काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले आगामी फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा एमालेले उठाउने उम्मेदवारलाई आफ्नो पार्टीले मत नदिने घोषणा गरेका छन् ।
‘राष्ट्रपतिमा नेकपा एमालेले उठाएको उम्मेदवारलाई हाम्रो पार्टीका तर्फबाट मत जाँदैन’, महासचिव भुसालको भनाइ छ । उनले कांग्रेस एमालेले उठाएको उम्मेदवारमा चित्त नबुझेमा नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाउन सक्ने पनि बताए ।
‘उम्मेदवार हेरेर कसलाई समर्थन गर्ने भन्ने टुङ्गोमा पुग्छौँ तर राष्ट्रपतिमा अरूले दिएको उम्मेदवारमा चित्त बुझेन भने हामी आफँै पनि दिनसक्छौँ’, महासचिव भुसालको भनाइ छ ।
प्रस्तुत छ महासचिव भुसालसँग एकीकृत समाजवादीले विभिन्न पार्टी र समूहसँग गरेको एकता प्रयासको नतिजा, सरकारमा सहभागिताको विषय र राष्ट्रपति निर्वाचनलगायतमा केन्द्रित भएर रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
–विभिन्न पार्टीसँग एकता गर्न संवाद गरेका प्रचारहरू भइरहेका छन्, एकता प्रक्रिया कहाँ पुग्यो ?
हामीले विभिन्न समूह र व्यक्तिहरूसँग वार्ता गरिरहेका छौँ । समूहगत हिसाबले तीन समूहसँग एकताका लागि छलफल गरेका छौँ । त्यसमध्ये एउटा नेकपा माओवादी केन्द्र, दोस्रो जनता समाजवादी र तेस्रो नेकपा सयुंक्तसँग छलफल भएका छन् । त्यसबाहेक विभिन्न व्यक्ति जो स्वतन्त्र हुनुहुन्छ उहाँहरूसँग पनि व्यक्तिगत रूपले वार्ता गरिरहेका छौँ । यही क्रममा कमरेड घनश्याम भुसाल केही दिनअगाडि स्वघोषणा गरेर हाम्रो पार्टीमा समाहित हुनुभयो । यस्तै अरू पनि कतिपय व्यक्तिसँग हामीले कुरा गरिरेहका छौ ।
तपाईंहरू माओवादीमा फर्कनुभयो, हामी नेकपाकै विचारमा छौँ । अब फेरि त्यही ढङ्गले जान सकिन्छ कि सकिँदैन त ? भनेर कुरा हुँदा वैचारिक हिसाबले खासै समस्या छैन भन्ने नै बुझाइ दुवै पक्षको छ ।
–माओवादी केन्द्रसँगको कुरा कहाँ पुग्यो ?
माओवादी र हामीले एक पटक एकता गरेर नेकपा बनाएकै हो । तर अदालतले त्यो एकतालाई भङ्ग गरिदियो । अदालतले भङ्ग गरेका कारण हामी अलग भएका हौँ । त्यो एकता भङ्ग भइसकेपछि पहिलेको माओवादीतर्फ नै धेरै साथीहरू फर्कनुभयो । त्यसक्रममा पहिलेजस्तै माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, पार्टीको नाम पनि माओवादी केन्द्र नै राख्ने, चुनाव चिह्न पनि हसियाँहथौडा नै राख्ने गरी पुरानै माओवादीमा उहाँहरू फर्कनुभयो ।
यता केपी ओलीको नेतृत्वमा पूर्व एमालेको एउटा हिस्सा एमालेमै फर्कियो, जसले पहिलाको एमालेजस्तै जनताको बहुदलीय जनवाद मान्ने, नाम पनि उही राख्नेलगायतको पुरानै अवस्थामा फर्कियो । तर हामी अर्थात् नेकपा एमालेभित्रको एउटा हिस्सा नेकपा हुँदा जुन विचार थियो त्यसमै अडियौँ । नेकपा भन्ने नाम त अदालतका कारण राख्न पाइएन, जसले गर्दा नेकपा एकीकृत समाजवादी नाम राखेर अघि बढ्यौँ । यसरी हामी नेकपाकै राजनीतिक विचार, सिद्धान्त र कार्यदिशामा हामी छौँ ।
–नेकपाको निरन्तरता अहिलेको नेकपा एकीकृत समाजवादी हो ?
विचारको हिसाबले नेकपा एकीकृत समाजवादीले त्यो विचार बोकेर हिँडेको छ । यही हिसाबले अहिले माओवादी केन्द्रसँग हाम्रो छलफल पनि चलिरहेको छ । तपाईंहरू माओवादीमा फर्कनुभयो, हामी नेकपाकै विचारमा छौँ । अब फेरि त्यही ढङ्गले जान सकिन्छ कि सकिँदैन त ? भनेर कुरा हुँदा वैचारिक हिसाबले खासै समस्या छैन भन्ने नै बुझाइ दुवै पक्षको छ । नामको हिसाबले पनि त्यो नाम फेर्न सकिन्छ, मार्गदर्शक सिद्धान्तमा माओवादी नराख्न सकिन्छ । चुनाव चिह्नकै बारेमा पनि विचार गर्न सकिन्छ भन्ने कुरा भएको छ ।
–नाम, चुनाव चिह्न र मार्गदर्शक सिद्धान्त परिवर्तन गर्न माओवादी यति सजिलै सहमत भयो ?
सहमत नै भन्दा पनि नेकपा हुँदा हामी जहाँ थियौँ त्यहाँ पुग्न समस्या छैन भन्ने उहाँहरूको भनाइ हो । तर केही संरचनागत र व्यवस्थापकीय पक्षहरू हुन्छन्, ती सबै मिलाउनुपर्ने भएकाले छलफल गर्दै जानुपर्छ भन्ने छ ।
–भनेपछि सङ्गठनात्मक संरचना र जिम्मेवारीका कुरामात्रै बाँकी रहे ?
मुख्य त सङ्गठनात्मक संरचना, नेतृत्वको स्वरूप र तात्कालिक राजनीतिक कार्यदिशाको विषय बाँकी छ । साथै यो बीचमा हामी अलगअलग भएर हिँड्दाको समीक्षा पनि गर्नुपर्छ भन्ने सहमति जस्तै बनेको छ ।
–यति भइसकेपछि माओवादीसँगको एकता लगभग टुङ्गोमा पुग्यो भन्दा हुन्छ ?
टुङ्गियो नै नभनौँ, सकारात्मक ढङ्गले अघि बढेको छ भन्दा हुन्छ ।
कहिलेकाहीँ संरचनागत पक्षले पनि निकै लामो समय छलफलको माग गर्न सक्छ । त्यसैले एकताका लागि सैद्धान्तिक वैचारिक आधारहरू तयार छन् भन्न सकिन्छ ।
–नेतृत्व र सङ्गठनात्मक संरचनाबाहेक मूल कुरामा त सहमति भइसकेको रहेछ नि त ?
सकियो नै भनेर भन्नलाई निर्णय नै गर्नुपर्छ तर हामीले अहिले निर्णय नै गरिसकेको अवस्था छैन ।
–एकीकृत समाजवादी र माओवादीबीचको एकता चाँडै हुन्छ भनेर बुझ्न त पाइएला नि ?
कहिलेकाहीँ संरचनागत पक्षले पनि निकै लामो समय छलफलको माग गर्न सक्छ । त्यसैले एकताका लागि सैद्धान्तिक वैचारिक आधारहरू तयार छन् भन्न सकिन्छ ।
–जसपासँगको एकता प्रक्रिया नि ?
जसरी माओवादीसँग पार्टीको नाममा एकरूपता छ जसपासँग त्यस्तो छैन । पार्टीको नाम उहाँहरूले समाजवादी भन्नुभएको छ हामीले कम्युनिस्ट पार्टी भनेका छौँ । एउटै पार्टी बनाउँदा कुन नाम ठीक होला भन्नेमै उहाँहरू र हामीबीच छलफल गर्नुपर्ने आवश्यकता छ । मूल मार्गदर्शक सिद्धान्तकै सन्दर्भमा पनि छलफल गर्नुपर्ने देखिन्छ । तर सहकार्य र कार्यगत एकता गरेर जाने सन्दर्भमा थुप्रै समानता छन् ।
–जसपा, माओवादी केन्द्र र माओवादीबीच एकताअघि आजभोलि नै मोर्चा बनाएर अघि जाने कुरा पनि थियो नि ?
आजभोलि नै मोर्चा घोषणा भइहाल्छ भन्ने बाहिर चर्चा भएको हो तर छलफलमा आजभोलि नै गरिहालौँ भन्ने भएको छैन । तर मोर्चा बनाएर जान सकिन्छौँ र बनाऔँ भन्ने कुरा भएको हो । त्यसैले हामी सबै सहमत भयौँ भने त मोर्चा घोषणा हुन नसक्ने कुरा पनि होइन तर त्यो ढङ्गको तयारी पुगिसकेको छैन ।
–तीनवटै पार्टी मिल्दा नाम के रहनसक्छ ?
त्यसमा पनि टुङ्गोमा पुगिएको छैन । नेकपा अगाडि हुन्छ, नेकपाभन्दा अर्कोबाट जान सकिन्न भन्नेमा हामी र माओवादी प्रस्ट छौँ । जसपा चाहिँ नेकपा भनेर जाने कि नजाने भन्नेमा दुविधामा छ ।
मार्गदर्शक सिद्धान्तमा धेरै समस्या देखिँदैन, कम्युनिस्ट नामका बारेमा पनि हिच्किचाएको नभनौँ । बरु अलि छलफल गरौँ, सजिलो के हुन्छ, त्यसको खोजी गरौँ भन्ने हो ।
–यसको अर्थ जसपासँगको एकता प्रक्रिया त्यति सहज छैन भनेर बुझ्दा ठीक हो ?
जति माओवादी केन्द्रसँग सहज छ त्यति छैन भनेर भन्दा फरक पर्दैन ।
–जसपाको मार्गदर्शक सिद्धान्त त केही देखिँदैन, कम्युनिस्ट नाम राख्न हिच्किचाएको हो ?
मार्गदर्शक सिद्धान्तमा धेरै समस्या देखिँदैन, कम्युनिस्ट नामका बारेमा पनि हिच्किचाएको नभनौँ । बरु अलि छलफल गरौँ, सजिलो के हुन्छ, त्यसको खोजी गरौँ भन्ने हो ।
–व्यक्तिहरूसँग पनि वार्ता भइरहेको छ, जस्तो वामदेव गौतमसँग वार्ता गर्दा उहाँले केही सर्त राखेको भनेको सुनिएको छ, कस्ता सर्त रहेछन् उहाँका ?
सर्तभन्दा पनि उहाँले आफ्ना धारणा राख्नुभएको हो । हो, उहाँसँग, भीम रावलसँग पनि कुरा भइरहेको छ । अरू पनि हुनुहुन्छ, उहाँहरूसँग पनि विभिन्न ढङ्गले कुराकानी भइरहेको छ । एकता अप्ठेरो कुरा पनि हो । त्यसैले कहिले तुरुन्तै निर्णयमा पुग्ने स्थिति पनि बन्छ । कहिले अलि छलफल गरौँ भन्ने पनि स्थिति हुने भएकाले कहिलेसम्म एकता हुन्छ भनेर भन्न सकिँदैन ।
–भीम रावल र वामदेव गौतमसँगको एकता ५०, ५० प्रतिशत सम्भावना छ भन्दा हुन्छ ?
यो प्रतिशतमा नाप्ने कुरा होइन । म्याथमेटिक्स जस्तो राजनीति हुँदैन ।
–त्यसो भए गौतम र रावलसँगको एकता के कुरामा अड्किएको हो त ?
वामदेवले आफ्ना धारणा राखिसक्नुभएको छ । ती धारणामा सकारात्मक हुनुपर्छ भनेर केही विषय राख्नुभएको छ । त्यसमा अध्ययन गरेर मलाई जवाफ दिनुस् पनि भन्नुभएको छ ।
–जबजलाई मार्गदर्शक सिद्धान्त बनाउनुपर्छ भन्ने उहाँको भनाइमा तपाईंहरूको असहमति हो ?
त्यो छ उहाँको । त्यसपछि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्छ भन्ने छ । जुन संविधान संशोधनको विषय भयो । निर्वाचन प्रणाली पूर्ण समानुपातिक भन्नुभएको छ । त्यो पनि संविधान संशोधनको विषय भएकाले पार्टीले भनेर मात्रै हुँदैन ।
–पार्टीले ओनरसिप लियो भने त होला नि ?
पार्टी पनि त्यो विन्दुमा पुग्ने नपुग्ने छलफल हुन बाँकी नै छ । किनभने संविधान निर्माणका क्रममा त्यो विषयमा धेरै छलफल गरेर नै अहिलेको प्रणालीमा सहमत भएर गएका हौँ ।
–प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भनेर त तत्कालीन एमालेले आवाज उठाएकै हो नि ?
संविधान सभाको पहिलो कालमा भनेको हो । तर संविधान बनाउने बेला दोस्रो कार्यकालमा पुग्दा त हामीले त्यो विषय छोड्यौँ ।
–एकीकृत समाजवादी जबजलाई मार्गदर्शक सिद्धान्त पनि बनाउन सक्दैन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पनि पार्टीको अडान राख्दैन र प्रत्यक्ष राष्ट्रपतिमा पनि अहिले जाँदैन ?
निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ भनेर हाम्रो निर्वाचन घोषणापत्रमै राखेको विषय हो । यसमा गम्भीर छलफल गरौ भन्नेमा हामी छौँ । पहिले नै यसो हो भनेर गयौँ भने छलफल नै अवरुद्ध हुन्छ । शासकीय स्वरूपका सवालमा अहिलेको स्वरूप परिवर्तन गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी पुगेको छैन । पार्टी यो अवस्थामा नपुगेकाले कुनै साथीले राख्दैमा स्वीकार्नुपर्छ नै भन्ने पनि हँदैन र त्यसलाई अस्वीकार भन्न पनि मिल्दैन ।
मार्गदर्शक जबजका बारेमा हाम्रो धारणा के हो भने यसले नेपालको कम्युनिस्ट आन्दोलनको विकासका निम्ति महत्त्वपूर्ण योगदान हिजोको सन्दर्भमा गरेको छ । तर आज परिस्थिति बदलिएको छ । जबजले मार्गदर्शन गरेको जनवादी क्रान्ति एउटा चरण पूरा भएको छ र हामी समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्यौँ भन्ने निष्कर्षमा पुगेका छौँ । यदि समाजवादी क्रान्तिको चरणमा हामी पुगेका छौँ भने यो चरणमा पनि जबजले नै मार्गदर्शन गर्छ गर्दैन ? प्रश्न यो हो । क्रान्ति समाजवादी तर जबजले मार्गदर्शन गर्न सक्छ कि सक्दैन त ? भन्दा यो त अलि मिलेन । समाजवादी क्रान्ति गर्न त जनवादी सिद्धान्तले मार्गदर्शन गर्छ भन्न मिल्दैन । त्यसकारण जबजलाई नै मार्गदर्शन भन्नेगरी होइन तर त्यसले उठाएका केही लोकतान्त्रिक मान्यताका पक्षहरू छन्, तिनलाई छोड्न सक्दैनौँ ।
समाजवादी चरणमा पनि लागू गर्नसक्ने खालका केही सैद्धान्तिक अवधारणा जबजले उठाएको छ । त्यसलाई हामी आत्मसात गर्छौं भनेर हामीले दस्तावेजहरूमा पनि भनेका छौँ तर यसैलाई मार्गदर्शक सिद्धान्त मान्ने कुरा अबको परिस्थितिमा मिल्दैन भन्ने हो ।
–अझ नेकपा एमालेले जबज मानेपछि तपाईंहरूलाई त्यो मान्न अप्ठ्यारो भएको हो कि ?
एमालेले मानेकाले अप्ठ्यारो केही पनि होइन । त्यसो भन्ने हो भने त कम्युनिस्ट पार्टी एमाले छ हामी नहुने भन्ने त कुरा भएन । तर एउटा सत्य नेकपा हुँदा हामीले त्यो छोडिसकेका थियौँ ।
–जबज विरोधी घनश्याम भुसाल पार्टीमा प्रवेश गर्नुभएकाले त जबज नमान्ने भनेको होइन नि ?
उहाँ हुने र नहुने भन्ने कुराले फरक पर्दैन । त्यतातर्फ यो विषयलाई लाँदै नलैजाऔँ । किनभने उहाँ नभएकै बेलामा हामीले एउटा धारणा बनाइसकेका छौँ । फेरि अस्ति उहाँले जुन प्रस्ताव राख्नुभयो र हामीले जवाफ दियौँ त्यसमै प्रस्ट छ कि– तपाईंले जे भनिरहनुभएको छ त्यो हामीले अहिले पार्टीको जे निष्कर्ष छ, त्यो भन्दा फरक छैन भनेर नै तपाईंलाई स्वागत गर्न आतुर छौँ भनेर जवाफ नै दिएका छौँ ।
–भीम रावलचाहिँ केमा अड्कनुभएको छ त ?
भीमजीसँग त्यस्ता सबै विषय केही छैनन् । उहाँ राष्ट्रियताका मुद्दामा अलि बढी चासो राख्नुहुन्छ ।
घनश्यामजीले कुनै पदीय हैसियत माग गर्ने र त्यस्तो सर्त राख्ने हिसाबले आउनुभएको होइन । पार्टी निर्माण र अघि बढ्ने सवालका केही सैद्धान्तिक विषयमा बरु बहस गर्नुभएको हो ।
–उहाँ एमसीसीको विरोध गर्नुहुन्छ, तपाईंको पार्टीले विरोध गर्न सक्दैन भन्ने हो ?
राष्ट्रियताको सवालमा उहाँको खरो अडन छ । त्यस्तै अरू पनि छन् ।
–राष्ट्रियताका सवालमा एकीकृत समाजवादीले अडान लिन नसक्ने हो र ?
स्ट्यान्ड नलिएको छँदैछैन नि ! एमसीसीमा हामीले उठाएको विषय हाम्रो मुलुक असंलग्न परराष्ट्र नीतिभन्दा फरक हिसाबले जान सक्दैन । हामीले हाम्रो मुलुकलाई कुनै पनि सैनिक सङ्गठनको अखडा बनाउन सक्दैनौँ । हाम्रो मुलुक कुनै पनि सैनिक सङ्गठनमा सामेल हुन सक्दैन । हाम्रो मुलुकबाट तेस्रो मुलुक आएर अर्को तेस्रो मुलुककाविरुद्ध कुनै गतिविधि गर्न दिँदैनौँ । यी विषय त हामीले एमसीसी अनुमोदन गर्दा पनि व्याख्यात्मक घोषणमा भनि नै सकेका छौँ । त्यसकारण राष्ट्रियताको अडानमा अडिएन भन्ने विषय नै होइन । तर उहाँले कतिपय कन्र्सन राख्नुभएको छ ।
–ती पूरा गर्न सकिँदैन त ?
जस्तो एमसीसी खारेज गर्ने भनेर कसैले भन्यो भने त्यो त अहिले सम्भव छैन । हामीले खारेज गरेर पनि हुने होइन ।
–घनश्याम भुसाललाई महासचिव दिन तपाईं तयार हो ?
घनश्यामजीले कुनै पदीय हैसियत माग गर्ने र त्यस्तो सर्त राख्ने हिसाबले आउनुभएको होइन । पार्टी निर्माण र अघि बढ्ने सवालका केही सैद्धान्तिक विषयमा बरु बहस गर्नुभएको हो ।
–घनश्यामलाई पार्टी प्रवेश गराउन डा. वेदुरामले धेरै मेहनत गर्नुभयो तर आफ्नै पद जाने भो भन्ने चर्चा छ नि ?
त्यस्तो होइन । यदि कसैलाई त्यस्तो परेको छ भने मुक्त हुन अनुरोध गर्छु । मेहनत गरेको मैले हो, त्यो सत्य हो तर कसले के जिम्मेवारी पूरा गर्दा उचित हुन्छ भन्नेमा छलफल गर्न म खुला छु । मैले छोड्ने नछोड्ने मेरो मात्रै कुरा पनि होइन ।
–अप्ठ्यारो अवस्थामा पार्टी बनाउनुभयो अनि अलि सहज भएका बेला छोड्ने कुरा निजी विषय पनि त होला नि ?
तपाईंले भनेजस्तो निजी पनि त हो तर निजी मात्रै होइन ।
–बाहिरतिर त घनश्याम भुसाल डोकाले छोपेजस्तै महासचिव भइसक्नुभयो भन्ने छ नि ?
त्यसो भए त तपाईंले उहाँसँगै अन्तर्वार्ता लिनुहुन्थ्यो ।
–घनश्यामलाई केन्द्रीय समितिले महासचिव बनाउने भन्ने पनि थियो केले रोक्यो ?
त्यो गर्ने भन्ने नै थिएन केन्द्रीय समितिमा ।
–घनश्याम महासचिव बन्नुहुन्छ या हुँदैन प्रस्ट भन्नुस् न ?
उहाँलाई उपयुक्त जिम्मेवारी दिनुपर्छ । दिने निर्णय पनि गरिन्छ तर यो नै दिने भनेर तय भएको छैन ।
–महासचिव नपाएर फर्किनुहोला नि ?
उहाँले त्यस ढङ्गले कुरा नै गरेको होइन अनि किन फर्कने त कुरै भएन ।
–भनेपछि पार्टीले भन्यो भने तपाईं महासचिव पद छोड्न तयार हो ?
पार्टीले भन्यो भने हुन्छ । पार्टीको निर्णयले नै हो जिम्मेवारी लिने । पार्टीले निर्णय गरेर अर्को जिम्मेवारीमा जानुपर्यो भन्यो भने जो पनि गइहाल्छ, म मात्रै होइन । अध्यक्षले पनि मै अध्यक्ष भइराख्छु भनेर हुन्छ र !
–जे होस् घनश्यामका लागि छोड्न तयार हुनुहुन्छ ?
तपाईंले अहिले मलाई मात्रै केन्द्रित गरेर किन सोधिरहनुभएको छ ?
–तपाईसँगै त्यो पद जोडिएकाले हो !
भनिसकेँ त । उपयुक्त निर्णय गर्दा सहज हुन्छ । यसमा कुनै रस्साकस्सी र अन्यथा विषय नै छैन । हामी सौहाद्र्रपूर्ण ढङ्गले छलफल गरेर सहजतापूर्वक टुङ्ग्याउँछौँ ।
प्रधानमन्त्रीले विश्वासको मत माग्ने बेलामा सहयोग गर्नुस्, विस्वासको मत दिनुस भनेको हो, त्यसवेला पनि सरकारमा आउनुस् भन्नुभएको होइन ।
–नेकपा एकीकृत समाजवादी सरकारमा कहिले जाँदैछ त ?
सरकारमा जाने कुरा हामीले अहिले सोचेका पनि छैनौँ ।
–सरकारमा जान बारम्बार कुरा भइरहेको भन्ने छ नि ?
यो सरासर गलत हो ।
–प्रस्ताव आएको छैन ?
आएको छैन ।
–रास्वपाले सरकार छाड्यो, भोलि अङ्कगणितको कुरा पनि होला, यस्तोमा तपाईंहरूले सहयोग गर्नुपर्यो भनेर प्रधानमन्त्रीले भनेको होइन ?
प्रधानमन्त्रीले विश्वासको मत माग्ने बेलामा सहयोग गर्नुस्, विस्वासको मत दिनुस भनेको हो, त्यसवेला पनि सरकारमा आउनुस् भन्नुभएको होइन । हामीले आउँछौँ भनेको पनि होइन । सरकारमा राख्ने भए विश्वासको मत दिन्छौँ नभए दिँदैनाँै भनेको पनि होइन ।
–एमाले अध्यक्षले भनेजस्तै मन्त्रीका लागि ढोक्सा थापेको होइन ?
उहाँको भाषामा म किन जाऊँ, त्यता जान चाहन्नँ । त्यसैले हामीलाई प्रस्ताव नै नभएकाले जाने भन्ने त कुरै भएन ।
–प्रस्ताव आए जाने हो ? तपाईंहरूलाई पनि सांसद जोगाउनुपर्ने होला ?
निम्ता आएपछि निम्ता खान जाने भन्ने होला । तर सांसद जोगाउन हामीलाई गाह्रो छैन ।
–मन्त्री नबनाए छटपटी हुने खालका सांसदहरू धेरै छन् नि त ?
त्यसले केही फरक पर्दैन ।
–पार्टी छोड्दैनन् ?
छोडेर कहाँ जाने ? ठाउँ हुनपरेन ! मन्त्री दिनेसँग गए सांसद पदको पनि कुरा होला ।
–वैधानिक ढङ्गले प्रक्रिया पुर्याएर गएभने नि ?
त्यो अनावाश्यक कुरा हो । पहिलो कुरा साथीहरूको बारेमा जुन ढङ्गले प्रचार गरिएको छ यो नै गलत छ । त्यस्तो सोचाइ कसैले पनि राख्नुभएको छैन । पार्टीले जे भन्छ त्यही गर्ने भन्ने नै सबै साथीहरूको छ । जो जो साथीहरूको चर्चा भएको छ, मैले उहाँहरूसँग व्यक्तिगत कुरा पनि गरेको छु । दोस्रो कुरा वैधानिक वा कानुुनी कुराले पनि मिल्ने कुरा होइन ।
–यसको अर्थ सरकारमा नगए पनि पार्टीभित्र सांसदहरूले विद्रोह गर्दैनन् ?
विद्रोह गर्ने कुरै छैन त किन गर्नु ? त्यो सम्भावना छैन ।
–केन्द्रीय कमिटीमा बसेर भोट हाल्न नजाने नेता भएको पार्टीमा कसरी बस्लान् भनेर आशङ्का गर्न सकिने भो नि १२० जना त तपाईंहरूले नै भन्नुभयो नि ?
मैले त भनेको छैन । यसमा पनि केही मान्छेहरूले नचाहिँदो प्रचारबाजी गरेका मात्रै हुन् । हो, केही साथीहरू बिरामी हुनुभएर भोट हाल्न जानुभएन, कसैको मरुमराउ भएकाले जान सक्नुभएन । कोही साथीहरू विदेशमा हुनुहुन्थ्यो, फर्कन समयमा टिकेट मिलेन भन्ने छ ।
–यो विषयमा कोही कारबाहीमा पर्नेवाला छन् कि छैनन् ?
केन्द्रीय कमिटी बैठकमा यो विषय उठिसकेपछि अध्यक्षले बैठक समापनका अवसरमा अनुशासन आयोगले यथोचित निर्णय गरोस् भन्नुभएको छ । त्यसकारण यो विषयमा अनुशासन आयोगले छानबिन गर्छ । त्यसमा कोही दोषी देखियो भने कारबाही हुनु पनि पर्छ । तर मैले अहिलेसम्म बुझेअनुसार विभिन्न समस्यामा परेर केही साथीहरूले मतदान गर्न नसक्नुभएको हो, त्यो जेन्युन कुरा हो, त्यो सङ्ख्या १२० पनि होइन । २० को आसपास होला । काबुभन्दा बाहिर रहेमा कानुनले पनि छुट दिन्छ नि त्यस्तै हो ।
–एकीकृत समाजवादीले कांग्रेससँगको मोह छोड्न सकेन नि कारण के हो ?
कांग्रेससँग हाम्रो कुनै मोह छैन । गठबन्धन नै टुटिसक्यो किन मोह हुनु र !
–राष्ट्रपतिमा कतै कांग्रेसले आफ्नो पार्टीलाई सहयोग गर्छ कि भनेर त होइन ?
होइन, त्यस्तो छैन । पहिलो कुरा कांग्रेस नछोडेको भन्ने कुरा नै गलत हो ।
राष्ट्रपतिमा अरूले दिएको उम्मेदवारमा चित्त बुझेन भने हामी आफैँ पनि दिनसक्छौँ ।
–कांग्रेस जे गर्दैछ तपाईंहरू पनि त्यही गर्दै हुनुहुन्छ नि त ?
कांग्रेसले गरेको हामीले गर्दैछौँ कि हामीले गरेको कांग्रेसले गर्दैछ ? त्यो पनि होला नि ! एउटा काम उस्तै भयो त्यो भनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिने काम । प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय पहिला हामीले गरेका छौँ । मिडियाले जस्ताको त्यस्तै प्रचार गर्नुपर्यो । पहिला हामीले निर्णय गर्यौँ, पछि कांग्रेसले निर्णय गरेको हो ।
–राष्ट्रपतिमा कांग्रेसले तपाईंहरूलाई सहयोग गर्न सक्छ सक्दैन र तपाईंको पार्टीबाट राष्ट्रपति बन्ने सम्भावना कति छ ?
त्यो ढङ्गले अहिले छलफल भइसकेको नै छैन । यद्यपि राजनीतमा असम्भव भन्ने कुरा केही पनि हुँदैन । तर छलफल चलाएर हामीलाई समर्थन गर्नुस् भनेका छैनौँ ।
–राष्ट्रपति को बन्दैछ त, एमाले कि कांग्रेसको उम्मेदवार ?
यो विषयमा अझै पर्खनुपर्छ । हाम्रो हकमा उम्मेदवार हेरेर कसलाई समर्थन गर्ने भन्ने टुङ्गो गर्छौं । राष्ट्रपतिमा अरूले दिएको उम्मेदवारमा चित्त बुझेन भने हामी आफैँ पनि दिनसक्छौँ ।
–तर तपाईहरूको सांसद सङ्ख्या त थोरै छ नि ?
थोर भएर के भो त ? चुनावमा त थोरै भोट पाउन पनि लडिन्छ ।
अहिले राष्ट्रपतिको विषय पेचिलो भएको छ । संवैधानिक राष्ट्रपतिमा यति ठूलो बहस र प्राथमिकता दलहरूले किन बनाएका होलान् ?
यो विषय पेचिलो बनाएको दलहरूले होइन, अहिलेको राष्ट्रपतिले बनाइदिनुभएको हो । उहाँले जसरी काम गर्नुभयो, त्यसले गर्दा यो विषय पेचिलो भएको हो । राष्ट्रपति संवैधानिक पद हो । संविधानले जुन सीमा राखेको छ, त्यहाँभन्दा बाहिर जान नमिल्ने हो तर अहिलेको राष्ट्रपति त्यो सीमाभन्दा बाहिर जानुभयो विभिन्न समयमा ।
–राष्ट्रपति विद्यादेवी भण्डारीले सीमाभन्दा बाहिर गएर काम गरिदिएकाले राष्ट्रपति निर्वाचन पेचिलो बनेको हो ?
जानुभयो । संसद् विघटनमा प्रधानमन्त्रीले दिएपछि स्वाट्टै गर्दिनुभो । एउटा प्रधानमन्त्रीले दिएको अध्यादेश पुग्न नपाउँदै सदर गरिदिनुभो । अर्को प्रधानमन्त्रीले दिने अध्यादेश रोकेर राख्दिनुभो, यस्ता थुप्रै उदाहरण छन् ।
–नेकपा एमालेले राष्ट्रपतिमा उठाउने उम्मेदवारलाई तपाईंहरूले सहयोग गर्ने सम्भावना कति छ ?
राष्ट्रपतिमा नेकपा एमालेले उठाएको उम्मेदवारलाई हाम्रोतर्फबाट मत जाँदैन ।
प्रतिक्रिया