लघुकथा : मानसिकता
‘समाजमा जरो गाडेर बसेको कुरीतिका कारण जातपात, छुवाछूतजस्ता अमानवीय चलनहरूले नकारात्मक सन्देश प्रवाह गरेको छ । त्यसैले, यस्ता कुप्रथालाई हामीले हटाउनु आवश्यक छ’ भन्दै शोभा म्याडम कक्षा नौ का विद्यार्थीहरुलाई पढाउँदै थिइन् ।
उनी भन्दै थिइन्, ‘यसलाई जरैदेखि उखेल्न ढिलो भइसकेको छ । नत्र हिंसा घट्नुको साटो चुलिँदै जानेछ ।’
स्कुलको घण्टी बज्यो । शोभा म्याडम कक्षाबाट बाहिरिइन् । राधा र शोभा म्याडम सँगै घरतर्फ लागे बाटोभरि यिनै प्रसङ्गमा कुराकानी चल्यो ।
परिवर्तन आफैबाट थाल्नुपर्छ भन्ने कुरामा उनी जोड दिँदै राधालाई सम्झाउँदै थिइन् । बाटोमा जाँदै गर्दा तिर्खा लागेर पानी पिउन नचिनेको एक घरमा पसे ।
अपरिचित महिलाले पानी सँगै केही खानेकुरा पनि लिएर आइन् ।
बडो विनम्रताका साथ उनले आग्रह गरिन्, ‘आज यो नयाँ घरमा सरेकाले पूजा थियो । प्रसाद पनि लिनुस् ।’
शोभा र राधाले बडो खुसी साथ मीठो मानेर प्रसाद खाए ।
बिदा हुँदै गर्दा शोभा म्याडमले धन्यवाद भन्दै जिज्ञासा पूर्वक सोधिन्, ‘हजुरसँग त परिचय गर्नै बिर्सिएछ ।’
घरबेटीले मुस्कुराउँदै भन्दै भनिन्, ‘मेरो नाम सीता विश्वकर्मा हो म्याडम ।’
अलि पर पुगेर शोभा म्याडम मुख अलिक नमिठो बनाउँदै राधाको कान नजिकै गएर भन्दै थिइन्, ‘त्यो घरको प्रसादले हो कि कस्तो नराम्रोसँग पेट दुख्यो ।’
खजुरा, बाँके