छाउपडीविरुद्ध विद्रोह, स्वास्थ्य स्वयंसेविका हुँदै संसदसम्म
सुर्खेत । शान्ति प्रक्रियापछि पहिलो संविधान सभाको चुनावको तयारी हुँदै थियो । पश्चिम दैलेखको ग्रामीण गाउँमा छाउप्रथाविरुद्धका अभियान पनि त्यही बेलादेखि सुरु भए । चुनावी अभियानझैँ छाउपडी हटाउन तीन जना महिला घरदैलो डुले । तिनै महिलामध्येकी एक थिइन्, अहिले समानुपातिक कोटाबाट कर्णाली प्रदेश सभा सांसद बनेकी गमता विक । साबिक सात्तला गाविस–५ की गमता, लकान्द्र–४ की रूपा विक, सिंगौडी–२ की कृष्णा शाही त्यो बेला कुप्रथाविरुद्ध निःस्वार्थ साहसिक अभियानमा लागेका थिए । सशस्त्र द्वन्द्वका समयमा माओवादीले जबरजस्ती छाउगोठ भत्काउँदै रजस्वला भएका महिलालाई घरमा ल्याएर राखे पनि कुनै प्रभाव देखिएन । माओवादी शान्ति प्रक्रियामा आएपछि महिलाहरू पुनः छाउगोठमा बस्न थाले । अनि गमताहरूले चेतनालाई नै ठूलो कुरा सम्झे ।
गमताको हकमा यो अभियानको थालनी २०५७ सालदेखि नै भएको हो, जुन उनको परिवारभित्र थियो । २०५३ सालमा पहिलो सन्तान छोरा र २०५६ मा छोरी जन्मिए । सुत्केरी हुँदा उनले निकै दुःख भोग्नुप¥यो किनकि त्यो बखत पश्चिममा छाउपडीभन्दा सुत्केरी छाउ अझ कठोर थियो । ‘१२ दिनसम्म गोठमा बस्नुपर्ने बाध्यता, अर्कोतिर गाईभैँसीलाई घाँस काट्नुपर्ने; सुत्केरी भएको तीन दिनमा पनि ठूलो रुखमा गएर घाँस काटेकी आइमाई (महिला) हुँ म,’ उनले ती दिनबारे भनिन्, ‘जेनतेन नानी बाबु हुर्काएँ, त्यहीबेलादेखि यो रूढिवादी, कुसंस्कारविरुद्धमा विद्रोह गर्नुपर्छ भन्ने ठानेँ ।’
अर्कोतर्फ उनी एमाले कार्यकर्ता थिइन् । उनका श्रीमानको सपोर्ट थियो । त्यो समयमा छाउ भएको महिलाले बारीमा लगाएको अन्नबाली, घरवरपरको रुख, वृक्ष छोएपछि सुक्ने; गाई, भैँसी छोएपछि दूध दिन छाड्छ भन्थे । पश्चिमका धेरैजसो गाउँमा अहिले पनि महिनावारी भएका महिलालाई गाउँमा भैँसी दुहुन दिइँदैन । गमतालाई यी सबै कुराले मन पिरोलिरहेको थियो । २०५७ सालतिरको कुरा हो, अब आफूबाट नै कदम चाल्नुपर्छ भनेर बेसारबारीबाट छाउप्रथाविरुद्ध विद्रोह सुरु गरेको उनले सुनाइन् ।
बेसारबारी गोडमेल गर्दा बेसारबारी सुकेन । अनि छाउप्रथा एउटा अन्धविश्वासको जड रहेछ भन्ने उनलाई लाग्यो । त्यसपछि महिनावारी हुँदा उनी भान्साभित्र पसेर खाना बनाउन थाल्नुका साथै भैँसी पनि आफैँ दुहुन थालिन् । तरकारीबारीमा जान थालिन् । तर समाज भने उनीबाट टाढा हुन थाल्यो । ‘मैले छाउ बार्न छाडेको थाहा पाएपछि आफन्त, समाजका अगुवादेखि महिलाहरू घरमा आउन छाडे,’ उनी सम्झिन्छन्, ‘नजिकै भएका आफ्नै माइतीघरका भाइबहिनीहरू पनि आएनन् ।’ छाउ (महिनावारी) भएकी महिलालाई छोएमा चोखो हुनुपर्छ भन्दै पूजा गर्ने समुदायको बाहुल्य थियो त्यो बेला । त्यसैमा दलित महिलाले महिनावारी नबार्ने अभियान चलाउनु उनका लागि कम्ता चुनौती थिएन ।
‘त्यो बेला गाउँमा स्वास्थ्यको सहज पहुँच थिएन, कोही बिरामी भयो भने धामीझाँक्रीकै भर थियो,’ उनी सम्झिन्छन्, ‘छाउ बार्न छाडेपछि धामीझाँक्रीले त्यो छुई (छाउ) बार्दैन, छुईमुसो भयो भन्न थाले ।’ उनका अनुसार पछि छाउपडीविरुद्धको अभियानमा गाउँका धामी भिमसिंह थापा र विज्ञान शिक्षक शेरबहादुर थापाले सहयोग गरे ।
छाउविरुद्ध अभियान चलाउने सङ्घसंस्था गाउँमा आए भने प्रशासनको समेत साथ उनले पाइन् ।
‘महिनावारी नबारे देउता लाग्छ’ भन्ने मान्यताले जरो गाडेको त्यो बेलाको समाजमा गउनले कठोरताका साथ विद्रोह गरिन् । उनको बुझाइमा देउता केही लाग्दोरहेनछ, त्यो त महिलालाई कमजोर बनाउन गलत संस्कार बसालिएको रहेछ । सुरुमा अवरोध भए पनि पछि उनकै नेतृत्वमा गाउँभरीका छाउगोठ भत्काउन सफल भएको कुरा उनले सुनाइन् ।
त्यति बेला गाउँमा महिलाहरूलाई मेलापात र भान्सामै सीमित गरिन्थ्यो । गमताले गाउँमा आमा समूहदेखि सडक खन्ने क्रममा समेत महिलाको नेतृत्व गरिन् । द्वन्द्वकालमै रामाघाड–ठाटीकाँध–सिंहासैन जोड्ने सडक खन्ने काम भयो । त्यो सडकमा उनले ५०–१०० जना महिलाको नेतृत्व गर्थिन् । उनकै पहलमा गाविसले महिला सञ्जालको भवन निर्माणका लागि बर्सेनि १० हजार रुपैयाँ छुट्याएको थियो । त्यही रकमबाट बनाएको भवनमा अहिले पनि विभिन्न सामाजिक भेला, गोष्ठी हुने गरेका छन् ।
बाल्यकालको मेलापात र प्रौढ शिक्षा
चार भाइ र तीन बहिनीमध्येकी जेठो सन्तान गमताका बुवा उदय कामी कालापहाड जान्थे । आमासँगै मेलापात गर्दै भाइबहिनी हुर्काउने जिम्मेवारी उनको काँधमा थियो । २०३० सालमा अहिलेको आठबीस नगरपालिका–१ को बडरुखमा जन्मिएकी उनका लागि पढाइ त कल्पना बाहिरको थियो । २०४९ सालमा गाउँकै हरिश कामीसँग विवाह गरिन् ।
विसं २०६१ मा विश्व खाद्य कार्यक्रमअन्तर्गत सञ्चालित कामका लागि खाद्यान्न कार्यक्रमले उनको घर निजकैको टोलमा महिला समूह गठन गरी साक्षरता कक्षा (प्रौढ शिक्षा) सञ्चालनको योजना बन्यो । तर त्यहाँ गाउँलेले राख्न मानेनन् । उल्टो सहजकर्तालाई भगाउने योजन बनाए । अनि गमताले आफ्नो टोलमा ल्याउन पहल थालिन् । त्यसपछि उनकै टोलमा कक्षा सञ्चालन भयो । तर गाउँका मान्छेले पढाइ बिथोल्न हुलदङ्गा गरेको सम्झना उनले अहिले पनि बिर्सेकी छैनन ।
छाउ (महिनावारी) भएकी महिलालाई छोएमा चोखो हुनुपर्छ भन्दै पूजा गर्ने समुदायको बाहुल्य थियो त्यो बेला । त्यसैमा दलित महिलाले महिनावारी नबार्ने अभियान चलाउनु उनका लागि कम्ता चुनौती थिएन ।
उनको टोलमा पनि सहजकर्तालाई लेखेट्ने योजना नबनेको होइन तर गमता एक्लैले प्रतिवाद गर्दै एक्लै भए पनि पढ्ने साहस गरिन् । त्यसपछि अरू महिलाको साथ पाउन थालिन् ।
गाउँकै एक जना शिक्षककी श्रीमती सुरुमा पढ्न आए पनि श्रीमान्कै कारण उनले पढाइ छाडेको स्मरण भुलेकी छैनन् । उनीजस्तै निरक्षर १५ जना महिला कक्षा लिन तयार भए । साँझको खाना खाइसकेपछि महिलाहरू काखीमा बच्चा च्यापेर दियालो बाल्दै कक्षाघरमा पुग्थे । त्यहाँ दुई अढाइ घण्टा पढेर सुत्न घर फर्किन्थे । उनका अनुसार लालटिनको उज्यालोमा ६ महिनासम्म कक्षा लिएर लेखपढ गरेका थिए । ‘म त घाँस काट्न जाँदा पनि एउटा काखीमा कापी, कलम बोकेर जान्थे,’ उनले भनिन् । त्यही साक्षरता कक्षाबाट सिकेको ज्ञानले सामाजिक काम गर्ने प्ररेणा मिलेको उनले बताइन् ।
‘पार्टीमा लागेकै कारण घर बनाउन पाइनन्’
गमताका श्रीमान् हरिश २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य थिए । उनकै प्रेरणाले गमता राजनीतिप्रति झुकाव राख्न थालिन् । एमालेको वडा, गाविस उपाध्यक्ष, इलाका र क्षेत्रीय कमिटीमा लामो समय काम गरिन् । २०५७ तिर उनले घर बनाउन थालिन् । माइतीघरमा भाइ र गाउँकै एक जना थापा दाइ गरी तीन जनाका घर बन्दै थिए । उनका भाइ नेमकिपा निकट मानिए पनि माओवादीसँग हिमचिम थियो र थापा दाइ माओवादी थिए । ‘भाइ र थापादाइले घर बनाउन पाए तर मलाई एमाले भनेर घर बनाउन तयार गरिएको काठ माओवादीले लगेर गए,’ उनी भन्छिन्, ‘दुःख र सङ्घर्ष कम छैन, शान्ति प्रक्रियापछि मात्रै नयाँ घर बनाएँ ।’
श्रीमानको प्रेरणाले सामाजिक अभियन्ता र राजनीति
गमता श्रीमान्कै कारण यहाँसम्म पुगेको बताउँछिन् । २०७१ मा जिल्ला कमिटी सदस्य बनेकी उनी अहिले प्रदेश कमिटी सदस्य छन् । यद्यपि पार्टीभित्र पनि निकै सङ्घर्ष गर्नुपरेको उनी बताउँछिन् । ‘एक त महिला, त्यसमाथि दलित समुदायकी मान्छे, थुप्रै ठाउँमा अपमान सहँदै आइयो, पार्टीभित्र पनि निष्ठाको राजनीति कहाँ छ र ?,’ गमता भन्छिन् । गाउँ सभाजस्ता महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरीयतालाई आधार बनाउने प्रचलन हुन्छ । जिल्ला कमिटी सदस्य हुँदा साबिक सात्तामा अन्य पार्टीका त्यो तहका नेताहरू थिएनन् । तर गाउँसभामा दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार गर्न तयार नरहेको दुःखान्त स्मरण उनीसँग छ । त्यस्तो विभेदपूर्ण प्रवृत्तिको भण्डाफोर गर्दै आफ्नो अडानबाट भने पछि हटिनन् उनी ।
कुनैबेला उनी गाउँमा ससाना गरी थुप्रै समूह र संस्थाको अगुवाइ गर्थिन् । गाउँमा खुला दिसा मुक्त अभियानको थालनी गर्ने श्रेय पनि उनलाई जान्छ । ‘गाउँभरिकाले बाटा डिलमा दिसा, पिसाब गर्थे, टोललाई सफा राख्नुपर्छ भनेर म आफैँ बेल्चा लगेर दिसा पुर्थें,’ उनी विगत सम्झिन्छिन्, ‘सुरुमा कोही आउँदैन थिए, जब म अग्रसर हुन्थेँ त्यसपछि मात्रै अरू आउँथे ।’
शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको थिएन । सामाजिक कामको नेतृत्व गरेबापत उनी अन्तर गाविस र विभिन्न ठाउँमा भ्रमण जाने अवसर पाउँथिन् । भ्रमणबाट घर फर्केपछि शौचालय बनाउनुपर्छ भन्ने चेतना उनमा जाग्यो । सुरुमा खाल्डेचर्पी बनाइन् । उनका अनुसार वडामा चर्पी प्रयोग गर्ने उनको परिवार पहिलो हो । उनी भन्छिन्, ‘काठका टुक्रा जोडेर चर्पी प्रयोग गर्न थालेपछि छरछिमेकीले खिसीटिउरी गर्थे । घरका सबै जना एउटै ठाउँमा दिसापिसाब गर्छन्, लाज पनि मान्दैनन् भन्थे ।’
विस्तारै छरछिमेकीलाई बुझाउँदै उनले शौचालय बनाउन लगाइन् । अनि २०७० मा सात्तला गाविस खुला दिसामुक्त घोषणा पनि भयो । शौचालयको नियमित प्रयोगबारे गाउँगाउँ डुलेर उनले अनुगमनसमेत गर्थिन् । भन्छिन्, ‘सङ्घर्षमा मान्छे एक्लै हुन्छ, जब सफलता हुन्छ तब मात्रै सबैको साथ हुन्छ ।’ २०६४ देखि ०७४ सम्म महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरेको अनुभव पनि गमतासँग छ । त्यो बेला खाजा खान दिएको रकमले सुत्केरी गराउने बेड बनाउनेदेखि गाउँका गरिब, निमुखकाको पक्षमा उभिएर अड्डा, अदालतसम्म धाइन् । गाउँमा उपचार सम्भव नहुँदा अशक्त बनेकाहरूको घाउमा मलम लगाउने स्रोत बनिन् ।
२०७४ मा उनलाई पार्टीले आठबिस नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनायो । स्वयंसेविकाबाट राजीनामा दिएर चुनाव लडेकी उनी ४२ मतान्तरले पराजित भइन् । उपप्रमुख लड्दा लागेको ७ लाखभन्दा बढी ऋण तिर्न अझै बाँकी रहेको सुनाउँदै उनले भनिन्, ‘अझै पनि तल्लो तहका वर्गले राज्यको अनुभूति गर्न पाएको छैनन् । ती वर्ग भनेकै दलित, उत्पीडित वर्ग हुन् ।’ पार्टीले टिकेट दिए पनि ऋणकै कारण उनले २०७९ को स्थानीय तहको निर्वाचन लडिनन् ।
...अनि बनिन् पश्चिम दैलेखकै पहिलो दलित सांसद
गमता आफू सांसद बन्नुमा पार्टी, श्रीमान् र सङ्घीयताको देन रहेको बताउँछिन् । निरन्तर पार्टीको काम र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई पार्टीले समानुपातिकमा सिफारिस गरेको थियो । उनी दलित महिला र पिछडिएको क्षेत्रको क्लस्टरमा एक नम्बर प्राथमिकतामा थिइन् । ‘म खोलाको ढुङ्गाजस्तै छिचलिएर अहिले सांसद बनेकी छु,’ गमताले सांसद बनेपछिको अनुभव साँट्दै रातोपाटीसँग भनिन्, ‘अन्धविश्वास, विभेद र उत्पीडनविरुद्ध अब संसद्मा आवाज उठाउने छु ।’ दैलेख क्षेत्र नम्बर २ बाट २०४८ यता कुनै पनि दलित नेता सांसद बनेका छैनन् । ‘भौतिक संरचना र सडक निर्माणले मात्रै परिवर्तन हुन्छ भन्ने एउटा भाष्य छ तर जबसम्म सामाजिकीकरणको विकास हुँदैन नि अन्य विकासको अर्थ हुँदैन,’ गमता भन्छिन्, ‘तल्लो वर्गका समुदायले राज्य भएको अनुभूति गर्न पाएका छैनन्, संविधानमा लेखेर मात्रै हुँदैन, व्यवहारमा लागु हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ