शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

मार्क्सवादी लेखन के हो ?

बिहीबार, २६ माघ २०७९, १५ : ३०
बिहीबार, २६ माघ २०७९

साहित्यिक वा अन्य प्रकारको लेखनमा कुनै न कुनै प्रकारको विचार हुन्छ, वर्गीय पक्षधरता हुन्छ । लेखकले आफू बाँचेको परिवेश, उसको शिक्षा, उसको सोचाइ, बुझाइ आदिलाई आफ्नो लेखनमा प्रस्तुत गर्छ । लेखकको सोच, चाहना, विचारबाट उसको लेखन पूरापूर निर्देशित हुने हुनाले सबै लेखन, सबैका लागि उपयोगी हुँदैनन् ।

हरेक लेखनले विकृति, विसङ्गति, विभेद, शोषण, अन्यायको विरोध गर्छ भने प्रगति र आशाको सञ्चार गर्छ पनि भनिन्छ । सबै लेखन प्रगतिशील हुन्छन् भन्ने पनि छन् । तर वर्गीय समाजमा मानिसको सोच, विचार पनि स्वतः वर्गीय हुने हुनाले एउटा वर्गको हित गर्ने अर्थ–व्यवस्था, संस्कृति, राजनीति आदिले अर्को वर्गको हित गर्दैन, अहित गर्छ भन्ने विचार मार्क्सवादी मान्यता छ । यही मान्यताका आधारमा कला, साहित्य र सबै खाले लेखन पनि वर्गीय हुन्छ भन्ने मार्क्सवादी चिन्तकको मत छ ।

माक्र्सवाद श्रमजीवी वर्गको हित गर्ने सिद्धान्त हो । त्यसैले कला, साहित्य र हरेक लेखनमा पनि श्रमजीवी वर्गको हित हुने विषय र विचार आउनुपर्छ भन्ने मार्क्सवादी मान्यता छ ।

मार्क्सवादी साहित्यलाई प्रगतिवादी वा समाजवादी यथार्थवादी साहित्य भनिन्छ । यसलाई जनसाहित्य पनि भनेको पाइन्छ । त्यसैले मार्क्सवादी विचारमा आधारित साहित्यिक र गैरसाहित्यिक लेखनलाई ‘जनलेखन’ भन्न सकिन्छ । यहाँ मार्क्सवादी लेखनका बारेमा चर्चा गरिएको छ ।

लेखक र लेखन

सामान्य अर्थमा लेख्ने मान्छे लेखक हो । साक्षर व्यक्तिले केही न केही लेखेको हुन्छ, लेख्छ । औपचारिक रूपमा शिक्षा आर्जन गर्ने मान्छेले त झन् नलेखी हुँदै हुँदैन । लेखनको ढाँचा, विषय, शैलीअनुसार लेखकका अनेक प्रकार छन् । सामान्यतः लेखकलाई साहित्यिक वा सिर्जनशील , प्रदर्शनकारी, व्याख्यात्मक र प्राज्ञिक, रिपोर्ताज र व्यवहारोपोगी गरी वर्गीकरण गरिएको पाइन्छ ।

साहित्यिक वा सिर्जनशील लेखक कवि, कथाकार, उपन्यासकार, व्यङ्ग्यकार, निबन्धकार आदि हुन् । प्रदर्शनकारी लेखकअन्तर्गत गीतकार, नाटकार, पटकथा लेखक, भाषण लेखक, स्क्रिन राइटर, स्पिचराइटर आदिलाई लिन सकिन्छ । व्याख्यात्मक र प्राज्ञिक लेखक भन्नाले जीवनी लेखक, समालोचक, सम्पादक, विश्वकोश, ज्ञानकोशको लेखक, शब्दकोश लेखक, प्रबन्धकार, इतिहासकार, अनुसन्धाता, अनुवादक, राजनीति, अर्थशास्त्र, विज्ञान, पर्यावरण, संस्कृति, भूगोल, समाजशास्त्र आदि विषयका व्याख्याता, अनुसन्धता आदिलाई बुझिन्छ ।

पछिल्लो समयमा रिपोतार्ज लेखन निकै लोकप्रिय बन्दै गएको छ । रिपार्ताजको व्यापक परिभाषाभित्र ब्लग लेखक, स्तम्भकार, डायरी लेखक, पत्रकार, संस्मरण लेखक पनि पर्छन् । तर पछिल्लो समयमा रिपोर्ताज लेखक स्वयं पनि समभागी भएको कुनै घटना विशेष, पात्रविशेषको यथार्थ र लेखकको अनुभूति समेतको मिश्रण भएको लेखनका रूपमा स्थापित भएको देखिन्छ । व्यवहारोपोगी लेखक व्यवहारमा आधारित विषय, प्रविधिमा आधारित भएर लेख्ने लेखक भनेर बुझ्न सकिन्छ ।

यसरी हेर्दा साहित्यकार, प्राध्यापक, शिक्षक, पत्रकार, वकिल, कर्मचारीदेखि विद्यार्थी समेत लेखक हुन् । सामान्यतः हामी साहित्यकार र ज्ञानविज्ञानका विविध विषयमा फुटकर लेख र किताब लेख्ने व्यक्तिलाई लेखक भनेर बुझ्छौँ । यहाँ वकालत, प्रशासनिक र शैक्षिक विषयमा आधारित लेखनलाई छाडेर साहित्यिक तथा बौद्धिक (ज्ञानात्मक) लेखनका सन्दर्भमा माक्र्सवादको विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

मार्क्सवादी दर्शन र लेखन

साहित्यिक लेखन बारेको चिन्तन धेरै अघिदेखि भएको पाइन्छ । पूर्वमा भरतमुनि (इसापूर्व पहिलो शताब्दी) र पश्चिममा खासगरी प्लेटो (४२७–३४७ ईपू) बाट कला सम्बन्धी चिन्तनको सुरुआत भएको पाइन्छ । प्लेटोले साहित्य कलालाई नीतिशास्त्रका रूपमा चर्चा गरे ।

प्लेटोको विचारमा टेकेर उनका शिष्य एरिस्टोटल (३८४–३२२ ईपू) ले अनुकरण र विरेचन जस्ता महत्त्वपूर्ण सिद्धान्त प्रतिपादन गरे । उनले कलालाई प्रकृतिको सिर्जनात्मक अनुकरणका रूपमा व्याख्या गरे । होरेस (ईपू ६५–५), प्लोटिनस (ई. २०५– २७०), सेन्ट अगस्टाइन (ई. ३५३–४३०) आदि चिन्तकले साहित्यमा सत्यं, शिवम् र सुन्दरम्का साथै नीति सापेक्षताको वकालत गरे । युरोपेली पुनर्जागरण सँगै बुद्धिवादको विकास भयो । देकार्तो (इ.१५९६– १६५०) ले साहित्य कलाको आनन्दलाई बौद्धिक आनन्दका रूपमा व्याख्या गरे । बुद्धिवादी चिन्तकहरूका विपरीत अनुभववादी चिन्तकहरूले साहित्य कलालाई कल्पनाको सुखका रूपमा व्याख्या गरे ।

यिनै पृष्ठभूमिमा १८औँ शताब्दीमा कला–साहित्यको सौन्दर्य दर्शन अथवा सौन्दर्यशास्त्रको अवधारणाको जन्म हुन पुग्यो । अंग्रेजीमा सौन्दर्यशास्त्रलाई एस्थेटिक्स भनिन्छ । यो शब्दको प्रयोग सर्वप्रथम अलेक्जेन्डर बाउमगार्टेन (इ. १७१४– १७६२) बाट भएको हो । यसलाई आधुनिक अर्थमा प्रतिस्थापित गर्ने काम भने हेगेल (ई. १७७०–१८३१) बाट भएको मानिन्छ । हेगेलले सौन्दर्यशास्त्रलाई सम्पूर्ण कलाको दर्शनका रूपमा स्थापित गरे । त्यसैले उनलाई आधुनिक सौन्दर्यशास्त्रका जन्मदाता पनि भनिन्छ ।

सौन्दर्यशास्त्रलाई कला साहित्य विशेषको अलग्गै शास्त्रका रूपमा स्थापित गर्ने काममा क्रोचे (इ. १८६६ – १९५२) को महत्त्वपूर्ण योगदान रहेको छ । क्रोचेले अभिव्यञ्जनावाद सिद्धान्तको प्रतिपादन गरे । उनको सिद्धान्त अनुसार मूल कला मानिसको मनमा अभिव्यञ्जित हुन्छ र स्रष्टाको मनमा जन्मिएको वास्तविक कलालाई भाषा, रङ आदिका माध्यमबाट प्रकट गर्नु कलाको बाह्य प्रकटीकरण मात्र हो ।

१९औँ शताब्दीको अन्त्यतिर नीतिवादी सिद्धान्तको विरोध गर्दै कला कलाका लागि भन्ने सिद्धान्त जन्मियो । यसले कला साहित्यको सौन्दर्य त्यसको रूप पक्षमा हुन्छ भन्ने मान्यता अगाडि सा¥यो । माक्र्सवादको उदयसँगै कला साहित्य चिन्तनमा ठुलो परिवर्तन आयो । मार्क्सवादी चिन्तकले साहित्यमा अन्तर्वस्तु (भाव पक्ष) र रूप गरी दुई पक्ष हुन्छन्, त्यसमा अन्तर्वस्तु प्रधान हुन्छ, यद्यपि रूप पक्षको पनि महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने मान्यता स्थापित गरे । यसरी मार्क्सवादी आएपछि कला साहित्य र सौन्दर्य चेत पनि सापेक्ष हुन्छ, यो समाजभन्दा भिन्न हुन सक्तैन भन्ने मान्यता स्थापित भयो ।

माक्र्सवादको उदयसँगै कुनै वस्तु जन्मजात सुन्दर हुन्छ वा ईश्वरले नै उसलाई सुन्दर बनाइदिएको हुन्छ अनि सुन्दर भन्ने कुरा स्थिर, सार्वभौम र निरपेक्ष कुरा हो भन्ने पुरानो मान्यतामाथि प्रश्न खडा भयो । माक्र्सवादले सौन्दर्यलाई गतिशील, परिवर्तनशील र सापेक्ष हुन्छ भन्ने मान्छ । यसले मान्छेका श्रम प्रक्रियालाई सौन्दर्य मूल्यसँग जोड्नुपर्छ भन्छ । माक्र्सवादका अनुसार श्रममा सौन्दर्य हुन्छ, श्रमले मान्छेका सौन्दर्यात्मक आवश्यकताको परिपूर्ति गर्छ । यस अनुसार मान्छे एक सक्रिय कर्ता हो, उसले आफ्ना सारा बाधा बन्धन तोड्न सक्छ र स्वतन्त्र हुन सक्छ । त्यही कर्ता हुन सक्ने, बाधा बन्धन तोड्न सक्ने गुण र क्रिया नै सुन्दर हुन्छ भन्ने मार्क्सवादी मान्यता रहेको छ । माक्र्सवादले सबै प्रकारका उत्पीडन र विभेदको अन्त्य हुनु र सदैव अगाडितिर अग्रसर भइरहनु नै सौन्दर्य हो भन्छ र कला साहित्यमा त्यही कुराको अपेक्षा राख्छ ।

माक्र्सवादका अनुसार कला साहित्यको मूल्य वर्गीय उपयोगिता र अनुभूतिका आधारमा नै निर्धारण हुन्छ । जनताको स्वतन्त्रता र मुक्तिसँग जोडिएको साहित्य, कला नै मूल्यवान् हुन्छ र त्यही साहित्य कला नै सुन्दर हुन्छ भन्ने मान्छन् । मार्क्सवादी कला साहित्यमा जीवनका वास्तविकता, संघर्ष, परिवर्तनको सही बोध र विश्लेषणका साथै श्रमजीवी वर्गीय पक्षधरताको अपेक्षा गरिन्छ । गतिशील यथार्थ, वर्ग संघर्ष र श्रमजीवी वर्गीय पक्षधरता मार्क्सवादी लेखनका आधारभूत पक्ष हुन् । जीवन र समाजलाई जड नभएर निरन्तर परिवर्तनशील मान्ने, यस्तो परिवर्तनको कारण वर्गसंघर्षलाई मान्ने र त्यस संघर्षमा श्रमजीवी वर्गको पक्ष लिने काम मार्क्सवादी लेखनको आधारभूत मूलभूत विषय हुन् ।

मार्क्सवादी लेखनका मुख्य विशेषतालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ः

गतिशील यथार्थको प्रकटीकरण

द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादको आधारभूत मान्यता हो । भौतिकवाद भनेको देखिने, पुष्टि हुन सक्ने वा संसारमा भएको वस्तु मात्र सही हो भन्ने मान्यता हो । भौतिकवाद अध्यात्मवादको विरोधी छ । अध्यात्मवादले यो संसार आत्मा वा ईश्वरद्वारा सञ्चालित छ भन्ने मान्छ तर भौतिकवादी मान्यताले यो संसारको सञ्चालन कुनै अदृश्य वस्तु वा ईश्वरबाट नभई यही भौतिकवस्तुभित्रकै नियमद्वारा हुन्छ भन्ने मान्छ ।

माक्र्सवादले यान्त्रिक भौैतिकवाद मान्दैन, द्वन्द्वात्मक भौतिकवाद मान्दछ । द्वन्द्वात्मक भनेको दुई पक्षका बिचमा हुने टकरावको स्थिति हो । माक्र्सवादका अनुसार हरेक वस्तुमा दुई विपरीत गुण हुन्छ, तिनमा अन्तर्विरोध हुन्छ । ती विपरीत पक्षका बिचमा द्वन्द्व भइरहन्छ र त्यसले मात्रात्मक परिवर्तन गर्दै अन्ततः गुणात्मक परिवर्तन गर्दछ । गुणात्मक परिवर्तनपछि नयाँ अवस्थाको विकास हुन्छ, नयाँ वस्तु जन्मिन्छ । यो निरन्तर चली रहने प्रक्रिया हो । विकास वा परिवर्तनको यही नियमलाई माक्र्सवादले द्वन्द्वात्मक भौतिकवाद भनेको छ र यही नियमका आधारमा मार्क्सवादी लेखनले यथार्थलाई स्थिर वा जड नमानी गतिशील हुन्छ भन्ने मान्छ ।

माक्र्सवादले द्वन्द्वात्मक भौतिकवादको नियम समाज विकासको प्रक्रियामा पनि लागु हुने मान्दछ । समाज विकासको द्वन्द्वात्मक भौतिकवादी नियमलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । यसले आर्थिक पक्षलाई आधार र राजनीति, संस्कृति, साहित्य, कला, न्याय, धर्म आदिलाई उपरीसंरचना वा माथिल्ला बनोट मान्दछ । सामान्यतः आधार (अर्थ व्यवस्था) को चरित्र अनुसार उपरीसंरचना (साहित्य, राजनीति, धर्म, संस्कृति आदि) को निर्माण हुन्छ तर आधार र उपरीसंरचनाका बिचमा पनि द्वन्द्ववादको नियम लागु हुन्छ ।

उपरीसंरचनाले पनि आधारलाई परिवर्तन गर्न खोजिरहेको हुन्छ । मुख्य कुरा आधार हो अर्थात् आर्थिक पक्ष हो तर कतिपय अवस्थामा उपरीसंरचनाले पनि आधारलाई परिवर्तन गरिदिन्छन् । त्यतिमात्र होइन, उपरीसंरचनाका पक्षहरू बिचमा पनि द्वन्द्ववादी नियम लागु हुन्छ । राजनीतिले धर्मलाई, धर्मले राजनीतिलाई, साहित्यले राजनीतिलाई, राजनीतिले साहित्यलाई त्यस्तै धर्मले साहित्यलाई, संस्कृतिले साहित्यलाई, पर्यावरणले साहित्यलाई प्रभाव पारिरहेको हुन्छ ।

यसरी हेर्दा समाजको चरित्र स्थिर नभएर गतिशील हुन्छ, परिवर्तनशील हुन्छ । त्यसैले मार्क्सवादी लेखनमा गतिशील यथार्थको प्रकटीकरणलाई पहिलो सर्त मानिन्छ । लेखनले चित्रण गर्ने समाज, जीवन, राजनीति, संस्कार, संस्कृति, मनोविज्ञान, प्रेम आदिलाई पनि गतिशीलतामा हेर्नु पर्छ, स्थिर वा जडमा हेर्नु हुँदैन । कुनै वस्तु हिजो जे जस्तो थियो, आज त्यस्तै छैन र भोलि त्यस्तै रहँदैन, निरन्तर परिवर्तनमा रहन्छ । यसर्थ लेखनले चित्रण गर्ने यथार्थ गतिशील हुनुपर्छ, परिवर्तनशील हुनुपर्छ । यो मार्क्सवादी लेखनको मूलभूत विशेषता हो । 

उत्पीडनको विरोध र श्रमजीवी पक्षधरता

मार्क्सवादी लेखनले श्रमजीवी वर्गको पक्षपोषण गर्दछ । माक्र्सवादले समाज विकासको इतिहासलाई वर्ग संघर्षको इतिहास मान्दछ । मानव उत्पत्तिदेखि अहिलेसम्म आउँदा मानव समाजको विकास जे जसरी भएको छ, त्यो वर्गसंघर्षबाट अगाडि बढेको छ र वर्गीय शोषण रहँदासम्म वर्ग संघर्ष जारी रहन्छ । माक्र्सवादले मानव समाजमा रहको यस्तो वर्गीय विभेदको अन्त्य चाहन्छ र वर्गविहीन समाजको परिकल्पना गरेको छ । त्यसैले मार्क्सवादी लेखनले सबै प्रकारका उत्पीडन, शोषण, अन्याय, अत्याचार, विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वास आदिको विरोध गर्दछ र समानता, न्याय, प्रगतिको पृष्ठपोषण गर्दछ ।

‘संसारका मजदुरहरू (श्रमजीवी वर्ग) एक हौँ’ भन्ने माक्र्सवादको मूल नारा हो । यसैले मार्क्सवादी लेखनले सदैव श्रमजीवी वर्गको हित चिताउँछ, यसको पक्ष दिन्छ । आदर्शवादी साहित्यमा ‘सर्वजन हिताय’ अथवा सबैको हित हुने कुरा गरिन्छ । तर समाज वर्गीय हुने हुनाले सबैको हित होस् भन्नुको अर्थ धनी, टाठाबाठाको मात्र हित होस् भन्नु हो । त्यसैले माक्र्सवादले ‘बहुजन हिताय’ को मान्यता अनुसार बहुसंख्यक जनताको हित अर्थात् श्रमजीवी वर्गको हित चाहन्छ, शोषक, बदमास, फटाहहरूका विरुद्ध मजदुर, किसान लगायतका श्रममा रमाउने, श्रममा बाँच्ने वर्गको हित नै माक्र्सवादको लक्ष्य रहको छ र त्यही अनुसारको लेखन मार्क्सवादी लेखनको अभीष्ट हुनुपर्छ ।

मार्क्सवादी मान्यता अनुसार लेखक, कलाकार तथा साहित्यकारहरू जिम्मेवार हुनुपर्छ र त्यो जिम्मेवारी प्रतिबद्धताका रूपमा आउनु पर्छ । लेखकको प्रतिबद्धता र स्वतन्त्रताका बारेमा निकै बहस भएको पाइन्छ । जनताको लेखक कम्युनिस्ट पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने मत पनि जबर्जस्त रूपमा आएको पाइन्छ । त्यसैले प्रतिबद्धतालाई वर्गीय प्रतिबद्धता, विचारधारात्मक प्रतिबद्धता, राजनीतिक प्रतिबद्धता र साङ्गठनिक प्रतिबद्धता गरी वर्गीकरण गरिएको पाइन्छ । यस्तो प्रतिबद्धताले शोषण, दमन, उत्पीडनका विरुद्ध विचार अभिव्यक्तिको अधिकार विनाको लेखकले आम जनसमुदायको, सर्वहारा वर्गको मुक्ति र वर्ग सङ्घर्षको हित गर्ने लेखन लेख्न वा सिर्जना गर्न सक्तैन । त्यसैले लेखकलाई विषयवस्तु, कल्पना, भावना, बिम्ब, शैली आदि कुराको छनोट र सिर्जनामा स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता छ ।

यसरी हेर्दा मार्क्सवादी लेखक माक्र्सवादको मूल दर्शनबाट विचलित हुनुहुँदैन । तर कुनै नेता, गुट, व्यक्तिगत प्रशंसा, भजनप्रतिको प्रतिबद्धता होइन, श्रमजीवी वर्गप्रतिको परिवर्तनप्रतिको प्रक्षधरता र प्रतिबद्धता आवश्यक हुन्छ ।

उद्देश्यमूलक लेखन

एकथरी साहित्य चिन्तकहरू ‘स्वान्त सुखाय’ वा आनन्दका लागि साहित्य लेखिन्छ भन्छन् । माक्र्सवादले साहित्यबाट मनोरञ्जन प्राप्त हुने कुरालाई स्वीकार गर्दछ तर साहित्य आनन्दको साधन मात्र नभएर, परिवर्तनको वाहक पनि हो, चेतनाको वाहक पनि हो अनि श्रमजीवी वर्गीय मुक्तिको उत्प्रेरक पनि हो भन्ने मान्दछ । माक्र्सवादले साहित्यलाई बौद्धिक विलासका रूपमा मात्र लिनु हुँदैन भन्दै यसलाई उद्देश्यमूलक लेखनका रूपमा लिन्छ । यसले कला साहित्यलाई समाज रूपान्तरणको एक महत्त्वपूर्ण हतियारका रूपमा लिन्छन् । मार्क्सवादीहरू कला साहित्य र हरेक प्रकार लेखनको स्रोत मानिसको सङ्घर्ष र श्रमलाई मान्छन् । लेखन आफैंमा आफ्नो वर्गको हितका लागि हुन्छ भन्ने मार्क्सवादी मान्यता देखिन्छ । यो कुरा माथि पनि लेखिसकिएको छ ।

प्रगति र आशाको सञ्चार

विसंगतिवादी दार्शनिकहरू जीवनलाई विसंगतिमूलक एवम् निरासाको पुञ्ज मान्छन् । एकथरी मनोवैज्ञानिकहरू जीवनलाई यौनकुण्ठा, असफलातको कुण्ठाहरूको पुञ्ज मान्छन् । त्यस्ता दार्शनिकहरूका प्रभावमा साहित्य र अन्य प्रकारको लेखन पनि निरासा र कुण्ठाको प्रलापका रूपमा आउने गरेको पाइन्छ । यसका विपरीत माक्र्सवादले साहित्यलाई आशा र प्रगतिको वाहक मान्छ । साहित्यले स्रष्टा र पाठक दुवैलाई आशावादी तुल्याउनुपर्छ र साहित्यलाई निराशा र कुण्ठा प्रकट गर्ने साधन मात्र बनाइनु हुँदैन भन्ने मार्क्सवादी मान्यता छ । अन्य प्रकारको लेखनमा पनि यही कुरा लागु हुन्छ ।

विचार र कलाको समायोजन

यो विषय मूलतः साहित्यका हकमा लागु हुन्छ । ‘कला कलाका लागि’ (साहित्य साहित्यका लागि) भन्ने कलावादी दार्शनिकहरू साहित्यमा कलात्मकता अथवा सुन्दर तरिकाले भन्नु नै सबै थोक हो भन्ने मान्दछन् । तर प्रगतिवादले सुन्दर तरिकाले भन्नु त पर्छ नै तर भनिएको कुरा पनि उत्तिकै सुन्दर हुनुपर्छ भन्ने मान्यता राख्दछ । प्रगतिवादी साहित्यिक चिन्तकहरूले साहित्यको रूप र अन्तर्वस्तुमा कुन मुख्य हुन् भनेर बहस गरेका छन् र यी दुवैको द्वन्द्वात्मक सम्बन्ध हुने निष्कर्षमा पुगेका छन् ।

रूप वा कला पक्ष सुन्दर भयो तर अन्तर्वस्तु कमजोर भयो त्यो साहित्य शक्तिशाली हुँदैन र त्यसैगरी अन्तर्वस्तु सशक्त भए पनि रूप वा कला पक्ष कमजोर भयो भने पनि रचना प्रभावशाली हुँदैन । साहित्यमा प्रकट हुने सन्देश, विचार वा भाव जतिसुकै सुन्दर भए पनि त्यसलाई सुन्दर तरिकाले भन्न सकिएन भने त्यो सन्देश वा विचारले पाठकलाई आकर्षित गर्न सक्तैन । मार्क्सवादीहरू वस्तुमा रहने अन्तर्विरोधहरूलाई मुख्य र सहायक गरी वर्गीकरण गर्दछन् ।

यसरी वर्गीकरण गर्दा अन्तर्वस्तु प्रधान र रूप सहायक हुने देखिन्छ । भन्नुको अर्थ साहित्यमा विचार मुख्य हो अनि त्यो विचारको वाहकका रूपमा कला पनि नभई हुँदैन । विचारलाई कलात्मक तरिकाले भन्दा मात्र त्यो साहित्य हुन्छ, अन्यथा त्यो साहित्य नभएर नारा हुन जान्छ । साहित्य भनेकै भाषिक कला हो, अभिव्यक्तिको सुन्दर तरिका हो, विशिष्ट तरिका हो । यसर्थ विचार वा भन्न खोजिएको कुरा प्रमुख हुँदाहुँदै पनि आकर्षक ढङ्गले, सुन्दर तरिकाले, पाठक वा भावकको मन छुने र उसलाई प्रभाव पार्ने तरिकाले भन्न सक्नु पर्दछ । यसरी विचार र कलाको उचित समायोजनबाट मात्र साहित्य सुन्दर बन्दछ, उत्कृष्ट बन्दछ ।

नेपालमा मार्क्सवादी लेखन

नेपालीमा साहित्यिक लेखनका क्षेत्रमा मार्क्सवादी कोणबाट धेरै बहस, छलफल र लेखनको अभ्यास भएको छ । नेपालका हरेक कम्युनिस्ट पार्टीका जनसांस्कृतिक संघ र महासंघ छन् । जनसांस्कतिक महासंघको अवधारणाभित्र साहित्यलाई संस्कृतिकै एउटा अभिन्न अवयव मानेको देखिन्छ । त्यही मान्यताका आधारमा महासंघभित्र लेखक संघ, जनकलाकार, ललितकला, समाजशास्त्र, लोकवार्ता, चलचित्र, नाट्य जस्ता विधाका विभाग पनि छन् ।

त्यसरी नै सबै वामविचारका लेखकको साझा संस्था प्रगतिशील लेखक संघ पनि छ । त्यसरी नै लेखकसँग कुनै कुनै रूपमा जोडिएका पत्रकार, प्राध्यापक, बुद्धिजीवी जस्ता संगठन पनि छन् । गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, भूपी शेरचन, पारिजात, रमेश विकल, श्यामप्रसाद शर्मा, कृष्ण सेन इच्छुक, खगेन्द्र सङ्ग्रौला लगायतका थुप्रै स्रष्टाहरू मार्क्सवादी धारबाट लेखेरै स्थापित भएका छन्, गोविन्द भट्ट, मोहन वैद्य, ऋषिराज बराल, निनु चापागाईं, घनश्याम ढकाल लगायतका थुप्रै समालोचकहरू मार्क्सवादी सौन्दर्यचिन्तकका रूपमा स्थापित भएका छन् ।

यति हुँदाहुँदा पनि सिङ्गो नेपाली साहित्यमा मार्क्सवादी धार जति सबल र प्रभावकारी हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । पछिल्लो समयमा सैद्धान्तिक तथा वैचारिक पक्ष फितलो बन्दै गएको छ । नेपाली जनताका राजनीतिक परिवर्तनका लागि गरेको संघर्ष र बलिदानको यथार्थलाई साहित्यमा सही तरिकाले प्रतिबिम्बन गर्ने कुरामा मार्क्सवादी लेखकहरू चुकेका छन् । जसरी रुस र चीनका क्रान्तिका पृष्ठभूमिमा जन्मिएका मार्क्सवादी साहित्यले संसारभर प्रभाव जमाएका छन्, तर नेपाली क्रान्ति र बलिदानको साहित्य हामीले लेख्नै सकेका छैनौँ ।

साहित्येतर क्षेत्रको मार्क्सवादी लेखनको अवस्था त अझै के हो, कसो हो भन्नुपर्ने अवस्थामा छ । पहिले कम्युनिस्ट नेताहरूले राजनीतिलाई जत्तिकै लेखनलाई पनि उत्तिकै महत्त्व दिन्थे । पुष्पलाल, मोहनविक्रम सिंह, मोहन वैद्य, कृष्णदास श्रेष्ठहरूदेखि लिएर प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, नारायणमान बिजुक्छेहरूले राजनीतिका साथै र लेखनलाई उत्तिर्कै महत्त्व दिएका थिए । तर अहिले नेताहरूको रुचि यतातिरबाट पूरै हटेजस्तो अवस्था छ ।

साहित्य क्षेत्रबाट धेरथोर लेखिनेबाहेक नेपालको अर्थतन्त्र, समाज व्यवस्था, राजनीति, संस्कृति, पर्यावरण, वैदेशिक सम्बन्ध जस्ता विषयमा मार्क्सवादी धारबाट लेख्नेहरू को होलान् भनेर खोज्नुपर्ने अवस्था भएको छ । नेपाली इतिहासमा कम्युनिस्टका नाममा सबैभन्दा बढी भोट पाएर एकलौटी सरकार बनाइरहेको र सरकारबाहेक सडकमा पनि कम्युनिस्ट पार्टीको हस्तक्षेपकारी उपस्थिति भइरहेको अवस्थामा मार्क्सवादी लेखनको धार भने झन्झन् भुत्ते हुँदै गएको अवस्था छ ।

कम्युनिस्ट पार्टी नेतृत्व रहेको, संविधानमा समाजवाद उन्मुख व्यवस्थाको परिकल्पना गरिएको र गैरकम्युनिस्टहरू पनि समाजवादतिर जाने कुरामा सैद्धान्तिक रूपमा सहमत भएको अहिलेको अवस्थामा मार्क्सवादी लेखनले समग्र लेखनको नेतृत्व गर्नुपथ्र्यो तर यो हिजोको भन्दा कमजोर भएको छ । कम्युनिस्ट पार्टीलाई भोट दिने लेखकहरू लेख्ने विषय नभेटेजस्तो अवस्थामा देखिन्छन् । हामीले सम्बोधन गर्नुपर्ने, प्रस्ट्याउनुपर्ने, सुल्ट्याउनुपर्ने धेरै कुरा छन् तर हामीले त्यतातिर चासो दिन सकेका छैनौँ ।

हिजो हामीले नारा लाउँदा हुन्थ्यो, हामीले गणतन्त्र, संघीयता, पहिचान, नौलो जनवाद, समाजवाद, जनवादी शिक्षा, आर्थिक संवृद्धि, राष्ट्रिय स्वाधीनता, स्वाधीन अर्थतन्त्र, आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रिय पुँजीको विकास, वर्गीय, लैङ्गिक, जातीय, क्षेत्रीय विभेदको अन्त्य, अन्तर्राष्ट्रवाद आदिका सपना लेख्यौँ । अब ती सपनालाई आफैँले कर्यान्वयन गर्ने अवस्थामा हामी छौँ, तर यो चरणमा आएर हामीले लेख्न छोड्यौँ । जनवादी शिक्षाको सपना लेख्ने आधा दर्जन लेखकहरू शिक्षा मन्त्री भइसके, हाम्रो शिक्षा प्रणाली झन्झन् व्यापारीकरण हुँदै गयो । विद्रोह जनताको अधिकार हो भनेर लेख्नेहरू मन्त्री र प्रधानमन्त्री भइसकेपछि कार्यकर्तालाई लेख्छौँ मेरो भजन लेख नत्र नलेख भन्ने अवस्थामा बदलिइरहेको अवस्थाबाट हामी गुज्रिरहेका छन् । यो चिन्ताको विषय हो । त्यसैले हामीले मार्क्सवादी लेखनलाई फेरि जगाउनुपर्ने भएको छ । 

निष्कर्ष 

मार्क्सवादी लेखन श्रमजीवी वर्गको पक्षमा लेखिन्छ । द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष, संसारका श्रमजीवीहरू एक हौ भन्ने माक्र्सवादका आधारभूत प्रस्तावनामा टेकेर लेअिने लेखन मार्क्सवादी लेखन हो । मार्क्सवादी लेखनमा वस्तु यथार्थमा आधारित गतिशील यथार्थको चित्रणमा जोड दिइन्छ । व्यक्तिगत कुण्ठा, निरासा, चाकडी, नियुक्ति, भजनको लेखन मार्क्सवादी हुन सक्तैन ।

यथास्थितिमा रहेका शोषण, उत्पीडन, विभेद, असमानता, अन्याय, अन्धविश्वास आदिको विरोध गर्दै तिनको अन्त्य हुनुपर्छ भन्ने मान्यता मार्क्सवादी लेखनको मूल कुरा हो । सामूहिक चिन्तन, श्रमजीवी वर्गको हित, सबै प्रकारका उत्पीडनबाट मुक्ति, समानता, र प्रगतिको पक्षपोषणका लागि लेखन नै मार्क्सवादी लेखन हो । यतिवेला नेपालीमा मार्क्सवादी लेखन अल्मलिएको अवस्थामा छ । यतातिर लेखकहरूको ध्यान जान आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. धनप्रसाद सुवेदी
डा. धनप्रसाद सुवेदी
लेखकबाट थप