भारतले फिर्ता नलैजाँदा नियन्त्रणमा लिइएको रक्तचन्दन जोगाउन नेपाल प्रहरीलाई चुनौती
सर्लाही । डेढ दशकअघि प्रहरीले नियन्त्रण लिएको रक्तचन्दन भारत सरकारले फिर्ता लैजान चासो नदेखाउँदा डिभिजन वन कार्यालय सर्लाहीमा सुरक्षा चुनौती थपिएको छ । भारतबाट चोरी तस्करी गरेर छिमेकी मुलुक चीनतर्फ लैजाने क्रममा सर्लाहीस्थित मलगंवामा प्रहरीले नियन्त्रणमा लिएको ४ टन रक्तचन्दन अहिले पनि सर्लाही वन कार्यालय परिसरमा राखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिबन्धित तथा बहुमुल्य मानिएको रक्तचन्दन सुरक्षाको लागि वन कार्यालयले चौबीसै घन्टा २ जना सुरक्षाकर्मी खटाएको छ । सर्लाही वन कार्यालयको डिभिजन वन अधिकृतको पुरानो आवास गृहमा राखिएको छ रक्तचन्दन । सोको व्यवस्थापनमा सम्वन्धित निकायले ढिलाई गर्दा तस्कर र वन सुरक्षाकर्मीबीच पटक पटक झडप र हवाई फायरिङको अवस्थासमेत सिर्जना भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
डिभिजन वन अधिकृत मञ्जुर अहमदले भने, ‘वन कार्यालय परिसरमा रक्तचन्दन राख्दा हामीलाई पनि धेरै सुरक्षा चुनौती थपिएको छ, रक्तचन्दान लुट्न आउने तस्कार र वन सुरक्षाकर्मीबीच बेला बेलामा झडपको अवस्था समेत सिर्जना भयो, कुन बेला के घटना घट्छ भन्ने त्रास पनि छ ।’
अधिकृत अहमदका अनुसार नेपाल सरकारले पटक पटक पत्राचार गर्दा पनि विवादमा परिने र खर्चिलो हुने देखेर भारतले रक्तचन्दन आफ्नो भएको स्वीकार पनि नगर्ने र फिर्ता लैजान चासो नदेखाएको हो । सर्लाही वन परिसरमा १९० थान, वन विभाग कार्यालय परिसरमा करिव २ ट्रकसहित देशका विभिन्न स्थानमा प्रहरीले नियन्त्रणमा लिएको रक्तचन्दन राखिएको छ ।
रक्तचन्दन साईटिसमा सूचीकृत लोपोन्मुख प्रजातिको विरुवा हो । नेपालको जंगलमा छिटफुट रुपमा भेटिएपनि रक्तचन्दनको मुख्य उत्पादन भारतको जंगल मानिन्छ । रक्तचन्दन भारतबाट नेपालको बाटो हँुदै चीनतर्फ तस्करी हुने क्रममा देशका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित ढंगले राखिएको वन अधिकृत अहमदले जनाए ।
‘रक्तचन्दन ल्याएपछि यहाँ लुट्न पनि आए, १० राउन्ड जति हवाइ फायर पनि भयो । अनि बल्ल बल्ल बचायौ ।’ वन रक्षक धुव्र कटुवालले भने, ‘सम्वन्धित देशले रक्तचन्दन फिर्ता नलग्दा हामीलाई यहाँ धेरै समस्या भएको छ । कुन दिन फेरि लुट्न आउँछन् भन्ने त्रास भईरहन्छ ।’
विगतमा सर्लाही डिभिजन वन कार्यालय रहेको वन अधिकृत बस्दै आएको पुरानो आवास गृहमा सो रक्तचन्दन राखिएको छ । पछिल्लो समय नेपालले ल्याएको साईटिससम्वन्धि ऐन र कानुनमा रक्तचन्दन सम्वन्धित देशले फिर्ता नलगे नष्ट गर्न सक्ने व्यवस्थासमेत उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय वन विज्ञान महाशाखा प्रमुख प्राडा राजेश राईले नेपाल साईटिस महासन्धिको सदस्य राष्ट्र भएकाले रक्तचन्दनलाई अन्तरराष्ट्रिय कानुनले रोक्ने बताए । ‘जहाँबाट आएको हो, त्यही पठाउनु पर्ने कानुनी व्यवस्था छ तर भारतले यो रक्तचन्दन मेरो हो भन्यो भने आफैले पैसा तिरेर लैजानुपर्ने भएकाले उसले यो मेरो हो नभन्ने, नेपालले पनि पैसा तिरेर पठाउन सक्ने अवस्था छैन,’ प्राडा राईले भने ।
उनका अनुसार रक्तचन्दन अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य मानिए पनि जसरी गैँडाको खागको व्यापार प्रतिवन्धित छ, रक्तचन्दन पनि त्यसरी नै प्रतिबन्धित छ । पछिल्लो समय नेपाल सरकारले ल्याएको साईटिससम्वन्धि कानुनमा रक्तचन्दनलाई नष्ट गर्न सक्ने व्यवस्था भएपनि त्यति सहज नभएको वन अधिकृत मञ्जुर अहमदले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
-
महाभारत जङ्गलको आगलागी अझै नियन्त्रणमा आएन
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क
-
‘एक्टर : टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
-
सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
-
टिकटकमाथिको प्रतिबन्धबारे के भन्छन् ट्रम्प ?