सुदूरपश्चिम प्रदेशसभाको बैठक चौथोपटक सारियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार चौथौंपटक सरेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आज १ बजे आह्वान गरिएको बैठक पुनः सारिन लागिएको हो । नागरिक उन्मुक्ति पार्टीकै समर्थनमा मुख्यमन्त्री बनेका उनलाई आफूहरूको माग मुद्दा सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडानमा बसेपछि बैठक सारिँदै आइएको छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिन सुरुमा बुधवार ११ बजे बैठक आह्वान गरिएको थियो ।
विश्वासको मत लिन वातावरण नबनेपछि २ घण्टा पछाडि १ बजे बस्ने गरी सारियो । त्यसपछि बस्न नसकेपछि आज १ बजेको लागि बैठक आह्वान गरियो । आज १ बजेको समयमा पनि बैठक बस्न नसकेपछि साँझ ४ बजेसम्मको लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जनाए । नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य हाल काठमाडौँमै रहेका छन् । उनीहरुले आफूहरूले उठाउँदै आएको रेसम चौधरीसहित टीकापुर राजबन्दी रिहाइ नभएसम्म विश्वासको मत नदिने बताएका छन् ।
पटक–पटक बैठक सार्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एकीकृत समाजवादीले विरोध समेत जनाउँदै आएका छन् । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले भने, ‘विश्वासको मत दिने वातावरण अझै बनेको छैन । कारागारको ढोका खुलेपछि मात्रै सरकार ढोका खुला हुनेवाला छैन ।’
आज ४ बजे बैठक बस्ने नसकेको अवस्थामा मुख्यमन्त्री रावलको राजीनामा आउन सक्ने बताइएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, १२ वर्षीय छोरा घाइते
-
स्वास्थ्य मन्त्रालयद्वारा डा. क्षेत्रीलाई सेवाबाट हटाउने तयारी
-
सुदूरपश्चिममा माओवादी दलभित्रको विवाद समाधान गर्न सांसदहरू जुटे
-
सीप अनुसारको रोजगारी नहुँदा बिदेसिँदै युवा
-
संघर्षबाट खारिएका शेरको देशका लागि विश्वकप जित्ने सपना
-
अफिसमा बसेर फिट रहन गर्नुहोस् यी ५ वटा साना गतिविधि