‘छर्राले तन पोल्छ, जनताको अवस्थाले मन’
दाङ । तत्कालीन शाही सरकारले २०६२ माघ २६ गते साविक त्रिभुवन नगरपालिका घोराहीको नगर निर्वाचनको घोषणा गरेको थियो । गणतन्त्र स्थापनार्थ आन्दोलन दाङमा चर्किँदै गर्दा सोही दिन उमेशचन्द्र थापाले मृत्युवरण गरेका थिए । बिहीबार सहिद थापाको सम्झनामा औपचारिक कार्यक्रम गरी मनाइएको छ ।
सोही घटनामा संलग्न जनआन्दोलन २०६२/०६३ का घाइते कृष्ण गिरी उक्त दुःखद दिन सम्झिन्छन्, ‘७ राजनीतिक दलले उक्त नगर निर्वाचन बहिष्कार गरी जनआन्दोलनमा होमिएका थिए । माघ २६ गते आन्दोलनको तयारीका लागि म घरबाट निस्किएँ । तयारी बैठक सकियो । दिउँसो १२ आन्दोलनकारी दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेको थियो । प्रहरीले आन्दोलनकारी माथि हमला ग-यो ।’
उनका अनुसार बमबहादुर डिसी, अनिता देवकोटा, देवी पोख्रेल, जितेन्द्रमान नेपाली लगायतका प्रहरीको हमलामा घाइते भए । ‘हामी भागेर सुपर लज होटेल नजिक पुग्यौं । माथिबाट नेपाली सेनाको दुईवटा गाडी आयो । सेनाका कमाण्डरले ठोक भन्यो ।’
‘आदेशपछि गोलीको वर्षा सुरु भयो । उमेशचन्द्र थापालाई ड्याम्म गोली लाग्यो, उनी त्यही ढले । मलाई ३ राउन्ड गोली लाग्यो, दुई गोली खुट्टा र एक गोली कोखामा लाग्यो । म पनि त्यही ढले,’ गिरीले भने ।
‘उमेश कमरेडले त्यही प्राण त्यागिसकेका रहेछन् । म बेहोस भएछु । जनआन्दोलनको गोली शरीरमा बोकेर अहिले बाँचिरहेको छु । आजकै दिन म गणतन्त्र स्थापना गर्ने जनआन्दोलन गोली काण्ड सम्झिरहेको छु ।’ घाइते गिरीले सुस्केरा हाल्दै सुनाउँछन् ।
व्यवस्था परिवर्तनको आन्दोलन सार्थकता पायो । तर जसका लागि आन्दोलन भएको थियो । उनीहरूको अवस्था परिवर्तन नहुँदा आन्दोलनले अझै सार्थकता नपाएको उनलाई लाग्छ । गिरीले भने–‘उक्त घटनापछि ०६२ माघ २६ गते दाङमा कर्फ्यु लागेको थियो । सेनाका गाडी बजार परिक्रममा गरिरहेका थिए । उता शाही सरकारले नगर निर्वाचनको गरिरहेको थियो ।’
‘छर्राले मन पोल्छ, जनताको अवस्थाले मन’
‘व्यवस्था परिवर्तनको आन्दोलनमा राजा शासन फालेर गरिब, निमुखा जनताले के पाए ? उही गणतन्त्र भन्ने मात्रै भयो । खै अझै जनताको शासन व्यवस्था आएको छैन ।’ गिरीले दुःखेसो पोखे–‘हिजोका त्यो आन्दोलन जनताको शासन व्यवस्था लागु हुने, जनताको जीवनस्तर फेरिन कुराले हौस्याएको थियो । तर केही परिवर्तन देखिएन ।’
मुलुकको अवस्था फेरिन नसक्दा गोलीका छर्रा तन र जनताको अवस्थाले मन बेस्सरी पोल्ने गरेको उनी बत्ताउँछन् । उनले भने–‘०६२ माघ २६ गते लागेको गोलीको छर्रा अझै शरीरमा छ । त्यो छर्राले मात्रै होइन, जनताको अवस्थाले अझ मन भतभती पोल्ने गर्छ ।’ व्यवस्था परिवर्तनको महसुस नेताका आसेपासे र सिंहदरबार वरपरका व्यक्तिले मात्रै गर्न पाएको उनको आरोप छ ।
सहिद उमेशचन्द्र थापाकी धर्मपत्नी लक्ष्मी थापाको गुनासो पनि जिउँदो सहिद कृष्ण गिरीको झैँ छ ।
‘त्यो दिन सम्झिदा मन बेस्सरी पोल्छ, जनआन्दोलनका लागि हिँडेका मेरा श्रीमान्लाई अस्पतालको शव गृहमा भेटेकी थिएँ । शरीरभरी गोली लागेको थियो । आज बिहानैदेखि त्यही दिनको सम्झनाले झस्काई रहेको छ ।’ लक्ष्मीले भनिन् ।
‘व्यवस्था परिवर्तनका लागि श्रीमान्को मृत्यु भयो । तर जनताको अवस्था अझै फेरिएन । जनताको यो अवस्थाले मेरा श्रीमान्को सपना अझै पुरा भएको छैन की जस्तो लाग्छ ।’ लक्ष्मीले अगाडी भनिन्–‘मेरा श्रीमान् मरे, व्यवस्था आयो तर जनताको अवस्था उही छ ।’
राज्यले उमेशलाई सहिद घोषणा ग¥यो । तर उनको आत्माले अझै सन्तोष पाएको छैन जस्तो लाग्छ लक्ष्मीलाई । उनले भनिन–‘हिजो राजाको शासनमा देश चल्यो । आज नेताको आसन र काशनमा चलेको छ । फरक यही नै हो ।’