मोहनीदेवी परिवारको अढाई धुर जग्गामा जब आफन्तकै आँखा लाग्यो...
बारा । अढाई धुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवी परिवारको बिचल्ली भएको छ । बारा साविक प्रस्टोका गाविस–१ की मोहनीदेवी एकल महिला हुन् । उमेरले ५५ कटेकी मोहनी देवीको लोग्ने बासुदेव राउतको गत असार २२ गते निधन भयो । श्रीमानको मृत्यु भएको साता दिनमै असार ३१ गते सासु मोलेसरी अहिरीनले पनि संसार छोडिन्।
श्रीमान र सासुको मृत्युपछि मोहनीदेवीलाई दैनिक घर व्यवहार गर्जो टार्न धेरै समस्या भयो । हातमुख जोड्नकै लागि उनले बालक छोरो शिवालाई दैनिक ज्यालादारीमा पठाउन थालिन् । शिवाले दैनिक ज्यालादारी गरेर ल्याएको २÷४ सय रकमले घरमा वृद्ध ससुरा रामनारायण राउत अहिर, २ छोराछोरी र मोहनीदेवीको गुजारा चल्दथ्यो ।
सम्पतिको नाममा अढाई धुर जग्गा र सोही जग्गामा बनेको फुसको कच्ची घरबाहेक केही थिएन मोहनीदेवीको । बर्खा लागेपछि छानो चुहिएर हत्तुहैरान हुन्थ्यो । दुःखजिलो गरी दिनचर्या चलिरहेको थियो । एक्कासी गत असार १ गते मोहनीदेवीको ससुरा रामनारायण राउतको नाममा बारा जिल्ला अदालतबाट पत्र आयो । पत्रमा मोहनीदेवीको परिवार बस्दै आएको अढाई धुर जग्गा अदालतले रोक्का गरेको सम्बन्धि पत्र रहेछ ।
पत्रको व्यहोरामा लेनदेन मुद्दामा बाटोको म्यादबाहेक एक्काईस दिन भित्रमा प्रतिउत्तरपत्र र कानुनबमोजिम लिखित प्रमाणसहित उपस्थित हुन सूचित गरिएको थियो । साथै, म्यादभित्र प्रतिउत्तर लिई उपस्थित नभए कानुनबमोजिम फैसला हुने र भविष्यमा त्यस विषयमा कुनै उजुरसमेत नलाग्ने जनाइएको थियो ।
जग्गा रोक्का भएको सूचना मोहनीदेवीलाई प्रत्यार लागेन । तर, पछि बुझ्दै जाँदा थाहा भयो आफ्नै कान्छो ससुराका छोरा नातामा देवर पर्नेले लेनदेनको कपाली कागज बनाएर अदालतबाट जग्गा रोक्का गरेका रहेछन् ।
फर्जी कागजपत्रको सहारामा वडाध्यक्षको हस्ताक्षर नै नभएको घरबाटो सिफारिसको माध्यमबाट देवर गोखुल यादवका छोरा दीपेन्द्र यादवले आफ्नो नाममा जग्गा पास गर्न खोजेको र पास हुन नसकेपछि आमा प्रमिलादेवी अहिरको नामबाट रोक्का गरिएको रहेछ ।
मोहनीदेवीले ससुरालाई मदिरा सेवन गराएर काजक्रिया गरिदिन्छु भन्दै देवर गोखुल राउतका छोरा दीपेन्द्रले झुक्याएर ५ लाखको लेनदेनको कागज बनाएको र त्यही लेनदेनका आधारमा अढाई धुर जग्गा आफ्नो नाममा बनाउन खोजेको आरोप लगाइन् ।
वृद्धभत्ता घरमै ल्याईदिन्छु भनेर रामनारायण राउतलाई झुक्याएर कपाली कागज बनाएको स्थानीय नेपाली यादवले जनाएका छन् ।
अढाई धुर जग्गाको अन्तर्कथा
७८ वर्षिय रामनारायण यादवको मदिरा सेवन गर्ने बानी थियो । यसै क्रममा घर आउजाउ गर्ने क्रममा गोखुलका छोरा दीपेन्द्र राउतले रामनारायणसँग झुक्याएर २०७५ वैशाख १० को मिति जनाएर ५ लाखको कपाली कागज गरेको स्थानीयको भनाई छ ।
त्यही कपाली कागजको आधारमा दीपेन्द्रले सयकडा १० प्रतिशतका दरले ५ लाख साँवा र ३ वर्ष ९ महिनाको व्याज १ लाख ८८ हजार ५५ रुपैयाँ व्याजसहित ६ लाख ८८ हजार ५५ रुपयाँको विगो भराई पाउँ भन्दै जिल्ला अदालत बारामा थप व्याज तथा अदालती शुल्क, अन्य दस्तुर लगायतको मुद्दा खर्चसमेत विपक्षीबाट भराउन वारेस विदेशीप्रसाद यादवमार्फत् जिल्ला अदालतमा जग्गा रोक्का गरेको देखिन्छ ।
दीपेन्द्रले छिमेकीहरु लेखनदास रुपेशप्रसाद यादवमार्फत् कपाली कागज बनाएको र विकास यादव र रामचन्द्र यादव साक्षी रहेको स्थानीय नेपाली यादवले बताए । २०७८ माघ पहिलो साता दीपेन्द्रले बनाएको कपाली कागजको मिति भने २०७५ वैशाख १० गते उल्लेख छ । २०७५ को स्थानीय तह निर्वाचनअघि कपाली कागजलाई पनि अदालतले मान्यता दिने प्रचलन थियो ।
दीपेन्द्रले वडाको फर्जी कागजपत्र पेश गरेर वडाध्यक्षको हस्ताक्षरै नभएको पत्रमार्फत् जग्गा पास गराउन खोजेपछि मालपोत कार्यालय कलैयामा हल्लाखल्ला भएको थियो । वडाध्यक्षको हस्ताक्षरै नभएको घरबाटो सिफारिसका कारण २०७८ माघ १३ गते सो जग्गा पास नभएपछि माघ १६ गते दीपेन्द्र राउतले कपाली कागजको आधारमा बारा जिल्ला अदालतबाट जग्गा रोक्का गराएका थिए । ‘जग्गा रोक्का भएको अदालतबाट पत्र आएपछि मात्रै घर परिवारलाई थाहा भयो,’ स्थानीय नेपाली यादवले भने ।
सोही घटनालाई लिएर स्थानीय र जनप्रतिनिधि सहितको टोली ईलाका प्रहरी कार्यालय सिमरा पुगेको थियो, जसमा प्रहरीको रोहवरमा दीपेन्द्रले आफूले रकम नलिएको स्वीकारेका थिए । प्रहरीको रोहवरमा भएको सो छलफलमा कित्ता नं ९६ को साढे २ धुर जग्गा नाति शिवा यादवको नाममा बकशपत्र रजिष्टे«शन गरी जग्गा नामसारी गर्ने लिखित निर्णय भएको थियो ।
चैत १७ गते भएको सो सहमति हालसम्म कार्यान्वयन नभएको र जग्गा फिर्ता नदिएको मोहनीदेवीको गुनासो छ । मोहनीदेवीका देवर गोकुल राउत, प्रमिलादेवी राउत वारेस विदेशीप्रसाद यादवले निवर्तमान वडाध्यक्ष ईलियास देवान र बहालवाला वडाध्यक्ष सुलतान अन्सारी, तत्कालीन प्रस्ट्रोका गाविस अध्यक्ष कपिलदेव प्रसाद यादव, उपाध्यक्ष कलामुदिन अन्सारी, स्थानीय नेपाली यादव, हरिश्चन्द्र यादवको रोहवरमा रामनारायणसँग पैसा लेनदेन नगरेको भनी स्वीकार गरेका थिए भने अढाई धुर जग्गा रामनारायण राउतको नाति शिव यादवको नाममा पास गरिदिने सहमति भएको थियो ।
मोहनीदेवी जग्गा फिर्ता नहुँदा आफ्नो परिवारको विचल्ली भएको बताएकी छिन् । ‘म सँग मुद्दा लड्न सक्ने क्षमता पनि छैन, पैसा पनि छैन । अब मैले कसरी न्याय पाउँछु,’ उनले दुःखेसो पोखिन् ।
मोहनीदेवी परिवारलाई न्याय दिलाउन आफूले हरसम्भव प्रयास गरिरहेको जितपुर सिमरा उपमहानगर–२४ का वडाध्यक्ष सुलतान अन्सारीले जनाएका छन् ।
‘उहाँहरु बीच पैसा लेनदेन भएको छैन, जग्गा हड्प्ने उद्देश्यले वृद्ध ससुरालाई झुक्याएर पुरानो मितिमा कपाली कागज बनाएर आफ्नो नाममा जग्गा पास गर्न खोजेको देखिएको छm’ वडाध्यक्ष सुलतानले भने । उता दीपेन्द्र राउतले भने, ‘झुटो आरोपमा मेरो वुवा गोखुल राउतलाई थुनामा राखेकोले जग्गा फिर्ता दिन आलटाल गरेको हौं । हामीले पैसा लिएको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा