आयुर्वेदमा त्रिदोष : कुन दोषबाट कस्ता रोग, उपचार कसरी ?
स्वस्थ प्राणी कस्तोलाई भन्ने ? मूलभूत रूपमा स्वस्थ हुनु भनेको स्व अर्थात् आफूमा स्थित वा स्थिर हुनु हो । स्वास्थ्य अवस्था भन्नाले हाम्रो शरीर र मनको अवस्थालाई जनाउँछ । स्वस्थ मानिसको शरीर र मन विकृत (विकारयुक्त) अवस्थामा हुँदैन । विकृत भन्नाले शरीर र मनको प्राकृत अवस्था वा प्रकृति जुन छ, त्यो अवस्था खलबलिनुलाई बुझाउँछ । प्राणीको स्वास्थ्यावस्थाले उसको आयु (जन्म र मृत्युबीचको जीवन) लाई सङ्केत गर्छ । यही आयुको बारेमा जान्ने विद्यालाई आयुर्वेद भनियो ।
आयुर्वेद अर्थात् आयु र वेद । सामान्यतः आयुको अर्थ जीवन हुन्छ भने वेदको अर्थ जान्नु, बोध गर्नु, विचार गर्नु, पाउनु आदि । आयुले मान्छेको समग्र जीवन अर्थात् गर्भावस्थादेखि मृत्युसम्मलाई जनाउँछ । आयु शब्दले मान्छे वा कुनै प्राणी जीवित अवस्थामा हुनुलाई मात्रै बुझाउँदैन । आयुर्वेदले शरीर कसरी बनेको छ, यो कसरी जीवित छ, यसको आफ्नै प्रकृति के हो, बाहिरी प्रकृतिसँग शरीरको तादात्म्यता के छ, शरीर र मनबीच सम्बन्ध के छ इत्यादि आयाममा आयु वा जीवनलाई हेर्छ ।
डा. श्याममणि अधिकारीको पुस्तक ‘आयुर्वेदीय पदार्थ विज्ञान’ अनुसार, आयुर्वेदमा स्वस्थ एवं दीर्घजीवनका लागि उपयोगी ज्ञानहरूको विवेचना सैद्धान्तिक रूपमा गरिएको छ । जस्तोः षट्पदार्थ, त्रिगुण, पञ्चमहाभूत, त्रिदोष, सप्तधातु र ओज, रसादि पञ्चपदार्थ, जीवात्मा–परमात्मा, पुनर्जन्म र मोक्ष, त्रिसूत्र आदि । मानिसका समग्र शारीरिक एवं मानसिक क्रियाकलापलाई बुझ्न त्रिगुण सिद्धान्त (सत्त्व, रज र तम), पञ्चमहाभूत सिद्धान्त (पृथ्वी, जल, अग्नि, वायु र आकाश) र त्रिदोष (वात, पित्त र कफ) सिद्धान्तलाई बुझ्न अपरिहार्य हुन्छ ।
यहाँ हामी त्रिदोषको बारेमा चर्चा गर्दैैछौँ । बाहिर जगतमा चन्द्र, सूर्य र वायुले प्रभाव र असर गरेजस्तै शरीरभित्र त्रिदोषको प्रभाव रहन्छ । डा. अधिकारी लेख्छन्, ‘मन र शरीरलाई दूषित गरिदिने विशेषता भएकाले वात, पित्त र कफलाई दोष भनिएको हो । कफ (जल), पित्त (अग्नि) र वात (वायु)ले क्रमशः विसर्ग (रस–सञ्चार, पोषण), आदान (पाचन, रूपान्तरण, शोषण) र विक्षेप (गतिद्वारा शारीरिक कार्यहरूको सञ्चालन, नियमन) गर्दछन् ।’
त्रिदोष
सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. रामदेव यादवका अनुसार, आयुर्वेद त्रिदोषमाथि आधारित चिकित्सा पद्धति हो । आयुर्वेद चिकित्सा सिद्धान्तमा त्रिदोष, सातवटा धातु र मल (दिसा–पिसाब) प्रमुख छन् । उनी भन्छन्, ‘सबै रोग त्रिदोष (वात, पित्त र कफ)मा माथि नै आधारित हुन्छन् । वात, पित्त र कफ प्राकृतिक वा समावस्थामा छन् भने शरीर निरोगी हुन्छ, विकृत (घट्ने वा बढ्ने) अवस्थामा हुँदा विभिन्न रोग लाग्छन् । स्वास्थ्यमा त्रिदोषसँगै मानसदोष (रज र तम) पनि समावस्थामा हुनुपर्छ ।’
डा. यादवका अनुसार, मान्छेमा त्रिदोष अनुरूपको प्रकृति हुन्छ– व्यक्ति कोही वात प्रकृतिको, कोही पित्त प्रकृतिको त कोही कफ प्रकृतिको हुन्छ । वात प्रकृतिको व्यक्ति हिँडडुल बढी गर्छ । पित्त प्रकृतिको व्यक्तिले खाना बढी खान्छ, पाचन बढी हुन्छ, शरीरमा तापक्रम बढी हुन्छ । पित्त दोषका कारण ग्यास्ट्रिक, पेटमा जलन हुन सक्छ । जिउ तातो भइरहन सक्छ । पित्त प्राकृतिक अवस्थामा छन् भने पाचन राम्रो हुन्छ । यस्तै, कफ प्रकृतिको व्यक्ति बलवान हुन्छ ।
आयुर्वेद भन्छ– खाना पाचन भई पहिले रस धातु बन्छ, त्यसपछि रक्त (रगत), मांस (मासु), मेद (बोसो), अस्थि (हाड), मज्जा (मासी) र शुक्र (वीर्य वा डिम्ब) धातु बन्छन् ।
‘वात प्रकृतिको व्यक्तिले वातवद्र्धक आहारविहार गर्दा, पित्त प्रकृतिको व्यक्तिले पित्तवद्र्धक आहारविहार गर्दा र कफ प्रकृतिको व्यक्तिले कफवद्र्धक आहारविहार गर्दा सम्बन्धित रोग बढ्न सक्छन्,’ डा. यादव भन्छन्, ‘जस्तो ः रहरको दाल, चनाको दाल आदि वातवद्र्धक हो । गुन्द्रुक, तामा, मासको दाल, गोलभेडा, कागती आदिले पित्त बढाउँछ । दही, केरा आदिले कफ बढाउँछ ।’
डा. यादवका अनुसार, आयुर्वेदले अमाशयलाई तीन भागमा हेर्छ । एक भागमा ठोस पदार्थ, एक भागमा तरल, एक भाग वायु (खालि छाड्न) आवश्यक हुन्छ । अर्थात् अर्थ पेटभरि ठोस पदार्थ खाएर मात्रै हुँदैन । झोल पदार्थ र खालि भाग पनि आवश्यक हुन्छ ।
डा. यादवका अुनसार, वात प्रकृतिको व्यक्तिलाई वातसँग सम्बन्धित रोग, पित्त प्रकृतिको व्यक्तिलाई पित्तसँग सम्बन्धित रोग र कफ प्रकृतिको व्यक्तिलाई कफसँग सम्बन्धित रोग लाग्छ । डा. यादव भन्छन्, ‘वात विकृत अवस्थामा हुँदा ८० प्रकारका, पित्त विकृत अवस्थामा हुँदा ४० प्रकारका र कफ विकृत अवस्थामा हुँदा २० प्रकारका रोग लाग्छन् । शास्त्रले भनेको छ, वात रोगलाई मात्रै नियन्त्रण गर्न सके आधा रोग निर्मूल हुन्छ ।’
रोग र खानपानबीच अन्योन्याश्रित सम्बन्ध देखिन्छ । हामीले जुनसुकै खाना खान्छौँ, सबैभन्दा पहिले त्यो पाचन हुन्छ, त्यसपछि रस भाग र किट (मलमूत्र) भाग बन्छ । रस भागले शरीरलाई पोषण हुन्छ । यहीँनेर सप्तधातु अर्थात् रस, रक्त, मांस, मेद अस्थि, मज्जा र शुक्रमाथि विचार गर्नुपर्ने हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित कोषनाथ देवकोटाको पुस्तक ‘नेपाली निघण्टु’मा हामीले खाने सागपात, अन्न, फलफूल, कन्दमूल, जडिबुटी आदिको स्वभाव वर्णन गरिएको छ ।
आयुर्वेद भन्छ– खाना पाचन भई पहिले रस धातु बन्छ, त्यसपछि रक्त (रगत), मांस (मासु), मेद (बोसो), अस्थि (हाड), मज्जा (मासी) र शुक्र (वीर्य वा डिम्ब) धातु बन्छन् ।
डा. यादवका अनुसार, आयुर्वेदले वात दोषबाट नसासम्बन्धी रोग हुने नै मान्छ । वात अन्तर्गत प्यारालाइसिस, घुँडा वा जोर्नी दुख्ने, हड्डी खिइने, नसा दुख्ने आदि रोग पर्छन् । पित्तदोषबाट पाचनसम्बन्धी रोग बढी हुन्छ । पाचन प्रक्रिया गडबडी छ भने पित्तदोष भनेर जान्न सकिन्छ । यस अन्तर्गत अम्लपित्त (ग्यास्ट्रिक), पेटमा जलन हुने आदि हुन सक्छ । यस्तै, कफ दोषबाट खोकी, निमोनिया आदि रोग लाग्न सक्छन् ।
खानपानको कुरा गर्दा, हाम्रा लागि अदुवा सर्वसुलभ मान्न सकिन्छ । यसलाई हृदय र कण्ठरोगमा हितकारी मानिन्छ । अरुचि, कफविकार, वातविकार, आनाह (आउँ), शूल, मलबन्ध आदिमा यो उपयोगी छ । आयुर्वेद अनुसार, आफ्नो शरीरको प्रकृति र भोजनको स्वभाव जानेर खानपान गर्ने हो भने रोग नलाग्ने र भएको रोग निको हुने सम्भावना रहन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित कोषनाथ देवकोटाको पुस्तक ‘नेपाली निघण्टु’मा हामीले खाने सागपात, अन्न, फलफूल, कन्दमूल, जडिबुटी आदिको स्वभाव वर्णन गरिएको छ ।
पञ्चकर्ममा आधारित उपचार
त्रिदोष पनि पाँच–पाँच प्रकारका छन् । पित्तदोषभित्र पाचक, रञ्जक, साधक, आलोचक र भ्राजक दोष पर्छन् । कफ दोषभित्र क्लेदक, अवलम्बक, बोधक, तर्पक, श्लेषक पर्छन् । यस्तै, वातभित्र प्राण, उदान, व्यान, समान र अपान । यी पाँच–पाँच प्रकार दोषमध्ये कुन–कुनको घटीबढी भयो भन्ने चिकित्सकले जाँचेर पत्ता लगाउँछन् । डा. यादव भन्छन्, ‘चिकित्सकले व्यक्तिका लक्षणसम्बन्धी सोधपुछ गर्छन् । नाडी (नाडीको चाल) छामेर पनि चिकित्सकले दोष पत्ता लगाउँछ ।’
आयुर्वेदले त्रिदोषमा आधारित पञ्चकर्म सिद्धान्त अनुरूप उपचार गर्न भन्छ । पञ्चकर्ममा विरेचन, वमन, अनुवासन बस्ति, आस्थापन बस्ति र नस्य पर्छ । डा. यादवका अनुसार, पित्त दोषका लागि विरेचन कर्म, वात दोषका लागि बस्ति कर्म (दुवै बस्ति), कफ दोषका लागि वमन कर्म र घाँटीदेखिको अवयवमा लाग्ने रोगमा नस्य कर्म गरिन्छ । दोषलाई सम अवस्था ल्याउन यो पञ्चकर्म गरिन्छ ।
आयुर्वेद चिकित्सामा खासगरी सप्तधातु अर्थात् रस, रक्त, मांस, मेद अस्थि, मज्जा र शुक्रको पोषणमा ध्यान दिइन्छ । यी धातुलाई पोषण गर्ने औषधिलाई रसायन भनिन्छ । ‘रसायनमा त्रिफला, सिलाजित, अश्वगन्धा, गुर्जो, ब्राह्मी (घोडटाप्रे) आदि पर्छन् । त्रिफलामा मिसाइने हर्रो, बर्रो र अमला आफैँमा रसायन हुन् । रसायन औषधिको सम्यक् ढंगले सेवन गर्ने हो भने मान्छे उमेर अनुसारको बूढो देखिँदैन,’ डाक्टर यादव भन्छन्, ‘अर्थात् ६० वर्षको मान्छे ४५ को जस्तो देखिन्छ । जरा (वृद्धावस्था) र व्याधि (रोग)लाई नाश गर्छ रसायनले । यस्तो काम त्रिफला, सिलाजित, च्यवनप्राश आदिले पनि गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले जारी गर्यो तीन बुँदे ट्राभल एडभाइजरी
-
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री श्रेष्ठ एक करोड धरौटी राख्दै सर्वोच्चमा
-
टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या
-
टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने ट्रम्पको संकेत
-
सरकारी डाक्टरलाई कडाइ : कार्यालयमा नबसे अब भोग्नुपर्छ कारबाही
-
भन्सालीको फिल्ममा ओरी