शनिबार, २४ कात्तिक २०८१
ताजा लोकप्रिय

पौराणिक कथा : पाप र धर्म

शनिबार, २८ माघ २०७९, १२ : २७
शनिबार, २८ माघ २०७९

कतिपय मानिस पापको प्रशंसा गर्छन्, जहाँ पाप जहाँ फलिफाप भन्छन् र त्यस्तै काम रुचाउँछन् । उनीहरूले ठानेका हुन्छन् धर्मको बाटो गाह्रो मात्र छैन सितिमिति उन्नति र प्रगतिमा पनि हुँदैन तर पापको बाटो सजिलो पनि छ र चाडै नै धन सम्पत्ति कमाएर आरामले बाँच्नसमेत सकिन्छ तर त्यस्तो लागेको मात्र हो, वास्तविकता होइन । हो, पाप गर्न सजिलो पनि हुन्छ र तत्काल फलिफाप भएको जस्तो पनि देखिन्छ तर त्यो बर्खामासमा सुसाएको खहरे बाहेक केही होइन, जो तत्काल उर्लेर त आउँछ तर त्यो न त्यो दिगो हुन्छ न कुनै उधुम नगरी फर्कन्छ ।  त्यस्तै धर्मको बाटो ढिलो त हुन्छ तर स्थायी सुख, शान्ति र समृद्धिको आधार भने त्यही बन्न पुगिरहेको हुन्छ ।   

धेरै पहिलेको कुरा हो । एउटा गाउँमा गौतम नामका ब्राह्मण बस्थे । उनका मणिकुण्डल नामका एक जना साथी थिए । गौतम गरिब थिए । मणिकुण्डल धनी । देश विदेशबाट समान ल्याएर बेच्ने उनको पेसा थियो । एक दिन गौतमलाई पनि व्यापार गर्ने विचार आयो र मणिकुण्डलसँग आफूलाई पनि साथमा लिएर जान आग्रह गरे । उनको आग्रह मणिकुण्डलले टार्न सकेनन् र लिएर गए । 

बाटामा मणिकुण्डलको साथमा रहेको पैसा देखेर गौतमको मनमा पाप पलायो र सो पैसा हत्याउने उद्देश्यले भने–

‘मित्र ! तिम्रो विचारमा पाप र धर्म कुन ठुलो जस्तो लाग्छ ?’

मणिकुण्डल धार्मिक प्रकृतिका थिए उनले तत्कालै भने–

‘धर्म ठुलो नि मित्र ! यो पनि सोध्ने कुरा हो र ।’

उनको कुरा सुनेर गौतमले भने–

‘होइन मित्र ! तिमीलाई भ्रम भए जस्तो छ । धर्मले दुःखबाहेक केही दिँदैन तर पापको भने जताततै फलिफाप हुन्छ ।’

यसै विषयलाई लिएर उनीहरूबिच विवाद बढ्दै गयो । दुवै आफ्नो अडानमा टसमस भएनन् । अन्ततः उनीहरूबिच यसै विषयमा एउटा सर्त लगाए । सर्तको थियो यसबारे अरू कसैलाई सोध्ने जसले जित हुन्छ हार्नेको हार्नेको सम्पत्ति उसैको हुनेछ । त्यत्तिकै एक जना सज्जन त्यतैबाट आउँदै रहेछन् उनैसमक्ष गएर आफ्नो भनाइ राखे । 

संयोगवश ती सज्जन पाप कर्मकै पक्षपाती रहेछन् उनले  उत्तर दिए–

‘मेरो विचारमा पाप नै ठुलो हो । किनकि पाप कर्म गर्न सजिलो मात्र छैन चाँडै नै धनी बन्न पनि सकिन्छ ।’

मणिकुण्डलले बाजी हारे उसको साथको पैसा गौतमले लिए । तैपनि मणिकुण्डले भने धर्मको पक्ष छाडेनन् । त्यसपछि गौतमले अर्को सर्त राख्दै भने–

‘मित्र ! अझै तिमी धर्म नै ठुलो भन्छौ भने अर्को परीक्षा गर्न सक्छौँ । अरूकसैलाई सोधौँ उनले पनि पाप नै ठुलो माने भने तिम्रो दुई हात काटिदिनेछु । होइन धर्मलाई ठुलो माने भने मेरो दुई हात काटिदिनु हुन्छ ?’

यहाँ पनि मणिभद्रले सर्त स्वीकार गरे । अन्य कसैसँग गएर सोधियो । उनले पनि पाप नै ठुलो भनेकाले गौतमले मणिभद्रकोे दुवै हात काटिदिए । तथापि माणिभन्द्रले भने अझै धर्मको पक्ष छाडेनन् । त्यसपछि गौतमले अर्को सर्त राख्दै भने–

‘अब पनि धर्मकै पक्षमा लिन्छौ भने अझै एक जनालाई सोधौँ । तिमीले जिते मेरो दुई आँखा फोडी दिनु मैले जिते तिम्रो दुई आँखा फोडिदिन्छु मान्छौ ?’

मणिकुण्डलले यो सर्त पनि स्वीकार गरेकाले थप अर्को मानिसलाई सोधियो । उनले पनि पाप नै ठुलो भने । त्यसपछि गौतम उनको दुवै आँखा फोरेर आफ्नो बाटो लागे । बिचरा मणिकुण्डल ऐया आत्था गर्दै बाटोमा पल्टे । संयोगवश लङ्काका राजा विभीषण त्यतैबाट आउँदै रहेछन् । उनले मणिकुण्डलको दुःख देख्न सकेनन् र आफ्नो साथमा रहेको सञ्जीवनी बूटी सुँघाइदिए । बुटी सुँघ्नासाथ मणिकुण्डलको हात र आँखा जस्ताको तस्तै भयो । समग्र वृत्तान्त सुनेपछि उनको धर्मप्रतिको आस्था देखेर विभीषण निकै खुसी भए र आवश्यक पर्दा प्रयोग गर्नु भनी आफ्नो साथमा रहेको सञ्जीवनी बूटी दिएर पठाए ।

बुटी लिएर मणिकुण्डल घुम्दै फिर्दै कुनै अर्कै देशमा पुगे । त्यस देशका राजा निकै धार्मिक थिए तर सन्तानका नाममा एउटा मात्र छोरी थिइन् त्यो आँखाको रोगी । राजाले आँखा ठिक पार्न लाख कोसिस गर्दा पनि केही लागेको थिएन । त्यसैले कसैले आँखा ठिक पारिदिन सक्छ भने उसलाई छोरी र राज्य समर्पण गर्नेछु भन्ने प्रतिज्ञा गरेका थिए ।

बिस्तारै यो कुरा मणिकुण्डलको कानसम्म प¥यो । उनले तत्कालै गएर सोही बुटी सुँघाइदिए । दैवको लीला बुटी सुँघ्नासाथ राजकुमारीको पनि आँखा ठिक भयो । त्यसपछि राजाले प्रतिज्ञा अनुसार छोरी र राज्य उनैको हातमा सुम्पिदिए । 

फलतः मणिकुण्डल राजा बनेर सुखपूर्वकले रहन लागे । उता गौतमको भने चाँडै नै यस्तो दुर्दशा भयो कि, जुन उनले सपनामा पनि सोचेका थिएनन् । साथी मणिकुण्डललाई बिपत्ता पारेको अभियोगमा उनीमाथि मुद्दा प¥यो,  जेलको हावा खान खान बाध्य भए ।  

यसरी जस्तोसुकै विपत्तिमा पनि धर्मको पक्ष नछाडेकाले मणिभद्रले राजा बन्ने अवसर पाए भने पापको पक्ष लिँदा गौतमले भने कुकुरले नपाउने दुःख पाए । यस पौराणिक कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर धर्म र पापको फल भने जहाँ पनि यस्तै हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप