आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

पठन संस्कृतिमा मूल्यवृद्धिको असर

शनिबार, २८ माघ २०७९, ०६ : १४
शनिबार, २८ माघ २०७९

अध्ययन अनुसन्धानले मानिसको व्यक्तित्व विकास र बौद्धिक निखार ल्याउँछ । अधिकांश मानिस व्यस्तताका बीच समय निकालेर विभिन्न कृतिको अध्ययन गर्ने गर्छन् । कुनै बेला धेरैले प्राज्ञिक क्षमता वृद्धि गर्न अध्ययनका लागि धेरैभन्दा धेरै समय खर्च गर्दथे । अध्ययनशील मानिस विवेकशील र विनयशील हुन्छ भन्ने त्यो विश्वास अझै कायम छ ।  ज्ञान आर्जन मात्र होइन, मनोरञ्जनको विकल्प पनि अध्ययन नै हुने गर्दथ्यो । त्यस्ता मानिस समाजमा सम्मानित र प्रतिष्ठित पनि हुन्थे । 

पुस्तकालय धाउने, पुस्तकहरू खोज्ने, सरसापट गरेर अध्ययन गर्ने, पुस्तहरूबारे चर्चा गर्ने कार्य अहिले घटेको छ । अहिले कोर्स र अनुसन्धान गर्दा आवश्यक पर्ने पुस्तकबाहेक अध्ययन गर्ने संस्कृति हराउँदै गएको छ । 

पछिल्लो समय सर्जकहरूले प्रशस्तै कृतिहरू रचना गरी विमोचन गरेका समाचारहरू आउने गर्छन् । त्यस्ता कृतिबारे त्यही कार्यक्रममा हुने चर्चा र पत्रपत्रिकामा र अनलाइन पोर्टलहरूमा फाट्ट फुट्ट समीक्षा आउनेबाहेक गहन रूपमा अध्ययन अनुसन्धान गर्ने प्रवृत्ति घट्दै गएको छ । तर विमोचनमा भने अध्ययन गर्न चाहने पाठकले किन्नै नसक्ने गरी मूल्य तोकिएको पाइन्छ । यस्ता पुस्तक विमोचन कार्यक्रमको आमन्त्रणमा गएर ३, ४ घण्टा बसेर महँगो मूल्यकै कारण नकिनी फर्किएका अवस्था धेरैको छ ।  

केही समय पहिले गोविन्द गिरी प्रेरणाले सुश्री पारिजात भन्ने कृति प्रकाशित गरे । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सो कृति बिक्रीका लागि राखिएको थियो । तर त्यसको मूल्य हजारभन्दा बढी राखिएकाले धेरैले किनेनन् । 

पारिजातसँग केही समय सङ्गत गरेकी कुन्दा शर्मा पनि सो कार्यक्रममा भेटिएकी थिइन् । उनले पनि सो कृति किन्न चाहेकी थिइन् तर मूल्य अत्यधिक भएकाले किन्न सकिनन् । उनले भनिन्, “पारिजात दिदीसँग मेरो ऊर्जाशील समयमा निकै सङ्गत गरेकी थिएँ । उनका बारेमा पुस्तक प्रकाशन हुँदा निकै हर्षित पनि छु । तर पुस्तक साह्रै महँगो लाग्यो । किन्न सकिनँ ।”

धेरै पुस्तकहरू किन्न मन लागेर पनि मूल्यका कारण नकिनी हिँडेको आज मात्र नभएर धेरै पहिलेदेखि नै हो ।

एक समय वामपन्थी विचारधाराको निकट रहेकी उनी यसअघि उज्ज्वल प्रसाईंले तयार पारेको खगेन्द्र सङ्ग्रौलाको जीवनीपरक कृति ‘बागी’को विमोचनमा पनि आएकी थिइन् । प्रसाईंले तयार पारेको सो कृतिको मूल्य पनि अत्यधिक महँगो थियो । यसको मूल्य पनि हजारभन्दा बढी थियो । मूल्य अत्यधिक भएका कारण सो कृति पनि उनले किन्न सकिनन् ।

कुन्दा शर्मा मात्र होइन मूल्य धेरै भएर पुस्तक किन्न नसक्ने तर त्यस्ता कार्यक्रमहरूमा धाइरहने पाठकहरू नेपाली समाजमा धेरै छन् । 

सहप्रध्यापक डा.धनप्रसाद सुवेदी पाटन बहुमुखी क्याम्पसमा अध्यापन गराउँछन् । उनले पनि किन्न मन लागेका कृतिहरू मूल्यकै कारण नकिनी हिँडेको छन् । “पुस्तकको अत्यधिक मूल्यका कारण मैले धेरै पुस्तकहरू नकिनी हिँडेको छु,” उनी भन्छन्, “धेरै पुस्तकहरू किन्न मन लागेर पनि मूल्यका कारण नकिनी हिँडेको आज मात्र नभएर धेरै पहिलेदेखि नै हो ।” 

त्यस्तै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका सहप्रध्यापक डा. सुकुम शर्माले पनि मूल्यकै कारण धेरै पुस्तक किन्न नसकिएका प्रसङ्गहरू बताए । “अनुसन्धानका क्रममा आवश्यक परेको राष्ट्रियताको विषय समेटिएको एउटा कविताको पुस्तक थियो । सो पुस्तकको मूल्य एक हजार रुपियाँभन्दा बढी रहेछ ।” उनले उदाहरण दिँदै भने, “एउटा कविता सङ्ग्रहका लागि हजार रुपियाँ तिरेर एउटा कविको नाम रख्नैपर्छ भन्ने लागेन मलाई ।”

पहिले पहिले केही सस्तो मूल्यमा पुस्तकहरू पाइए पनि ती लागत मूल्यभन्दा केही बढी मात्र हुन्थे । तर अहिले लागतको औसत मूल्यभन्दा दोब्बर राखिएको देखिन्छ ।

–मूल्यले पाठकमा पार्ने असर 

पुस्तक खरिद गर्नका लागि ग्राहको आयस्रोतले पनि निर्धारण गर्छ । आयस्रोतमा कमी भयो भने स्वाभाविक रूपमा पुस्तक किन्न नसक्ने अवस्था आउँछ । “पुस्तकका लागि भनेर आयको निश्चित प्रतिशत रकम छुट्याउने गर्छु,” शर्मा भन्छन् “म एउटा जागिरे पनि भएँ, त्यसबाट मैले पुस्तकका लागि भनेर छुट्याउने गरेको बजेटले अहिले एउटा पुस्तक पनि किन्न नसकिने स्थिति आउन लाग्यो ।” 

पहिले पहिले साझाले निकालेको किताबहरूमा सयको किन्दा २५ रुपियाँ छुट दिन्थ्यो । हजार रुपियाँ लिएर जाँदा अलिकति पढ्नेखालका किताब आउँथे । तर अहिले त्यस्ता पढ्ने खालका किताब हजारमा एउटा पनि नआउने अवस्था आइसक्यो । पुस्तक किन्नका लागि मेरो आफ्नो बजेट छ, त्यो बजेटभित्र पर्दाखेरि हुन्छ, नत्र किन्नै सक्दिनँ भन्छन् शर्मा । 

पुस्तकको मात्र होइन हरेक चिजको बजार मूल्य अत्यधिक बढेको छ । त्यसको असर पुस्तकका क्रेताहरूमा पनि पर्छ । पुस्तकको मूल्य वृद्धिले पाठकलाई केही न केही असर गरी नै हाल्छ भन्छन् सहप्रध्यापक डा.धनप्रसाद सुवेदी । “पुस्तकको अत्यधिक मूल्यका कारण मैले धेरै पुस्तक नकिनी हिँडेको छु,” सुवेदी भन्छन्, “धेरै पुस्तकहरू किन्न मन लागेर अत्यधिक मूल्यका कारण नकिनी हिँडेको आज मात्र नभएर धेरै पहिलेदेखि नै हो ।” 

पहिले पहिले केही सस्तो मूल्यमा पुस्तकहरू पाइए पनि ती लागत मूल्यभन्दा केही बढी मात्र हुन्थे । तर अहिले लागतको औसत मूल्यभन्दा दोब्बर राखिएको देखिन्छ, किनभने सामान्य छपाइका पुस्तकको मूल्य चार सय पाँच सय लेखिएको पाइन्छ । 

artsy-photo-of-books

पहिले पहिले साझा प्रकाशनका पुस्तक सर्वसुलभ मूल्यमा पाइन्थे । अझै पनि यो प्रकाशनका पुराना पुस्तकहरू सुलभ मूल्यका छन् । तर पछिल्लो समय प्रकाशन गरेका पुस्तकको मूल्य अधिक हुँदै गएको बताउँछन् सुवेदी । “बढी मूल्य भएका कारणले भरखरै प्रकाशित माधव घिमिरेको महाकाव्य मैले किनिनँ,” सुवेदी भन्छन्, “साझा प्रकाशनले प्रकाशित गरेको भए पनि त्यसमा हस्तलिखित राखिएको रहेछ ।” त्यस्तो हस्तलिखित सामग्री चाहिँ राष्ट्रिय अभिलेखालयमा राख्नुपर्ने तर्क उनको छ । हस्तलिखित र टाइप दुईवटै कुरा पुस्तकमा राखिएकाले डबल मूल्य राखिएको छ । यसरी पाठकमाथि शोषण किन गर्नुपरेको होला भन्छन् सुवेदी । 

अनुसन्धानकर्तालाई त एउटा पुस्तक मात्र किनेर हुँदैन पचासौँ पुस्तक किन्नुपर्छ । 

पुस्तकको मूल्य धेरै भए पनि कतिपय पुस्तक आवश्यकताले अध्ययन गर्नैपर्ने हुन्छ । कतिपयले सन्तुष्टिका लागि अध्ययन गर्छन् तर स्वान्त सुखायका लागि त्यस्ता पुस्तकहरू हुँदैनन् भन्छन् शर्मा । “मेरो आफ्नै अनुभव सुनाउँदाखेरि कतिपय कविताकै पुस्तक पनि यति महँगो हुन्छ कि अनुसन्धान गर्नेले नै किनेर पढोस् भनेर मूल्य राखिएको हुन्छ,” शर्मा भन्छन्, “त्यस्ता पुस्तक पुस्तकालयमा भेटियो भने अध्ययन गर्छु, नभए त्यो पुस्तक किनेर पढ्न सक्दिनँ भन्ने अवस्थामा म पुगेको छु ।” 

अनुसन्धानका लागि आवश्यक त्यस्ता पुस्तकहरू सङ्कलनका क्रममा माग्दा फलानो प्रकाशनमा छ किनेर लैजा भन्ने जावाफ पएको अनुभव उनीसँग छ । एउटा कविता सङ्ग्रहमा त्यस्तै भयो, मूल्य हेरेँ हजार रुपियाँ रहेछ, किनिनँ, नाम नै चाहिँ नभनौँ तर ती कविलाई मैले यो कुरा भनिसकेको छु भन्छन् शर्मा ।

स्वतन्त्र अनुसन्धान गर्नेहरूको पनि त्यस्तै पीडा हुन्छ । उनीहरूलाई कसैले फन्डिङ गर्दैन । त्यसरी अनुसन्धान गर्नेहरूलाई एउटा पुस्तक दिन नसक्नेको किनेरै लेखिदिनुपर्छ भन्ने अवस्था नरहने शर्मा बताउँछन् । अनुसन्धानकर्तालाई त एउटा पुस्तक मात्र किनेर हुँदैन पचासौँ पुस्तक किन्नुपर्छ । 

Mandala-3

अर्कोतर्फ नेपालमा पुस्तकालय मूल्य र पाठक मूल्य भनेर छुट्याउने चलन पनि छैन । त्यसरी मूल्य छुट्याउन सकिए पनि पाठकलाई सहज हुने थियो । 

त्यसैले प्रकाशनहरूमा यस्ता किसिमका राष्ट्रिय नीति नै आवश्यक छ । यस्तो नीति नबनेसम्म यो मनपरी हुने भयो । अनि कतिपय पाठकले पढ्छन्, कतिपय पढ्न विवश हुन्छन् । किनभने कतिपय सन्दर्भमा के छ भनेर पढ्नैपर्ने हुन्छ । नत्रभने सहज पहुँचबाट किन्छन् भन्ने हुँदैन । 

त्यसैले प्रकाशन गर्दा लागेको खर्च, उसले लेखकसँग गरेको सम्झौताका आधारमा पृष्ठअनुसारको पुस्तकको मूल्य निर्धारण र वितरणका लागि एउटा नीति बनाउनुपर्ने हुन्छ ।  

पुस्तकालय प्रशस्तै भए नि त्यहाँ धेरै समस्या छन् । आवश्यक पर्ने कतिपय पुस्तकहरू पनि भेटिँदैनन् ।

पुस्तकालयमा पहुँच 

यसैगरी सङ्ख्यात्मक हिसाबले पहिलेको तुलनामा पुस्तकालयको पहुँच वृद्धि हुँदै गएको छ । अहिले गाउँ गाउँमा पुस्तकालयहरू स्थापना गर्ने लहर नै चलेको छ । स्थानीय पालिकाहरूले पनि त्यसका लागि बजेट छुट्याउने प्रचलन बढ्दै गएको छ । तर पुस्तकालयमा गएर अध्ययन गर्ने संस्कृति खस्किएको बताउँछन् सुवेदी । “अहिले गाउँगाउँका विद्यालयमा पुस्तकालय स्थापना हुन थालेका छन्,” सुवेदी भन्छन्, “तर खोटाङको मेरै गाउँको विद्यालयमा भएको पुस्तकालयमा अध्ययन गर्ने कोही हुँदैनन् ।” गाउँमा मात्र होइन काठमाडौँ उपत्यकाका पुस्तकालय चहार्ने हो भने पनि अध्ययन गर्नेहरूको सङ्ख्या शून्यप्रायः छ । 

तर पुस्तकालय प्रशस्तै भए नि त्यहाँ धेरै समस्या छन् । आवश्यक पर्ने कतिपय पुस्तकहरू पनि भेटिँदैनन् । “भएका पुराना पुस्तक व्यवस्थित तरिकाले राखिएका छैनन्,” शर्मा भन्छन्, “समयमै त्यसलाई कोडिङ गरेर, नम्बर दिएर पाठकको पहुँचसम्म पुर्याउन पुस्तकालयहरूले सक्दैनन् ।” अहिलेको पुस्तकालय संयन्त्रले पढ्नमा धेरै बाधा पारेको शर्मा बताउँछन् । 

तर पुस्तकालयमा पुस्तक नभएर भन्दा पनि पुस्तकालयमा अध्ययन गर्ने, जाने संस्कृति चाहिँ घटेको बताउँछन् सुवेदी । “पुस्तकालयमा पहुँच पर्याप्त छ भनेको चाहिँ होइन,” उनी भन्छन् “तर हिजोको तुलनामा पुस्तकालयको पहुँच बढी भइरहे पनि अध्ययन संस्कृति चाहिँ खस्किँदै गएको छ ।” 

अनलाइन सोर्स

डिजिटल प्रविधिको विकासले मोबाइल र ट्यबमै पुस्तक पढ्न पाउने अवस्थाको विकास हुँदै गएको छ, यसको असर पनि हुनसक्छ । सञ्जालका कारण आम मानिसको समय त्यतातिर बितिरहेको छ । किनभने यसमा मनोरञ्जनका सामग्रीहरू प्रशस्त पाइन्छन् । हिजोको समयमा मनोरञ्जनका लागि पुस्तक नै थियो र पुस्तकालयतिर जान्थे तर डिजिटल प्रविधि र सामाजिक सञ्जालले घटाइदिएको छ ।  

रसिया–युक्रेन युद्धले पनि कागज आपूर्तिमा समस्या भयो, सरकारले पनि पुस्तकमा कर लगाएको छ ।

नेपालमा अनलाइन सोर्सहरू पनि त्यति सहज छैन । नेपाली किताबहरूको पनि अनलाइन पहुँच धेरै कम छ । अनलाइनमा भएका अलिकति पढ्न लायक पुस्तकहरूलाई पैसा तिर्नै पर्ने बाध्यता छ । “राम्रा, आफूलाई आवश्यक परेका किताबलाई विदेशीले पनि यति रुपियाँ तिर भन्छ पहिले नै,” शर्मा भन्छन्, “पहुँचमा भइरहेका पुस्तक भने अनलाइनले पनि दिन्छ ।” 

किन बढ्यो पुस्तकको मूल्य ?

पछिल्लो समय पुस्तकमा मात्र होइन धेरै वस्तु तथा सेवाहरूको मूल्यमा वृद्धि भएको छ । हरेक वस्तु विदेशबाट आयात गर्नुपर्ने भएकाले ढुवानी खर्च, कच्चा पदार्थको मूल्य आदिको प्रभाव पनि पुस्तक उत्पादन लागतमा वृद्धि भएको हो । सहप्रध्यापक डा. सुकुम शर्माका अनुसार पुस्तकको मूल्य वृद्धि हुनुमा कागज उत्पादनदेखिको कुरा आउँछ । रसिया–युक्रेन युद्धले पनि कागज आपूर्तिमा समस्या भयो, सरकारले पनि पुस्तकमा कर लगाएको छ । यसैगरी कति पृष्ठको पुस्तकको मूल्य कति राख्ने भन्ने राष्ट्रिय नीति पनि नभएकाले मनपरी मूल्य निर्धारण भएको ठहर उनको छ ।   

books-read-more-mc-221222-65aafc

तर सरकारी पुस्तकहरूका सम्बन्धमा मूल्य निर्धारण गर्ने नीति भएको देखिन्छ तर सबैतिर त्यो व्यवस्था कायम गर्न नसकिएको अवस्था छ । “जनक शिक्षाले छापेका किताबमा मूल्य कति राख्ने भन्ने व्यवस्था छ, मूल्यको आधार तोकिएको छ,” शर्मा भन्छन्, “तर उपन्यास, कथा, कविता सङ्ग्रह, अनुसन्धानजस्ता पुस्तकहरूमा मूल्य राख्ने कुनै आधार छैन । यी कारणले पुस्तक महँगा भए ।”

वास्तवमा यी पुस्तकहरूको मूल्य प्रकाशकपिच्छे फरक फरक भएका छन् । एउटै साइज र प्रकृतिका पुस्तकको मूल्य कसैले ४००, कसैले ५०० कसैले ६०० रुपियाँ राखेका छन् । एउटै पुस्तक कुनै प्रकाशनले कम मूल्य र अर्कोले बढी मूल्य पनि बेच्न सक्ने अवस्था अहिले छ । 

हिजोको समयमा पुस्तकको मूल्य सामान्य जस्तो लाग्थ्यो तर अहिले चाहिँ हरेक पुस्तकको मूल्य लागतभन्दा डबल राखिएको पाइन्छ । साझाकै पनि लागत अनुपातमा छापिन्छ तर बिक्रेताहरूलाई नै पचास प्रतिशत कमिसन दिनेगरेका देखिन्छ भन्छन् सुवेदी । “मेरो आफ्नै पुस्तकमा पनि मैले अलि बढी मूल्य राखेँ,” सुवेदी भन्छन्, “बजारमा पठाउँदा बिक्रेताहरूले फेरि ५० प्रतिशत छुटमा दिने भनेपछि स्वभावैले महँगो हुन गयो ।” 

प्रकाशकले छाप्दा मात्र होइन, पुस्तकको मूल्यलाई लेखकले लिने लेखकस्वले पनि फरक पार्ने गर्छ । किनभने प्रकाशकले लेखकस्व पनि त्यही पुस्तकबाट असुल्ने भएकाले मूल्य बढी पर्ने देखिन्छ । शर्मा भन्छन्, “त्यसरी मूल्य निर्धारण गरिएका पुस्तकको पारिश्रमिक लेखकले कसरी लिने भन्ने कुनै आधार पनि छैन । त्यसै भएर यो पुस्तकसम्बन्धी राष्ट्रिय नीतिको विषय भएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप