टर्की : भूकम्पबाट बाँचे तर खुला आकाश मुनी ठिहिर्याउने चिसोमा कसरी बसिरहेका छन् मानिस ?
सूर्योदय अघि, हड्डी नै जमाउने खालको चिसोका बीच हामी टर्कीको अडाना सहरमा भूकम्पले ढलेको १० तले भवन तर्फ निस्कियौँ ।
त्यहाँ मैले भग्नावशेषको थुप्रो बनिसकेको भवनतर्फ जाँदै गरेका दुई महिला भेटेँ ।
उम्मू बेराकटर र नजिफे सहरकै एउटा मस्जिदमा बसिरहेका छन् । यो मस्जिदमा सहरका धेरै मानिसले आश्रय लिइरहेका छन् ।
मस्जिद नजिकै उनीहरूको भत्किसकेका घर छन् । हामी हिँडिरहेकै अवस्थामा उनीहरूसँग कुरा गरिरहेका छौँ । उम्मू आफ्ना एक कजिनलाई खोज्न उनको घर गइरहेकी छिन् ।
हामीसँग हिँडिरहेका एक व्यक्तिले आधा ढलेका भवन नजिकै नजान भनिरहेका थिए । ती व्यक्ति भन्छन्, ‘यी घर जति बेला पनि ढल्न सक्छन् ।’
आँसुका धारा
नजिकैको घरमा दुई जना मानिस भग्नावशेष हटाउने कोसिस गरिरहेका छन् । ६ जनाले भग्नावशेष उठाएर किनारा लगाइरहेका छन् ।
एउटा गल्लीमा भूकम्पबाट बाँचेका मानिसहरूको एउटा समूह कम्बल बेह्रेर प्लास्टिकको कुर्सीमा बसिरहेका छन् । साथै, आगो बलिरहेको छ ।
त्यहाँ नै हामीले नुर्तन भेट्यौँ । उनी ठिहिर्याउने चिसोमा कम्बल ओढिरहेकी छिन् । उनी चुपचाप बसिरहेकी छिन् र उनको आँखामा आँसु थामिएका छैनन् ।
नुर्तनकी छोरी सेनाई घरको दोस्रो तलमा थिइन् । नुर्तन आफ्नी छोरीलाई भेट्न आतुर छिन् । तर अहिलेसम्म उनकी छोरीको केही अत्तोपत्तो छैन ।
नुर्तन रुँदै भन्छिन्, ‘मेरी छोरी यस्तो चिसोमा भग्नावशेष मुनी भएको अवस्थामा म कसरी तातो कम्बलमा बसिरहन सक्छु । हे भगवान्, मेरी छोरीलाई चिसो मन पर्दैनथ्यो । अब उनी भग्नावशेष मुनी थिचिएकी छिन् । मेरो मन जलिरहेको छ ।’
नजिकै ड्रिलिङ र खनेको आवाज आइरहेको छ । नुर्तनका साथीहरूले उनलाई ढाडस दिइरहेका छन् ।
बचेका मानिसलाई सुरक्षित बाहिर निकाल्नुका साथै यहाँ आफ्नो सर्वस्व गुमाएको भावना पनि निकै जबरजस्त तरिकाले सार्वजनिक भइरहेका छन् ।
आमा–बुवा भग्नावशेष मुनी तर बचाउने कोही छैन
टर्कीको दक्षिणमा, सिरियाको सीमा नजिकै हटाय सहरमा विध्वंसका थुप्रै खबर आइरहेका छन् । यो इलाका भूकम्पले अत्यधिक प्रभावित भएको बताइँदै छ ।
त्यहाँबाट आइरहेका फुटेजमा स्थानीय मानिस भग्नावशेषमा आफन्तलाई खोजिरहेका छन् ।
ती व्यक्ति भन्छन्, ‘अलि बेस्सरी बोल ।’ उनी थप्छन्, ‘तपाईँले यहाँ देख्न सक्नुहुन्छ कि यहाँ एउटा शव छ । यसलाई कसैले उठाएको छैन । र तल एक महिलाको आवाज सुनिएको छ ।’
अहिले ती व्यक्तिले भनिरहेका थिए कि एक पटक भग्नावशेष मुनी दबेकी महिलाले अलि बेस्सरी बोलाइन् । त्यसपछि उनी रोएको आवाज आउन थाल्यो ।
उद्धारकर्मीको ध्यानाकर्षण गर्न महिलाले चर्को स्वरमा धातुमा हान्न थालिन् । सम्पूर्ण घर माटोमा मिलेको छ र यसको भग्नावशेष हटाउन भारी मेसिन चाहिन्छ ।
यो कथा भग्नावशेषमुनि दबिएका जनताको अनुत्तरित आवाजको हो र यो कथा सबै क्षेत्रमा दोहोरिएको छ ।
हटाय सहरका एक नागरिक डेनिजले भत्किएको भवनलाई देखाउँदै त्यहाँ आफ्नो आमाबुवा फसेको बताए ।
उनी सोध्छन्, ‘भग्नावशेषमुनिबाट उहाँहरूका आवाज आइरहेका छन् तर उहाँहरूलाई बचाउन कोही आउँदैनन् । उहाँहरूको आवाज रोकिएको छैन । आफूलाई बचाउन आग्रह गरिरहनुभएको छ । तर हामीले बचाउन सकिरहेका छैनौँ । हामीले उहाँहरूलाई कसरी बचाउने ?’
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको कहरामनमारास सहरमा आगो बलिरहेको छ । त्यहाँ भूकम्पका कारण हजारौँ भवन भत्किएका छन् । यस सहरमा घरबारविहीन मानिसहरू पनि धेरै छन् ।
त्यहाँ एक ठाउँमा एउटा परिवार बसेको छ । आफ्नो भत्किएको घर नजिक जान उनीहरूलाई हिम्मत छैन । यो आगो नै उनीहरूको अब सुरक्षाको ढाल हो । आगोको ज्वालाले उसको हातलाई केही न्यानो दिइरहेको छ ।
नेसेट गुलेर भन्छन्, ‘हामी धेरै कठिनाइमा बाँच्यौँ । हामी हाम्रा चार छोराछोरीसहित अन्तिम क्षणमा बाहिर निस्कन सफल भयौँ ।’
यहाँ सबै राहतको पर्खाइमा छन्, तर जति विनाश भयो त्यसमा राहतले धान्न असम्भव छ ।
र यस बीचमा धेरै जीर्ण भवनहरू जुनसुकै बेला ढल्न सक्छन् । तब सम्म चिसोबाट बच्ने आगोको न्यानो एक मात्र उपाय हो ।
बीबीसी