मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

रातोपाटी ब्रिफिङ : सुदूरपश्चिममा राजनीतिक भूकम्प, काठमाडौँसम्म धक्का !

बिहीबार, २६ माघ २०७९, २१ : ५७
बिहीबार, २६ माघ २०७९

आज मिति २०७९ साल माघ महिनाको २६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ । 
विशेषतः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राजनीतिक माहोल गर्माएको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार एक महिनामै ढल्न पुगेको हो । 

तत्कालीन कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएपछि एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेको थियो । सोही गठबन्धनको बलमा केन्द्रदेखि प्रदेशसम्म सरकार बनाइएपनि सुदूरपश्चिम प्रदेशमा टिक्न नसकेको हो। उसो त, संघीय सरकारमा समेत खटपट सुरु भएकाले सरकारको आयू लामो नरहेको टिकाटिप्पणी सुरु हुन थालिसकेको छ ।  

केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरएको छ भने सरकारलाई समर्थन गरेको जसपा सरकारमा सहभागी नै भएको छैन । यस्तै राप्रपाका मन्त्रीहरुले संघीयताविरोधी अभिव्यक्ति दिइरहँदा एमाले र माओवादी केन्द्रबीचसमेत विश्वासको वातावरण रहेको छैन । यस्तो अवस्थामा सरकार कसरी अघि बढ्दा भन्ने चासो बढेको हो । यहीबीचमा सुदूरपश्चिम प्रदेशमा सरकार ढलिसकेपनि त्यहाँको राजनीतिक भूकम्पको पराकम्प काठमाडौँसम्म पर्न थालिसकेको कतिपयले टिकाटिप्पणी गर्न थालिसकेका हुन् । 

सुदूरपश्चिममा नयाँ मुख्यमन्त्री
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ शुक्रबार हुने भएको छ ।  कांग्रेस संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपा एमालेका नेता रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीको राजीनामा बुझाएका थिए ।
प्रदेश प्रमुख जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता  शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भूकम्प मात्र गएको प्रतिक्रिया दिएको छ ।  सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि मुख्यमन्त्री रावल नेतृत्वको सरकार ढलेको हो । 
नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफूहरूको काठमाडौँ आगमनले प्रदेश सरकारमा भूकम्प गएको बताए । उनले भने , ‘भूकम्पको धक्का गएको छ । यसले कति असर गर्छ, त्यो उनीहरुलाई नै थाहा होला ।’


राजनीतिक संयन्त्रको बैठक तय
सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ ।  बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो ।
बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिए ।  बैठकमा सुदूरपश्चिम सरकार ढलेको विषयका साथै समग्र विषयमा छलफल हुने बुझिएको छ । 


निर्वाचन प्रणालीबारे छलफल
राजनीतिक दलका नेताहरूले निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै कम खर्चमा निर्वाचन सम्पन्न हुने गरी व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरू तथा दलका प्रतिनिधिसँग निर्वाचन आयोगले निर्वाचन प्रणाली सुधारको सम्बन्धमा छलफल गरेको थियो । सो छलफलका क्रममा दलका नेताहरूले निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले कम खर्चमा निर्वाचन सम्पन्न हुने गरी व्यवस्था गर्न आयोगलाई सुझाव दिएका हुन् ।

माओवादी केन्द्रको बैठक 
कपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु सामान्य नभएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय समितिलाई भर्चुअल मार्फत सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारको नेतृत्व गर्नु चुनौती र अवसर दुवै भएको बताए । 
‘हामीले सरकारको नेतृत्व गर्न पाउनु चुनौती र अवसर दुवै हो । त्यहीँ रूपमा बुझ्नु भए हुन्छ । मैले विश्वासको मत लिँदा एजेण्डा प्रस्तुत गर्ने सबै स्पष्ट राखी सकेको छु । ती सबै पुरा गर्नुपर्ने हामी सबैको जिम्मेवारी हो’ प्रचण्डले भनाई उद्ढ गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘अहिले माओवादीले न्याय गरेन भन्ने छ । यो परिवर्तनबाट जनताले अनुभूति गर्नेगरी काम भएको छैन । हामीले गरेर दुखाउने चुनौती  छ । यो परिवर्तनलाई संस्थागत गर्नुपर्ने मुख्य दायित्व छ ।’   


यसैगरी प्रचण्डले राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्ने बताएका छन् । प्रचण्डले कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए । 


एमालेको निर्णय
नेकपा एमालेले दुई महिने अभियान चलाउने भएको छ । फागुन र चैत महिनामा एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको हो ।  बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । साथै बैठकले नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ । 
एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ ।

योपनि....
प्रतिनिधि सभाका सांसदहरूले कुनैपनि देशसँग सरकारले सन्धि गर्नुअघि सन्धिमा रहने विषयको मस्यौदा सुरुमै संसदबाट पास गर्नुपर्ने नियम राख्न जोड दिएका छन् ।


साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बगंलादेशसँग पराजित भएको छ । ढाकास्थित विर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बगंलादेशसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन् । बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ ।
जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरघद्धछटछढरचबदष्(बिmष्अजजबलभ
विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पुरा भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गरिने महाधिवेशनको तयारी पुरा भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक १२.४३ अंकले बढ्दै २१ सय ८२.६१ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ७.१३ अंकले घट्दै २१ सय ७०.२१ अंकमा झरेको थियो ।

सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक पदमा बढवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । 


 बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेशको अग्रगतिका लागि योजना तर्जुमा तथा आवश्यक नीति तथा कानुनको निर्माण प्रदेशसभा सफल र सक्षम रहनु पर्ने बताएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभाले समाजमा रहेका बेथिति,  विकृति विसंगतिहरुको अन्त्य गर्नुपर्नेमा जोड दिए । यसै गरी उनले जनताको पक्षमा अविस्मरणीय काम गर्न पनि आह्वान गरे । 


थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप