महिनावारी अनियमित भए हुन सक्छ पाठेघरको क्यान्सर
काठमाडौँ । पर्साकी ४८ वर्षीय प्रतिभा थापालाई सात महिनादेखि महिनावारीमा गडबड देखियो । महिनावारी नहुँदा पनि बीच बीचमा रगत बग्ने समस्या करिब पाँच महिनासम्म लगातार भइरह्यो । नियमित महिनावारीको बेलाबाहेक पनि रगत बग्दा महिनावारी सुक्न लागेको भन्दै उनले बेवास्ता गरिन् । जब उनी नेपालगन्ज माइत आइन्, स्वास्थ्य शिविरमा परीक्षण गर्दा क्यान्सरको आंशका गरियो । त्यस लगत्तै काठमाडौं आएर परीक्षण गर्दा उनको पाठेघरको क्यान्सर चौथो स्टेजमा पुगेको थियो ।
यस्तै, पर्वत पयुैकी शर्मिला शर्मा (नाम परिवर्तन) लाई करिब चार/पाँच महिनादेखि सेतो गनाउने पानी बग्ने, यौनाङ्ग चिलाउने भइरहन्थ्यो । त्यसपछि उनले नजिकैको मेडिकलबाट औषधि खान र लगाउन थालेपछि निको भयो । त्यसपछि पहिलो पटक होलबडी परीक्षणका क्रममा चिकित्सकले क्यान्सरको आंशका गरे । परीक्षणका क्रममा उनको डिम्बाशयको क्यान्सर तेस्रो स्टेजमा पुगेको पत्ता लाग्यो ।
यसरी थाहै नपाइकन पाठेघरको विभिन्न भागमा लाग्ने क्यान्सरबारे जानकारी र परीक्षणको अनिवार्य व्यवस्था नहुँदा दुर्गम गाउँदेखि सहरी क्षेत्रका महिलाहरू यस रोगको सिकार भइरहेका छन् । क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेका अनुसार एचपीभी भाइरस सङ्क्रमण, खोप, स्क्रिीनिङ, खानपानमा ध्यान नदिँदा, लामो समयसम्म हर्मनपिल्सको प्रयोगले पाठेघरमा क्यान्सर हुने सम्भावना रहन्छ ।
नेपालमा पाठेघरको क्यान्सर सय जना महिलामध्ये ७/८ जनालाई लाग्ने एक अध्ययनले देखाएको छ । विभिन्न क्यान्सरमध्ये पाठेघरको क्यान्सर पहिलो नम्बरमा पर्छ । एचपीभी इन्फरमेसन सेन्टरका अनुसार नेपालमा बर्सेनि अनुमानित २ हजार २४४ जना नयाँ पाठेघरको क्यान्सरका बिरामी हुन्छन् ।
पाठेघरको क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर बढीलाई लाग्ने गर्छ । विश्वमा पाठेघरको मुखको क्यान्सरका रोगी बर्सेनि करिब ६० लाख ४ हजार १२७ नयाँ केस पुष्टि हुन्छ । जसमा मृत्युदर तीन लाख ४२ हजार ८३१ छ । यद्यपि नेपाल सरकारसँग पाठेघरको क्यान्सरबारे यकिन तथ्याङ्क छैन ।
क्यान्सर रोग विशेषज्ञ डा.घिमिरेका अनुसार नेपाल जस्ता विकासशील राष्ट्रमा पाठेघरका क्यान्सरको बिरामी बढ्दै गएका छन् । विकसित देशमा पाठेघरको क्यान्सर हुनुभन्दा अगाडि नै नियमित रूपमा जाँच र खोपको व्यवस्था छ । त्यसैले ती देशमा पाठेघरको क्यान्सर बढ्न पाएको छैन ।
पाठेघरको मुखको क्यान्सरको नियमित स्क्रिीनिङ र ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) सङ्क्रमण विरुद्धको खोपको व्यवस्था भएमा सङ्क्रमण कम हुने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् ।
एचपीभी खोप कहिले दिने ?
सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने घोषणामै सीमित छ । सरकारले पाइलटिङका रूपमा ह्युमन प्यापिलोमा भाइरस विरुद्धको (एचपीभी) खोप सन् २०१६ र २०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्ष सम्मका किशोरीहरूलाई दिएको थियो ।
सन् २०१९ मन्त्रालयले खोप खरिदका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५ करोड र खोप शाखालाई २ करोड ७५ लाख विनियोजन गरेको मन्त्रालयले जनाएको छ । यद्यपि सरकारले घोषणा गरेअनुसार एचपीभी खोप खरिद गर्न सकेको छैन ।
नेपालमा पाइलटिङबाहेक खोप खरिद प्रक्रिया सुस्ताएको छ । सरकारले तत्काल लक्षित समूह अर्थात् किशोरीहरूलाई एचपीभी खोप दिएमा केही दशकपछि नेपालमा पाठेघरको क्यान्सर हुने दर ह्वात्तै घट्ने क्यान्सर रोग विशेषज्ञ डा.घिमिरे बताउँछिन् ।
सरकारले ग्लोबल अलाइन्स फोर भ्याक्सिन एन्ड इभ्युनाइजेसन (गाभी) लाई एचपीभी खोप उपलब्ध गराउनका लागि यसअघि प्रस्ताव गरेको थियो । खोप अभाव भन्दै गाभीले उपलब्ध नगराएको परिवार कल्याण महाशाखाका एक कर्मचारीले बताए ।
‘एचपीभी खोप खरिद प्रक्रियाका कार्यहरू भइरहेका छन् । सरकारले जति चाँडो रकम विनियोजन गर्छ, त्यति चाँडो खोप आउन सक्छ ।’ उनले भने ।
यता स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले एचपीभी खोप प्राप्तिका लागि गाभीलाई पठाउन डब्ल्यूएचकओको सहयोगमा प्रोपोजल तयार पर्ने कार्य भइरहेको बताए ।
यसअघि कोरोना महामारीका कारण एचपीभी खोप ल्याउन ढिलाइ भएको बताएको सरकारले नीति योजना तथा कार्यक्रममा घोषणा गरे पनि ल्याउन सकेको छैन ।
भुटान सहितका १०७ राष्ट्रले एचपीभी खोप दिन सुरु गरिसकेका छन् । तर गाभीबाट सो खोप नेपाल कहिले आउँछ भन्ने निक्र्यौल छैन । विश्व स्वास्थ्य सङ्गठनले २०३० सम्ममा क्यान्सर निवारण गर्ने लक्ष्य राखेको छ । त्यति बेलासम्म १५ वर्षसम्मका किशोरीहरूलाई ९० प्रतिशत एचपीभी पूर्ण खोप लगाइ सक्ने डब्ल्यूएचओको लक्ष्य छ ।
के हो एचपीभी खोप ?
एचपीभी खोपले पाठेघरको क्यान्सर हुनबाट जोगाउँछ । यस खोपले मुखको क्यान्सर हुनबाट ९० प्रतिशत बचाउने अध्ययनले देखाएको छ । यो खोप एचपीभी भाइरससँग सम्पर्कमा आउनुभन्दा पहिल्यै लगाउनुपर्ने डा. घिमिरेले बताइन् ।
सरकारले यौन क्रियामा संलग्न नहुँदै यो खोप स्कुले किशोरीहरूलाई दिने योजना बनाएको छ । क्यान्सर रोग विशेषज्ञ डा. घिमिरेका अनुसार एक सय भन्दा धेरै एचपीभी हुन्छन् । धेरैजसोलाई कुनै पनि लक्षण देखिँदैन । साथै, धेरै जना यस भाइरसको उपचार नगरीकनै रोगसँग लड्न सक्छन् ।
केहीको शरीरमा ह्युमन प्यापिलोमा भाइरसले उच्च प्रकारको अस्वाभाविक तन्तु वृद्धि हुन्छ । जसका कारण क्यान्सर हुने डा घिमिरेले बताइन् । ह्युमन प्यापिलोमा भाइरस छिटो सर्ने सरुवा भाइरस हो । उनी भन्छिन्, ‘२४ वर्ष पुग्दासम्म करिब ७५/८० प्रतिशतमा ह्युमन प्यापिलोमा भाइरस सङ्क्रमण भएको हुन सक्छ ।’