नेपाल चलचित्र संघको निर्माता संघप्रति आपत्ति
काठमाडौं । नेपाल चलचित्र संघले नेपाल चलचित्र निर्माता संघले चलचित्र संघका सदस्यहरूलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्य कोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिनेलगायतका आपराधिक कार्यमा संलग्न रहेको भन्दै सूचना तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएकोमा खेद प्रकट गरेको छ ।
नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले मंगलबार विज्ञप्ति जारी गर्दै व्यवसायिक नैतिकता विरुद्धको आरोप लगाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएकोमा यस संघको घोर आपत्ति रहेको जनाएका छन् । साथै उनले सो आरोप खारेज गर्दै खेद प्रकट गरेका छन् ।
‘नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच व्यवसाययिक विषयहरुलाई लिएर दुवै संघले कार्यदल गठन गरी वार्ता र छलफलको क्रममा रहेको र वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको अवस्थामा हठात् एकपक्षीय रूपमा नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू समक्ष बुझाइएको ज्ञापन पत्रका केही बुँदाहरुमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाल चलचित्र निर्माता संघको यस किसिमको क्रियाकलापले कार्यदल, वार्ता र छलफलको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको चलचित्र संघले जनाएको छ ।
‘नेपाल चलचित्र संघ हरेक समस्या र विवाद छलफल तथा वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने धारणा प्रति सदैव प्रतिबद्ध रहँदै आएको छ । विगतमा हरेक समस्याको समाधान वार्ता तथा छलफलको माध्यमबाट नै गर्दै आइरहेका छौं । नेपाल चलचित्र निर्माता संघको कार्य समितिलाई एक हप्ता भित्र आफ्नो धारणा सार्वजनिक गर्नु हुन आग्रह गर्दछौं’, संघले भनेको छ ।
साथै उक्त समयसम्म सम्पूर्ण वार्ता तथा छलफल स्थगित गरिएको भन्दै एक हप्ता भित्र पनि नेपाल चलचित्र निर्माता संघ कार्य समितिबाट स्पष्ट धारणा नआएमा सो मितिबाट कार्य दल भङ्ग गर्दै नेपाल चलचित्र निर्माता संघको वर्तमान नेतृत्व रहँदासम्म नेपाल चलचित्र निर्माता संघसँग कुनै पनि सहकार्य, छलफल र वार्ता समेत नगर्ने नेपाल चलचित्र संघ कार्य समितिको बैठकले निर्णय गरेको उल्लेख छ ।