शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
अपराध

पृथ्वी शाहविरुद्ध लिखत कीर्ते कसुरमा पनि अनुसन्धान, ९२ लाखको जग्गा राखेर २ करोड ऋण लिएको भेटियो

९ अमेरिकनको जाहेरी
शुक्रबार, २७ माघ २०७९, १२ : ३५
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । पृथ्वीबहादुर शाहविरुद्ध प्रहरीले सरकारी लिखत कीर्ते गरेको कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । अछाम घर भएका ३५ वर्षीय शाहलाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । विदेशबाट शङ्कास्पद रकम नेपाल भित्र्याएको आरोपमा ब्युरोले उनलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा शाहले सरकारी लिखत कीर्ते गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी उत्तम सुवेदीले रातोपाटीलाई बताए ।

लालपुर्जा किर्ते गरेर शाहले काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलको जग्गा धितो राखेर ऋण लिएको भेटिएको छ । करिब ९२ लाख मूल्य पर्ने जग्गाको लालपुर्जा सच्याएर शाहले २ करोड ऋण लिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । ‘जग्गाधनी पुर्जा सच्याएर सहकारीबाट ऋण लिएको भेटिएको छ,’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्,‘सो ऋण उनको भाई विजयविक्रमको नाममा निकालेको भेटिएको छ ।’ 

भाइ विजयविक्रमलाई पनि प्रहरीले पक्राउ गरेको छ । भाइले प्रहरीसँग भनेका छन्,‘मलाई केही थाहा छैन, दाइले गरेको हो ।’ मुलुकी अपराध संहित–२०७४ अनुसार सरकारी लिखत किर्ते मुद्दामा ५ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । शाहविरुद्ध सीआईबीले लिखत सम्बन्धी कसुर, ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

शाहको स्वामित्वमा रहेका विभिन्न कम्पनी र उनको व्यक्तिगत बैङ्क खातामा विदेशबाट ६५ करोड रुपैयाँ आएको भेटिएको छ । अनलाइन मार्फत अमेरिकनको कम्यूटरमा पहुँच बनाएर रकम ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (एआईजी) सुवेदीले रातोपाटीलाई बताए । सुवेदी भन्छन्, ‘अमेरिकन नागरिकको कम्प्युटरमा पहुँच बनाएर उनीहरूको खातामा रकम जम्मा भएको फर्जी विवरण देखाएर शाहले सो रकम आफ्नो भएको दाबी गर्दै नेपाल पठाउन लगाएको देखिन्छ ।’

अनलाइन माध्यमबाट शाहले अमेरिकनको बैङ्क खातामा रकम जम्मा भएको देखाउँदै सो रकम ‘भुलवश’ जम्मा हुन गएको भन्दै फिर्ता पठाइदिन आग्रह गर्ने गरेको अमेरिकन नागरिकहरूले ब्युरोलाई बताएका छन् । खातामा रकम आएको देखेपछि अमेरिकनले शाहले भने अनुसार नेपालस्थित कम्पनीका बैङ्क खातामा डिपोजिट गरिदिएको थाहा भएको छ  । 

९ अमेरिकनको जाहेरी 

शाहले ठगी गरेर अहिलेसम्म ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल  ६५ करोड नेपालमा भित्र्याएका छन् ।

ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानबाट शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार अहिलेसम्म ९ जना अमेरिकनले शाहबाट ठगिएको जाहेरी पठाएका छन् । पीडित अमेरिकन नागरिकले इमेल गरेर सिआईबीमा जाहेरी पठाएका हुन् । ‘जाहेरी आउने क्रम जारी छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन् । 

पृथ्वी सहित उनको भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले र रंगबहादुर साउद प्रहरीको हिरासतमा छन् । शाहले सिद्धार्थ सहित दुई वटा बैंकबाट रकम निकाल्न लागी फर्जी कागजात पेस गरेको अनुसन्धानबाट थाहा भएको छ । अमेरिकाबाट ठगीको रकम सिद्धार्थ बैङ्क, ग्लोबल,सेन्चुरी कमर्सियल, सनराइज, कुमारी, एनसिसि र एनएमबी सहित ११ बैङ्क वटा बैङ्क खातामा आएको छ ।

सो रकम शाहको स्वामित्वमा रहेका कम्पनीहरू हन्टिङ रिजर्भ, १४ पिक, कैलाश एक्जिम, वर्ल्ड फस्ट जब प्लेसमेन्ट, माउन्टेन अपार्टमेन्ट र वर्ल्ड फस्ट होलिडे लगायतका खातामा जम्मा भएको छ । कतिपय कम्पनी कम्पनी रजिस्टारको कार्यालयमा दर्ता नै नभएको र दर्ता भएकाहरू पनि उद्देश्य अनुसार सञ्चालनमा नरहेको अनुसन्धानबाट थाहा भएको छ ।

पृथ्वी बहादुर यसअघि २०७२ मा पनि पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप