बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
अपराध

टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ

मङ्गलबार, २४ माघ २०७९, १८ : ५८
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप एकजनालाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज घर भएका नितेश गुप्तालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) कमल थापाले रातोपाटीलाई बताए ।

१८ वर्षीय नितेश बीरगञ्जमा नितेश शाह भनेर चिनिन्छन् । ब्युरोले यसअघि माघ ९ मा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।

स्पट फिक्सिङमा नितेश गुप्ता बिचौलियाको भूमिकामा देखिएका छन् । नितेशले राष्ट्रिय टिमका एकजना खेलडीलाई फिक्सिङ खेल्न आग्रह गरेका थिए । तर, ती खेलाडीले सो प्रस्ताव अस्वीकार गरेर एन्टी करप्सन युनिटलाई जानकारी समेत गराएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

नितेश क्रिकेट प्रेमी हुन् । १२ कक्षासम्म अध्ययन गरेका उनले स्थानीय स्तरमा क्रिकेट खेल्ने गरेको प्रहरीलाई बताएका छन् । सिआईबीका एसपी कमल थापा भन्छन्–‘फिक्सिङमा नितेशको भूमिका मतियारको रुपमा देखिएको छ ।’

स्पट फिक्सिङको प्रस्ताव ३ जना खेलाडीले अस्वीकार गरेका छन् । तिनजना क्रिकेटरले त्यस्तो अफर गर्नेलाई मेसेज र फोन ‘नो’ मात्रै भनेनन्, उनीहरूलाई ब्लक गरेर एन्टी करप्सन युनिटलाई जानकारी गराएका थिए ।

नेपाल टी–ट्वान्टी क्रिकेट लिगमाा भएको स्पट फिक्सिङमा संलग्न आरोपमा मेहबुव र आदिल अन्सारी १५ दिनदेखी ब्यूरोको हिरासतमा छन् । ब्युरोका डिएसपी सुन्दर तिवारी सहित ५ जनाको टिमले फिक्सिङबारे छानबिन गरेका थिए ।  

छानबिन समितिले पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलमसहित दुईवटा टिमले ‘स्पट फिक्सिङ’ गराएको प्रतिवेदन बुझाएका छन् । स्पट फिक्सिङमा १० जना संलग्न देखिएका छन् । तीमध्ये ७ जना अझै पक्राउ परेका छैनन् ।

ब्युरोले फिक्सिङमा संलग्नहरु विरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ को दफा ३१ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । सो ऐन अनुसार फिक्सिङ पुष्टि भएमा खेलाडीलाई ३ वर्ष कैद र ५० हजार जरिवाना हुने व्यवस्था छ । फिक्सिङ खेल्न अफर गर्नेलाई पनि खेल्ने सरह नै सजाय हुने व्यवस्था छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप