ट्राफिक नियम मिच्नेलाई किन भेटाउँदैन प्रहरी ?

रुपन्देही । यस क्षेत्रमा सवारी नियम मिच्नेलाई प्रहरीले कडाइ गर्न सकेको छैन । ट्राफिक नियम विपरीत साजसज्जा गरेर सवारी चलाउनेहरूलाई कारबाही नगर्दा विकृति बढेको छ । सवारी साधनलाई मोडिफाई गर्ने र अनावश्यक सजावट गर्नेलाई केही वर्ष अघिसम्म कारबाही गरिएको भए पनि हाल यस्तो नगर्दा सवारी धनीले लापरबाही गर्ने गरेका छन् ।
लु १ ख ५९०३ नम्बरको यात्रुबहाक बस दिनहुँ बुटवलदेखि पाल्पाको दोभान जाने आउने गर्छ । उक्त बसको अगाडि पछाडि वन्यजन्तु बाघको चित्र ठुलो आकारमा पेन्ट गरेर सजावट गरिएको छ । बसेको पछाडिको भागमा बाघको चित्रमाथि एकातर्फ एक युवती नाच्न लागेजस्तो चित्र छ । बीचभागमा अर्को बाघमुखे बस र आकर्षक पृष्ठभूमिमा रेल गुडिरहेको चित्र देखिन्छ । अर्को छेउमा एक जोडी चरा (सुगा) को तस्बिर छ । यो आकर्षक आवरण देख्दा एकै छिन बाटोमा रोकिएरै हेरौँ कि जस्तो लाग्छ । जो कोहीलाई पनि यो चित्र हेरौँ हेरौँ लाग्न सक्छ । यो एउटा प्रतिनिधिमूलक बस हो । यस्ता बसहरू बुटवलका सडक र राजमार्गमा हजारौँ गुडिरहेका छन् ।
देख्दा आकर्षक देखिए पनि यसरी सवारी साधन सजावट गर्नु सरासर ट्राफिक नियम विपरीत छ । यस्ता सजावटले सवारी दुर्घटना निम्त्याउन सहयोग पुर्याएका हुन्छन् । सडकमा गुडिरहेका यस्ता सजावटयुक्त सवारी साधनको अघिपछि सवारी गुडाउने चालकले उक्त सजावटमा आँखा लगाउँदा गाडी आपसमा ठोक्किन सक्छन् । अर्कोतर्फ त्यस्ता पेन्टिङले अन्य चालकको आँखा तिरमिराउन सक्छ र दुर्घटनाको जोखिम हुन्छ ।
राजमार्ग र भित्री सडकमा यस्ता हजारौँ गाडीहरू गुडिरहेका छन् । कैयौँ मोटरसाइकल चालकले मोटरसाइकललाई मोडिफाई गरेर बजारमा कोलाहल गर्ने गरी आवाज निकालेर गुडिरहेका भेटिन्छन् । यो पनि ट्राफिक नियम विपरीत छ । तर बुटवलको ट्राफिक प्रहरी कार्यालयले यसलाई नियमन गरेको पाइँदैन ।
ट्राफिक प्रहरीका भूपू प्रहरी उपरीक्षक जगत् विष्टले भने, ‘सवारी साधनमा भद्दा चित्र बनाउने मात्र होइन, स्टिकर र झालर समेत प्रयोग गर्न पाइँदैन । यो शतप्रतिशत ट्राफिक नियमबिपरित छ ।’ उनका अनुसार ठुलो अक्षरमा सवारी साधनमा लेख्न केरमेट गर्न पनि पाइँदैन । विष्टका अनुसार सिसामा पनि कम्पनीले पठाएको भन्दा फरक रङ भर्न पाइँदैन तर सवारी धनीले यसमा ख्याल गरेका हुँदैनन् । उनले भने, ‘कतिपय ट्राफिक नियमविपरितका कुरा सवारी धनीलाई पनि थाहा नहुन सक्छ, ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम पनि गर्न जरुरी छ ।’
अर्का भूपू ट्राफिक प्रहरी राजकुमार कार्कीले भने, ‘सवारी साधनमा गरिएको आकर्षक सजावटले अन्य चालक वा फुटपाथका यात्रुको ध्यान केन्द्रित गर्न सक्छ र सवारी दुर्घटना हुन सक्छ, त्यसैले यस्तो गर्नेलाई नियमन गर्न जरुरी छ ।’ तर बुटवलको ट्राफिक कार्यालयले ट्राफिक व्यवस्थापनको काम चुस्त रूपमा गर्न सकेको देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
जीविकोपार्जनका लागि सिंगो गाउँ रित्याएर भारत छिर्यो वादी र कुमाल समुदाय
-
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
-
युरोपा लिगको अन्तिम १६ मा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म