मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

'समाजका मेरुदण्डको सम्झना'

मङ्गलबार, २४ माघ २०७९, ११ : २१
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माले असल नेतृत्व हुन नसकेका कारण सुशासन कायम हुन नसकेको बताएका छन् ।  सोमबार राजधानीमा ‘विचारी अहिमान श्रेष्ठ र बाटो निगालेको सेरोफेरो’ नामक कृतिको लोकार्पण गर्दै डा. शर्माले भने, ‘हामीकहाँ असल नेतृत्व हुन नसकेकै कारण सुशासन कायम हुन सकेन र त्यही कारण आर्थिक विकासमा हामी पछि पर्यौँ ।’ 

ऐतिहासिक सिन्धुली गढी निकटवर्ती गाउँ बाटोनिगालेमा जन्मिएर सामाजिक, शैक्षिक एवं न्यायिक क्षेत्रमा योगदान पुर्याएका दिवंगत अहिमान श्रेष्ठको २९ औं स्मृति दिवसमा आयोजितमा सो समारोहमा संस्कृति एवं भाषिक आन्दोलनका अगुवा मल्ल के. सुन्दरले बताए, ‘अहिमान र उहाँको पुर्खा काठमाडौँको मखनबाट व्यापार गर्ने सिलसिलामा सिन्धुली गएको हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘यो पुस्तक प्रकाशनसँगै अहिमानका सन्ततिहरुले इतिहासको जगलाई ताजगी तुल्याउने कार्य गर्नुभएको मैले महसुस गरेको छु ।’

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. लोकविक्रम थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, डेयरी विज्ञ टेकबहादुर थापा, पूर्व सहसचिव डा। रेवतीमान श्रेष्ठ, देवकुमार श्रेष्ठ, निरु श्रेष्ठलगायत वक्ताले आ–आफ्नो मन्तव्य राखेका थिए । पुस्तकमाथि समीक्षात्मक टिप्पणी पत्रकार दीपक विहीनले गरेका थिए । सिन्धुली गढी बाटोनिगाले समाज र विचारी अहिमान श्रेष्ठ परिवारबाट संयुक्त रुपमा प्रकाशित सो पुस्तक लोकका व्यक्तिद्वारा लेखिएको पुस्तक रहेको समीक्षक विहीनले बताए ।

दिवंगत अहिमान श्रेष्ठको जीवन यात्रामा जोडिएका विभिन्न व्यक्तिहरूका संस्मरणका साथै श्रेष्ठद्वारा रचित ख्याली, भजनलगायतका रचनाहरू समाविष्ट सो पुस्तकको सम्पादन विवश बस्तीले गरेका हुन् । सो पुस्तकमा तात्कालिक सिन्धुली गढी र त्यस वरपर भेगका जीवन्त सन्दर्भहरू उजागर भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप