लघुकथाः सरस्वती
‘छोरी सरस्वती छिटो उठ ल ।’ उर्मिला कराइन् ।
आज छोरी निकै खुसी हुँदै भित्र बाहिर गर्दै थिइन् ।
‘मेरो नाम पनि सरस्वती, आज पूजा गर्ने भगवान् पनि सरस्वती ।’ भन्दै उनी उफ्रन थालिन् ।
‘ए त्यसो भए म तिमीले पूजा गर्ने ठाउँ र सामान ठिक पार्छु ।’ उर्मिलाले भनिन् ।
‘म त स्कुलमा जाने हो पूजा गर्न । मिसले सबैलाई चोखो भएर आऊ है भन्नु भएको छ । चोखो पो कसरी हुने हो ?’
छोरीले सोधे पछि उर्मिलाले उनलाई नुहाइ दिएर सफा कपडा लगाई दिइन् । घर पछाडिबाट फूल टिपेर एउटा अगरबत्ती र प्रसाद दिएर पठाइन् ।
उनलाई उज्यालो मुहार लगाएर छोरी गएको हेरिरहन मन लाग्यो ।
खाना खाने समय हुन लाग्दा सबैका छोराछोरी स्कुलबाट फर्कन थाले ।
‘अब खान खाने हो कि ?’ उर्मिलाले भनिन् ।
‘पर्ख छोरी आउँदै होलिन् ।’ उनका बाबाले भने ।
छोरी अँध्यारो मुख बनाउँदै आएर पिँढीमा बसिन् ।
‘छोरीलाई भोक लाग्यो कि ?’ उनका बाबाले सोधे ।
‘हैन, सबैले भगवान्लाई ढोग गरे तर मैले ढोग गर्न पाइन ।’ उनले रुन्चे मुख लगाएर भनिन् ।
‘ए सन्त बहादुर दाइ, मेरो सामान तयार भयो ?’ डहर माथिकी हरिकलाले सोधिन् ।
“पर्खनुहोस् नानी, टाँक लगाउन मात्र बाँकी छ, भइहाल्छ । “भित्रबाट उर्मिलाले भनिन् ।
“अझै पनि यो गाउँमा मेरी सरस्वतीले उसैकी सरस्वतीलाई ढोग्न पाइनन् ।’ उसको बाबाको मनमा भने यस्ता अनेक कुरा खेल्न थाल्यो ।
पोखरा–७, मासबार, कास्की