शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिवम सिमेन्टको एक मात्र लक्ष्य गुणस्तरीय उत्पादन हो : उपाध्यक्ष अग्रवाल

बिहीबार, २६ माघ २०७९

कोरोना महामारीका कारण सुस्ताएको बजार मागको प्रभाव सिमेन्ट उद्योगमा पनि परेको छ । यतिबेला सिमेन्ट उद्योगको बजार माग नै कम्तीमा ४० प्रतिशतसम्मले घटेको उद्योगीहरू बताउँछन् । यही समयमा शिवम सिमेन्टले ‘शिवमसँग टन्न उपहार योजना’ सार्वजनिक गरेको छ । शिवमले सुस्ताएको बजारको मागलाई पुनः जीवित पार्नेगरी ल्याएको योजना र बजारको मागका साथै भावी योजनाबारे रातोपाटीले कम्पनीका उपाध्यक्ष निखिल अग्रवालसँग गरेको कुराकानी–

–शिवम सिमेन्टका विशेषताबारे बताइदिनुस् न ?
शिवम सिमेन्ट उत्पादनमूलक उद्योग हो । यसको स्थापना सन् २००३ मा भएको थियो । यो उद्योग हेटौँडामा सञ्चालित छ । शिवमले आफ्ना व्यावसायिक उत्पादन सुरु गरेको १४ वर्षभन्दा धेरै भइसक्यो । अहिले हामीले यसलाई उपभोक्ताको प्रिय सिमेन्टका रूपमा परिचित गराउन सफल भएका छौँ ।

शिवम सिमेन्ट उत्पादनका क्रममा ‘एनएस क्वालिटी २०१९’ बाट सम्मानित भइसकेको छ । इतिहासमै पहिलो पटक यो सम्मान सिमेन्ट उद्योगलाई दिइएको हो । अहिलेसम्म अरू कसैले पाएका छैनन् । ‘गुणस्तरको पहिचान हो शिवम’ भन्दै आइरहेका थियौँ । यो नारालाई उक्त पुरस्कारले प्रमाणित गरिदियो ।

यस्तै हामी फेरि ‘एनएस ५७२ अन्तर्गत ग्रेडिङ सिस्टम’ ल्याउने नेपालको पहिलो उद्योग बन्न सफल भयौँ । यससँगै हामीले शिवमको बोरामा ४३ र ५३ ग्रेडको भिन्नता दिएर बजारमा बिक्री सुरु गर्यौं । यस्तै हामी भारतको पहिलो बीआईएस सर्टिफिकेट पाउने नेपालको पहिलो उद्योग बन्न सफल भएर २०१६ मै निर्यात गरेको थियौँ । यस्तै शिवम सर्वसाधारणमा साधारण सेयर (आईपीओ) बिक्री खुलाउने नेपालको पहिलो सिमेन्ट उद्योगसमेत हौँ ।

शिवमका बारेमा यति धेरै सकरात्मक कुरा सुनाउनुभयो । यसको वार्षिक उत्पादनचाहिँ कति छ ?
शिवमले गत आर्थिक वर्षमा डेढ करोड बोरा सिमेन्ट बिक्री गरेको थियो । प्रत्येक वर्ष यही हाराहारीमा सिमेन्ट बेच्ने हाम्रो लक्ष्य छ ।

बजारमा शिवम सिमेन्टको ‘मार्केट हिस्सा’ कति प्रतिशत छ ?
शिवम सिमेन्टले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) मात्रै उत्पादन गर्दै आइरहेको छ । हामी ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट मात्रै बनाउँछौँ । यसले अहिलेसम्म पोर्टल्यान्ड पोज्जाल्यान्ड सिमेन्ट (पीपीस) उत्पादन गरेको छैन । ओपीसी सिमेन्टतर्फ बजारमा शिवमको बजार हिस्सा २५ प्रतिशत हाराहारी छ । 

उद्योगमा कतिले रोजगारी पाएका छन् ?
शिवमले प्रत्यक्ष रूपमा करिब ४०० जनालाई रोजगारी दिएको छ । यस्तै अप्रत्यक्ष रूपमा धेरैले रोजगारी पाएका छन् । जुनसुकै उद्योगमा प्रत्यक्षभन्दा अप्रत्यक्ष रोजगारी बढी सिर्जना हुन्छ । त्यसैले पनि उद्योगबाट उत्पादित वस्तुहरूको बिक्रीवितरण र बजारीकरणबाट धेरैले रोजगारी पाएका हुन्छन् । तर ठ्याक्कै सङ्ख्या भन्न सकिँदैन ।

अहिलेको अवस्थामा नेपाली सिमेन्ट उद्योगको बजार कस्तो छ ?
अहिले नेपालमा सिमेन्टको बजार राम्रो छैन । यतिबेला बैङ्कको ब्याजदर बढेर माथि पुुगेको छ । एउटा मान्छेको जिन्दगीभरको सपना नै आफ्नो एउटा घर बनाउने हुन्छ । त्यसका लागि दिनरात नभनी पैसा जम्मा गरेको हुन्छ र सीमित रकमभन्दा माथि जान सक्दैन । तर बैङ्क ब्याजदर बढेका कारणले समस्या छ । यस्तै गिट्टी बालुवाको उत्खननमा सरकारले अवरोध सिर्जना गरेपछि सिमेन्टको चेन सप्लाईमा नै समस्या परेको छ ।

मङ्सिरदेखि वैशाखसम्मको समयलाई निर्माणको ‘पिक आवर’ मानिन्छ । तर यही समयमा सरकारले गिट्टी बालुवाको उत्खनन रोकिदियो । यसले करिब एक महिना बजार प्रभावित बन्यो । यत्तिकै समस्यामा रहेको बजार यसले झनै समस्या सिर्जना गरिदियो । तर यसका बाबजुत पनि बजारमा शिवमले गुणस्तरीय सिमेन्टको उपाधि उचाल्न सक्षम बनेको छ । यसबीचमा हामी ११ करोड बोरा सिमेन्ट बिक्री गर्ने नेपालकै पहिलो कम्पनीसमेत बनेका थियौँ ।

बजार ठप्पप्रायः छ तर तपाईंहरूले स्किम सार्वजनिक गर्दै पुरस्कार वितरण गर्दैहुनुहुन्छ, किन ?
बजार सुस्ताएको समयमा शिवम सिमेन्ट किन्ने ग्राहकलाई केही राहत दिने लक्ष्यसहित ‘शिवमसँग उपहार टन्न’ भन्ने स्किम ल्याएका हौँ । यो स्किम ल्याएसँगै हाम्रा सेवाग्राही उत्साहित बन्नुभएको छ र यही समयमा घर बनाउने योजना अघि बढाइरहनुभएको छ । यसबाट बजारको सप्लाई चेन नै चलिरहेको छ । किनकि एउटा घर बनाउन सिमेन्टसँगै, डन्डी, इँटा, बालुवा, गिट्टी, सिकर्मी, काठ, इन्जिनियरलगायत धेरै कुराको आवश्यकता पर्छ । 
यसबीचमा उपहार पाउने धेरै हँसिला अनुहार हामीले देखिरहेका छौँ । हामीले हिजोका दिनमा पनि घरघरमा पुुगेर उपहारमा परेको चाँदी दिएका थियौँ र आज पनि आफ्ना सेवाग्राहीका पक्षमा शिवम उत्रिएको छ ।

यो स्किमपछि कति जनाले उपहार पाउनुुभयो ?
शिवमसँग उपहार टन्न योजनाअन्तर्गत देशभरका १६ हजारभन्दा धेरैले केही न केही उपहार पाइसक्नु भएको छ । हाम्रो लक्ष्य एक लाख जनालाई उपहार दिने हो । यही लक्ष्यसहित पुरस्कार वितरणको कामलाई अघि बढाइरहेका छौँ ।

नेपालमा वार्षिक कति सिमेन्ट खपत हुन्छ ?
नेपालमा प्रतिवर्ष १२ मिलियन टनसम्मको सिमेन्ट खपत हुनेगर्छ । विगतका वर्षहरूमा यही परिमाणमा सिमेन्ट खपत भइरहेको थियो । तर यतिबेला बजारको माग खस्किएर वार्षिक ८ मिलियन टनसम्म आइपुगेको छ । यो तथ्याङ्कका आधारमा बजारको ४० प्रतिशतसम्म माग खस्केको भन्न सकिन्छ ।

बजारमा एकाएक सिमेन्टको खपत किन घटेको होला ?
यतिबेला बजार चलायमान बनेकै छैन । सर्वसाधारणहरूले घर बनाउने कामलाई रोकेका छन् । सरकारले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन सकेको छैन । सडक पूर्वाधार निर्माण हुनुपर्ने हो । यस्तै पुल र टनेल निर्माणका कामसमेत बन्नुपर्ने हो । तर बनिरहेका छैनन् । जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहे पनि यी आयोजना सरकारी होइनन् । सरकारले बनाएको योजना राम्रोसँग अघि बढ्न सकेको छैन । यस्तै ठेकेदार कम्पनीहरूले समेत राम्रोसँग काम गर्न सकेका छैनन् । यही र यस्तै कारणले बजारको माग घटेको हो ।

–बजारमा माग नभएको भन्दै यतिबेला सिमेन्ट निर्यातको प्रयाससमेत भइरहेको छ । तपाईंहरू त्यो दौडमा देखिनु भएको छैन नि ?
हामीले भारतमा सिमेन्ट निर्यातको अनुमति २०१६ मै पाइसकेका थियौँ । भारतीय बजारमा विशेषगरी पीपीसी सिमेन्टको माग बढी छ । शिवम सिमेन्टले ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको छ । यसका साथै हामी हाम्रो उत्पादन नेपाली बजारमै बेच्न चाहन्छौँ ।

नेपाली उद्योगहरू नै माग घट्दा समस्यामा परिरहेका छन् । यही समयमा सिमेन्ट उद्योगमा ठूला विदेशी लगानी भित्रिएका छन् । यही कारणले पनि बजारमा समस्या उत्पन्न भएको हो ?
बजार सबैका लागि खुला हुन्छ । कुनै पनि बजारमा ठूलो उद्योग आउनसाथ साना उद्योगलाई असहज हुन्छ नै । साना उद्योगको तुलनामा ठूला उद्योगको उत्पादन लागत कम हुन्छ । यसैगरी यतिबेला बजारमा अस्वस्थ प्रतिस्पर्धासमेत छ । यसैका कारण मूल्यमा लडाइँ पनि हुन्छ । जसमा ठूला उद्योगले जित्छन् ।

अब अन्त्यमा, शिवम सिमेन्टका भावी योजना कस्ता छन् ?
शिवम सिमेन्टका भावी योजना भनेको अझै गुणस्तीय सिमेन्ट उत्पादन गरेर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो । ग्राहकहरूमाझ धेरै सिमेन्ट पुर्याउने र सेवाग्राहीको सपनामा हातेमालो गर्ने भन्ने चाहना नै हो । यस्तै नेपालमा पनि गुणस्तरीय सिमेन्ट पाइन्छ र त्यो उत्पादन शिवम सिमेन्टले गर्छ भन्ने बनाउने उद्देश्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया