
काठमाडौँलाई मार्‍यो फेरो ।

छिचोलेर बस्तीहरू
पहाड अनि अग्ला भिर
लस्करैका हिमचुली
उडाई लग्यो उत्तर शिर ।

फन्को मारी लाङटाङ क्षेत्र
सेताम्मे ती हिमका लहर
पाइलटले यान बिसाएको
बस्ती विहीन सुन्दर सहर ।

रसुवाको धुन्चे उँभो
हिम बिस्कुनले ढाकेको ठाउँ
यस्तो लाग्थ्यो पृथ्वीमा
स्वर्गलोकको त्यो हो एक गाउँ ।

हिम कार्पेटले स्वागत गरी
हिम मजेत्रो ओढाई दियो
साउती मारी छिनभरमै
हिमकै लाली सजाइदियो ।

सरस्वती, सूर्य, भैरव
नाग नाम अनेकथरी
छरिएका एक सौ आठ
कुण्ड गोसाईंकुण्ड भरी ।

हिम चपरी भई बसेका
टाकुरो काखाका दह
चित्ताकर्षक ती छुँदामा 
तन मनका हटे बह ।

शिवजीको पावन भूमि
सललल त्रिशूलधारा
कालकूट पनि मत्थर पार्ने
निको पार्ने बिमार सारा ।

त्रिशूलधारा गोसाईंकुण्ड
भई त्रिशूली मिल्छिन् जल
हिन्दु, बौद्धधर्मी पुग्ने
पवित्र त्यो देवस्थल ।

हिम कपासको बर्कोसँगै
पैरें माटो सुगन्धको
सुवासिलो एक फोक्सो सास
भरिरहें आनन्दको ।

चढाएर जल फूल
भेटी अनि ढोगी माटो
हेलिकप्टर सवार गरी
फिर्ता भइयो आकाशे बाटो ।

तनमनमै थियो गोसाईंकुण्ड
भुल्यौँ त्यहाँ तीस मिनेट
पवित्र त्यो ठाउँको याद
अभिलेखमा भो अमिट ।
टोखा–७, काठमाडौं
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम प्रकाश बराल
ओम प्रकाश बराल
लेखकबाट थप